सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्य निबन्ध पढ्दा साँच्चै मजा आउने रहेछ

सङ्ग्रहका हरेक निबन्धको विषयवस्तु सामाजिक, शैक्षिक, राजनीतिक, आर्थिक, धार्मिक र सांस्कृतिक रहेको छ । मुख्य गरी लेखकले सामाजिक र राजनीतिक विषयवस्तुलाइ निबन्धकाे केन्द्रमा राखेका छन् ।

Nepal Telecom ad

अनुश्री आचार्य :

फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । उनीहरूले याे कृति पढ्दा के कस्ताे अनुभूति गरे ? फित्काैलीलाई प्राप्त भएका ती लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गरिरहेका छाैँ । – सम्पादक

म डियरवाक सिफल स्कुलमा अध्ययनरत एक छात्रा । म कक्षा ४ देखि यस विद्यालयमा अध्ययनरत छु । यस विद्यालयले हरेक महिना हामी सबैलाई दुई पुस्तक एक नेपाली र एक अङ्ग्रेजी पुस्तक दिने गर्छ । त्यसअनुसार मैले १२० पुस्तक पढिसकेकी छु । तिनीहरूमध्ये ६० पुस्तक नेपाली रहेका छन् । यो प्रथम पटक थियो मैले हास्यव्यङ्ग्य निबन्धकाे किताब पढेको ।

कक्षा ९ मा आएर श्रावण महिनामा मैले पढ्ने अवसर पाएँ राजेन्द्र कार्कीद्वारा रचित यो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘खाइराइड’ । मैले पढ्ने अवसर पाएकाे यस पुस्तक दोस्रो संस्करण थियाे ।

भोजपुरको दावामा जन्मेका कार्की अहिले क्यानडाको भ्यानकुभरमा बस्दै आएका छन् । परदेशमा बसेर पनि नेपाली साहित्यलाइ यसरी माया गर्ने राजेन्द्र कार्की एक अत्यन्तै सुन्दर लेखक रहेछन् । हास्य कसरी हुन्छ त ? हास्य तब हुन्छ जब कुनै किसिमको अस्वाभाविक क्रियाकलाप हुन्छ । व्यङ्ग्य भनेको घुमाउरो पाराले कुनै कुरालाई भन्नु हो । साहित्यको नवरसमध्ये एक रस हो हास्य रस । हास्यव्यङ्ग्यको उद्देश्य हो परिवर्तन र सुधारको चाहना ।

साहित्य विभिन्न विधामा सिर्जना गरिन्छ । कथा, कविता, मुक्तक, नाटक, उपन्यास सबै मैले देखेकी थिएँ तर प्रथम पटक थियो, मैले हास्यव्यङ्ग्य निबन्ध पढ्ने अवसर पाएकी थिएँ । त्यही भएर होला मेरो मनमा सन्देह उत्पन्न भएको थियो । “हास्य व्यङ्ग्य निबन्ध कस्तो होला ? कहिले पनि नपढेको यो मलाई मन परेन भने म के गर्नु ?” यस्तै कुराले मेरो मुटु भरिएको थियो ।

साँच्चै भन्ने हो भने मैले सायद यो किताब पढ्ने थिइनँ होला यदि मलाई हाम्रो शिक्षकले पढ्न कर गर्नु नभएको भए । उहाँको करले गर्दा मैले यो किताब पढेँ तर मलाई कुनै अफसोस लागेकाे छैन । म हाम्रो शिक्षकप्रति कृतज्ञ छु किनभने उहाँ नहुनु भएको भए मैले ‘खाइराइड’ जस्तो सुन्दर कृति पढ्ने अवसर पाउने थिइनँ ।

साँच्चैभन्दा मैले यो पुस्तक दुई चोटि पढेँ । प्रथम पटक पढ्दा मैले अलि हतारमा पढेकी थिएँ । त्यसैले होला मैले पहिला नै सबै कुरा बुझिनँ र त्यस्तो रमाइलो पनि लागेन । हास्यव्यङ्ग्यमा मैले हास्य नभेटेर व्यङ्ग्य मात्र भेटेकी थिएँ तर सबैमा होइन । मैले कुनैमा हास्य पनि भेटेँ । मैले पछि फेरि यो पुस्तक पढेँ किनभने मलाई लागेको थियो कि मैले यो पुस्तकलाई हतारमा पढेर राम्ररी पढेकी थिइनँ र न्याय गरेकी थिइनँ ।

अहिले मलाइ लागेकाे छ म धेरै खुसी छु । मैले फेरि पढ्दा विभिन्न कुराहरूमा मेरो ध्यान गयो जसले हास्यव्यङ्ग्य विधिले लेखनका सबै विधालाई सुन्दर बनाउने रहेछ । ती सब कुराहरू भाषिक शिल्प भित्र पर्ने रहेछन् । पहिलो थियो अनुप्रासको प्रयोग । यस निबन्ध सङ्ग्रहभित्र ३१ ओटा छोटा छोटा निबन्धहरू छन् र हरेकमा अनुप्रासको भरमार प्रयोग देखिन्छ ।

केही उदाहरण:
बेकामीहरु काम गर्दैनन्, तर काम गर्नेलाई कामी भन्छन् । – कामी (पृष्ठ – २६)
यो पङ्क्ति यस निबन्ध सङ्ग्रह भित्रको छैटौं निबन्ध ‘कामी’ काे हो । कामीको प्रथम वाक्य नै यही हो । यसरी नै अरु निबन्धहरूमा पनि थुप्रै अनुप्रासहरूकाे प्रयाेग गरिएकाे छ । जसले हरेक निबन्धमा उनको लेखनलाई एकदमै सुन्दर पारेको छ ।

लेखकले निबन्धहरूमा थुप्रै द्वित्व शब्दहरूको पनि प्रयोग गरेका छन् । उखान टुक्का, बिम्ब र प्रतीक, अनुकरणात्मक शब्द, नेपाली ठेट शब्दहरुको पनि प्रयोग भएको छ । साथै, लेखकले आफूलाई नराम्रो पनि देखेका छन् तर त्यसले हास्यभाव मात्र बढाएको छ ।

सङ्ग्रहका हरेक निबन्धको विषयवस्तु सामाजिक, शैक्षिक, राजनीतिक, आर्थिक, धार्मिक र सांस्कृतिक रहेको छ । मुख्य गरी लेखकले सामाजिक र राजनीतिक विषयवस्तुलाइ निबन्धकाे केन्द्रमा राखेका छन् । सामाजिक विषयवस्तुमा लेखिएको एकदमै सुन्दर निबन्ध रहेको छ ‘त्यो नेपाली होइन’। नेपालीहरुको बानी व्यहोरालाई तस्विर खिचेझैं प्रस्तुत गरिएको छ । हरेक कुरा जुन लेखकले वर्णन गरेका छन्, ती सबै गुण नेपालीमा पाइन्छ नै र लेखकले जसरी त्यो निबन्ध लेखे । रमाइलाे भाषिक शिल्पको प्रयोग गरेर रचना गरिएकाे हास्यव्यङ्ग्य निबन्ध पढ्दा साँच्चै मजा अाउने रहेछ भन्ने कुराकाे प्रथम अनुभूति मलाई भएकाे छ ।

एउटा निबन्धमा त लेखकले स्वस्थानीको ढाँचा प्रयोग गरेका छन् जसले यस निबन्धलाई साँचै मनोरञ्जनात्मक बनाएको छ। श्रीस्कन्द पुराणे नेपाली पहिचान महात्म्य, नेपाल खण्डे “त्यो नेपाली होइन” अध्याय समाप्तम् । – त्यो नेपाली होइन (पृष्ठ – ५६ )

निबन्धकाे अन्तिममा लेखकले राखेको श्रीस्कन्द पुराणे… पढेर मलाई साँचै रमाइलो लागेको थियो । हरेक वर्ष हजुरआमाले स्वस्थानी पढ्न लगाइसेको याद आयो मलाइ । लयमा पढ्नु पर्ने भनेर गाली खाएको तर ठट्टाले भरिएका ती पल सम्झेर मेरो मन एउटा न्यानो अनुभवले भरिएको थियो र अन्त्यमा जुन “श्रीस्कन्द” शब्द देखेपछि मनमा आनन्द आयाे । त्यो सब पल सम्झेर मलाई रमाइलो लागेको थियो ।

मलाई अर्को राम्रो लागेको निबन्ध भनेको भाग्दाभाग्दै थियो । हरेक मानिसको अवस्था त्यस निबन्धमा वर्णित छ। व्यङ्ग्यको प्रयोग पनि लेखकले सही ठाउँमा र ठिक समयमा गरेका छन् । हरेक निबन्धमा व्यङ्ग्य छ र ती व्यङ्ग्यहरू पनि सार्है रमाइला छन् । जुन सन्दर्भमा लेखेका हुन् त्यसको इतिहासको बारेम्मा पनि लेखकले लेखेका छन् ।

अन्त्यमा, ‘खाइराइड’ एउटा सुन्दर हास्य व्यङ्ग्य निबन्ध सङ्ग्रह रहेको छ । हरेक निबन्धहरुको विषयवस्तु अत्यन्तै सुन्दर छन् र व्यङ्ग्यका घाेचपेचले पनि पनि उत्तिकै रमाइला छन् । साहित्यका अरु विधा भन्दा छुट्टै विधा पढ्न इच्छा हुनेहरूले ‘खाइराइड’ पढ्दा गजबकै अनुभूति गर्न पाउने छन् । यसमा शंकै नगरे हुन्छ ।

०००
कक्षा- ९ ‘सैपाल’
डियरवाक सिफल स्कुल, काठमाडाैं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nirmala
Nirmala
1 month ago

धेरै राम्रो समालोचना नानी ! व्यङ्ग्य आफैँमा बुझ्न कठिन विधा हो त्यसलाई बुझेर यति मिठो समालोचना गर्नु भनेको निक्कै क्षमता हुनु हो । शुभकामना नानी अनुश्री र लेखक दुवैलाई !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x