ईरानराईसभासद
जम्माजम्मी त्यही साठी/बैसठ्ठी लाख । अझै दश लाख पुग्दैन । मन्त्री बन्न पाए त दुई/चार करोड कमाइन्थ्यो होला । तर मन्त्री बन्न सकिंदैन- योग्यता छैन, क्षमता छैन, तान्ने-बनाउने नेतृत्व र साङ्गठनिक भर्याङ पनि छैन ।

उमेरअनुसार रसनाको स्वाद फरक, मौसमअनुसार अनुहारको रङ फरक भनेझैँ प्रारम्भमा मेरो राजनीति समाज सुधार र देशको उन्नतिका खातिर थियो, अर्थात् राजनीतिमा मेरो प्रवेश नै चामत्कारिक रूपमा छलाङ मार्ने सामाजिक उन्नति र प्राकृतिक अस्त्र बज्र तथा कृत्रिम शस्त्र अणुबमले पनि एक छिटोसम्म बिगार्न नसक्ने देशप्रेम थियो । पार्टीमा सौहार्द, मिलनसारिता, सम्मान, सहमति, सहकार्य, समयको महत्त्व र फलामे अनुशासनको अनिवार्य पालना थियो । मुन्टाले टेकेर पनि, मृत्युलाई स्वीकार गरेर पनि पार्टीको काम फत्ते गरिन्थ्यो, गर्थे । तर समय छिप्पिदै गयो अर्थात् मेरा छेपारीमा पनि राजनीतिक मासु लाग्दै गयो, सँगैको सहकर्मीलाई लुब्ध र गोठालो देख्दै गएँ । जति नै मित्र भए पनि योग्य जति सबै प्रतिद्वन्द्वी र तिघ्रे जति सबै सुरक्षाकर्मी ठान्न थालें । प्रतिस्पर्धा बढ्यो, निडरताका साथ भिडें र सफल बन्दै पनि आइयो । इमान, जमान, श्रम र समाज परिर्वतनको उत्कट चाहना भत्किँदै भत्किँदै धुलिया लागेर धुलो हुँदै मबाट स्खलित भएर जान थाल्यो । मेरा सोच साँचो (तालाचाबी) र दृष्टिकोण दृष्टि (लाभ-हानि देख्न सक्ने विशेष खुबी) मा परिवर्तित भएपछि म पनि कार्यकर्ताबाट पदोन्नति भएँ, र नेताको बिल्ला भिरेर गजक्क परें । त्यसको तात्कालिक असर पर्यो । सहयोद्धालाई कार्यकर्ता, कार्यकर्तालाई जनता र जनतालाई मतदाता र मतदातालाई खरिदबिक्रीको दलपालुवा (घरपालुवाजस्तै शब्द) जीव देख्न थालेँ । खरिदबिक्रीको माने निर्वाचनमा जित्नका लागि विपक्षका मतदाताहरूलाई खरिद गर्न सकिने र प्रमुख विपक्ष शत्रुलाई हराउन मोटो रकम लिएर आफ्ना मतदाताहरूलाई माहिलो-साहिंलो विपक्षीलाई बेच्न सकिने भएकाले मतदाताहरूलाई विनिमयको वस्तु ठान्न थालें ।
भट्टी धाउने खुट्टा, छाडा बोल्ने मुख, सुरा र सेकुवाको स्वा जिब्रो, सुन्दरी नियाल्ने आँखा, षड्यन्त्र रच्ने दिमाग, ईष्या र शङ्काको भण्डार मन, गाली र धम्की सुन्ने कान, कालो नोट गन्ने र फोहोर काम गर्ने हातको बाहुल्य र रजाइँ भए पनि मेरो शरीरमा कुनै कुनामा सुषुप्त रूपम मानवीय चेत रहेछ । त्यो चेत हड्डीको फोसफोरसमा अक्सिजन पद राँकेभूत जन्मिए जसरी कहिलेकाहीँ निमेषभरका निम्ति जागृत हुन्छ । त्यो बेला पार्टीमा मभन्दा अरू कोही नेता ज्येष्ठ र सक्षम छन् भन्ने ज्ञान क्यामेराको लेन्स-लिड जस्तो पिलिक्क उम्रन्छ र झ्याप्पै बन्द हुन्छ । लेन्स उघ्रिएको घडी पर-परसम्मका धेरै चीजहरू देख्छु, अग्रजहरूलाई चिन्छु त लेन्स बन्द भएपछि केही-कोही देख्दिनँ, केवल आफूलाई देख्छु ।
तेस्रो संविधान सभाको निर्वाचनमा आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलौं, र त्यसको नयाँ-नौलो सुहाउँदो नाम ‘द्वन्द्वपीडित दल’ राखौं जस्तो लाग्छ । नयाँ पार्टी खोल्दा वर्तमान पार्टीको प्रमुख विपक्षी पार्टीले पनि खर्च दिने, विशिष्ट र विकासे मुद्दा उठाएपछि गै.स.स. लाईझैँ दातृनिकायहरूबाट अनुदान पनि पाइने । चन्दा पनि सङ्कलन गर्न सकिने । सके प्रत्यक्षमा चुनाव लडेर जित्ने, नसक्ने अवस्था देखिए प्रत्यक्षमा सबै लाहुरे, दाउरे, चाउरे भदौरे, कात्तिके, चैते, नायक, नायिका, खलनायक, खलनायिका, जोकर, नोकर, लयर, सिङ्गर, प्लेयर, मोडल, पुलिङ्गी, स्त्रीलिङ्गी, समलिङ्गी, तेस्रो लिङ्गी र उभयलिङ्गी आदिलाई गोप्य पार्टी-सहयोग लिएर उठाइदिने । आफू र आफ्ना श्रीमती, छोरा, छोरी, जेठान, साढु, साला, साली, मित, मितिनी र आसेपासेलाई समानुपातिकको सूचीमा राख्ने । कसो एक सिट नजितिएला त गाँठे ! निर्वाचनपछि प्रत्यक्षहरू घरमै भोटको समीक्षा गर्दै बसुन्, त्यो एक सिटमा आफ्नो नाम सर्वसम्मतिले पारित गरौंला ।
पहिलो संविधान सभामा उम्मेदवारी दिने आफ्नो साङ्गठनिक उमेर नै पुगेको थिएन । दोस्रोमा निर्वाचनमा अनेक तिकडम गरे पनि उम्मेदवारी पाइएन । पार्टीले मभन्दा वरिष्ठ र लोकप्रिय नेतालाई उठाइदियो । त्यसैले चुनावमा कम खटियो । घर वरपर प्रचारमा हिँडे पनि आफ्नो उम्मेदवारका विपक्षमा निकटतम् प्रतिद्वन्द्वीका पक्षमा अति नै गोप्य रूपमा गोप्य मत मागियो र अन्तर्घात गरेरै भए पनि मेरो उम्मेदवारी खोस्नेलाई पुर्लुक्कै लडाएर हराउनुमा विजय प्राप्त गरियो । तर जति नै चलाखीपूणर् सुटुक्क विपक्षीका निम्ति मत मागे पनि भित्ताका पनि कान हुन्छन् भने पार्टीले मेरा कर्तुतहरू फेला पारेछ । तसर्थ तेस्रो संविधान सभाको निर्वाचनमा मैले श्री पार्टीबाट उम्मेदवारीको टिकटभन्दा कारबाहीको सम्मानपत्र भेट्ने लगभग सुनिश्चित भएपछि त्यो कारबाहीको खोटो अनुहार लिएर लुसुक्क अर्को पार्टीमा लुक्नुभन्दा बेलैमा दलबलका साथ नारा, जुलुस र सभा गर्दै नयाँ पार्टी स्थापना गर्नु बढी श्रेयस्कर ठानें । दल पनि बढ्ने मल (खान्तेपिन्ते) पनि बढ्ने । तर यी सबै कुराहरू तीन महिनाअघि मेरो सपना र कल्पनामा खेलेका थिए । यथार्थमा म अहिले प्रत्यक्ष निर्वाचित सभासद् ।
मैले कसरी टिकट पाएँ, केही लेखौं कि तपाईं पाठकहरूलाई पनि मौकामा काम लागोस् । पार्टीमा टिकट पाउने मेरा ६ जना प्रतिस्पर्धीहरू थिए । सर्वप्रथम ती प्रतिस्पर्धीहरूको कमजोरीको विवरण उतारें र कार्यान्वयनमा अहोरात्र जुटें । पहिलो प्रतिस्पर्धीलाई मेरो क्षेत्रको ठुलो जनसरोकारवाला संस्थाको मुख्य पदमा चार महिनाअघि सम्पन्न चुनावमा उचालेर उठाइदिएँ । राम्रै खर्च गर्यो तर गुरुयोजनाअन्तर्गत मैले नै हराइदिएँ । मेरा सारा आफन्तहरूलाई आदेश दिएर विपक्षमा मत हाल्न लगाएँ । झिनो मतान्तरले पराजित भयो । मोटो खर्च, असिन पसिनको खटाइ र मतअनुमानमा अघि रहेको तथ्याङ्क भएर पनि पराजित भएपछि बिचरो मर्नु न बाँच्नुको अवस्थामा झोक्राइरहेको छ । घरीघरी बहुलाउँछ रे । बरबराउँदा अरू केही बुझिदैन, केवल मेरो नामचाहिँ स्पष्ट भन्छ रे । जेहोस्, भेट्दा बोल्दैन तर मुसुक्क मुस्कुराउँछ ।
दोस्रोलाई अनेक आशा, भरोसा र दुई महिनाअघि विदेश पठाउन सफल भएँ । युवा अनि लोकप्रिय तर आर्थिक स्थिति कमजोर । उसका ससुराली, बाआमा र विशेषगरी उसकी श्रीमतीलाई उचाल्दा उचाल्दा बल्ल ऊ केही कमाएपछि फेरि राजनीतिमै लाग्ने लगाउने सर्तमा विदेश हानियो । उसकी ब्राह्मणीको होस्टेमा हैंसे गर्न मात्र त्यतिबेला मेरो लगभग हजारभन्दा बढी खेर गयो । उसकी ब्राह्मणीलाई फकाउन मेरी प्रियतमालाई दिनहुँजसो कहिले फलफूल, दाल-तरकारी, चामल, चिप्लो साडी, कहिल सुतीको कुर्ता-सलबार, कहिले सस्ता गहना उपहार पठायो अनि कहिले सिनेमा हेर्न, कहिले मठमन्दिर त कहिले सहरबजार सँगै लग्यो । त्यसरी उसकी मुटुलाई फकाएर फटाएपछि मात्र उसलाई मैले तर्साउनसम्म तर्सााएँ । फलानो दलको फलानो उम्मेदवारले यति लाख, अर्काले यति लाख, अर्को दलले यति लाख खर्च गर्छन् । कार्यकर्ता कुदाउनुपर्छ, अर्थात् खानपिन, मासुभात, बियर, सेकुवा, पेट्रोल-डिजल, चुरोट खैनीले भरिपूणर् गराउनुपर्छ । अझ पर्चा-पोस्टर छाप्नुपर्छ, टाँस्नुपर्छ । घटीमा बिस लाख त लाग्छ भनेको बबुरो देहातको ठाउँमा दश कठ्ठा जमिन, त्यसैमा टिनको छानो भएको माटाले लिपेको काठको दुईतले घर, एउटा दुहुनो भैंसी, ४५ ओटा बाखापाठा च्यापेको साथी झन्डै बेहोस भयो । उसलाई विदेश जाने सोच मैले नै हालिदिएँ- कमाएपछि दोब्बर फर्काउनुपर्ने कागज गरेर ।
चौथो अधबैंसे थियो, अलिक बढी ऐना हेथ्र्यो, तेल दल्थ्यो र कपाल कोथ्र्यो । ऐना भन्नाले सिसाको र पत्तीको ऐना दुवै । पैसा, तागत र चर्चा अर्थात् उसँग धेरै थोक थिए । लामो मार्गचित्र कोरें जालको । अनि सुन्दरी प्रतियोगितामा गएँ छनौट चरणदेखि नै । धेरै सुन्दरीहरू र सुन्दरहरूसँग भेटघाट भयो, चिनजान गरियो । त्यस्तै अवस्थामा सुन्दरी कसरी बन्न सकिँदो रहेछ भन्ने प्रक्रिया र रहस्य बुझ्न आउने अप्रतियोगी सुन्दरीहरूसंग पनि उठबस भयो । तिनैमध्ये एक चञ्चल युवतीलाई कानेखुसी गरेर (ऊ चौथो प्रतिस्पर्धी) सँग परिचय गराइदिएँ । त्यसपछि ती तरुणीले के-के भनिन्, के-के गरिन् मेरा चौथो प्रतिस्पर्धी मित्र उम्मेदवारी दर्ताको ठिक अघिल्लो साता लागुऔषध र बलात्कार काण्डमा जेल पर्यो ।
पाँचौ प्रतिस्पर्धी भनेको पछिल्लो संविधान सभाको पराजित उम्मेदवार । पराजय पनि मैले नै गराएको । त्यो संविधान सभाले संविधान बनाउँदैन भन्ने मलाई थाहा थियो, बनाए पनि संसद्को निर्वाचनको बाटो खोल्ने क्रममा उसलाई जानी जानी, भनी भनी खुल्लम खुल्ला हराएको थिएँ ।
हामी एउटै पार्टीको भए पनि ऊ अर्को गुटको थियो । यसपालि पनि मेरो क्षेत्रमा त्यही गुटकाले र उसैले टिकट पाउने भएपछि मेरो सपना भङ्ग हुने भयो । छ वर्षदेखिको तपस्या र आकाशमा जहाज चढेर संसार डुलेको कल्पना चकनाचुर हुने भयो । अर्कातिर अघिल्लो चुनावमा पो विपक्षीहरूबाट दक्षिणा लिएर हराएको थिएँ । यस पटक भने कसैले पनि केही नदिने सङ्केत दिएपछि खेत बेचेरै भए पनि उसलाई हराउनुपर्ने भयो । खेतै बेचेर आफ्नै दलको सहकर्मी, मेरो प्रतिस्पर्धीलाई हराउनुभन्दा त बरु जसरी पनि आफैँले टिकट लिएर चुनाव लड्ने निधो गरेँ ।
सबैभन्दा पहिला विपक्षी गुटको महानाइकेकामा पुगेर आफूलाई पनि टिकट पक्का हुनुपर्ने र गुटलाई पनि आफूले कहिल्यै धोका नदिने वाचा गरी गुट फेरें । टिकट लिएर आएँ । टिकट लिएर त आएँ तर मेरो पाँचौं प्रतिस्पर्धी मलाई जसरी पनि हराउन पार्टी परित्याग गरी अर्को पार्टीबाट उम्मेदवार बन्यो । ऊ पार्टीबाट बाहिरिएकामा त खुसी नै भएँ तर उसको उम्मेदवारी निकै भारी भयो । उसले पार्टी नै छोड्ला र अर्को पार्टीको उम्मेदवारी पनि ल्याउला भन्ने कल्पना गरेको थिइनँ । घुक्र्याउला, निष्क्रिय बस्ला भन्नेसम्म सोचेको थिएँ । तर पनि हिम्मत हारिनँ ।
छैटौं तथा अन्तिम प्रतिस्पर्धी एउटी युवा अर्थात् युवती । केटीभन्दा ठुली तर आइमाईभन्दा कान्छी, ठिक्ककी अविवाहिता । सबैभन्दा बढी मतदाता भएकी गाउँ विकास समितिकी, अर्कै समुदायकी, मभन्दा बढी पढेलेखेकी, प्रखर वक्ता, सम्पत्ति भएकी, हट्टाकट्टा, स्वस्थ, रूपवती । तिनलाई सिधै पछार्ने आँट गरिनँ । एक त विपरीत लिङ्गी, दोस्रो युवा । तर तिनलाई टिकट नै पाउँछु भन्ने भेउ थिएन । त्यही गुँढमा हिर्काएँ भ्वाक्कै । माने, गुटको महानाइकेकामा तिनलाई पनि मेरै खर्चले पुर्याएँ र ३३५ जना समानुपातिक उम्मेदवारको नामावलीमा उनको नाम पार्ने पक्का गराएँ । तिनी त फुरुङ्ङ्गै भइन् । अनावश्यक कामका लागि धेरै खर्च गरेँ कि भनेर झस्किएँ पनि । टेलिफोनबाट महानाइकेलाई निर्वाचन आयोगमा दर्ता गर्दा तिनको नाम हटाउँदा पनि हुन्छ भनेको थिएँ । महानाइके त तिनको सुन्दरता र क्षमतामा लोभिए कि क्या हो, उल्टै झपारे- “उनीसँग मेरोचाहिँ सम्बन्ध रहनुपर्दैन ? ३३५ मा पर्छे तर सभासद् हुँदिन, बुझ्यौ !”
अहिले पनि ती नेत्री मेरो निकट छिन् । चुनावमा तिनी मेरा लागि मभन्दा धेरै भाम खटिन् । मेरो विजयको एक चौथाइ जस तिनको रूप, उमेर र खटाइलाई नै जान्छ । तिनलाई मेरो स्वकीय सचिव बनाउने चाँजोपाँजो मिलाउँदै छु ।
यसरी आधा दर्जन आन्तरिक प्रतिस्पर्धी र अढाई दर्जन बाह्य प्रतिस्पर्धीहरूलाई पछारेर सभासद् त भइयो तर होस ठिकमा छैन । यही सभासद् बन्नका लागि धानखेत बेचियो, जिल्लाको घडेरी बेचियो, श्रीमतीको गरगहना बेचियो । साथीभाइ र ससुरालीबाट ऋण काढियो । अहिले दिनभर जुलुस र रातभरि डायरी र क्यालकुलेटरमा हुन्छु ।
पटकौँ पटक हिसाब गरिसकेँ तर पटक्कै हिसाब मिल्दैन । सभासद्ले पाउने मासिक साठी हजार रुपियाँले दैनिक खर्च पुर्याउनै चर्को । खान, बस्न, कुद्न र कार्यकर्ता पाल्दै न्यूनतम पैंतिस चालिस हजार सकिन्छ । मासिक बिस हजार बचतले वार्षिक दुई लाख चालिस हजार- पाँच वर्षको बाह्र लाख । सांसद विकास कोषबाट वार्षिक दुई लाख लुकाए पनि दश लाख । पाँच वर्षको विकास निर्माण बजेटको कमिसनबाट वार्षिक पाँच लाख, पाँच वर्षमा पच्चिस लाख । भनसुनबाट वार्षिक तीन लाखले पन्ध्र लाख । जम्माजम्मी त्यही साठी/बैसठ्ठी लाख । अझै दश लाख पुग्दैन । मन्त्री बन्न पाए त दुई/चार करोड कमाइन्थ्यो होला । तर मन्त्री बन्न सकिंदैन- योग्यता छैन, क्षमता छैन, तान्ने-बनाउने नेतृत्व र साङ्गठनिक भर्याङ पनि छैन ।
हिजोआज निदाउनुभन्दा अघि हरेक रात म सोच्छु यत्रो जाल-झेल, खेल-खर्च गरेर सबभन्दा पछिल्लो अँध्यारो कुनामा बसेर ताली बजाउने सभासद् बन्नुभन्दा त्यो मेहनत र पुँजी लगानी गरेर उद्योग-व्यवसाय गरेको भए- मेरो परिवारको, संविधानको र देशको भविष्य कता जान्थ्यो होला ? कहाँ पुग्थ्यो होला ? कति उज्यालिन्थ्यो होला !
०००
‘कट्टु’ व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७७)
Subscribe
Login
0 Comments
Oldest








































