कलानिधि दाहालहुर्काऊँ नवपध्दति !!
प्रयोग जिन्दगी हुन्छ पदका पदचापमा प्रयोग जिन्दगी हुन्छ भावका दिलछापमा! प्रयोग जिन्दगी हुन्छ जस्तो प्रकृतिको पल प्रकृतिभित्र नै हुन्छ नवागमन झल्मल !!

कलानिधि दाहाल :
रोयो कुकुर बाटोमा फर्क यात्री तिमी यता
अपसुगुन हो यस्तो जानु हुन्न जतातता !
यिनै यस्तै म देख्दै छु छन् धेरै अन्धका घर
खोली फाली सबै थोत्रा बन सुन्दर सुन्दर !!
भन्छन् पुर्खा उही चेत जङ्गली सोचमा परी
छाड सोच सबै यस्ता नयाँको बग निर्झरी!
आयुमा रहने यात्रा वायुले छेक्न सक्छ र
विश्वास दिलको कर्म कसैले टेक्न सक्छ र ??
फुट्छन् चट्टानका छाती बिरुवा उम्रिने पल
हुरी पहाड ओर्लिन्छ पुराना च्यात्न आँचल!
इन्द्रेणी खुल्छ लर्कोमा नयाँको झिक्न साइत
गला कला दुवै आफ्नै नजाऊ खोज्न माइत !!
उकाली नवमा नौला द्यौराली छन् ठुला ठुला
सफा टल्पका प्याला टल्पलिन्छन् पला पला !
सुकेका पात नै हुन्नन् खातका नगरौँ कुरा
मैलिएको छ यो तन्ना उद्याऊँ मनका छुरा !!
उघारूँ दिव्यका आँखा हटाऊँ सब बादल
नव निर्माणको नौलो ठोकूँ डम्डम मादल !
निरपेक्ष बनी कल्प हरिया पात हातमा
शाखा धरा झुमूँ झप्प नयाँले बात बातमा !!
सुकेका पात सङ्गीत बजी बन्दैन जीवन
धार धार नयाँ पार बगैँचा फुल्छ जीवन!
मानवता कहाँ हुन्छ धर्मका कठघारमा
मानवता कहाँ हुन्छ सत्ताका अनुहारमा ??
मान्छे नै हुन्न मान्छेमा एकालाप भए उही
मान्छे नै हुन्न मान्छे थोत्रा छाप भए उही !
मान्छे नै हुन्न मान्छे हिउँ चिसो भए उही
मान्छे नै हुन्न मान्छेमा जिउ चिसो भए उही !!
प्रयोग जिन्दगी हुन्छ पदका पदचापमा
प्रयोग जिन्दगी हुन्छ भावका दिलछापमा!
प्रयोग जिन्दगी हुन्छ जस्तो प्रकृतिको पल
प्रकृतिभित्र नै हुन्छ नवागमन झल्मल !!
मिटाऊँ नामको भोक फेरूँ म धन धाकको
अहङ्कार सबै कुल्चूँ पुराना गुँदपाकको !
लोभका जुइना तोड्दै मोडूँ म मनका गति
प्रयोग मनको प्याला हुर्काऊँ नव पध्दति !!
०००
कलेकुटी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































