साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न–याँ

‘नयाँ’को नाम भजाएर स्वर्गको राज्यसत्ता ‘न–याँ’हरुले पो गरिरहेका रहेछन् भन्नेचाहिँ दिमाग र मन दुवैबाट निर्क्यौल गरेँ । जय ‘नयाँ’ ! जय जय ‘न–याँ’ !! जय जय जय ‘न–याँ’प्रेमी हामी स्वयंहरु !!!

Nepal Telecom ad

ईरानराई :

मसँग नेपाल प्रज्ञा–प्रतिष्ठानको वि.सं. २०७९ आषाढ १५ गते प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’को प्रथम संस्करण हातमै भइरहन्छ । त्यहाँ ‘न’को अर्थ खोज्दा – ‘देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये बिसौँ व्यञ्जन, … अल्पप्राण … क्रियापदका अगाडि, पछाडि वा बिचमा समेत आएर निषेध बुझाउने शब्द, … शब्दको अगाडि लागेर उल्टो अर्थ बुझाउने शब्द … कार्य वा विषय आदिको अभाव वा निषेध बुझाउने शब्द≤ अहँ≤ नाइँ …’ इत्यादि भेटिन्छ ।
त्यसैगरी ‘याँ’को अर्थ – ‘शिशु वा हुर्केका मानिस रूँदाको ध्वनिको अनुकरण, यति थोरै≤ अलिकति मात्र’ आदि पाइन्छ ।

उल्लिखित जोडा वर्णहरुलाई समायोजन गरेर ‘नयाँ’ शब्दको निर्माण गरिएको छ । ‘नयाँ’ शब्द सुन्दा साँच्चै आधुनिक, सभ्य र सिर्जनात्मक लाग्छ तर यसको गठन हेर्दा त निराशाजनक भेटिदोरहेछ । खालि ‘अल्प’, ‘निषेध’, ‘उल्टो’, ‘अभाव’, ‘रूँदाको ध्वनि’, ‘थोरै’, ‘अलिकति’ मात्र रहेछ ।

‘न–याँ’ शब्दको गठन र कलियुगमा स्वर्गलोकको स्वर्गसभा तथा स्वर्गसरकारको गठन झण्डै मिल्छ ।
म मर्त्यलोकको यमराज भए तापनि मलाई ‘नयाँ’ शब्द मनपर्छ । म मर्त्यलोकको यमराजको स्वर्गलोकको देवी–देवताहरुसँग निकट साइनो र घनिष्ठ सम्बन्ध छ । स्वर्गसभामा पुराना भनिएकाहरुलाई नियोजित निर्वाचनमा हराएर करिब दुई–तिहाइको बहुमत प्राप्त दलको सर्वशक्तिमान स्वर्गसरकार गठन गरिएको छ । सो सरकारले सशक्त ढङ्गबाट शासन र प्रशासन चलाइरहेको छ । तिनै सत्तारूढ दल ‘न–याँ’का प्रखर प्रवक्ता, मेरा प्रिय प्रतिस्पर्धी मित्र बोलक्कड नारादसँग हिजो राम्रै भलाकुसारी गर्ने अवसर जुट्यो । उनले आफ्‌ना केही स्वर्गसभाका सदस्य तथा स्वर्गसरकारका स्वर्गमन्त्रीहरुको बारेमा निर्धक्क प्रशंसा गरे ।

“हाम्रो असली सुकुमबासी माननीय हुनुहुन्छ । उहाँको घर मात्र छ, तर जग्गा छैन । जग्गाबिना कहाँ घर ठड्यायो होला भन्नुहोला ! उहाँको भवन जमिनमाथि नै छ । उहाँको जग्गा नभएको होइन, केवल उहाँको त्यो जग्गाको धनीपुर्जा छैन । स्वर्गसरकारले राजधानी कान्तिपुरी नगरीमा सेना–प्रहरी उभ्याएर डोजरले सुकुमबासीहरुको घरटहरा भत्काउन थालेपछि चौतर्फी विरोध भयो तर सरकारले कसैको सुझाव र विरोध सुनेन । सुकुमबासीहरु फेरि घरबारविहीन भए, भोकै–तिर्खै बस्नुपर्ने, स्कुले बालबच्चा स्कुल जानै नसक्ने भए, कति मरे, कति सुत्केरी र रोगीहरु थलिए, सरकारले केही देखेन । हामी सरकारी सांसद भए तापनि सत्ताभित्रको प्रतिपक्ष हौँ क्या !” आँखा सन्काउँदै भन्यो – “अर्थात् हाम्रो पार्टीको सुप्रिमोमार्फत कसैले सुकुमबासीको घरटहरा भत्काउन आए, पहिला डोजरका अगाडि हामी छाती थाप्छौँ भनेका थियौँ ।

त्यही चुनावी फण्डामाथि सरकारले डन्डा चलाएपछि हामी रक्षात्मक बन्यौँ । हामीले साँच्चै छाती थापेको भए कुखुराको छातीजस्तै चिरेर भुटन बनाइदिनेरहेछ । त्यसर्थ जुक्ति निकाल्यौँ । सरकारभित्रैको हाम्रो विपक्ष, अर्थात् सत्तारूढ दलको सरकारको सत्तापत्त गुटको माननीयको बिनाधनीपुर्जाको महँगो घडेरीमाथिको त्रिलोकझैँ तले भवनको भिडियो भाइरल बनाइदियौँ । विपक्षीहरु पनि तातिए । सुकुमबासीहरुले पनि नारा–जुलुस गर्न थाले र सरकारले सत्तारूढ दलका सत्तापक्षीय सांसदहरुको महल बचाउन अन्य सुकुमबासीहरुमाथिको आक्रामण मत्थर गर्‍यो । ऊजस्ता सरकारी सुकुमबासी नेता, सांसद र मन्त्रीहरु कति छन् कति हाम्रो ‘न–याँ’ पार्टीमा ।”

“हाम्रो एक जना विद्वान् मन्त्रीको त न पुर्जा छ, न नक्सा–पास, केवल महलको छ आलिसान बास । उनी भन्छन् हाम्रो जस्तो सानो क्षेत्रफलको देशको खोलाले भारतको, चीनको, अमेरिकाको, क्यानडाको वा रसियाजस्ता विशाल देशको खोलाले जस्तो फराकिलो भएर बग्नु पाइँदैन । त्यसैले उनले खोलाको जमिन मिचेको होइन, खोलाले अतिक्रमण गरेको जग्गामाथि खोलालाई पाठ सिकाउन महल बनाएको हो ।”

“अरु कस्ता कस्ता माननीयज्यूहरु हुनुहुन्छ तपाईँहरुसँग ?” मैले नजानिँदो पाराले सोधेँ ।
“प्रहरीको उच्च पदस्थ राष्ट्रसेवकबाट जनसेवक बन्ने सांसद हुन् उनी । उनी निर्वाचन क्षेत्रको एउटा विद्यालयमा अवलोकन–निरीक्षण गर्न जाने सुइँको पाएपछि त्यस विद्यालयको बाठो प्रधानाध्यापकले प्रवेशद्वार, ढोका, झ्याल सबै खुल्ला छाडेर ऊचाहिँ कार्यालयभित्र मागपत्र तयारीमा तल्लीन भएछ । विचरा हाम्रो सोझो माननीय, फूलमाला, खादा, अबिर र दुईचारओटा मोबाइलकै भए पनि क्यामेरा लिएर स्वागत गर्न प्रवेशद्वारबाहिर आउँछ होला भनेर हाताबाहिरै एक घन्टा पर्खिरहेछ । तर बाठो प्र.अ.ले आँखीझ्यालबाट माननीयलाई चियाइरहँदो रहेछ – सरासर भित्र पसे, एउटा मात्र माग राख्ने, अलिक अलमलिएमा तीनओटा माग राख्ने र ढिलो पसेमा माग नै नराख्ने, सट्टामा गाली गर्ने भन्दै बसेछ । कति बेला प्र.अ. हाताबाहिर आएर स्वागत गर्छ भनेर सांसद छटपटिने, कार्यालयभित्र माननीय कति बेला छिर्छ र माग राख्ने भनेर प्र.अ. कुरिरहनेमा जुहारी नै चलेछ ।”

“प्र.अ. स्वागत गर्न धेरै बेरपछिसम्म नआएपछि माननीयले आफैँले प्र.अ.लाई डाकेर आमाचकारी गाली गरेछन् । राष्ट्रसेवक हुँदा जति गाली राजनीतिकर्मीहरुबाट खाएको थियो, उम्मेदवार हुँदा जति गाली जनताबाट खाएको थियो≤ त्यसको दश गुणा बढी, अर्थात् माफी माग्ने तहसम्मको, गाली प्र.अ.माथि बजार्‍यो । धन्न राष्ट्रसेवकबाट जनसेवक भएकोले मात्र, नत्र त्यो प्र.अ. त्यस दिन त्यहीँ प्र.अ. पदबाट सहिद बन्थ्यो ।” हौसिदै नारदले कुरा रोक्यो ।
“अरु केही विशिष्टहरुको पनि कुरा बुझौँ न ?” मैले अझै हौसाएँ ।

“पुरानाका जस्ता छन् त हाम्रो ‘न–याँ’ पार्टीमा । कति होइन, हाम्रा सबै नेता विशिष्ट !” ऊ आफैँमा गर्व गर्दै उत्साहित बन्यो ।
“जस्तै केही उदाहरण ?” मैले आन्द्राभुँडी अझै खोतल्न चाहेँ ।
“ऊ हिमाली जिल्लाकी हो । म गरिब, चप्पल लगाउने हुइनँ, कमाएकी धनीमानी हुँ, म धनीमानी भएकीले म भ्रष्टाचार गर्दिनँ । भ्रष्टाचार त गरिब र चप्पल लगाउनेहरुले गर्ने हो भनेर प्रख्यात दार्शनिकमा दर्ज भएकी उनी उम्मेदवार बनेपछि भोट माग्नचाहिँ तिनै गरिब, कतिसम्मका गरिब भने, कतिपयसँग त चप्पल पनि थिएन, त्यस्ताकोमा गइन् । एकातिर पातलो बस्ती, अर्कोतिर काम नगरेर घरमै मात्र बसेर खान नपुग्ने गाउँ, र तेस्रो अवस्था अहिले के खाऊँ, भरै के खाऊँको आर्थिक सङ्कटका भ्रष्टाचार गर्ने (उनको दृष्टिमा) समुदायमा मतदाताहरुलाई भेट्न सकिनन् । त्यसपछि उनले अग्लो डाँडामाथि पुगेर वरिपरि घुम्दै ठुलो माइकबाट भाषण गरेर सुख्खा डाँडापाखाहरुसँग भोट मागेपछि विश्वचर्चित बनिन् ।” नारदले खुसी हुँदै भन्यो ।

“उनको मत–परिणाम के भयो त ?” मैले जिज्ञासा राखेँ ।
“डाँडापाखाहरुले भोट खसाल्न नपाउने रहेछन् । मतपरिणाम त आफैँ बुझ्‌नु नि अब ! तर, सायद त्यति अग्लो डाँडामा पुगेर मानिसहरुलाई होइन, डाँडापाखाहरुलाई निर्वाचनमा भोट माग्ने उम्मेदवार उनी पहिलो नै होलिन् भन्ने ठानेका छौँ ।” उसले अलिक नमिठो मान्दै पराजय भएको स्वीकार गर्‍यो ।

“स्वर्गमा त स्वास्थ्य, शिक्षा र विद्युत पूर्ण निशुल्क हुनुपर्नेमा कर पो लगाइछ । खास के हो ?” मैले साँच्चै कारण जान्न चाहेँ ।
नारादले हाँसिमजाकमै बोल्यो – “हाम्रो अर्थमन्त्री नाथु स्नातक, खाग–थु स्नातकोत्तर मात्र पढेको होइन≤ उसले त पीएचडी गरेको, त्यही पनि विदेशबाट जहाँबाट हाम्रो देशलाई अर्थशास्त्रमा मात्र होइन,  सबै शास्त्रहरुमा, सबै शास्त्रीहरुलाई, सबै शस्त्र–अस्त्रहरु पढाइन्छ, सिकाइन्छ र प्रयोग गरिन्छ । फेरि हामीले प्रस्ट भनेका छौँ – हाम्रो पार्टी र यो बजेट गरिब–निमुखा जनताहरुका लागि होइन, मध्यम र उच्च मध्यम वर्गका मानिसहरुका लागि हो । त्यसर्थ शिक्षा, स्वास्थ्य र विद्युतजस्ता क्षेत्रमा कर लगाउनु भनेको आफ्‌नै कार्यकर्ता र नेताहरुबाट कर असुल्नु हो । हाम्राहरुले चुपचाप तिर्छन् । गरिबहरुको, पुरानाहरुको यी करमा किन टाउको दुःखाइ क्या ! चर्को गर्मी होस् कि खाना अधकल्चो पाकोस्, खाना खाँदा बत्ती निभाएर खानु परोस्‌≤ गरिबहरुले उनन्चास युनिट पुगेपछि बिजुली चलाउन बन्द गर्नुपर्छ । पचास कटाउने हो भने थप पाँच प्रतिशत कर तिर्नैपर्छ ।”

“त्यस्तै शिक्षा र स्वास्थ्यका लागि पनि गरिबहरु सरकारी विद्यालय र अस्पताल जानुपर्दछ जहाँ संस्थागत विद्यालय र निजी अस्पतालको तुलनामा आधीसम्ममा सेवा पाइन्छ । यी सेवाहरु कति कति लाख जनताले कति कति मात्रामा उपभोग गर्छन् भन्ने तथ्याङ्क हामीसँग छ । त्यही तथ्याङ्कको आधारमा स्वर्गसरकारले निष्कर्ष निकाल्यो – कर तिनै विषयमा लाउने । एकातिर करबाट उच्च आम्दानी, अर्कोतिर करबाट जनतामा गहिरो डर । शिक्षा, स्वास्थ्य तथा विद्युतजस्ता आधारभूत आवश्यकताका सेवामा कर लगाउँदा पनि खै कतै हल्ला छ विरोधको, असन्तुष्टिको ? पुराना दलको सरकार भए, र यी शीर्षकहरुमा कर लगाएको भए, यतिखेरसम्म बँचेखुचेका सरकारी भवनहरु र सांसद, मन्त्री र नेताहरुको घर खरानी भइसक्थे किनकि ठुलो खतीपछि तीव्र गति, विनाशपछि मात्र विकास हाम्रो मन्त्र, वाद र मनोविज्ञान हो ।” गर्वका साथ मुसुक्क हाँस्यो पनि ।

”वैशाख १५ गतेदेखि विद्यालय सञ्चालन गर्नुपर्ने निर्णय गरियो । केही दिनपछि वैशाख १५ गतेदेखिचाहिँ भर्ना अभियान र वैशाख २१ गतेदेखि मात्र पठनपाठन गर्नू भन्ने उर्दी जारी भयो । यो निर्देशन किन एउटै सूचनामा गरिएन ? वैशाख सुरूदेखि नै भर्ना र पठनपाठन गरेको भए, कसलाई हानिनोक्सानी हुन्थ्यो – विद्यार्थीलाई ? अभिभावकलाई ? विद्यालयलाई ? पुस्तक/कापी, लुगा–जुत्ता व्यावसायीलाई ? समाजलाई ? या सरकारलाई ? चुरो कुरो के हो नारदजी ?” मैले अलिक जोड दिएरै सोधेँ किनकि यो विषय मैले जान्नै चाहेको थिएँ ।

“नयाँ पार्टी, नयाँ नेतृत्व, नयाँ सांसद, नयाँ सरकार, नयाँ निर्णय, नयाँ चलन,  बस् यति हो । बाँकी कारण त निर्णयकर्ता स्वयं शिक्षामन्त्रीलाई सोधे पनि जवाफ आउँदैन किनकि उनलाई पनि यसको कारण थाहा छैन । उनको पनि यो नयाँ निर्णय र नयाँ अनुभव हो ।” नारदले आँखा कड्काएर कुम उचाल्यो । उसको कुम–उचालाइ पनि नयाँ भएर होला एकातिरको अलिक माथि र अर्कोतिरको अलिक तलसम्म मात्रै उचालिँदोरहेछ ।

“सरकारको कार्यकारी प्रमुखले सदनको रोस्टममै उभिएर – ‘भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्नुको आधार के होला ?” सबैभन्दा गम्भीर र अन्तिम जिज्ञासा नारदजीलाई राखेँ ।

“यो पनि नयाँ कुरा हो मात्र बुझ्‌नु न । भन्ने स्वयंले नै भर्खर मात्र नयाँ रहस्य थाहा पाएको भनेको सुन्नुभयो नि ! यति भनेपछि पुराना दलकाहरु, बाह्र भाइजस्ता पत्रकारहरु सिमानातिर जान्छन्, सोध्छन्, खोज्छन्, नापजाँच गर्छन् । हामीले मिचेको जग्गा भेटिहाले भने, हामी ठिक, भेटेनन् भने पनि हामी नै ठिक । ठिक हुने यो नयाँ तरिका हो । भेटेनन् भने किन ठिक ? किनकि भनेकै भरमा दौडिनु कसको गल्ती ? पुरानाहरु हावामा कुद्छन्, हामी आगो र पानीमा । हावा भनेको नदेखिने चिज हो भने आगो र पानी देखिने । यति ज्ञान–विज्ञान त हामी नयाँलाई कसैले सिकाउनै पर्दैन, जानेरै जितेका हौँ नि । हावामा दौडनेहरुले भेटेनन् भने हामी ‘न–याँ’हरु अलिक काँचै छौँ, पैँतिस वर्षको जानकारी पैँतिस सेकेन्डमा, पैँतिस मिनेटमा, पैँतिस दिन वा पैँतिस महिनामा सिकिन्छ भनेर जनतालाई सोध्छौँ । जनताले सकिँदैन भनिहाल्छन् । हामीलाई अझै सत्तरी वर्ष लाग्न सक्छ किनकि ज्ञानको क्षेत्र दिनानुदिन फराकिलो बन्दै छ । अर्को फाइदा, पुरानाहरु सिमानातिर गएको मौकामा हामी यता संसद र सरकारमा नयाँ नयाँ चमत्कार गरौँला । हामी हरेक कुरामा, हरेक क्षण, हरेक काममा अशिष्ट भए पनि विशिष्ट चमत्कार गरेर कीर्तिमान कायम गर्न चाहन्छौँ । कुरा बुझ्यौ ?” निक्कै जान्ने पल्टिएर प्रतिप्रश्न गर्‍यो ।

“अँ, पैतिस वर्षे सांसदहरु मात्र होइन, हाम्रा नयाँ माननीयहरुले पनि गुगल, च्याट जीपीटी आदिमा सुप्रिमोको भनाइ पुष्टि गर्न रातदिन प्रमाणहरु खोजिरहेकै छन् । भेटे भने पुष्टि भयो, भेटेनन् भने नयाँ दृष्टि बन्यो । त्यही दिनचाहिँ कसैलाई अत्तोपत्तो नदिई अचानक सुटुक्क अनौपचारिक झैँ संसदमा किन सरकारका सुप्रिमोले उक्त कुरो बोल्नुभयो भनेर पुराना पैतिस वर्षेहरु मात्र होइन, हामीभन्दा केही दाइ र एउटा भाइ पार्टीहरु पनि चिच्याइरहेका छन् । खासमा, हामीसँग दुईजना सुप्रिमो हुनुहुन्छ – एउटा पार्टीको, अर्को सरकारको । पार्टीको सुप्रिमो त्यसको भोलिपल्ट भारतमा पुगेर सरकारको सुप्रिमोलाई अप्ठ्यारो पारेर दुवै सुप्रिमो एकै जनाले लिएर महासुप्रिमो बन्ने शङ्का र खतरा थियो । त्यसकारण, सरकारका सुप्रिमोले स्वर्गसरकारलाई अरु कुनै सरकारले अहिले नछोओस् भन्न पनि भनिएको रे । योचाहिँ ‘रे’को कुरा मात्र नि । बस्, सारा कुरा यति हो काजी ।”

मेरो प्रतिक्रिया नपर्खी नै सरासर प्रवक्ता नारद हिँड्यो – कता हिँड्यो कता ।
मैले ‘हो’ मनबाट भन्न सकिनँ, र ‘होइन’ भन्न दिमागबाट सकिनँ । ‘नयाँ’को नाम भजाएर स्वर्गको राज्यसत्ता ‘न–याँ’हरुले पो गरिरहेका रहेछन् भन्नेचाहिँ दिमाग र मन दुवैबाट निर्क्यौल गरेँ ।
जय ‘नयाँ’ ! जय जय ‘न–याँ’ !! जय जय जय ‘न–याँ’प्रेमी हामी स्वयंहरु !!!

०००
बेलबारी नपा–०१, नमुनाटोल, नमुनामार्ग नं. ७, मोरङ, नेपाल
वि.स.. २०८३ ज्येष्ठ ३१ गते आइतवार

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
sudip khawas
sudip khawas
3 months ago

very inspiring🫣 and true sir… keep it up

Nepal Telecom ad
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x