साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न–याँ

‘नयाँ’को नाम भजाएर स्वर्गको राज्यसत्ता ‘न–याँ’हरुले पो गरिरहेका रहेछन् भन्नेचाहिँ दिमाग र मन दुवैबाट निर्क्यौल गरेँ । जय ‘नयाँ’ ! जय जय ‘न–याँ’ !! जय जय जय ‘न–याँ’प्रेमी हामी स्वयंहरु !!!

Nepal Telecom ad

ईरानराई :

मसँग नेपाल प्रज्ञा–प्रतिष्ठानको वि.सं. २०७९ आषाढ १५ गते प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’को प्रथम संस्करण हातमै भइरहन्छ । त्यहाँ ‘न’को अर्थ खोज्दा – ‘देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये बिसौँ व्यञ्जन, … अल्पप्राण … क्रियापदका अगाडि, पछाडि वा बिचमा समेत आएर निषेध बुझाउने शब्द, … शब्दको अगाडि लागेर उल्टो अर्थ बुझाउने शब्द … कार्य वा विषय आदिको अभाव वा निषेध बुझाउने शब्द≤ अहँ≤ नाइँ …’ इत्यादि भेटिन्छ ।
त्यसैगरी ‘याँ’को अर्थ – ‘शिशु वा हुर्केका मानिस रूँदाको ध्वनिको अनुकरण, यति थोरै≤ अलिकति मात्र’ आदि पाइन्छ ।

उल्लिखित जोडा वर्णहरुलाई समायोजन गरेर ‘नयाँ’ शब्दको निर्माण गरिएको छ । ‘नयाँ’ शब्द सुन्दा साँच्चै आधुनिक, सभ्य र सिर्जनात्मक लाग्छ तर यसको गठन हेर्दा त निराशाजनक भेटिदोरहेछ । खालि ‘अल्प’, ‘निषेध’, ‘उल्टो’, ‘अभाव’, ‘रूँदाको ध्वनि’, ‘थोरै’, ‘अलिकति’ मात्र रहेछ ।

‘न–याँ’ शब्दको गठन र कलियुगमा स्वर्गलोकको स्वर्गसभा तथा स्वर्गसरकारको गठन झण्डै मिल्छ ।
म मर्त्यलोकको यमराज भए तापनि मलाई ‘नयाँ’ शब्द मनपर्छ । म मर्त्यलोकको यमराजको स्वर्गलोकको देवी–देवताहरुसँग निकट साइनो र घनिष्ठ सम्बन्ध छ । स्वर्गसभामा पुराना भनिएकाहरुलाई नियोजित निर्वाचनमा हराएर करिब दुई–तिहाइको बहुमत प्राप्त दलको सर्वशक्तिमान स्वर्गसरकार गठन गरिएको छ । सो सरकारले सशक्त ढङ्गबाट शासन र प्रशासन चलाइरहेको छ । तिनै सत्तारूढ दल ‘न–याँ’का प्रखर प्रवक्ता, मेरा प्रिय प्रतिस्पर्धी मित्र बोलक्कड नारादसँग हिजो राम्रै भलाकुसारी गर्ने अवसर जुट्यो । उनले आफ्‌ना केही स्वर्गसभाका सदस्य तथा स्वर्गसरकारका स्वर्गमन्त्रीहरुको बारेमा निर्धक्क प्रशंसा गरे ।

“हाम्रो असली सुकुमबासी माननीय हुनुहुन्छ । उहाँको घर मात्र छ, तर जग्गा छैन । जग्गाबिना कहाँ घर ठड्यायो होला भन्नुहोला ! उहाँको भवन जमिनमाथि नै छ । उहाँको जग्गा नभएको होइन, केवल उहाँको त्यो जग्गाको धनीपुर्जा छैन । स्वर्गसरकारले राजधानी कान्तिपुरी नगरीमा सेना–प्रहरी उभ्याएर डोजरले सुकुमबासीहरुको घरटहरा भत्काउन थालेपछि चौतर्फी विरोध भयो तर सरकारले कसैको सुझाव र विरोध सुनेन । सुकुमबासीहरु फेरि घरबारविहीन भए, भोकै–तिर्खै बस्नुपर्ने, स्कुले बालबच्चा स्कुल जानै नसक्ने भए, कति मरे, कति सुत्केरी र रोगीहरु थलिए, सरकारले केही देखेन । हामी सरकारी सांसद भए तापनि सत्ताभित्रको प्रतिपक्ष हौँ क्या !” आँखा सन्काउँदै भन्यो – “अर्थात् हाम्रो पार्टीको सुप्रिमोमार्फत कसैले सुकुमबासीको घरटहरा भत्काउन आए, पहिला डोजरका अगाडि हामी छाती थाप्छौँ भनेका थियौँ ।

त्यही चुनावी फण्डामाथि सरकारले डन्डा चलाएपछि हामी रक्षात्मक बन्यौँ । हामीले साँच्चै छाती थापेको भए कुखुराको छातीजस्तै चिरेर भुटन बनाइदिनेरहेछ । त्यसर्थ जुक्ति निकाल्यौँ । सरकारभित्रैको हाम्रो विपक्ष, अर्थात् सत्तारूढ दलको सरकारको सत्तापत्त गुटको माननीयको बिनाधनीपुर्जाको महँगो घडेरीमाथिको त्रिलोकझैँ तले भवनको भिडियो भाइरल बनाइदियौँ । विपक्षीहरु पनि तातिए । सुकुमबासीहरुले पनि नारा–जुलुस गर्न थाले र सरकारले सत्तारूढ दलका सत्तापक्षीय सांसदहरुको महल बचाउन अन्य सुकुमबासीहरुमाथिको आक्रामण मत्थर गर्‍यो । ऊजस्ता सरकारी सुकुमबासी नेता, सांसद र मन्त्रीहरु कति छन् कति हाम्रो ‘न–याँ’ पार्टीमा ।”

“हाम्रो एक जना विद्वान् मन्त्रीको त न पुर्जा छ, न नक्सा–पास, केवल महलको छ आलिसान बास । उनी भन्छन् हाम्रो जस्तो सानो क्षेत्रफलको देशको खोलाले भारतको, चीनको, अमेरिकाको, क्यानडाको वा रसियाजस्ता विशाल देशको खोलाले जस्तो फराकिलो भएर बग्नु पाइँदैन । त्यसैले उनले खोलाको जमिन मिचेको होइन, खोलाले अतिक्रमण गरेको जग्गामाथि खोलालाई पाठ सिकाउन महल बनाएको हो ।”

“अरु कस्ता कस्ता माननीयज्यूहरु हुनुहुन्छ तपाईँहरुसँग ?” मैले नजानिँदो पाराले सोधेँ ।
“प्रहरीको उच्च पदस्थ राष्ट्रसेवकबाट जनसेवक बन्ने सांसद हुन् उनी । उनी निर्वाचन क्षेत्रको एउटा विद्यालयमा अवलोकन–निरीक्षण गर्न जाने सुइँको पाएपछि त्यस विद्यालयको बाठो प्रधानाध्यापकले प्रवेशद्वार, ढोका, झ्याल सबै खुल्ला छाडेर ऊचाहिँ कार्यालयभित्र मागपत्र तयारीमा तल्लीन भएछ । विचरा हाम्रो सोझो माननीय, फूलमाला, खादा, अबिर र दुईचारओटा मोबाइलकै भए पनि क्यामेरा लिएर स्वागत गर्न प्रवेशद्वारबाहिर आउँछ होला भनेर हाताबाहिरै एक घन्टा पर्खिरहेछ । तर बाठो प्र.अ.ले आँखीझ्यालबाट माननीयलाई चियाइरहँदो रहेछ – सरासर भित्र पसे, एउटा मात्र माग राख्ने, अलिक अलमलिएमा तीनओटा माग राख्ने र ढिलो पसेमा माग नै नराख्ने, सट्टामा गाली गर्ने भन्दै बसेछ । कति बेला प्र.अ. हाताबाहिर आएर स्वागत गर्छ भनेर सांसद छटपटिने, कार्यालयभित्र माननीय कति बेला छिर्छ र माग राख्ने भनेर प्र.अ. कुरिरहनेमा जुहारी नै चलेछ ।”

“प्र.अ. स्वागत गर्न धेरै बेरपछिसम्म नआएपछि माननीयले आफैँले प्र.अ.लाई डाकेर आमाचकारी गाली गरेछन् । राष्ट्रसेवक हुँदा जति गाली राजनीतिकर्मीहरुबाट खाएको थियो, उम्मेदवार हुँदा जति गाली जनताबाट खाएको थियो≤ त्यसको दश गुणा बढी, अर्थात् माफी माग्ने तहसम्मको, गाली प्र.अ.माथि बजार्‍यो । धन्न राष्ट्रसेवकबाट जनसेवक भएकोले मात्र, नत्र त्यो प्र.अ. त्यस दिन त्यहीँ प्र.अ. पदबाट सहिद बन्थ्यो ।” हौसिदै नारदले कुरा रोक्यो ।
“अरु केही विशिष्टहरुको पनि कुरा बुझौँ न ?” मैले अझै हौसाएँ ।

“पुरानाका जस्ता छन् त हाम्रो ‘न–याँ’ पार्टीमा । कति होइन, हाम्रा सबै नेता विशिष्ट !” ऊ आफैँमा गर्व गर्दै उत्साहित बन्यो ।
“जस्तै केही उदाहरण ?” मैले आन्द्राभुँडी अझै खोतल्न चाहेँ ।
“ऊ हिमाली जिल्लाकी हो । म गरिब, चप्पल लगाउने हुइनँ, कमाएकी धनीमानी हुँ, म धनीमानी भएकीले म भ्रष्टाचार गर्दिनँ । भ्रष्टाचार त गरिब र चप्पल लगाउनेहरुले गर्ने हो भनेर प्रख्यात दार्शनिकमा दर्ज भएकी उनी उम्मेदवार बनेपछि भोट माग्नचाहिँ तिनै गरिब, कतिसम्मका गरिब भने, कतिपयसँग त चप्पल पनि थिएन, त्यस्ताकोमा गइन् । एकातिर पातलो बस्ती, अर्कोतिर काम नगरेर घरमै मात्र बसेर खान नपुग्ने गाउँ, र तेस्रो अवस्था अहिले के खाऊँ, भरै के खाऊँको आर्थिक सङ्कटका भ्रष्टाचार गर्ने (उनको दृष्टिमा) समुदायमा मतदाताहरुलाई भेट्न सकिनन् । त्यसपछि उनले अग्लो डाँडामाथि पुगेर वरिपरि घुम्दै ठुलो माइकबाट भाषण गरेर सुख्खा डाँडापाखाहरुसँग भोट मागेपछि विश्वचर्चित बनिन् ।” नारदले खुसी हुँदै भन्यो ।

“उनको मत–परिणाम के भयो त ?” मैले जिज्ञासा राखेँ ।
“डाँडापाखाहरुले भोट खसाल्न नपाउने रहेछन् । मतपरिणाम त आफैँ बुझ्‌नु नि अब ! तर, सायद त्यति अग्लो डाँडामा पुगेर मानिसहरुलाई होइन, डाँडापाखाहरुलाई निर्वाचनमा भोट माग्ने उम्मेदवार उनी पहिलो नै होलिन् भन्ने ठानेका छौँ ।” उसले अलिक नमिठो मान्दै पराजय भएको स्वीकार गर्‍यो ।

“स्वर्गमा त स्वास्थ्य, शिक्षा र विद्युत पूर्ण निशुल्क हुनुपर्नेमा कर पो लगाइछ । खास के हो ?” मैले साँच्चै कारण जान्न चाहेँ ।
नारादले हाँसिमजाकमै बोल्यो – “हाम्रो अर्थमन्त्री नाथु स्नातक, खाग–थु स्नातकोत्तर मात्र पढेको होइन≤ उसले त पीएचडी गरेको, त्यही पनि विदेशबाट जहाँबाट हाम्रो देशलाई अर्थशास्त्रमा मात्र होइन,  सबै शास्त्रहरुमा, सबै शास्त्रीहरुलाई, सबै शस्त्र–अस्त्रहरु पढाइन्छ, सिकाइन्छ र प्रयोग गरिन्छ । फेरि हामीले प्रस्ट भनेका छौँ – हाम्रो पार्टी र यो बजेट गरिब–निमुखा जनताहरुका लागि होइन, मध्यम र उच्च मध्यम वर्गका मानिसहरुका लागि हो । त्यसर्थ शिक्षा, स्वास्थ्य र विद्युतजस्ता क्षेत्रमा कर लगाउनु भनेको आफ्‌नै कार्यकर्ता र नेताहरुबाट कर असुल्नु हो । हाम्राहरुले चुपचाप तिर्छन् । गरिबहरुको, पुरानाहरुको यी करमा किन टाउको दुःखाइ क्या ! चर्को गर्मी होस् कि खाना अधकल्चो पाकोस्, खाना खाँदा बत्ती निभाएर खानु परोस्‌≤ गरिबहरुले उनन्चास युनिट पुगेपछि बिजुली चलाउन बन्द गर्नुपर्छ । पचास कटाउने हो भने थप पाँच प्रतिशत कर तिर्नैपर्छ ।”

“त्यस्तै शिक्षा र स्वास्थ्यका लागि पनि गरिबहरु सरकारी विद्यालय र अस्पताल जानुपर्दछ जहाँ संस्थागत विद्यालय र निजी अस्पतालको तुलनामा आधीसम्ममा सेवा पाइन्छ । यी सेवाहरु कति कति लाख जनताले कति कति मात्रामा उपभोग गर्छन् भन्ने तथ्याङ्क हामीसँग छ । त्यही तथ्याङ्कको आधारमा स्वर्गसरकारले निष्कर्ष निकाल्यो – कर तिनै विषयमा लाउने । एकातिर करबाट उच्च आम्दानी, अर्कोतिर करबाट जनतामा गहिरो डर । शिक्षा, स्वास्थ्य तथा विद्युतजस्ता आधारभूत आवश्यकताका सेवामा कर लगाउँदा पनि खै कतै हल्ला छ विरोधको, असन्तुष्टिको ? पुराना दलको सरकार भए, र यी शीर्षकहरुमा कर लगाएको भए, यतिखेरसम्म बँचेखुचेका सरकारी भवनहरु र सांसद, मन्त्री र नेताहरुको घर खरानी भइसक्थे किनकि ठुलो खतीपछि तीव्र गति, विनाशपछि मात्र विकास हाम्रो मन्त्र, वाद र मनोविज्ञान हो ।” गर्वका साथ मुसुक्क हाँस्यो पनि ।

”वैशाख १५ गतेदेखि विद्यालय सञ्चालन गर्नुपर्ने निर्णय गरियो । केही दिनपछि वैशाख १५ गतेदेखिचाहिँ भर्ना अभियान र वैशाख २१ गतेदेखि मात्र पठनपाठन गर्नू भन्ने उर्दी जारी भयो । यो निर्देशन किन एउटै सूचनामा गरिएन ? वैशाख सुरूदेखि नै भर्ना र पठनपाठन गरेको भए, कसलाई हानिनोक्सानी हुन्थ्यो – विद्यार्थीलाई ? अभिभावकलाई ? विद्यालयलाई ? पुस्तक/कापी, लुगा–जुत्ता व्यावसायीलाई ? समाजलाई ? या सरकारलाई ? चुरो कुरो के हो नारदजी ?” मैले अलिक जोड दिएरै सोधेँ किनकि यो विषय मैले जान्नै चाहेको थिएँ ।

“नयाँ पार्टी, नयाँ नेतृत्व, नयाँ सांसद, नयाँ सरकार, नयाँ निर्णय, नयाँ चलन,  बस् यति हो । बाँकी कारण त निर्णयकर्ता स्वयं शिक्षामन्त्रीलाई सोधे पनि जवाफ आउँदैन किनकि उनलाई पनि यसको कारण थाहा छैन । उनको पनि यो नयाँ निर्णय र नयाँ अनुभव हो ।” नारदले आँखा कड्काएर कुम उचाल्यो । उसको कुम–उचालाइ पनि नयाँ भएर होला एकातिरको अलिक माथि र अर्कोतिरको अलिक तलसम्म मात्रै उचालिँदोरहेछ ।

“सरकारको कार्यकारी प्रमुखले सदनको रोस्टममै उभिएर – ‘भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्नुको आधार के होला ?” सबैभन्दा गम्भीर र अन्तिम जिज्ञासा नारदजीलाई राखेँ ।

“यो पनि नयाँ कुरा हो मात्र बुझ्‌नु न । भन्ने स्वयंले नै भर्खर मात्र नयाँ रहस्य थाहा पाएको भनेको सुन्नुभयो नि ! यति भनेपछि पुराना दलकाहरु, बाह्र भाइजस्ता पत्रकारहरु सिमानातिर जान्छन्, सोध्छन्, खोज्छन्, नापजाँच गर्छन् । हामीले मिचेको जग्गा भेटिहाले भने, हामी ठिक, भेटेनन् भने पनि हामी नै ठिक । ठिक हुने यो नयाँ तरिका हो । भेटेनन् भने किन ठिक ? किनकि भनेकै भरमा दौडिनु कसको गल्ती ? पुरानाहरु हावामा कुद्छन्, हामी आगो र पानीमा । हावा भनेको नदेखिने चिज हो भने आगो र पानी देखिने । यति ज्ञान–विज्ञान त हामी नयाँलाई कसैले सिकाउनै पर्दैन, जानेरै जितेका हौँ नि । हावामा दौडनेहरुले भेटेनन् भने हामी ‘न–याँ’हरु अलिक काँचै छौँ, पैँतिस वर्षको जानकारी पैँतिस सेकेन्डमा, पैँतिस मिनेटमा, पैँतिस दिन वा पैँतिस महिनामा सिकिन्छ भनेर जनतालाई सोध्छौँ । जनताले सकिँदैन भनिहाल्छन् । हामीलाई अझै सत्तरी वर्ष लाग्न सक्छ किनकि ज्ञानको क्षेत्र दिनानुदिन फराकिलो बन्दै छ । अर्को फाइदा, पुरानाहरु सिमानातिर गएको मौकामा हामी यता संसद र सरकारमा नयाँ नयाँ चमत्कार गरौँला । हामी हरेक कुरामा, हरेक क्षण, हरेक काममा अशिष्ट भए पनि विशिष्ट चमत्कार गरेर कीर्तिमान कायम गर्न चाहन्छौँ । कुरा बुझ्यौ ?” निक्कै जान्ने पल्टिएर प्रतिप्रश्न गर्‍यो ।

“अँ, पैतिस वर्षे सांसदहरु मात्र होइन, हाम्रा नयाँ माननीयहरुले पनि गुगल, च्याट जीपीटी आदिमा सुप्रिमोको भनाइ पुष्टि गर्न रातदिन प्रमाणहरु खोजिरहेकै छन् । भेटे भने पुष्टि भयो, भेटेनन् भने नयाँ दृष्टि बन्यो । त्यही दिनचाहिँ कसैलाई अत्तोपत्तो नदिई अचानक सुटुक्क अनौपचारिक झैँ संसदमा किन सरकारका सुप्रिमोले उक्त कुरो बोल्नुभयो भनेर पुराना पैतिस वर्षेहरु मात्र होइन, हामीभन्दा केही दाइ र एउटा भाइ पार्टीहरु पनि चिच्याइरहेका छन् । खासमा, हामीसँग दुईजना सुप्रिमो हुनुहुन्छ – एउटा पार्टीको, अर्को सरकारको । पार्टीको सुप्रिमो त्यसको भोलिपल्ट भारतमा पुगेर सरकारको सुप्रिमोलाई अप्ठ्यारो पारेर दुवै सुप्रिमो एकै जनाले लिएर महासुप्रिमो बन्ने शङ्का र खतरा थियो । त्यसकारण, सरकारका सुप्रिमोले स्वर्गसरकारलाई अरु कुनै सरकारले अहिले नछोओस् भन्न पनि भनिएको रे । योचाहिँ ‘रे’को कुरा मात्र नि । बस्, सारा कुरा यति हो काजी ।”

मेरो प्रतिक्रिया नपर्खी नै सरासर प्रवक्ता नारद हिँड्यो – कता हिँड्यो कता ।
मैले ‘हो’ मनबाट भन्न सकिनँ, र ‘होइन’ भन्न दिमागबाट सकिनँ । ‘नयाँ’को नाम भजाएर स्वर्गको राज्यसत्ता ‘न–याँ’हरुले पो गरिरहेका रहेछन् भन्नेचाहिँ दिमाग र मन दुवैबाट निर्क्यौल गरेँ ।
जय ‘नयाँ’ ! जय जय ‘न–याँ’ !! जय जय जय ‘न–याँ’प्रेमी हामी स्वयंहरु !!!

०००
बेलबारी नपा–०१, नमुनाटोल, नमुनामार्ग नं. ७, मोरङ, नेपाल
वि.स.. २०८३ ज्येष्ठ ३१ गते आइतवार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
0
Would love your thoughts, please comment.x
()
x