कलानिधि दाहालजङ्गली समाज !!
शिखरबाट खोँचको नालीमा प्रमाणित भएपछि तीनवटा चिल्ला कारका चोक्टा लुछ्न हिँडेका सासुससुरा र लोग्ने हत्कडीसहितको जेलको झोलमा.....चुर्लुम्म.....?

कलानिधि दाहाल :
“अलओल्य धनले परिपूर्ण छु म। मलाई मात्र स्वास्नी चाहिएको हो।अन्य केहीको आर्थिक आवश्यकता छैन।” राकेश यही सुनाउँथ्यो, उसले सुनाउनु आवश्यक थिएन तर सुनाउँथ्यो। सुनाएका सबै असत्यचाहिँ होइनन् तर सुनाउनु पर्ने किन? अचम्म लाग्थ्यो।
रिचा भन्थी-“असल आमाबाबुको सुयोग्य पुत्र मेरो भविष्यको राजकुमार बनेर आवस्। म उसकी रानी बनेर बल्ने छु कोठाभरि धपक्क।”
संयोग दुवैको विवाह भयो करोडभन्दा माथिको सम्पति दम्पतिसँगै गएर। खुसीखुसी सम्पन्नताको उचाइ भौतिक सिँढी चढ्नेका लागि जति चढ्यो सीमा अझै टाढा टाढा हुँदै जाँदोरहेछ ।
पाँच महिनाको अन्तरालमा नै पाँचैतले घरको माथिल्लो तलाबाट बुन्द्रुङ्ग एउटा मान्छे खस्छ अचानक! हतारहतार अस्पताल लगिन्छ। डाक्टरबाट मृत घोषितपछि पोस्टमार्टममा घमासान-गर्ने नगर्नेको। घरपटिका गर्नै हुन्न हाम्रो धर्मले पाप ठान्छ यसलाई । हाम्रो पनि धर्म उही हो कसरी पाप? भनाभन दुवैतर्फको । विरोधाभासपछि कानुनी बाध्यता गर्नै पर्ने पोस्टमार्टम ।
यसक्रममा शरीर निरीक्षणमा घाउ, नङ्ग्रा, चिथोरिएका दागहरू! सासुससुराले श्रीमान् राकेशको सहमतिमा “तीनवटा कार दाइजोस्वरूप नल्याए तेरो मृत्युपछि आउने बुहारीबाट यी सबै लिने” कडा इन्कारपछि नै रिचाको लुछालुछमा चिथोराचिथोर र अन्त्यमा शिथिल रिचाको जीवन समाप्त गरी तीनजनाकै सहयोगले आत्महत्या सिध्द गर्न पाँचतले शिखरबाट खोँचको नालीमा प्रमाणित भएपछि तीनवटा चिल्ला कारका चोक्टा लुछ्न हिँडेका सासुससुरा र लोग्ने हत्कडीसहितको जेलको झोलमा…..चुर्लुम्म…..?
०००
कलेकुटी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































