साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर र कुकुर-कुकुर्नीहरू

मेरो काम नै झगडा लगाइदिने, कुकुर-कुकुरबिच युद्ध भयो भने त्यो नै मेरो सफलता हुनेछ । मलाई देशबाट मात्र होइन, विश्वबाटै कुकुरलाई सखाप पारेर एक्लै विश्व हाँक्नु छ । यो विचार र बुद्धि मान्छेबाटै सिकेको हुँ ।

Nepal Telecom ad

ईरानराई :

म कुकुर । हामी कुकुर तर हामी कुकुरहरू होइनौँ, मात्र कुकुर । हाम्रो वैज्ञानिक नाम Canis Pulus Familiaris हो । हाम्रो थर चार सयभन्दा बढी छन् । जब मान्छेहरूले हाम्रा पुर्खाहरूलाई कम्तिमा चौध हजारदेखि उनन्तिस हजार वर्ष पहिलादेखि उत्तरी गोलार्द्धको जङ्‌गलबाट घरपालुवा बनाए, त्यसपछि विस्तारै नेपाल आइपुगेका हौँ ।

हामीलाई भारतीयहरूले कुत्ता, चिनियाँहरूले ख्वऊ (Gǒu/च्वन=(quǎn) र अङ्‌ग्रेजहरूले डग (Dog) भनेर चिन्दछन् । मान्छेहरूको मनपरी यहीँ देखिन्छ ।

नेपालसँग सीमा जोडिएर मात्र होइन, नेपाली शब्द जुत्तासँग लय (अनुप्रास) मिल्ने भएर होला, कुत्ता शब्द नेपाली साहित्य र राजनीतिमा निक्कै चल्दछ । कुत्तापछाडि मग (mug), रग (rug), हग (hug)सँगै डग (dog) पनि चल्दछ । बालबालिकाहरूलाई पहिलो कक्षादेखि नै डग पढाइन्छ, घोकाइन्छ । सायद अङ्‌ग्रेजहरूको वैश्विक प्रभावले गर्दा होला । चिनियाँ प्रभाव न्युन छ । सँधियार भएर पनि अग्ला हिमालहरूले चिनियाँ प्रभाव छेक्छन् होला ।

हाम्रो महत्ता धेरै छ । हिन्दुहरूले जीवको चौरासी लाख जुनी हुन्छ, कुकुर अन्तिम जुनी हो र कुकुरपछि मान्छेको जुनी हुन्छ भन्ने विश्वास गर्दछन् । यस अर्थमा, मलाई मारे भने म मान्छे बन्नेछु तर मलाई मान्छे बन्ने पटक्कै हतारो छैन किनकि कतिपय मान्छेहरू हामी कुकुरभन्दा बढी फोहोरी, दुराचारी, ठग, चोर र परनिर्भर छन् । त्यस्ता मानिसहरूलाई हामी `कुकुरहरू´ भन्दछौँ । त्यस्ता कुकुरहरू बन्नुभन्दा कुकुर हुनुमै मज्जा र गर्व छ ।

रसियालीहरूले आफ्नो हिम्मत नपुगेपछि हाम्री कुप्री बोजु `लाइका´लाई अन्तरिक्षमा पठाए, र बोजुले नै इतिहास रच्नुभयो – `प्रथम अन्तरिक्ष जीवयात्री – लाइका´ । भनिन्छ – जो खतरामा पहिला उत्रिन्छ, सफलतामा पनि ऊ नै प्रथम हुन्छ । तर जति पनि खतराहरू छन्, आगलागी होस् वा बाढीपहिरो, हत्यारा, चोर पत्तो लगाउन होस् वा रातभरि घरको सुरक्षा गर्न होस्, युद्धमा आत्मघाती बम पड्काउन होस् वा जङ्‌गलमा सिकार खेल्दा बाघ, भालु, सिंहसँग भिड्न होस्; जहिल्यै कुकुर सहिद बन्छ, मान्छे विजयी बन्छ । त्यसैले लाइका बोजु अपवाद हो ।

सबैभन्दा इमानदार पशुका रूपमा हामीलाई मान्छन् तर हामी त्यस्ता छैनौँ, हामी केहीका इमानदारी देखावटी हुन्छन् । मान्छेहरूले जस्तै कतिपयले लुकेर, चोरेर खानेकुरा खाइदिन्छन् । त्यस्ता चोर र बेइमानहरूलाई हामी `कुकुरहरू´ भन्दछौँ किनकि तिनीहरूमा मानवीय गुण सरिसकेको हुन्छ ।
जसरी नेपालका श्री ५ हरूले मात्र होइन, श्री ३ हरूले निरङ्‌कुश जहानियाँ शासन गरे, जसरी लेगुवा, धनकुटामा सर्किनी बजैको मकै खाएका श्री ३ हरूका श्री ५ जङ्‌गेले उपद्रो मच्चायो, उसैगरी हामी कुकुरले पनि कुमान्छेहरूप्रति शासन लाद्ने हो कि भनेर घरिघरि झोक चल्छ तर बलभन्दा बुद्धि ठुलो, तरबारभन्दा कलम बलियो भएकाले चुप छौँ ।

हाम्रा केही संक्षिप्त वृतान्त सुनाउँछौँ है ।
म माहिलो, नाम ल्याङ्ग्रे । मेरो मालिक गरिब छ; खान, लाउन र नचुहिने बासकै अभाव छ । घरमा दुई बुढाबुढी मात्रै, सरकारले दिएको वृद्धभत्ताले गुजारा चलाउँछन् । भत्ता थापेका दिन एक पावा मासु ल्याउँछन्, उसिन्छन् । दुवैका सक्कली दाँत छैनन्, हड्डी र छाला मेरै भागमा पर्छन् । महिनामा एक छाक भए पनि मासुभात खान पाएको छु । जे खान्छन्, मलाईसहित तीन भाग लगाउँछन्, र नै छरछिमेकका धनीमनीहरूले बोलाए पनि खान गइदिन्छु तर बासचाहिँ बुढाबुढीकैमा बस्छु ।

मेरा बुढाबुढीहरूलाई गरिब भनेर हेप्छन्, दलित भनेर नछोऊ भन्छन्, पानी भर्दा धारा पनि छुन दिँदैनन् । मुलुकी ऐन २०१९ ले नसकेर २०७४ पनि ल्यायौँ भनेर फुर्ती हाँक्ने मान्छेहरूको आर्थिक-सामाजिक विभेद देख्दा बहुलाऊँ, र गाउँघरका सबैलाई एकेक गरी टोकुँ जस्तो लाग्छ । सिधै मार्नुभन्दा बहुलाउने बनाउनु बढी उत्तम ।

म साहिँलो, नाम छाउरो । परिवार सम्पन्न नभए पनि खान अपुग छैन । भाडाको घरमा बसे पनि मलाई नुहाइदिन्छन्, कपाल कोरिदिन्छन्, बिहान डुलाउन लान्छन् । खासमा डुलाउन भन्दा पनि दिसापिसाब गराउन लान्छन् । म त बाटैभरि पिसाब र लेँड झारिदिन्छु । मालिक-मालिकनीहरूले नदेखे जस्तो गर्दछन् । बटुवाहरूले छिः छिः दुर दुर गर्दै सराप्छन् तर झ्याल-ढोका थुनेर कोठाभित्र मालिक-मालिकनीका कानमा सङ्‌गीत मस्त गुञ्जिरहेको हुन्छ, सराप सुन्दैनन् । नसुनेपछि सराप लाग्दैन ।

एक साँझ, हगाउन मलाई बाहिर लगे । फर्किँदा अँध्यारो बढेको थियो । मोटी मालिकनी मेरै गुहुमा चिप्लिएर विद्युतखम्बामा नाक ठोक्याउन पुगिन् जहाँ अघि मैले एक माना पिसाब गरेको थिएँ । मालिकनीलाई दुखाइभन्दा मेरो पिसाबको गन्धले मातेछ, भक्कु गाली गरिन् : “तँ मरोलाई पनि यही पोलमा मुत्नुपर्ने, अर्को भेट्टाइनस् !´´ ङिच्च गर्दै उल्टै व्यङ्‌ग्य गरेँ – `भाडाको घरमा बसेर कुकुर पाल्ने, अनि हगाउन-मुताउनचाहिँ बाटो बाटो कुदाउने, खुच्चिङ !´
म काइँलो, नाम शेरे । युद्धमा पति मारिएकी एकल महिलाकोमा बस्छु । पतिको पैतृक, लोग्नेको राहत र निवृत्तिभरण गरेर राम्रै सम्पत्ति छ मालिकनीको । माइतीको सुझावअनुसार एकल नै बसिन्, दोस्रो बिहे गरिनन् । घरायसी कामका लागि कान्छी छे, र नियास्रो मेटिदिने म छु । मेरालागि विशेष किसिमले बनाइएका स्नानकक्ष, शयनकक्ष, नयनकक्ष (शृङ्‌गार गरिने), चैनकक्ष (उफ्रिने, खेल्ने), भोजनकक्ष र ओजनकक्ष (स्वास्थ्यपरीक्षण गरिने) छन् ।

बिनारोकटोक मेरो मनपरी चल्छ त्यस घरमा । दिउँसो मालिकनी कार्यालय गएको बेला मेरो रेखदेख कान्छीले गर्छे । मालिकनी आएपछि कान्छीसँगको सङ्‌गत चट् । छरछिमेक र आफन्तहरूले भनेको सुनेको छु – `कुकुरले नपाएको दु:ख पाओस् भनेर सराप्थे शत्रुलाई, शेरेको भोज र मोज देख्दा त अब श्राप होइन, कुकुरले भन्दा बढी सुख पाओस् भनेर आशीर्वाद पो दिनुपर्ने भयो ।´

म ठाहिँलो, नाम डग्गी, अधबैँसे रात्री सुरक्षाकर्मी । पल्लाघरे पक्कीघरेले बेलायतबाट गुडियाजस्ती गोरेनी, हेर्दा बच्ची बच्ची देखिए पनि तरुणी कुकुरनी ल्याएका छन् । पहिलो हेराइमै दुईतर्फी प्रेम बस्यो । तर दूर्भाग्य – मलाई दिनभरि खाँबामा बाँध्छन् र राती छाड्छन् । उसलाईचाहिँ दिनभरि बरण्डा र आँगनमा छाड्छन् र साँझमा घरभित्र हुल्छन् । बेलुका झ्यालबाट भए पनि हेर्न यसो उफ्रियो, पर्खाल एक मान्छेभन्दा अग्लो ठड्याएका छन्, कहाँबाट देख्नु ! त्यो पर्खाल चोर, डाँका, फटाहालाई छेक्न भन्दा पनि हाम्रो मायाप्रेमलाई तुहाउन उभ्याएका हुन् जस्तो लाग्छ ।
खाना पाएर के गर्नु, मायामा बन्देज लागेपछि त तन मात्र होइन, मन पनि दुब्लाउँदो रहेछ ।

मान्छेहरूले चाहिँ नेवारले बाहुनी, क्षेत्रीले दमिनी, पहाडेले मधेसिनी बिहे गर्न हुने; नेपालीले चिनियाँ, मुसलमानले जापानी, गोराले हब्सिनी बिहे गर्न मिल्ने तर मैले बेलायती गोरेनीसँग बोल्नै नहुने रे, म फोहोरी, भुस्याहा रे ! थुक्क कुकुरको जुनी ! थुक्क कुकुर-कुकुरनीहरूको मानसिकता !!

म राइँली, नाम निरकमल, मोरङ जिल्लाको केराबारी गाउँपालिकाअन्तर्गत आरुबोटेचौकको एउटा होटलमा बस्छु । आरुबोटेदेखि पश्चिम मोडिएर दक्षिण केराबारी बजार, पूर्व लेटाङ बजार र उत्तर जेफाले जाने बाटाहरू छुट्टिएका छन् । बटुवा देख्यो कि बटुवालाई ग्राहक बनाउने काम हो मेरो, अर्थात् नयाँ आगन्तुक देख्यो कि मायालु तरिकाले भुक्ने, र अरू होटलमा होइन, हाम्रै होटलमा आउनुहोस्, स्वागत छ भन्छु । तर विडम्बना, हामी कुकुरले चाहिँ मनुवाको बोली बुझ्नै पर्ने रे, हाम्रो बोलीचाहिँ उनीहरूले बुझ्दैबुझ्दैनन् । हाउ सोल्टिनीहरू, स्वागत छ है भन्यो, डरले भाग्छन् ठिटीहरू । लुङ्‌गा सेवारो आदेम्बे है भन्यो, `भुक्छस्´ भनेर ढुङ्‌गा उज्याउँझन् मोराहरू ।

कुनै यात्री होटलमा छिरे भने म पनि पुच्छर हल्लाउँदै पछि लाग्छु र मालिकनीको अनुहारमा पुलुक्क हेर्छु – मालिकनीले आँखा तर्छिन् कि मुस्कुराउँछिन् भनेर । आँखा तरिन् भने लुसुक्कै बाहिर कुद्छु । धेरै ग्राहक आएको दिन धेरै खाना, थोरै आएका दिन थोरै खाना र नआएको दिन भोकै बसिन्छ । कहिलेकहीँ आफैँलाई प्रश्न गर्छु – `हामी कुकुरनी अबुझ कि मालिकनीहरू बढी अबुझ ? ग्राहक पसे पनि, नपसे पनि, मैले मेरो काम फत्ते गरेपछि त पेटभरि खान पाउनुपर्ने होइन र लुङ्‌गाहरू ? कुकुरनी भए पनि बिनापरिश्रम खानाको आश गरिएको छैन है सोल्टीहरू !´

म अन्तरी, नाम तृषा । मलाई जहिल्यै तिर्खा मात्र लागिरहन्छ, त्यसैले होला नाम तृषा । म विमानस्थलमा परेकी छु । सुरु सुरुमा त हवाई जहाज उड्दा, गुड्दा र झर्दा औधी डराउँथेँ, चर्को ध्वनि र कम्पनले कानको जाली नै फटाउँछ जस्तो लाग्थ्यो तर विस्तारै बानी परेँ । यात्रु र क्यान्टिनवालाहरूले दिएकैले अघाउँथेँ । विमानस्थलको कुकुर न हुँ नियमितले नपुग्ने, अतिरिक्त चाहिने । धनीमानी, मन्त्री, विदेशीहरू आइरहने नाका, मलाई पनि अतिरिक्त भोक जाग्यो । अनि सुरक्षाकर्मी र कर्मचारीहरूको आँखा छलेर यात्रुहरूको झोलाभित्रका मिठा, महँगा र नयाँ नयाँ खानेकुराहरू चोरेर खान थालेँ । ताला लगाए पनि चेन कसरी खोल्ने र जस्ताको तस्तै बनाउने भन्ने भूमिगत तालिमबाट सिप हासिल गरेकी छु ।

एक दिन त नचिनेर सुरक्षाकर्मीकै आमाको कोसेली खाइदिएछु । भक्कु भकुर्‍यो, अब तपाईँहरूको चोर्दिनँ भन्ने नै बनायो मोराले ।
अर्को दिन मन्त्रीको छोरीको खाना खाइएछ, खेलाउन पनि झोलाबाहिरै छाडिएछ । अनुसन्धानको प्रहरीले भाटैभाटाले हान्यो । ज्वरो र खुट्टामा चोटका कारण चार/पाँच दिन थला परेँ ।

`ती सुरक्षाकर्मी र कर्मचारीहरूले यात्रुको झोला नखोतल्ने हो भने, मैले पनि सिक्दिन थिएँ; कतिपय उनीहरूले महँगा सामग्री नलुकाउने भए, मैले पनि चोरेर घिच्दिन थिएँ । अनि एउटा चोरले तैँले चोरिस् भनेर अर्को चोरलाई डन्ठ्याउनु न्यायसङ्‌गत हुन्छ श्रीमान् ?´ मैले मेरो अनुसन्धानकर्ता प्रेमी डाँगोलाई सुटुक्कै सोधेँ ।

डाँगोले आँखा कड्कायो – `हामीभन्दा मान्छे बढी इमानी भए, हामी कसरी सबैभन्दा इमानदार ठहरिन्छौँ ?´
`तपाईँ पनि स्वार्थी, आफ्नो तलबभत्ता आफैँ मात्र हसुर्ने, प्रेमिका पनि यतै छे भनेर कहिलेकाहीँ त हाकिमसँग बिदा मागेर मगमगाउँदा परिकारहरू ल्याउनु नि !´ व्यङ्‌ग्य गरेँ ।

`के गर्छौ त तृषा, हामी कुकुरको बैङ्‌क-डिपोजिट नहुने, विवाह गरे पनि विवाहदर्ता प्रमाणपत्र नपाइने, कतै विदेश जाँदा पनि दम्पति सँगै जान नपाइने, त्यसैले तिमीलाई सम्झदै एक्लै खान्छु नि अड्की अड्की । हामीलाई बाध्यता छ । अर्को जुनीमा हामी मान्छे भएर जन्मिन्छौँ, अनि सँगै बसौँला, खाऔँला, मोजमस्ती गरौँला ।´ प्रहरी हबलदारले डाँगोलाई तानेर लग्यो, मैले हवस्, पर्खिन्छु भन्न पनि पाइनँ ।

मैले सोचेँ – `कुकुरको जात, जति नै चतुर भए पनि लठुवाकै पछि लाग्नुपर्ने । मान्छेलाई किन लठुवा भनेकी हुँ भने, जब उनीहरूको बुद्धिले अपराधी पत्तो लगाउन सक्दैनन् तब हामी कुकुरको सहायता लिन्छन् कुकुर-कुकुरनीहरू ।´

म जन्तरे, नाम गैडे । संयुक्त धनी परिवारमा जीवन चलाइरहेको छु । बुढाबुढीहरू छेउमा जानै दिँदैनन्, घिनाउँछन् । मालिक दिनभर कता जान्छन् र बेलुका अबेर मातेर फर्किन्छन् । सबै निदाएका हुन्छन्, म जागो बसेर मालिकनीलाई उठाउँछु । झर्कोफर्को र हाई काढ्दै मालिकनीले ढोका खोल्छिन् । मालिकनीलाई उठाउन सकेकोमा मालिकबाट स्याबासी पाइन्छ कि भनेर स्वागतमा पुच्छर हल्लाउँछु तर मालिकले कहिल्यै वास्ता गरेनन् । मालिकनी छुची छिन्, मन लाग्यो काखमा राख्छिन्, सुम्सुमाउँछिन् । रिसाएकी बेला डाडुपन्यु जेले भेट्टायो, त्यसैले बजाउँछिन् । लोग्नेको रिस ममाथि पोख्छिन् । रक्सी धोकेर आएपछि मालिकनी रिसले आगो बन्छिन् र मालिकसँग बाझ्छिन् । उनीहरूको आन्द्राभुँडी ओकल्ने झगडा र चोट लागेको लाप्पा धेरै पटक देखेको छु । साना मालिक-मालिकनीले चाहिँ खुबै माया गर्छन् । मसँग बोल्छन्, खेल्छन्, नाच्छन्, जिस्कन्छन् । उनीहरूले बुवाआमा र बाजेबोजुको खासै खोजी गर्दैनन् किनकि उनीहरूले उनीहरूलाई मतलबै राख्दैनन् । केही चाहिए, आमालाई भन्छन् । अँ, बाजेबोजुसँग महिनाको तीन दिनचाहिँ फुच्चाफुच्चीहरू खुसीले बोल्छन् है – वृद्धभत्ता थाप्ने दिन, अघिल्लो र भोलिपल्ट ।

म सोच्छु – `जन्मदिने बुवाआमाभन्दा साथ र खुसी दिने म पो असली मातापिता हो कि !
अभिभावक-मान्छेबाट माया नपाएर कुकुरबाट माया खोज्ने कलियुगका छाउराछाउरीहरू !´
म पानीमन्तरे, नाम योगा । म अस्पताल परिसरमा डुल्छु । रोगी बुढाबुढी र बालबच्चा आए भने खान पाइन्छ भनेर मूल प्रवेशद्वार ढुकिरहन्छु । युवातन्नेरीले जस्तो वृद्ध र बच्चाले खाना पूरै खान सक्दैनन् । उब्रिएको जुठोपुरो भाग मेरो ।

अस्पतालभित्रको पक्षपात देखेको छु । सबै त्यस्ता छैनन् तर केही औँलामा गन्न सकिनेहरू बदमास छन् । कुनै कुनै डाक्टर, नर्सहरूले अर्कै पसलमा औषधी किन्न कानमा फुक्छन् । चाहिनेभन्दा बढी किनाउँछन्, घुर्ता गर्दा पसलेले पूरा दाम दिँदैन, ठग्छ । अक्षर र सही हेरेर पसलेले त्यस्ता डाक्टर र नर्सहरूको भाग राखिदिन्छन् । एकमुष्ठ हप्तावारी लेनदेन गर्दछन् । कोही नर्स यति धूर्त हुन्छन् कि सोझा बिरामीलाई धेरै औषधी किन्न लगाएर आफन्त र चिनेकालाई ती औषधी चलाइदिन्छन् ।

कमिसनका लागि हाम्रै अस्पतालमा बिरामी ल्याउने धेरै एम्बुलेन्सचालकलाई चिन्छु म । बिरामीको रोग, चोट र झोला विचारेर पाँच सयदेखि पचास हजारसम्मको थैली बुझ्छन् तिनले ।

एउटा नेताको छोरोलाई रुघाखोकी लागेर भर्ना गरेको थियो; अरू नेता, कार्यकर्ता, मन्त्री, डाक्टर र नर्सहरूको ताँती । छेउकै बिस्ताराको असहाय विरामीलाई ठेलेर झन्डै खसाए, तिनलाई हेर्न, सोध्न, खोज्न कोही आउँदैनन् ।

म बिहान-बेलुकै सोच्छु – हामी कुकुर त अनपढ छौँ तर पढेलेखेका, ठुलाबडा भनाउँदा मानिसहरू के सारो मूर्ख भएका हँ ? बुद्धि, बेहोरा र दयाबिनाका स्वार्थी कुकुर-कुकुरनीहरू !

हामी लखन्तरे र कान्छी, नाम छैन दुवैको । सङ्‌घीय राजधानीमा छौँ । मनपरी बोलाउँछन्, बोलाउँछन् भन्दा पनि खेदाउँछन् बढी । हाम्रो दिनचर्या फोहोरमै खानु, फोहोरमै सुत्नु र फोहोरमै रमाउनु हो । न खानाको टुङ्‌गो, न बासको चिन्ता; न खुसीको आश, जिन्दगी फोहोरमै बिन्दास ! राजधानीका कतिपय गल्लीभन्दा त गाउँको जेठा राईको सुँगुरको खोर बढी सफा देखेको छु । हामीले कुहिने फोहोर खाइदिएर वातावरण सफाइको काम गर्छौँ । अस्पतालको बरन्डा र प्यासेजैभरि खैनी, गुट्खा र घोलाका खोलहरू छर्छन्, मन्त्रालयको भित्तैभरि पान चपाएर थुक्छन्, होटलको भित्तैभरि पिसाब फेर्छन्, आँखा छल्यो कि खोलाखोल्सीहरूमा फोहोर फ्याँक्छन् सभ्य मानिस भनाउँदाहरू ।

हामी पशुपतिनाथ, स्वयम्भुनाथ धाउने कतिपय मानिसहरूले जस्तो भ्रष्टाचार गर्दैनौँ, कथित विवेकशील मानिसहरूले जस्तो छाडा बोल्दैनौँ, कथित सर्वोत्कृष्ट मानिसहरूले जस्तो चोरी, ठगी गर्दैनौँ ।

मान्छे भनाउँदाहरूको दरिद्र मानसिकता र उच्छृङ्‌खल क्रियाकलाप देखेर हामी कल्पना गर्छौँ कि फटाहा र जाली जतिलाई तुरुन्त सिध्याएर कुकुर बनाऊँ ता कि ती `मै हुँ´ भन्ने मान्छेहरूले हामी भुस्याहा कुकुरबाट केही ज्ञान र आचारण सिकुन् ।

म जेठो, नाम भोटेदादा । मेरो बास र क्षेत्र एक ठाउँ मात्र छैन, मुलुक नै मेरो कब्जामा छ । जसरी शक्तिशाली राष्ट्रले दुई देशका बिच युद्ध गराउँछ र हतियार बेच्छ, त्यसैगरी म पनि दुई वा सोभन्दा कुकुरलाई एकार्काविरुद्ध कुरा लगाइदिन्छु र लडाइँ गराइदिन्छु । उता उनीहरू लड्दै गर्दछन्, यता म उनीहरूकै खान्कीले आफ्नो पेट आरामले भर्दछु । मेरो काम नै झगडा लगाइदिने, कुकुर-कुकुरबिच युद्ध भयो भने त्यो नै मेरो सफलता हो किनकि मलाई कुनै देशबाट मात्र होइन, विश्वबाटै कुकुरलाई सखाप पारेर एक्लै विश्व हाँक्नु छ । यो विचार र बुद्धि मान्छेबाटै सिकेको हुँ । मलाई थाहा छ – मान्छे मरेर कुकुर बन्ने सुनिश्चतता छैन तर कुकुर मर्‍यो भने मान्छे बन्ने निश्चित छ । यो जीव-वैज्ञानिक परिवर्तन पनि मैले मान्छेबाटै जानेको हुँ ।
मलाई थाहा छ, मेरो यो कुरा अर्को कुकुरले त पत्याउँदैन तर कुकुर-कुकुरनीहरूले बिनाशङ्‌का पत्याउने छन् ।

अब `कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्‌ग्रोमा राखे पनि, बाङ्‌गाको बाङ्‌गै´ होइन, `बाह्र वर्ष रामायण पढायो, सीता कसकी जोई ? भन्ने कुकुर-कुकुरनीहरूलाई सुधार गर्ने आँट र भरोसा हामी कुकुरले गुमाइसक्यौँ । त्यसैले मानवरूपी कुकुर-कुकुरनीहरूलाई यो लोक छाडेर हामी चन्द्रलोक र मङ्गललोक जान चाहन्छौँ । तिनै लोकबाटै कुकुर-कुकुरनीहरूको लोकलाई नफर्कलोक घोषणा गरौँला ।

कुकुर जति, सहिद बन !
कुकुर-कुकुरनीहरू, अमर रहुन् !!

०००
२०८२/०३/०७ र ०८ गते / वीर अस्पताल, काठमाडौँ

बेलबारी, माेरङ । 

Subscribe
Notify of
guest

5 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रमेश निरौला
रमेश निरौला
9 months ago

अहो!!! कुकुरप्रतीको यतिबिग्न अध्यन तुलनात्मक ब्याङ्य सारै रोचक,घोचक,गजब लेख ।

शारदा दहाल
शारदा दहाल
9 months ago

व्यंग्यात्मक लेख!मानवरूपी कुकुरकुकुर्नीहरुलाई दह्रो झटारो।

अकेला अम्बिका
अकेला अम्बिका
9 months ago

गाउँ घरमा एक/दुई शिकारी कुकुर छन् जो हाँस कुखुरा र बाख्रासम्मको शिकार गर्छन् …डर छ कतै ती भोलि गएर मानव तस्कर गर्ने …कुर/…कुर्नीहरु नबनुन्…

बालक गुरुङ
बालक गुरुङ
9 months ago

कुकुरहरु पनी तानशाह हुँदाे रहेछ,
खिच्च खिच्च भुकेर झम्टिएकाे पनि ।
शान्ति भूमिमा काेलाहल मचाउने,
कुकुरहरु जुधाएर मार्ने अनि ।।

फरक धार, प्रहार
गजव लाग्याे लेखन इरान सर ।

Reilita
Reilita
9 months ago

अति रोचक व्यङ्‌ग्यनिबन्ध!! असाध्यै मन पर्‍यो ।

Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
5
0
Would love your thoughts, please comment.x
()
x