साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्यार्थी जीवन

स्कुलले अक्षर मात्र होइन, व्यवहार पनि सिकाउँछ। पढाइले ज्ञान दिन्छ, तर अनुभवले जीवनबोध गराउँछ ।

Nepal Telecom ad

अनुश्री आचार्य :

हास्यव्यङ्ग्य साहित्यको उन्नयन र प्रवद्र्घनका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित खाइराइड हास्यव्यङ्ग्य पुरस्कार स्थापना गरेका हुन् । उक्त पुरस्कारको व्यवस्थापन बाङ्गा अक्षरले आयोजना गरेको विद्यालय तहको राष्ट्रव्यापी हास्यव्यङ्ग्य निबन्ध प्रतियोगता २०८२ मा यो निबन्ध तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय मात्र नभएर सहभागी विद्यार्थीहरुका राम्रा निबन्धहरुलाई फित्कौलीले क्रमश: प्रकाशन गर्दै  आएकाे छ। साथै प्रेरणाको लागि विद्यालय र कलेज तहका विद्यार्थीले लेखेका स्तरीय निबन्धलाई पनि फित्कौलीले प्राथामिकता साथ प्रकाशन गर्नेछ ।

विद्यार्थी जीवन भनेको साँच्चै अचम्मको समय हो, कहिले रमाइलो, कहिले तनाव, कहिले हाँसो, कहिले डर । सबै अभिभावकहरू भन्नुहुन्छ, “विद्यार्थी जीवन त सुनौलो समय हो ।” तर म सोच्छु “यो त सुनौलो भन्दा बढी होमवर्क नै होमवर्कले थिचिएको, काँध पनि गोरुको छालाजस्तो भएको हुन्छ भारीले थिचिएर, अझ भनौँ गधाको जस्तो जुनी । विद्यार्थी जीवन करकाप र गालीले निस्साएिको समय हो ।” बिहानै आमाले कराउनुहुन्छ, “छिटो उठ, स्कुल जान ढिलो भैसक्यो ! भर्खर छ बजेको हुन्छ सात बजिसक्यो कतिबेला उठ्ने हो अब” भन्नुहुन्छ आमा । त्यो एकघण्टा किन बढाएर भनेको होला आमाले? अनि म ओछ्यानभित्र टाउको लुकाएर भन्छु, “अझै पाँच मिनेट सुत्छु नि ।” तर पाँच मिनेट भन्दाभन्दै साँच्चै सात नै बजिहाल्छ । विहानको चिसो चिसो मौसममा सिरकले मुख छोपेर सुत्नुको मजा त्यो ५ मिनेटले मात्र बुझेको हुन्छ तर कहिल्यै सुत्न पाइन्न ।

बिहान उठ्नु नै एउटा युद्द परास्त गर्नु हो जस्तो हुन्छ । घडी बज्छ, तर कान र शरीर दुबैले सुन्दैनन् । बल्ल बल्ल उठ्यो । कहिले काइँयो हराउँछ, कहिले मोजा भेटिँदैन, कहिले कपी खोज्दा पुरानो असाइनमेन्ट कापी भेटिन्छ । अनि आमाको स्थायी संवाद : “हिजै बेलुका तयारी गर्न मिल्दैनथ्यो र?” बुबाले पनि बिहानै भाषण सुरु गरिसक्नु हुन्छ – “जिन्दगीमा ठुलो मान्छे बन्न धेरै मिहिनेत गर्नुपर्छ । यो पाराले कसरी गरी खाने हो” म मनमनै सोच्थेँ, “गरेर नखाए पनि खाएर त गर्छु नि ।

ठूलो मान्छे बन्न त ठिकै हो, तर अहिले चाहिँ मेरो आइडीकार्ड हरायो भेट्टाइदिनू न बाबा” बाबा फन्फनाउँदै आइडीकार्ड खोज्दिन थाल्नुहुन्छ । उता स्कूलको गाडी घर अगाडि आएर प्वाँ प्वाँ प्वाँ पारेर हर्न बजाको बजाई हुन्छ -। एक मिनेटमा निस्कन नसक्दा गाडीले छोडेर गैहाल्छ । त्यसपछि त के चाहियो र आमा बाबाको महाभारत पुराण महाभारत, रामायण, पुराण, कुरान, त्रिपिटक सबै सुन्न थाल्छु ।

उहिले तिम्रो उमेरमा हामी घाँसका भारी घरमा ल्याएर स्कुल गएर पढेर पनि यतिको गरेरै खाएका छौँ तिमीहरूले गरी खाँदैनौ । कति दुख दिएका बाबा आमालाई ? बेलामा तयार भएर स्कुल जान सकिदैन? चुपचाप टाउको निहुराएर अबदेखि बेलैमा गर्छु सबै भनेर माफी मागेपछि बल्ल आमाले स्कुटर निकालेर स्कुल पु¥याईदिनुहुन्छ ।

फेरि भोलिपल्ट उही ताल हुन्छ । कत्ति गाह्रो छ विद्यार्थीलाई? यो मेरो मात्र कथा होइन । स्कुल पुगेर साथीलाई सुनाउँदा सबैको यस्तै भएको हुन्छ । सबैको यस्तै रहेछ भनेर हाँस्न खोज्यो स्कुलमा, सर आएर किन हाँसेको भनेर हप्काईहाल्नुहुन्छ । साँच्चै कुरा सरलाई भनूँ भने पनि गाली खाने डर । फेरि बाबा आमाको कुरा त सरलाई भन्नै भएन नि । असल सन्तान हुनुको बोध मभित्र नभएको त कहाँ हो र ! जिन्दगीमा सबैथोक गरिन्छ, तर बाबाआमाको खिलाफ त अरू कसैसँग मरिगए नि गर्दिनँ नि ।

यसरी स्कुल पुग्दा एसेम्ब्ली सुरु भइसक्छ । घामले पोलिरहेको हुन्छ, र म सोच्छु “ला ! मैले त नङ्ग काटिन छु ।”राष्ट्रिय गानको बेला सबैले मुख चलाउने नाटक गर्छन् । शिक्षकको आँखा पर्नासाथ स्वर आउँछ, “सयौँ थुँगा फूलका हामी….. ।” अनि शिक्षकको ध्यान हट्दा फेरि सबै शान्त । यो तालमेल हेर्दा लाग्छ, हामी नेपाली विद्यार्थीहरू ‘साइलेन्ट सिङ्गिङ’मा विश्व च्याम्पियन हौँ।

त्यसपछि सुरु हुन्छ पहिलो पीर — गणित । बोर्डमा सरले ‘ ‘x±yÖ10’ लेख्नु हुन्छ र म सोच्छु, “यी दुवै किन छुट्टिएका छन्? मेल गरिदिन पाए हुन्थ्यो।” झ्यालबाट चराहरू उडेको देख्दा लाग्छ, “म पनि चरै भए हुन्थ्यो नि, किताब होइन आकाश पढ्थें।” साथीहरु पनि त्यही सोचिरहेका हुन्छन्, तर हामी दुबै गम्भीर नाटक गर्दै नोटबुकमा फर्मुला लेख्दै हाँसिरहेका हुन्छौँ ।

होमवर्क भनेको विद्यार्थी जीवनको सबैभन्दा ठूलो शत्रु हो । कक्षामा पस्नुअघि सबैको मनमा एउटै विचार हुन्छ “आज सरले होमवर्क नसोधे हुन्थ्यो।” जब शिक्षक भन्छन् “सबैले होमवर्क ल्यायौ ?” कक्षामा यस्तो सन्नाटा हुन्छ कि घडीको टिक टिक पनि सुन्न सकिन्छ। त्यसपछि बहाना सुरु हुन्छ “सर, पेन चलेन”, “कुकुरले खायो”, “ल्याउन बिर्सए”, “बिजुली गयो।” अनि अन्त्यमा शिक्षक पनि थाकेर भन्छन्, “भोलि ल्याऊ।” र हामी सोच्छौं, “भोलि त नयाँ बहाना चाहिन्छ।”
अंग्रेजीको पीर अर्कै हुन्छ फेरि शिक्षकले भन्नुहुन्छ, ‘Spell …success’. म मनमनै सोच्थेँ, ’Success?’ होमवर्क पूरा गर्नु नै त सफलता हो ।” नेपालीमा उखान छ नि “घोघी खोलेर बोल्न सकिँदैन।” हामी पनि त्यही, अङ्ग्रेजी बोल्न खोज्दा ’Excuse me sir, I am confused’ मात्रै आउँछ।

स्कुलको सबैभन्दा रमाइलो कुरा भनेका साथीहरू हुन् । टिफिन टाइम भनेको हाम्रो राष्ट्रिय पर्वजस्तै हो । घण्टी बज्नेबित्तिकै सबैजना गाडीको हर्नजस्तो चिच्याउँदै दौडिन्छन् । क्यान्टिनमा लाइन यस्तो हुन्छ मानौँ कि विकट गाउँमा चिउरा र चामल बाँडिदैछ । कोही चाउमिन, कोही समोसा, कोही बिस्कुट । “ए तेरो टिफिनमा के छ ?” भन्नेबित्तिकै सबैको हात अर्काकै डब्बामा पुग्छ । अन्त्यमा सबैको खाना चाखिन्छ, र चाख्दा चाख्दै अघाइन्छ । आफ्नो डब्बाको खाना चाहिँ चाख्नै पाइँदैन। भनिन्छ नि “अरूको भागको मात्र मिठो भनेर !”

खेलकुदको बेला पनि मज्जा र त्रास दुवै हुन्छ । सर आउनुहुन्छ र भन्नुहुन्छ, “सबैजना मैदानमा ।” हामी खुसी हुन्छौं, किनकि खेल्दा पढ्नु पर्दैन । विद्यार्थीलाई पढ्न नपरेपछि त्यहां भन्दा अर्को आनन्द के होला र! खेल्न जाँदा त उत्साह हुन्छ, तर खेली सक्दा लुगामा धुलो, शरीरमा पसिना, अनि मुटुमा थकाइले खेल्ने मैदान होइन,अस्पतालको बेड खोज्छ ।
कम्प्युटर क्लास पनि रमाइलो हुन्छ। शिक्षकले भन्नुहुन्छ, “यो माउस हो, यसले कर्सर चलाउँछ।” अनि हामी गेम खोलेर माउसलाई साँच्चै कसरी चलाउने भनेर अभ्यास गर्छौं। शिक्षक पछाडि आइपुग्नुभयो भने “माउस पास हुन्छ तर म हुन्न” भनेर सोचिन्छ।

परीक्षा भनेको त अर्को युद्ध हो, जहाँ शिक्षक शत्रु र प्रश्नहरू हतियार हुन्छन्। युद्द जित्न सकौं भगवान भनेर पुकार शुरु हुन्छ, आखिर जसले कहिल्यै किताब खोल्दैन, उसले भगवानको पुकार गर्दै हात जोडेर भन्छ, “हे भगवान्, यो पटक पास गराइदेऊ, अर्को पटक म पक्का पढ्छु ।” त्यो अर्को पटक कहिल्यै आउँदैन। पढ्न बस्दा पाँच मिनेटमा त सब कुरा बुझ्छु जस्तो लाग्छ, तर दस मिनेटमा निद्राले लेख्छ Chapter End । तर किताब खुल्लै हुन्छ, म चांहि बन्द ।
रातभरि पढ्ने योजना बनाइन्छ, तर सुरुमा पढाइ, बीचमा मोबाइल, अनि अन्त्यमा निद्रा । बिहान उठ्दा लाग्छ, “अब त साँच्चै पढ्छु ।” तर भनिन्छ नि “भोलि कहिल्यै आउँदैन।”

परीक्षामा हामी ज्योतिषी बन्छौ, “यो पाठबाट पक्कै आउँछ ।” ज्योतिषीले भनेको पुग्दैन । फेल खान्छ किनकि प्रश्नपत्र आउँदा देखिन्छ, त्यो पाठ मात्रै छुटेको ! त्यति बेला लाग्छ — “जीवन त अनिश्चित छ, प्रश्नपत्र झन् अनिश्चित।”
कहिलेकाहीँ साथीको उत्तर हेर्ने प्रयास गरिन्छ । सानो इसारा दिइन्छ “ओइ, ’A or B?’ ऊ फर्काएर लेख्छ,’C’ । अनि मुटुमा सुइ घोचिएजस्तो हुन्छ । शिक्षक नजिक आउँदा मुटु ड्रम जस्तो बज्छ । त्यसपछि सोच्यो, “ला उत्तर गलत भएछ कि क्या हो ।” अनि अन्त्यमा त सहि उत्तर काटेर गलत उत्तर लेखिन्छ र मुटु छिया छिया पारिन्छ । घर गएर मनमनै पछुतो मानिन्छ ।

नतिजा आउने दिन त झन् नाटकको चरम अवस्था हुन्छ । जसको अङ्क राम्रो आउँछ, ऊ ठूला ठूला कुरा गर्छ “म त नियमित पढ्थेँ ।” मुखले केही नभने हामी सोच्छौ, “हो, नियमित त मोबाइल पढ्थ्यौ होला ।” जसको अङ्क कम आउँछ, ऊ भन्छ “माक्र्स भन्दा ठूलो आत्मा हो।” अनि अर्कोले थप्छ “अङ्कले भविष्य तय गर्दैन ।” तर मनमनै चाहिँ सबै चिन्तित हुन्छौँ, साना कुरा गर्न कसलाई पो मन हुन्छ र ? जो चोर उसकै ठुलो स्वर ।

दुःख र तनावबीच विद्यार्थी जीवनमा एउटा मिठास छ । एसेम्ब्लीको घाम, टिफिनको अचार, शिक्षकको हप्की, साथीको हाँसो । यी सबैले मिलेर विद्यार्थी जीवनलाई रंगीन बनाउँछन् । कहिले हाँसो, कहिले डर, कहिले खुशी, कहिले अलिकति आशा अनि कहिले निराशा । मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको कविताको याद आउँछ “निराशामा आशा अलिकति जगाऊ प्रिय कवि” आज हप्काउने शिक्षक नै भोलि हाम्रो मनपर्ने गुरु बन्नुहुन्छ । आज रिसाउने साथी भोलि जीवनभरको मिल्ने साथी बन्छ ।

कहिले गल्ती गर्छौं, कहिले ठक्कर खान्छौँ, तर त्यही गल्तीले अमूल्य जीवनको पाठ सिकाउँछ । स्कुलले अक्षर मात्र होइन, व्यवहार पनि सिकाउँछ। पढाइले ज्ञान दिन्छ, तर अनुभवले जीवनबोध गराउँछ । हामी हरेक दिन केही नयाँ सिक्दै बाँचिरहेका हुन्छौँ । आशा नै जीवन जिउने एउटा बलियो आधार हो । निराशामा आशा अलिकति जगाउनैपर्छ । अनेकौँ आरोह अवरोहका बिचमा पनि हामी नयाँ कुरा सिकिरहेकै हुन्छौँ । विद्यार्थी जीवन हाम्रा अभिभावकले भन्नुभएजस्तै सुनौलो नै हुन्छ ।
धन्यवाद ।

०००
कक्षा १०, डियरवाक सिफल स्कुल, सिफल, काठमाडौं

अनुश्री आचार्यसँग गरिएकाे छाेटाे कुराकानी

० खाइराइड हास्यव्यङ्ग्य प्रतियोगितामा पुरस्कृत हुँदा कस्तो लाग्दो रहेछ ?
– खाइराइड हास्यव्यङ्ग्य पुरस्कार प्रतियोगितामा तृतीय हुँदा सुरुमा म निकै चकित भएँ । आफूले जन्माएको सन्तानले पुरस्कार प्राप्त गरेजस्तो महसुस भएको थियो । मेरो मन आकाशका चराहरूसँगै उडिरहेको थियो ।

० प्रतियोगिताको बारेमा कसरी जानकारी पाउनुभयो ?
– प्रतियोगिताको बारेमा मलाई मेरा आदरणीय गुरु युवराज अर्यालले विद्यालयबाट जानकारी दिनु भएको थियो।

० निबन्ध लेख्दै गर्दा पुरस्कार पाउँछु होला भन्ने लागेको थियो कि थिएन ? अनि लेखनमा कसैले मद्दत पनि गर्नुभयो कि ?
– आशा त सबै मानिसको मनमा हुन्छ । त्यसैले मैले पनि “जित्छु कि” भनेर आशा राखेकी थिएँ, तर म दोधारमा थिएँ । लेखनमा मेरो सबैभन्दा ठूलो सहयोगी ‘खाइराइड’ किताब नै बन्न पुग्यो। हास्यव्यङ्ग्यको संसारसँग अपरिचित रहेकी मलाई यसले हास्यव्यङ्ग्यको मिठास चखायो । साथै, सानै उमेरदेखि साहित्य जगतसँग परिचित गराउने मेरी आमा साहित्यकार कल्पना काफ्ले र सधैँ लेख्न प्रेरणा दिने मेरा पिता कृष्णप्रसाद आचार्यले पनि मलाई लेखनमा निकै हौसला र प्रेरणा दिनुभयो ।

० यसभन्दा पहिले पनि साहित्यिक रचना लेख्ने गर्नुभएको थियो कि ? थियो भने के लेख्नुहुन्थ्यो ?
– मैले सबैभन्दा बढी कलम चलाएको विधा कविता हो । अनुष्टुप, भुजङ्गप्रयात, मन्दाक्रान्ता, शार्दूलविक्रीडित आदि छन्दमा मैले कलम चलाएकी छु । कथा र निबन्ध जस्ता विधामा पनि मैले लेखन गरेकी छु।

० हास्यव्यङ्ग्य निबन्ध के हो र कसरी लेख्ने भनेर आगामी साल भाग लिन चाहने जुनियर कक्षाका साथीहरूलाई बताइदिनुहोस् न।
– हास्यव्यङ्ग्य निबन्ध भनेको हास्य रसको प्रयोग गर्दै समाजमा रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्यात्मक प्रहार गरी समाज सुधारको सन्देश दिने निबन्ध हो । राम्रो हास्यव्यङ्ग्य निबन्ध लेख्न व्यङ्ग्यको सही प्रयोग गर्न जान्नुपर्छ । विभिन्न हास्यव्यङ्ग्य निबन्धहरू पढेर पनि राम्रो हास्यव्यङ्ग्य निबन्ध लेख्न सकिन्छ।

०००

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अदालत

अदालत

आर.सी. रिजाल
सहरिया

सहरिया

सीताराम नेपाल
ससुराली !

ससुराली !

धनराज गिरी
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x