साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागरिकता

उसले बाबुलाई भन्छ – तपैँको सर्पले सार्परिकता पाउँछ भने मेरो नागले पनि नागरिकता पाउनुपर्छ । मेरो नागले नागरिकता पाएन भने दर्जनौँ नाग लिएर नगरपालिका पुग्नेछु ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

मेरो नगरपालिका भएर जाने राजमार्गको एक किलोमिटर कालोपत्रे मात्र छ । बाँकी सम्पूर्ण गाउँ प्रकृतिले दिएको हिलो, धूलो र खाल्टाखुल्टीमा रमाएको छ । बर्खा लागेपछि गाउँबाट हिलोले निस्कनै नदिने गौरवमय परम्परालाई मेरो नगरपालिकाले बचाएको छ । गर्मीमा उडेको धुलो मेरो नगरपालिकाको सान हो । हिलो र धुलो पर्यटनको लागि मेरो नगरपालिका प्रसिद्ध छ ।

मेरो नगरपालिकाको न्याय प्रमुख उपमेयर औँठाछाप हुन् । गर्वले भन्दछन् “कानुनको कुनै दाउपेच मेरो लागि काला अक्षर भैंसी बराबर हुन्‌” । न्यायिक समितिको तोकिएको इजलासमा आँैठाछाप लगाएर गर्ने गरेको न्याय सम्पादनको काम हेर्न पर्यटकहरू आउन थालेका छन् । यस समितिले गरेका काम कति अनौठो छ, कुनै दिन आएर तपैँ पनि हेर्नुहोला ।

नगर परिषद् र कार्यपालिका सदस्यमा किसानहरूको बाहुल्य छ । किसानहरूले परम्परागत तरिकाले कृषि र पशुपालन गर्न नसकिने हुँदा नयाँ सुधारको घोषणा गरे । बालीलाई शतप्रतिशत बिमा भयो तर पशुपक्षी पालनलाई बढी प्राथमिकता दिइयो ।

पाडापाडीको जन्मदर्ता गर्ने नियम बन्यो । जन्मेको ३५ दिनभित्र जन्मदर्ता अनिवार्य गराउनु पर्छ । बाच्छाबाच्छीलाई जन्मदर्ता गर्नुपर्ने भयो । नगरपालिकाले मानिसहरूको जन्मदर्ता आइतवार, विवाहदर्ता सोमवार, पाडापाडीको जन्मदर्ता मंगलवार, बाच्छाबाच्छीको जन्मदर्ता बुधवार, सशुल्क सिफारिश विहीवार र निशुल्क सिफारिश शुक्रवार गर्ने सार्वजनिक गर्‍यो । सबै सिफारिश र जन्मदर्ताहरू प्रत्यक्ष प्रमाणसहित गर्नुपर्ने नियम बनाइयो । कहीँ कतै कसैले गलत नगराओस् भनेर यस प्रकारको नियम बनाइएको थियो ।

हरेक आइतवार बच्चा लिएर सुत्केरी र बच्चाको बाउको भीड, हरेक सोमवार नवविवाहित दुलहा–दुलही र दुवैका अभिभावकसमेतको भीडभाड, हरेक मंगलवार पाडापाडी, भैँसी र पशुमालिकको भीड, हरेक बुधवार बाच्छाबाच्छी र गाईका साथै पशुपालकको भीड र विहीवार तथा शुक्रवार सशुल्क र निशुल्क सिफारिश गराउनेको भीडभाड हुँदा वडा कार्यालयमा निकै रमाइलो हुन थाल्यो ।

मानिसको जन्मदर्ता गराउँदा बाबु, आमा र बाजे समेतको नाम फारममा भर्नुपर्छ । पहिलो हप्ता त गाउँमा निकै रमाइलो भयो । पहिलो हप्तामा पाडापाडी र बाच्छाबाच्छीको आमा त किसानको घरमा हुन्थ्यो तर बाबुको नाम लेख्नुपर्ने ठाउँमा के लेख्ने वा कस्को नाम लेख्ने भन्ने विषयमा निकै रमाइलो भयो । सबै किसानले आफ्‌नो भैँसी, पाडा र पाडीको नाम राख्न सिके । गाई र बाच्छा–बाच्छीको नामले नै गाउँमा बोलाइन थालियो । पछि गाई, भैँसी, पाडा, पाडी, बाच्छा, बाच्छीको नाम जुध्न थालेपछि कसले मान्छेलाई बोलाएको वा कुन पशुलाई बोलाएको हो, बुझ्‌न गाह्रो हुन थालेको थियो । नामले मान्छे हो कि पशु छुट्याउन गाह्रो हुँदा गाउँमा फरक किसिमको रमाइलो अनुभूतिले आनन्द दिएको थियो । पछि पाडापाडी र बाच्छाबाच्छीको बाबुको नाम खोज्न छाडियो । पाडापाडी र बाच्छाबाच्छीको जन्मदर्ताको प्रमाणपत्रमा तिनीहरुको फोटो पनि टाँस्ने नियम बन्यो । फोटो टाँसिन थालिएपछि पशुको पहिचान गर्न सजिलो भयो र पशुसम्बन्धी मुद्दा कम आउन थाल्यो इजलासमा ।

पशुको सेवा नगरभरि राम्रै हुन थाल्यो । पशुमध्ये एक कुकुर पनि हो । कुकुर पाल्नेले पनि कुकुरको जन्मदर्ता गराउन थाल्यो ।

एउटा परिषद्मा मुद्दा उठ्याे – भर्खर जन्मेका पशुहरूको फोटोसहितको जन्मदर्ता हुन्छ तर ठूला पशुहरूको पहिचानको लागि केही पनि व्यवस्था गरिएको छैन । अग्रज पशुहरूकै विशिष्ट पहिचान नहँुदा पशु समाजमा बेथिति जन्मने समस्या हुन्छ । समस्याको व्यवस्थापन गर्नुपर्ने पशु अधिकारकर्मीहरूको माग जायज छ ।

परिषद्मा दिनभरि बहस चल्यो । एउटा निष्कर्षमा किसानहरूको बाहुल्य भएको सभा पुग्यो – सबै पशुलाई विशेष पहिचानपत्र दिने । पशुको कानमा एउटा ट्यागसहितको नम्बर दिने । पहिचानपत्रमा भएको नम्बर त्यस ट्यागमा हुन्छ । साधारण पाडालाई पाडारिकता, राँगालाई राँगारिकता, कुकुरलाई कुकुरिकता, भैँसीलाई भैँसरिकता, गाईलाई गाईरिकता, दिने र त्यसमा पशुहरूको अनुहार तथा दुवै कान र ट्यागका साथै जीउ पनि देखिने गरी फोटो राख्ने निर्णय भयो । कसैले कुनै आपत्ति जनाएन । एउटा स्थानीय पत्रिकाले समाचार छाप्यो – आफन्तको स्टुडियोको कारोबार बढाउन जेमा पनि फोटोको व्यवस्था गरेको हो रे नगरपालिकाले ।

मलाई समस्या पर्‍यो । घरमा दुई चारवटा कुखुरा पैलेदेखि नै पाल्ने चलन थियो । कुखुरा र कुखुरीलाई वडा कार्यालयमा लगेर मुर्गारिकता लिएँ । केही दिनमा कुखुरीले अन्डा पारी ।

नगरको नियम थियो – जन्मदर्ता बनाउनु पर्ने । मान्छे वा पशुको कोखबाट जन्मनासाथ जन्मदर्ता बनाउनु पर्ने । कुखुरीको कोखबाट बच्चा त जन्मिँदैन । कुखुरीको कोखबाट त अन्डा जन्मिन्छ । यसलाई अन्डादर्ता गराउनु पर्ने हो कि अन्डा कोरलेपछि बचेरा निस्केर बच्चादर्ता गराउनु पर्ने हो ? दोधारमा भएको बखत म नगरको कानुनी सल्लाहकारलाई भेट्न गएँ । तीन चार दिनसम्म पालिका धाएपछि बल्ल कानुनी सल्लाहकारलाई भेट्टाएँ । उनले मेरो कुरै सुनेनन् ।

वडा कार्यालयमै नथुनियाको समस्या मभन्दा ठूलो देखियो । ऊ चट्के हो । उसले चटक देखाएर आफ्‌नो गुजारा चलाउँछ । मनोरञ्जन गराउने परिवार भनेर उसलाई नगरपालिकाले सम्मानित गरेको छ । उसले बाँदर र सर्प पालेर जीवनयापन गर्दछ । उसले पालेको बाँदर्नीले बच्चा जन्माई । त्यसको जन्मदर्ता गराउनुपर्ने । बाँदरको जन्मदर्ता नगरपालिकाले गर्ने नियम बनाएको थिएन । उसलाई बाँदर घरको सदस्य बराबर थियो, उसलाई पनि जन्मदर्ता बनाएर गर्व हासिल गर्नु थियो ।

उसले पालेको सर्प पनि गर्भिनी थिई । सबै पशुहरू गर्भिनी भएपछि पालिकाले केही सुविधाहरू उपलब्ध गराउँथ्यो । उसले सर्प गर्भिनी भएको खबर नगरपालिकालाई जानकारी पनि गरायो । सुरुमा सबैले खिल्ली उडायो तर पछि पशु भन्नासाथ पशु, पक्षी र अन्यसमेत बुझिने अर्थ लगाएर बाँदरलाई बाँदरिकता र सर्पलाई सार्परिकता दिने पनि निर्णय भयो ।
सर्पले पनि अन्डा नै दिने हो । मेरो कुखुरीले जस्तै ।

वडाध्यक्ष अलि जिस्किने स्वभावका छन् । उनले मलाई जिस्क्याउँदै भनें – कुखुरीले अन्डा किन दिन्छ ? बच्चा जन्माउने कुखुरी पाल्नुस् । तपैँले गर्दा नगरपालिकाको नियम चेन्ज गर्नुपर्ने अवस्था आएको छ । दूध नदिने प्राणीको जन्मदर्ता र पशुरिकता गर्दा चार गुना बढी शुल्क लिने प्रस्ताव भएको छ । कुखुरीले अन्डा दिएको त मलाई पचेकै थियो । कुखुरीको बच्चाको जन्मदर्ता गराउन निकै अप्ठेरो । कर्मचारीको तर्क हुन्थ्यो – कुखुरीले बच्चा जन्माउँदैन । कुन कुखुरीको कोखबाट यो चल्ला जन्मेको हो भन्ने कुरो कसरी बुझ्‌ने ? कुखुरीले अन्डा दिने हो । फुलदर्ता हुने चलन छैन । फेरि त्यैँ कुखुरीले पारेको अन्डाबाट निस्केको चल्ला हो भन्ने ग्यारेन्टी के ? एस्ता तर्कतर्फ मेरो ध्यानै गएको थिएन । घोर निराशामा डुबेको वेला एक जनाले उपाय बताए । उनले बताएको उपायअनुसार चल्लाको एउटा बाबु (भाले) दिएपछि सबै नियम मिल्यो, काम सजिलै भयो ।

नथुनियालाई मेरो काइदा निकै मन पर्‍यो । वडाध्यक्ष केही दिनको लागि विदेश भर्मनमा गएको समयमा सबै काम नगरपालिकाबाटै हुन्थ्यो । उसको प्रिय सर्पिनीले पनि अन्डा कोरलेर बच्चा जन्माई । नगरपालिकाले सजिलै जन्मदर्ता बनाइदिँदैन । कैयौँ दिन धाउन लगाउँछ । नथुनियाले मलाई सोध्यो कि कसरी मैले एकै दिनमा चल्लाको जन्मदर्ता बनाएँ भनेर । मैले सही कुरा बताएँ – चल्लाको बाबुलाई जन्मदर्ता बनाउने मान्छेको अगाडि राखिदिएँ । खुसी भएर तुरुन्तै बनाइदियो ।

उसले के बुझ्यो कुन्नि । भोलिपल्ट भर्खर जन्मेको सर्पको बाबुलाई लगेर मेयर साबको टेबुलमा राख्यो । मेयर साब त बेहोस । बडेमाको कालो नागलाई देखेर परेको मुर्च्छा खुलाउन नगरको सबैभन्दा ठूलो झाँक्रीलाई नै बोलाउनु पर्‍यो ।
कसैलाई आम्दानी दिने पशुपक्षीलाई कसैले हानिनोक्सानी पुर्‍याउनु हुन्न भन्ने नियम थियो । सर्पले नै नथुनियाको गुजारा चलेको थियो । सर्पको आयवापतको कर पनि उसले तिरेकै थियो नगरपालिकामा ।

सुन्दैछु – सर्पलाई कुनै पहिचानपत्र नदिने निर्णय भएको छ । त्यसपछि नथुनियाले भने नगरको न्याय समितिमा निवेदन दिएको छ । सर्पलाई उसले सार्परिकता माग गरेको छ ।

जब उता नथुनिया दिँदै थियो तब यता घरमा उसको छोरोले पालेको सर्पले पनि अन्डा कोरल्दै थियो । उसको छोरोको सर्पले त झन् कालो नाग नै जन्माएको छ ।

नथुनियाले सर्पको बच्चाको जन्मदर्ताको माग गर्नुको अर्थ हो कि उमेर पुगेपछि सार्परिकता माग गर्नु । अब उसको छोरोको घरमा नाग नै जन्मेको छ ।

उसले बाबुलाई भन्छ – तपैँको सर्पले सार्परिकता पाउँछ भने मेरो नागले पनि नागरिकता पाउनुपर्छ । मेरो नागले नागरिकता पाएन भने दर्जनौँ नाग लिएर नगरपालिका पुग्नेछु ।

उसको छोरोले आफ्‌नो नागको लागि नागरिकता माग गर्दै फेसबुकमा स्टेटस पनि लेखेको छ । नगरभरि अहिले यसैको चर्चा छ ।

०००
व्यङ्ग्यम् (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
असली मित्र

असली मित्र

सञ्जय साह मित्र
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x