साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागरिकता

उसले बाबुलाई भन्छ – तपैँको सर्पले सार्परिकता पाउँछ भने मेरो नागले पनि नागरिकता पाउनुपर्छ । मेरो नागले नागरिकता पाएन भने दर्जनौँ नाग लिएर नगरपालिका पुग्नेछु ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

मेरो नगरपालिका भएर जाने राजमार्गको एक किलोमिटर कालोपत्रे मात्र छ । बाँकी सम्पूर्ण गाउँ प्रकृतिले दिएको हिलो, धूलो र खाल्टाखुल्टीमा रमाएको छ । बर्खा लागेपछि गाउँबाट हिलोले निस्कनै नदिने गौरवमय परम्परालाई मेरो नगरपालिकाले बचाएको छ । गर्मीमा उडेको धुलो मेरो नगरपालिकाको सान हो । हिलो र धुलो पर्यटनको लागि मेरो नगरपालिका प्रसिद्ध छ ।

मेरो नगरपालिकाको न्याय प्रमुख उपमेयर औँठाछाप हुन् । गर्वले भन्दछन् “कानुनको कुनै दाउपेच मेरो लागि काला अक्षर भैंसी बराबर हुन्‌” । न्यायिक समितिको तोकिएको इजलासमा आँैठाछाप लगाएर गर्ने गरेको न्याय सम्पादनको काम हेर्न पर्यटकहरू आउन थालेका छन् । यस समितिले गरेका काम कति अनौठो छ, कुनै दिन आएर तपैँ पनि हेर्नुहोला ।

नगर परिषद् र कार्यपालिका सदस्यमा किसानहरूको बाहुल्य छ । किसानहरूले परम्परागत तरिकाले कृषि र पशुपालन गर्न नसकिने हुँदा नयाँ सुधारको घोषणा गरे । बालीलाई शतप्रतिशत बिमा भयो तर पशुपक्षी पालनलाई बढी प्राथमिकता दिइयो ।

पाडापाडीको जन्मदर्ता गर्ने नियम बन्यो । जन्मेको ३५ दिनभित्र जन्मदर्ता अनिवार्य गराउनु पर्छ । बाच्छाबाच्छीलाई जन्मदर्ता गर्नुपर्ने भयो । नगरपालिकाले मानिसहरूको जन्मदर्ता आइतवार, विवाहदर्ता सोमवार, पाडापाडीको जन्मदर्ता मंगलवार, बाच्छाबाच्छीको जन्मदर्ता बुधवार, सशुल्क सिफारिश विहीवार र निशुल्क सिफारिश शुक्रवार गर्ने सार्वजनिक गर्‍यो । सबै सिफारिश र जन्मदर्ताहरू प्रत्यक्ष प्रमाणसहित गर्नुपर्ने नियम बनाइयो । कहीँ कतै कसैले गलत नगराओस् भनेर यस प्रकारको नियम बनाइएको थियो ।

हरेक आइतवार बच्चा लिएर सुत्केरी र बच्चाको बाउको भीड, हरेक सोमवार नवविवाहित दुलहा–दुलही र दुवैका अभिभावकसमेतको भीडभाड, हरेक मंगलवार पाडापाडी, भैँसी र पशुमालिकको भीड, हरेक बुधवार बाच्छाबाच्छी र गाईका साथै पशुपालकको भीड र विहीवार तथा शुक्रवार सशुल्क र निशुल्क सिफारिश गराउनेको भीडभाड हुँदा वडा कार्यालयमा निकै रमाइलो हुन थाल्यो ।

मानिसको जन्मदर्ता गराउँदा बाबु, आमा र बाजे समेतको नाम फारममा भर्नुपर्छ । पहिलो हप्ता त गाउँमा निकै रमाइलो भयो । पहिलो हप्तामा पाडापाडी र बाच्छाबाच्छीको आमा त किसानको घरमा हुन्थ्यो तर बाबुको नाम लेख्नुपर्ने ठाउँमा के लेख्ने वा कस्को नाम लेख्ने भन्ने विषयमा निकै रमाइलो भयो । सबै किसानले आफ्‌नो भैँसी, पाडा र पाडीको नाम राख्न सिके । गाई र बाच्छा–बाच्छीको नामले नै गाउँमा बोलाइन थालियो । पछि गाई, भैँसी, पाडा, पाडी, बाच्छा, बाच्छीको नाम जुध्न थालेपछि कसले मान्छेलाई बोलाएको वा कुन पशुलाई बोलाएको हो, बुझ्‌न गाह्रो हुन थालेको थियो । नामले मान्छे हो कि पशु छुट्याउन गाह्रो हुँदा गाउँमा फरक किसिमको रमाइलो अनुभूतिले आनन्द दिएको थियो । पछि पाडापाडी र बाच्छाबाच्छीको बाबुको नाम खोज्न छाडियो । पाडापाडी र बाच्छाबाच्छीको जन्मदर्ताको प्रमाणपत्रमा तिनीहरुको फोटो पनि टाँस्ने नियम बन्यो । फोटो टाँसिन थालिएपछि पशुको पहिचान गर्न सजिलो भयो र पशुसम्बन्धी मुद्दा कम आउन थाल्यो इजलासमा ।

पशुको सेवा नगरभरि राम्रै हुन थाल्यो । पशुमध्ये एक कुकुर पनि हो । कुकुर पाल्नेले पनि कुकुरको जन्मदर्ता गराउन थाल्यो ।

एउटा परिषद्मा मुद्दा उठ्याे – भर्खर जन्मेका पशुहरूको फोटोसहितको जन्मदर्ता हुन्छ तर ठूला पशुहरूको पहिचानको लागि केही पनि व्यवस्था गरिएको छैन । अग्रज पशुहरूकै विशिष्ट पहिचान नहँुदा पशु समाजमा बेथिति जन्मने समस्या हुन्छ । समस्याको व्यवस्थापन गर्नुपर्ने पशु अधिकारकर्मीहरूको माग जायज छ ।

परिषद्मा दिनभरि बहस चल्यो । एउटा निष्कर्षमा किसानहरूको बाहुल्य भएको सभा पुग्यो – सबै पशुलाई विशेष पहिचानपत्र दिने । पशुको कानमा एउटा ट्यागसहितको नम्बर दिने । पहिचानपत्रमा भएको नम्बर त्यस ट्यागमा हुन्छ । साधारण पाडालाई पाडारिकता, राँगालाई राँगारिकता, कुकुरलाई कुकुरिकता, भैँसीलाई भैँसरिकता, गाईलाई गाईरिकता, दिने र त्यसमा पशुहरूको अनुहार तथा दुवै कान र ट्यागका साथै जीउ पनि देखिने गरी फोटो राख्ने निर्णय भयो । कसैले कुनै आपत्ति जनाएन । एउटा स्थानीय पत्रिकाले समाचार छाप्यो – आफन्तको स्टुडियोको कारोबार बढाउन जेमा पनि फोटोको व्यवस्था गरेको हो रे नगरपालिकाले ।

मलाई समस्या पर्‍यो । घरमा दुई चारवटा कुखुरा पैलेदेखि नै पाल्ने चलन थियो । कुखुरा र कुखुरीलाई वडा कार्यालयमा लगेर मुर्गारिकता लिएँ । केही दिनमा कुखुरीले अन्डा पारी ।

नगरको नियम थियो – जन्मदर्ता बनाउनु पर्ने । मान्छे वा पशुको कोखबाट जन्मनासाथ जन्मदर्ता बनाउनु पर्ने । कुखुरीको कोखबाट बच्चा त जन्मिँदैन । कुखुरीको कोखबाट त अन्डा जन्मिन्छ । यसलाई अन्डादर्ता गराउनु पर्ने हो कि अन्डा कोरलेपछि बचेरा निस्केर बच्चादर्ता गराउनु पर्ने हो ? दोधारमा भएको बखत म नगरको कानुनी सल्लाहकारलाई भेट्न गएँ । तीन चार दिनसम्म पालिका धाएपछि बल्ल कानुनी सल्लाहकारलाई भेट्टाएँ । उनले मेरो कुरै सुनेनन् ।

वडा कार्यालयमै नथुनियाको समस्या मभन्दा ठूलो देखियो । ऊ चट्के हो । उसले चटक देखाएर आफ्‌नो गुजारा चलाउँछ । मनोरञ्जन गराउने परिवार भनेर उसलाई नगरपालिकाले सम्मानित गरेको छ । उसले बाँदर र सर्प पालेर जीवनयापन गर्दछ । उसले पालेको बाँदर्नीले बच्चा जन्माई । त्यसको जन्मदर्ता गराउनुपर्ने । बाँदरको जन्मदर्ता नगरपालिकाले गर्ने नियम बनाएको थिएन । उसलाई बाँदर घरको सदस्य बराबर थियो, उसलाई पनि जन्मदर्ता बनाएर गर्व हासिल गर्नु थियो ।

उसले पालेको सर्प पनि गर्भिनी थिई । सबै पशुहरू गर्भिनी भएपछि पालिकाले केही सुविधाहरू उपलब्ध गराउँथ्यो । उसले सर्प गर्भिनी भएको खबर नगरपालिकालाई जानकारी पनि गरायो । सुरुमा सबैले खिल्ली उडायो तर पछि पशु भन्नासाथ पशु, पक्षी र अन्यसमेत बुझिने अर्थ लगाएर बाँदरलाई बाँदरिकता र सर्पलाई सार्परिकता दिने पनि निर्णय भयो ।
सर्पले पनि अन्डा नै दिने हो । मेरो कुखुरीले जस्तै ।

वडाध्यक्ष अलि जिस्किने स्वभावका छन् । उनले मलाई जिस्क्याउँदै भनें – कुखुरीले अन्डा किन दिन्छ ? बच्चा जन्माउने कुखुरी पाल्नुस् । तपैँले गर्दा नगरपालिकाको नियम चेन्ज गर्नुपर्ने अवस्था आएको छ । दूध नदिने प्राणीको जन्मदर्ता र पशुरिकता गर्दा चार गुना बढी शुल्क लिने प्रस्ताव भएको छ । कुखुरीले अन्डा दिएको त मलाई पचेकै थियो । कुखुरीको बच्चाको जन्मदर्ता गराउन निकै अप्ठेरो । कर्मचारीको तर्क हुन्थ्यो – कुखुरीले बच्चा जन्माउँदैन । कुन कुखुरीको कोखबाट यो चल्ला जन्मेको हो भन्ने कुरो कसरी बुझ्‌ने ? कुखुरीले अन्डा दिने हो । फुलदर्ता हुने चलन छैन । फेरि त्यैँ कुखुरीले पारेको अन्डाबाट निस्केको चल्ला हो भन्ने ग्यारेन्टी के ? एस्ता तर्कतर्फ मेरो ध्यानै गएको थिएन । घोर निराशामा डुबेको वेला एक जनाले उपाय बताए । उनले बताएको उपायअनुसार चल्लाको एउटा बाबु (भाले) दिएपछि सबै नियम मिल्यो, काम सजिलै भयो ।

नथुनियालाई मेरो काइदा निकै मन पर्‍यो । वडाध्यक्ष केही दिनको लागि विदेश भर्मनमा गएको समयमा सबै काम नगरपालिकाबाटै हुन्थ्यो । उसको प्रिय सर्पिनीले पनि अन्डा कोरलेर बच्चा जन्माई । नगरपालिकाले सजिलै जन्मदर्ता बनाइदिँदैन । कैयौँ दिन धाउन लगाउँछ । नथुनियाले मलाई सोध्यो कि कसरी मैले एकै दिनमा चल्लाको जन्मदर्ता बनाएँ भनेर । मैले सही कुरा बताएँ – चल्लाको बाबुलाई जन्मदर्ता बनाउने मान्छेको अगाडि राखिदिएँ । खुसी भएर तुरुन्तै बनाइदियो ।

उसले के बुझ्यो कुन्नि । भोलिपल्ट भर्खर जन्मेको सर्पको बाबुलाई लगेर मेयर साबको टेबुलमा राख्यो । मेयर साब त बेहोस । बडेमाको कालो नागलाई देखेर परेको मुर्च्छा खुलाउन नगरको सबैभन्दा ठूलो झाँक्रीलाई नै बोलाउनु पर्‍यो ।
कसैलाई आम्दानी दिने पशुपक्षीलाई कसैले हानिनोक्सानी पुर्‍याउनु हुन्न भन्ने नियम थियो । सर्पले नै नथुनियाको गुजारा चलेको थियो । सर्पको आयवापतको कर पनि उसले तिरेकै थियो नगरपालिकामा ।

सुन्दैछु – सर्पलाई कुनै पहिचानपत्र नदिने निर्णय भएको छ । त्यसपछि नथुनियाले भने नगरको न्याय समितिमा निवेदन दिएको छ । सर्पलाई उसले सार्परिकता माग गरेको छ ।

जब उता नथुनिया दिँदै थियो तब यता घरमा उसको छोरोले पालेको सर्पले पनि अन्डा कोरल्दै थियो । उसको छोरोको सर्पले त झन् कालो नाग नै जन्माएको छ ।

नथुनियाले सर्पको बच्चाको जन्मदर्ताको माग गर्नुको अर्थ हो कि उमेर पुगेपछि सार्परिकता माग गर्नु । अब उसको छोरोको घरमा नाग नै जन्मेको छ ।

उसले बाबुलाई भन्छ – तपैँको सर्पले सार्परिकता पाउँछ भने मेरो नागले पनि नागरिकता पाउनुपर्छ । मेरो नागले नागरिकता पाएन भने दर्जनौँ नाग लिएर नगरपालिका पुग्नेछु ।

उसको छोरोले आफ्‌नो नागको लागि नागरिकता माग गर्दै फेसबुकमा स्टेटस पनि लेखेको छ । नगरभरि अहिले यसैको चर्चा छ ।

०००
व्यङ्ग्यम् (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
असली मित्र

असली मित्र

सञ्जय साह मित्र
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x