साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पागलको पनि पापी पेट हुन्छ

नअत्याउनुस् न पत्नीजी । पहिले घर त पाल्नुस् अनि पागलपत्नीसित परिचित गराउँछु – पत्नीको बोलीले मलाई झस्काउँछ । मलाई लाग्छ त्यो पागलको पागलपन्थी नै राम्रो छ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

पापाको लघुरूप पापी हुन्छ ? कि पापाको स्त्रीलिंगी पापी हुन्छ ?
पागलजस्तो देखिने पातलो पुरुषले प्रश्न गर्‍यो । कसलाई गरेको हो त्यो चाहिँ थाहा भएन ? सुन्नेहरू नसुनेझैं गर्छन्, मैले पनि तेसै गरें । किन सुन्नुपर्‍यो । अलिक अगाडि बढ्दै गर्दा कानमा दुई थान प्रश्नहरू ठोकिए ।
पानाकी पत्नी पानी हो ? पानीको पुस्तामा पाना पर्छ कि पर्दैन ?

म पहेंलो पल्लो घरसम्म पुग्दा पनि पागलको प्रश्न मेरो कानमा गुन्जिइरहेको थियो । पहिले त पागल हो होइन भन्नेमा नै म द्विविधामा किन परें भने पागलको प्रश्नको प्रत्युत्तर पछिसम्म पनि मेरो दिमागमा आइरहेको थिएन । काम सिध्याएर साँझतिर घर फर्किंदा पागल भनिएको मानिस पहिलेभन्दा पूर्वतिर के के फलाकिरहेका थिए ।
कसैले पटना भन्न नसकेर पतना भन्यो र सोही सुनेर पत्नाबाट पत्नी बन्यो । पत्नीको पुलिंग पत्ना हुनुपर्ने हो । होइन भने कसैले प्रष्ट पारोस् ।

पटक पटक यस्तै प्रश्न सुनेपछि यसपटक मैले आफूलाई रोकिनँ । नजिक गएँ र भनें – प्रणाम ।
प्यारो बोलीमा प्रणाम नसुनेको धेरै भइसक्या थ्यो क्यारे । मतिर हेर्दै उसले हेरेको हेर्‍यै गर्‍यो । अनि अलिक गम्भीर भएजस्तो गरेर बोल्यो – पालोकी श्रीमती पाली हो ? पल्लोबाट पल्ली कसरी बन्यो ? पहरामा बस्ने मात्र पहरी हुन्छ ? प्रहर र प्रहरी के पुलिंग–स्त्रीलिंग हो ?

उसका प्रश्नहरू मलाई पच्छन् कि पाचक खानुपर्छ भन्ने जस्तो भएको थियो । म त ट्वाँ परेर एकोहोरो हेरिरहेको थिएँ । भागूँ कि बसूँ ? अलमलमै थिएँ, त्यसै बेला उसले थप्यो :
पचास र पचासीको लिंग छुट्याऊ । पुराले पाकेको पुरी कसरी पचाउँछ ?
असह्य भएर मैले अलिक डराएरै सोधें – पुस्तक पोथी पढ्नेलाई प्रश्न गर्दा प्रष्ट पार्लान् कि ?
उसले बोल्यो – प्रश्न पस्केर त्यही पत्ता लगाउँदैछु ।

म – अनि किन यस्ता प्रश्नहरू गर्नुपरेको छ त ?
ऊ – पापी पेटको प्रश्न छ । पागलको पनि पापी पेट हुन्छ ।
बल्ल मलाई भोक लागेको अनुभूति भयो । पाँच पाँच रुपैयाको पाँच वटा पुरानो नोट उसको हातमा थमाएर घरतिरको पुरानो बाटो लागें । घरमा आएपछि पत्नीजीलाई सोही कुरा अवगत गराएँ । पत्नीजीलाई पूरापुर पर्याप्त ज्ञान प्राप्त छ । पसल पुगेल पातलो ललिपप ल्याई मेरो हातमा थमाउँदै जानकारी गराइन् : तीन दाजुभाइमा ऊ दुई नम्बर हो । दुवैतिरबाट माया पाएको । एक नम्बर सरकारी हेडमास्टर र तीन नम्बर चाहिँ प्राइबेट हेडमास्टर । दुई नम्बर पहिलेदेखि पढाइमा तेज । पहिले सरकारी हेडमास्टरलाई स्कुलमा पढाएर सहयोग गर्‍यो अनि तीन नम्बर हेडमास्टरको स्कुलमा विद्यार्थी घट्यो भन्ने सुनेर सरकारीबाट प्राइबेट स्कुलमा सरुवा गरायो । पहिले खाई पाई आएको तलब र सुविधा तथा काममा सन्तुलन नमिल्दा मस्तिष्कमा पनि असन्तुलन भएको रे । हरेक दिन फरक फरक अक्षरका बढी शब्द उच्चारण गर्दछन् रे ।

हो आज पबाट बढी शब्दको उच्चारण गरेको सुनेको थिएँ – मैले भनें ।
अझ माया उम्रेर आयो । एक कप चिया खाएर उसको बोली सुन्नतिर लागें । दिनभर कुनै एक चोकमा त्यसरी बसेर अबेर साँझ घर जान्छ रे । कहिले भोक खाएर सुत्छ, कहिले गाली खाएर सुत्छ । कहिले धेरै खाएर पेट दुख्छ र कहिले खानै नपाएर पेट दुख्छ रे उसको ।

लाखको पति लखपति, राष्ट्रको पति राष्ट्रपति, पशुको पति पशुपति, समको पति सम्पत्ति सबै थाहा छ तर आफ्नै घरमा परदेशको परदेशी बनेर पर्दा पछाडि पुग्नु परेको छ । परिवर्तनशील परिस्थितिले परिसंवाद गराई परिवारसित पुनर्मिलन पुनः गराउला कि ? – ऊ बर्बराउँदै थ्यो ।
अझ सुनियो : अनि प्यारो परिवारमा पत्नी, पुत्र, पुत्रीको पवित्र प्रेम प्राप्त गर्छु । परिवारमा पाइने प्रेम परम पवित्र हुन्छ ।
अलिक सुस्तिएर बोल्यो : मेरो पवित्र प्रेम पागलपन प्रमाणित हुँदैछ … ।
पद, पैसा, प्रशंसा र प्रतिष्ठाको पछाडि नकुदेर दाइप्रेम र भाइप्रेममा लागें । मलाई पागल बनाएर मेरी प्रिय पत्नीलाई पुल्पूल्याएर पालेका छन् । पत्नी प्यारो र म पत्रु पतित प्राणी परिभाषित छु ।

पवित्र प्रेमले परोपकारमा पर्दा पल पल परजीवी बनेको छु । पेट पाल्न पागल बनेर पाँच रुपैया पाउन हात पसार्नु पर्छ । पाँच रुपैयाको लागि पटक पटक पागलको परीक्षा पास गर्नुपर्छ । परिस्थितिलाई पक्षमा परिणत हुन प्रचण्ड प्रलय आउनु पर्दैन । म त त्यही दिनको प्रतिक्षामा छु – ऊ बोल्दै थियो । मेरो मोबाइलको घन्टी बज्यो ।

घरबाटै फोन थियो । उठाऊँ कि नउठाऊँ भन्ने दोधारमै रिसिभ गरें । उताबाट आशीर्वचन हुन्छ – पागलको पछि पछि पुग्ने पनि पागल नै हुन्छ । कुन जुनिको पापले तेरोजस्तो पति प्राप्त भएछ पागलको पछि कुद्ने ? छिटो घर पधार तेरो पागलपनको प्रेत उतार्छु पूज्य पति, परलोकमा पनि पुण्य नहोओस् बरु ।

म त धम्की र प्रेमको दोधारमा परेर घर जाऊँ कि म पनि पागल बनूँ जस्तो भयो । ठिकै छ, पत्नीको कामै हो कराउने । जीवनभर त सुनिरहन पाइन्छ बरु यो म्यादी पागलको कुरो सुन्न छुट्यो भने जीवनमा के के गुमाएँ भन्ने थकथक लागिरहन सक्छ ।

पत्ताबाट पत्ति बन्छ र पत्तिबाट पत्नी किन बन्दैन ? यो पत्नी पनि गज्जबको पाएको हुँ । पहिले प्रेमी–प्रेमिकाजस्तो प्रेमिल सम्वाद पुष्पवृष्टि गर्ने परीजस्ती प्यारीको पारा देखेर पनि पासो पसाइ परमधाम पुगूँ जस्तो लाग्छ ।
पागलको कुरो अहिले मलाई बेग्लै दर्शन लाग्यो । लाग्यो उसले मेरो मनको कुरो बोलको छ । बाहिर भन्न नसकेर मात्रै

हो नत्र मलाई पनि यस्तै भएको छ । आजको कुरो सुनेर त झन् म अन्तर्मनमा नै घाइते भएको छु ।
ऊ बडो गम्भीर भएर बोल्छ – पहुँच र पावर भएको भए म पागल होइन, दार्शनिक कहलाउँथे । रगत पगालेर पसिना बनाई परिश्रमले आर्जन गरेको बुद्धिधन कसैले पत्याउने नभएपछि पश्चात्तापमा रुमलिनु परेको छ । पागलपन मेरो अभिनय हो ।

मेरो मोबाइल स्क्रीनमा मैडमको मुस्कुराइरहेको अनुहार देखा परेको छ । आज मलाई परलोकमा रहेका पितापुर्खासमेतलाई नछोड्ने हो कि भन्ने लागेको छ । पत्नीलाई फकाउन धेरै गाह्रो छ । म पनिर पसलतिर लम्कन्छु । झूठबोलकयन्त्र (मोबाइल) मा भन्छु – पापड र पनिर लिइसकेको छु, पवनगतिमा पाल्दैछु, नअत्याउनुस् न पत्नीजी ।
पहिले घर त पाल्नुस् अनि पागलपत्नीसित परिचित गराउँछु – पत्नीको बोलीले मलाई झस्काउँछ । मलाई लाग्छ त्यो पागलको पागलपन्थी नै राम्रो छ ।

म त आफ्नै रहरले कहिलेकाहीँ कहर बर्साउन लगाउँछु । यस्तो आफत तपाईँलाई कहिल्यै परेको छ ? म अझै पनि त्यो प्रचारित पागलको बारेमा सोच्दैछु ।

०००
राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
0
Would love your thoughts, please comment.x
()
x