साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पागलको पनि पापी पेट हुन्छ

नअत्याउनुस् न पत्नीजी । पहिले घर त पाल्नुस् अनि पागलपत्नीसित परिचित गराउँछु – पत्नीको बोलीले मलाई झस्काउँछ । मलाई लाग्छ त्यो पागलको पागलपन्थी नै राम्रो छ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

पापाको लघुरूप पापी हुन्छ ? कि पापाको स्त्रीलिंगी पापी हुन्छ ?
पागलजस्तो देखिने पातलो पुरुषले प्रश्न गर्‍यो । कसलाई गरेको हो त्यो चाहिँ थाहा भएन ? सुन्नेहरू नसुनेझैं गर्छन्, मैले पनि तेसै गरें । किन सुन्नुपर्‍यो । अलिक अगाडि बढ्दै गर्दा कानमा दुई थान प्रश्नहरू ठोकिए ।
पानाकी पत्नी पानी हो ? पानीको पुस्तामा पाना पर्छ कि पर्दैन ?

म पहेंलो पल्लो घरसम्म पुग्दा पनि पागलको प्रश्न मेरो कानमा गुन्जिइरहेको थियो । पहिले त पागल हो होइन भन्नेमा नै म द्विविधामा किन परें भने पागलको प्रश्नको प्रत्युत्तर पछिसम्म पनि मेरो दिमागमा आइरहेको थिएन । काम सिध्याएर साँझतिर घर फर्किंदा पागल भनिएको मानिस पहिलेभन्दा पूर्वतिर के के फलाकिरहेका थिए ।
कसैले पटना भन्न नसकेर पतना भन्यो र सोही सुनेर पत्नाबाट पत्नी बन्यो । पत्नीको पुलिंग पत्ना हुनुपर्ने हो । होइन भने कसैले प्रष्ट पारोस् ।

पटक पटक यस्तै प्रश्न सुनेपछि यसपटक मैले आफूलाई रोकिनँ । नजिक गएँ र भनें – प्रणाम ।
प्यारो बोलीमा प्रणाम नसुनेको धेरै भइसक्या थ्यो क्यारे । मतिर हेर्दै उसले हेरेको हेर्‍यै गर्‍यो । अनि अलिक गम्भीर भएजस्तो गरेर बोल्यो – पालोकी श्रीमती पाली हो ? पल्लोबाट पल्ली कसरी बन्यो ? पहरामा बस्ने मात्र पहरी हुन्छ ? प्रहर र प्रहरी के पुलिंग–स्त्रीलिंग हो ?

उसका प्रश्नहरू मलाई पच्छन् कि पाचक खानुपर्छ भन्ने जस्तो भएको थियो । म त ट्वाँ परेर एकोहोरो हेरिरहेको थिएँ । भागूँ कि बसूँ ? अलमलमै थिएँ, त्यसै बेला उसले थप्यो :
पचास र पचासीको लिंग छुट्याऊ । पुराले पाकेको पुरी कसरी पचाउँछ ?
असह्य भएर मैले अलिक डराएरै सोधें – पुस्तक पोथी पढ्नेलाई प्रश्न गर्दा प्रष्ट पार्लान् कि ?
उसले बोल्यो – प्रश्न पस्केर त्यही पत्ता लगाउँदैछु ।

म – अनि किन यस्ता प्रश्नहरू गर्नुपरेको छ त ?
ऊ – पापी पेटको प्रश्न छ । पागलको पनि पापी पेट हुन्छ ।
बल्ल मलाई भोक लागेको अनुभूति भयो । पाँच पाँच रुपैयाको पाँच वटा पुरानो नोट उसको हातमा थमाएर घरतिरको पुरानो बाटो लागें । घरमा आएपछि पत्नीजीलाई सोही कुरा अवगत गराएँ । पत्नीजीलाई पूरापुर पर्याप्त ज्ञान प्राप्त छ । पसल पुगेल पातलो ललिपप ल्याई मेरो हातमा थमाउँदै जानकारी गराइन् : तीन दाजुभाइमा ऊ दुई नम्बर हो । दुवैतिरबाट माया पाएको । एक नम्बर सरकारी हेडमास्टर र तीन नम्बर चाहिँ प्राइबेट हेडमास्टर । दुई नम्बर पहिलेदेखि पढाइमा तेज । पहिले सरकारी हेडमास्टरलाई स्कुलमा पढाएर सहयोग गर्‍यो अनि तीन नम्बर हेडमास्टरको स्कुलमा विद्यार्थी घट्यो भन्ने सुनेर सरकारीबाट प्राइबेट स्कुलमा सरुवा गरायो । पहिले खाई पाई आएको तलब र सुविधा तथा काममा सन्तुलन नमिल्दा मस्तिष्कमा पनि असन्तुलन भएको रे । हरेक दिन फरक फरक अक्षरका बढी शब्द उच्चारण गर्दछन् रे ।

हो आज पबाट बढी शब्दको उच्चारण गरेको सुनेको थिएँ – मैले भनें ।
अझ माया उम्रेर आयो । एक कप चिया खाएर उसको बोली सुन्नतिर लागें । दिनभर कुनै एक चोकमा त्यसरी बसेर अबेर साँझ घर जान्छ रे । कहिले भोक खाएर सुत्छ, कहिले गाली खाएर सुत्छ । कहिले धेरै खाएर पेट दुख्छ र कहिले खानै नपाएर पेट दुख्छ रे उसको ।

लाखको पति लखपति, राष्ट्रको पति राष्ट्रपति, पशुको पति पशुपति, समको पति सम्पत्ति सबै थाहा छ तर आफ्नै घरमा परदेशको परदेशी बनेर पर्दा पछाडि पुग्नु परेको छ । परिवर्तनशील परिस्थितिले परिसंवाद गराई परिवारसित पुनर्मिलन पुनः गराउला कि ? – ऊ बर्बराउँदै थ्यो ।
अझ सुनियो : अनि प्यारो परिवारमा पत्नी, पुत्र, पुत्रीको पवित्र प्रेम प्राप्त गर्छु । परिवारमा पाइने प्रेम परम पवित्र हुन्छ ।
अलिक सुस्तिएर बोल्यो : मेरो पवित्र प्रेम पागलपन प्रमाणित हुँदैछ … ।
पद, पैसा, प्रशंसा र प्रतिष्ठाको पछाडि नकुदेर दाइप्रेम र भाइप्रेममा लागें । मलाई पागल बनाएर मेरी प्रिय पत्नीलाई पुल्पूल्याएर पालेका छन् । पत्नी प्यारो र म पत्रु पतित प्राणी परिभाषित छु ।

पवित्र प्रेमले परोपकारमा पर्दा पल पल परजीवी बनेको छु । पेट पाल्न पागल बनेर पाँच रुपैया पाउन हात पसार्नु पर्छ । पाँच रुपैयाको लागि पटक पटक पागलको परीक्षा पास गर्नुपर्छ । परिस्थितिलाई पक्षमा परिणत हुन प्रचण्ड प्रलय आउनु पर्दैन । म त त्यही दिनको प्रतिक्षामा छु – ऊ बोल्दै थियो । मेरो मोबाइलको घन्टी बज्यो ।

घरबाटै फोन थियो । उठाऊँ कि नउठाऊँ भन्ने दोधारमै रिसिभ गरें । उताबाट आशीर्वचन हुन्छ – पागलको पछि पछि पुग्ने पनि पागल नै हुन्छ । कुन जुनिको पापले तेरोजस्तो पति प्राप्त भएछ पागलको पछि कुद्ने ? छिटो घर पधार तेरो पागलपनको प्रेत उतार्छु पूज्य पति, परलोकमा पनि पुण्य नहोओस् बरु ।

म त धम्की र प्रेमको दोधारमा परेर घर जाऊँ कि म पनि पागल बनूँ जस्तो भयो । ठिकै छ, पत्नीको कामै हो कराउने । जीवनभर त सुनिरहन पाइन्छ बरु यो म्यादी पागलको कुरो सुन्न छुट्यो भने जीवनमा के के गुमाएँ भन्ने थकथक लागिरहन सक्छ ।

पत्ताबाट पत्ति बन्छ र पत्तिबाट पत्नी किन बन्दैन ? यो पत्नी पनि गज्जबको पाएको हुँ । पहिले प्रेमी–प्रेमिकाजस्तो प्रेमिल सम्वाद पुष्पवृष्टि गर्ने परीजस्ती प्यारीको पारा देखेर पनि पासो पसाइ परमधाम पुगूँ जस्तो लाग्छ ।
पागलको कुरो अहिले मलाई बेग्लै दर्शन लाग्यो । लाग्यो उसले मेरो मनको कुरो बोलको छ । बाहिर भन्न नसकेर मात्रै

हो नत्र मलाई पनि यस्तै भएको छ । आजको कुरो सुनेर त झन् म अन्तर्मनमा नै घाइते भएको छु ।
ऊ बडो गम्भीर भएर बोल्छ – पहुँच र पावर भएको भए म पागल होइन, दार्शनिक कहलाउँथे । रगत पगालेर पसिना बनाई परिश्रमले आर्जन गरेको बुद्धिधन कसैले पत्याउने नभएपछि पश्चात्तापमा रुमलिनु परेको छ । पागलपन मेरो अभिनय हो ।

मेरो मोबाइल स्क्रीनमा मैडमको मुस्कुराइरहेको अनुहार देखा परेको छ । आज मलाई परलोकमा रहेका पितापुर्खासमेतलाई नछोड्ने हो कि भन्ने लागेको छ । पत्नीलाई फकाउन धेरै गाह्रो छ । म पनिर पसलतिर लम्कन्छु । झूठबोलकयन्त्र (मोबाइल) मा भन्छु – पापड र पनिर लिइसकेको छु, पवनगतिमा पाल्दैछु, नअत्याउनुस् न पत्नीजी ।
पहिले घर त पाल्नुस् अनि पागलपत्नीसित परिचित गराउँछु – पत्नीको बोलीले मलाई झस्काउँछ । मलाई लाग्छ त्यो पागलको पागलपन्थी नै राम्रो छ ।

म त आफ्नै रहरले कहिलेकाहीँ कहर बर्साउन लगाउँछु । यस्तो आफत तपाईँलाई कहिल्यै परेको छ ? म अझै पनि त्यो प्रचारित पागलको बारेमा सोच्दैछु ।

०००
राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x