साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली : गन्थनजस्तो यथार्थ

आफ्नो संरक्षणमा रहेका वृद्धवृद्धाका अगाडि अमिलो व्यवहार गर्ने परिस्थिति तपाईं हाम्रा बीचबाट हट्नै पर्छ । यो परिवर्तनको फेर समातेर अघि बढ्दै गरेको भनिएको आजको नेपाली समाजको अपरिहार्य आवश्यकता हो ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

जसले करेलो चाखेको हुन्छ, उसलाई करेलोको स्वाद तीतो हुन्छ भन्ने थाहा हुन्छ । जसले जीवनमा कहिल्यै करेलो चाखेको हुँदैन, उसका लागि करेलोको स्वाद तीतो, गुलियो, अमिलो, टर्रो, पिरो, नुनिलो कस्तो हुन्छ ? केही थाहा हुन्न । त्यसप्रति उसको ज्ञान अन्धकारमय हुन्छ । अरूले त्यसका विषयमा कुरा गर्दा त्यस्ताका लागि ती कुरा कथाजस्ता हुन्छन् र अनावश्यक गन्थनजस्ता लाग्न सक्छन् । पठनप्रिय हुँदैनन् । कर्णप्रिय हुँदैनन् । त्यसैले त्यस्ता विषयवस्तु त्यस्ताका लागि अप्रिय लाग्न सक्छन्, कदापि रुचिकर हुन्नन् ।

मानिसको बुढ्यौलीका कुरा पनि त्यस्तै हुन् । बुढ्यौलीका विषयमा जुन घटना परिघटनाको चर्चा–परिचर्चा र व्याख्या, विश्लेषण लिखित वा मौखिक रूपमा गरिन्छ, ती कुरा जीवनमा बुढ्यौली वय नबेहोरेका व्यक्तिका लागि नितान्त गन्थनजस्ता लाग्न सक्छन् । बेप्रसङ्गका विषयवस्तु ठहरिन सक्छन् । बेतुकका प्रस्तुति लाग्न सक्छन् । कपोलकल्पित लाग्न सक्छन् । अनि, बुढ्यौली सामाजिक विषयवस्तु होइन झैँ गरी त्यस विषयमा चासो नराख्ने, महत्व नदिने व्यक्तिका लागि पनि यस्ता विषयवस्तु नितान्त गन्थनजस्ता लाग्छन् । कोही आफू ठालु पल्टनैका लागि अरूले सार्वजनिक गरेका यस्ता यथार्थपरक र गम्भीर विषयवस्तुलाई पनि गन्थन भनेर परक्क मुन्टो बटार्छन् । यो व्यक्ति र परिस्थितिमा निर्भर रहने विषय हो, साह्रै अन्यथा भने होइन ।

नेपाली समाज विगतभन्दा निकै परिवर्तित भइसक्यो । गाउँ होस् वा सहर । भूगोलका हिसाबले तराई होस् वा पहाड । हिमाल होस् वा कछाड । परिवर्तनको सँघारमा छन् सबै । चाहे त्यो रोजगारीका हिसाबले होस् वा अध्ययनका हिसाबले । चाहे त्यो कामको प्रकृतिको हिसाबले होस् वा त्यसबाट हुने प्रतिफलका हिसाबले होस् । क्षेत्रका हिसाबले चाहे त्यो राजनीतिक क्षेत्र होस् वा सामाजिक क्षेत्र । धार्मिक होस् कि व्यापारिक । परिवर्तनको प्रभावले सबैतिर छोएको छ । र, यस्तो छुवाइ सकारात्मकतातिर भन्दा नकारात्मकतातिर बढी उन्मुख छ । परिवर्तनका नाममा भएका यस्ता नकारात्मक प्रभावले घर परिवार, समाज र अन्ततोगत्वा राष्ट्रकै स्थिति भोलिका दिनमा अझ कस्तो हुने हो ? भन्ने त्रासदी सबैका मनमा पलाउन थालेको छ । आशाको दियोमा कतै निरासाको सलेदो सल्कने त होइन भन्ने शङ्का उपशङ्का सबैका मनमा पलाउन थालेको छ ।

समाजमा देखिएको यही परिवर्तित स्थितिको मारमा छ, बुढ्यौलीको बन्धन पनि । यही परिवर्तित स्थितिको भुङग्रोमा छट्पटाउँदै रापिइरहेको छ, कतिपयको बुढ्यौली दैनिकी पनि । बुढ्यौली वयका मानिसहरू न काममा अघि सर्न सक्छन्, न मामको तयारीमा । एक गिलास पानीसम्म पनि उमालेर पिउन नसक्ने अवस्थाका तिनलाई दिनभर कष्टकर एक्लो जीवन यापन गर्नुपरिरहेछ । औषधिका नाममा ‘अ’ नचिन्नेले पनि औषधिका थुप्राबाट औषधि निकालेर खान र प्रयोग गर्न परिरहेको छ । छोरा, छोरी, बुहारी, नाति, नातिनी सबै आआप्‌mना काममा हिँड्छन् । कोही राजनीतिक लतमा लागेका होलान्, कोही चियाका लतमा । कोही जुवातासको लतमा लागेका होलान् कोही भट्टीपानीको लतमा । कोही साहित्यिक लतमा होलान्, कोही झुठा भाषणबाजीका लतमा । कोही चाकडी र चाप्सुसीका भरमा सगरमाथा चुमुला भनेर लागिपरिरहेका होलान्, कोही अन्य व्यक्तिगत अभीष्ट पूरा गर्ने खेतीमा । कोही अध्ययनमा लागेका होलान्, कोही राम्रै रोजगारीमा । एक न एक निहुँमा सबै बाहिरिएकै हुन्छन्, दिनको उज्यालो र रातको अन्धकारमा पनि ।

बुढ्यौली वयका मानिसका लागि बाहिरिनु त टाढाको कुरो, पिँढी नै परदेश हुन्छ । यस्तो अवस्थामा तिनको दैनिकी कति कष्टकर हुन्छ भन्ने कुरा सामान्य हेराइ र अनुमानले पत्ता लाग्दैन । किनकि, सबैको शारीरिक अवस्था एकै हुन्न । सबैको पारिवारिक तथा सामाजिक स्थिति एकै हुन्न । कति कुनै न कुनै रोगले पीडित होलान्, कति अरू कारणले ? घरैमा हुँदा पनि कतिका बाघले झम्टेझैँ झम्टिने छोराबुहारी होलान्, कतिका र्‍याल, सिँगान र खकारेको खकार सोहोर्न पनि कोकोहोलो गरेर खेताला खोज्नुपर्ने छोराछोरी वा बुहारी होलान् । यो सबै बेहोर्न पर्ने बाध्यतामा छन्, कैयन् वृद्धवृद्धाहरू । न गर्न सक्ने, न मर्न सक्ने यस्ता कारुणिक अवस्था भोगिरहेका थुपै्र वृद्धवृद्धा छन् हाम्रो समाजमा । वृद्धवृद्धालाई पिरोल्ने नाममा कतै छोराका पछि लागेर बुहारी बहकिएका होलान्, कतै बुहारीका पछि लागेर छोरा बहकिएका होलान् । कतै छोराबुहारी दुवै उस्तै होलान्, कतै एउटा मात्र । जति भए पनि परिस्थिति एक पटक धमिलिएपछि सङ्लिन समय लाग्छ नै । जसको मार खेप्न बाध्य छन्, उमेरले पाका अशक्त वृद्धवृद्धाहरू ।

यिनको दयनीय स्थिति न आँखाले नियालिरहन सक्छ, न शब्दमा उतारिरहन सकिन्छ । आँखाले नियालिरहन र शब्दमा उतारिरहन कठिन पाइला पाइलामा भेटिने यस्ता वृद्धवृद्धाको स्थिति फरक फरक छ । चाहे त्यो स्वास्थ्यका हिसाबले होस्, चाहे खानपानका हिसाबले । चाहे त्यो बोलीचाली र मान मर्यादाका हिसाबले होस्, चाहे परिवारले गर्ने अप्रत्यासित व्यवहारका हिसाबले होस् । प्रत्येकको दैनिकी फरक छ । जीवन भोगाइ फरक छ । कसैको असह्य कहालीलाग्दो स्थिति छ, कसैको तुलनात्मक रूपमा केही तद्विसेक स्थिति । चाहे त्यो आर्थिक हिसाबले सम्पन्न परिवारमा होस् वा चाहे विपन्न स्थितिका परिवारमा । यथार्थ व्यक्तिनु, दर्शिनु वा नदर्शिनु आप्‌mनो ठाउँमा छ, तर मात्रात्मक रूपमा केही कम बेसी भए पनि परिस्थिति सबैको समान छ । विभिन्न शैली र तौरतरिकाका बोली वा हाउभाउका माध्यमबाट पाइला पाइलामा परिवारको अपहेलना र क्षुद्र व्यवहारको प्रताडनामा छन् सबै वृद्धवृद्धा । चाहे ती परिवारको सामूहिक स्याहारसुसार र जिम्मेवारीमा रहेका होउन् वा एकल स्याहारसुसार र जिम्मेवारीमा रहेका होउन् । सबैको स्थितिमा समानता छ– वृद्धवृद्धाले बेहोर्नुपरेका अपहेलना, वेवास्ता र विविध दुःख कष्टका हिसाबले ।

खाना, पानी र औषधिमुलो लगायतका अन्य किसिमको हेरचाहको अभावमा दिनभर आप्‌mनै आँसु पिएर बाँच्न बाध्य यस्ता वृद्धवृद्धाहरू अझ त्यतिखेर बढी चकित हुन्छन्, जतिखेर आफूलाई हर किसिमले अमिलो व्यवहार गर्ने छोरो होस् वा बुहारी, वा अरू कोहीले आफूले आप्‌mना बाबुआमा वा जो कोहीलाई देवता जस्तो ठानेर हरपल मरिमेटेर स्याहारसुसार गरिरहेको वक्तव्यबाजी सामाजिक सञ्जालमा निरन्तर गरिरहेका हुन्छन् । बाबुआमासँग बसेर अँगालोमा बेरिएर हाँसेको फोटो देख्दा त तिनलाई रिँगटा नै लाग्छ । झुटको खेतीको यस्तो पराकाष्ठाका अगाडि पनि प्रतिकारमा एक शब्दसम्म बोल्ने अधिकार तिनलाई हुन्न । अझ कतिपय परिवारमा त सरकारले सामाजिक सुरक्षा भत्ताका नाममा उपलब्ध गराएको रकम प्राप्त गर्ने काममा ल्याप्चे लगाउने बाहेक त्यस्तो रकम खर्चिने हक समेत ती वृद्धवृद्धामा रहन्न । अनेक उपाय गरेर त्यसलाई फुत्काउने वा वृद्धवृद्धाको इच्छा विपरीत त्यस्तो रकम खर्चिने काममा सबै उद्यत हुन्छन् । यो सामान्य मानिसले नपत्याउने तीतो सामाजिक यथार्थ हो ।

सहर होस् कि गाउँ । प्रत्येक घरदैलोमा वृद्धवृद्धा भेटिन्छन् । पे्रमपूर्वक बोलिदिने मानिसको खोजीमा तड्पिरहेका, विगतका आप्‌mना कुरा सुनाउन छट्पटाइरहेका यस्ता वृद्धवृद्धासँग बोली मिसाउने बित्तिकै उनीहरू मुरली मकै पड्के झैँ परर्र पड्किन्छन् दुःख, पीडाका थैला उधिनेर । सामाजिक सञ्जालहरूमा सय हाराहारी उमेरका वृद्धवृद्धा समेत छोराबुहारीले घरबाट निकालेको यथार्थ आँसुमा ओकलिरहेका हुन्छन् । कानुनका विद्यार्थीहरू भन्छन्‌– उनान्सय अपराधी छुटुन् तर एउटा पनि निरपराधी व्यक्ति अन्यायमा नपरोस् । वृद्धवृद्धाका हकमा पनि यो कुरा लागु हुनुपर्छ । समाज र राज्यका अगाडि एउटै मात्र पनि यस्ता व्यक्तिले यो स्थिति बेहोरेको सुन्न, देख्न नपरोस् । समाज र अरूका अगाडि मीठा मीठा कुरा गर्ने, तर आफ्नो संरक्षणमा रहेका वृद्धवृद्धाका अगाडि अमिलो व्यवहार गर्ने परिस्थिति तपाईं हाम्रा बीचबाट हट्नै पर्छ । यो परिवर्तनको फेर समातेर अघि बढ्दै गरेको भनिएको आजको नेपाली समाजको अपरिहार्य आवश्यकता हो ।

०००
२०८१/११/२०
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x