साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्मुख अतिथि

एकछिन भनेर बोलाएको, पानीसम्म पिउन नपाइ चार घन्टा खाइदिएछ माकाब्बेले । कताको घिटिक् घिटिक् भएका साइँला बाजे हेर्न गएको कता आएर फँसियो गाँठे !

Nepal Telecom ad

डा. गंगाप्रसाद अधिकारी :

मनमा अलि व्यग्रता थियो । कामको चापाचाप, धपेडी, व्यस्तता । बित्थैको तनाव नि ! कसैको पुस्तकको समीक्षा गरिदिनुपर्ने, कसैको भूमिका लेखिदिनुपर्ने, पत्रिकालाई नियमित स्तम्भलेख पनि बुझाउनुपर्ने, के के हो के के ! बुढीको कचकच उस्तै । हो पनि, बिमारी पर्दाओर्दा त कसैले स्याहार्ने होइन, बुढीले नै हो ।

“वाँ गाउँमा साइँला बाजे सिकिस्तै छन् अरे ! हेर्न जानुपर्ने । ‘काइँलो आएन ?’ भन्दै थिए अरे !” बुढीले सुनाएको पनि चारपाँच दिन बितिसकेछ । जाउँला जाउँला भन्दाभन्दै के के आइलाग्छ, उम्किन पाइने होइन भनेका वेला !

बिरामीलाई भेट्न फलफूल लिएर जाँदा उहिल्यै सुइँकिओरी रुवाबासी चल्दै हुने हो कि भन्ने पिरलो पनि छँदै छ । एक पटक त्यस्तै भयो पनि । एक किलो स्याउ बोकेर बिरामी हेर्न गएको, आँगनमा निकालेर बाँध्दै पो रहेछन् खोलातिर लैजान ! स्याउको पोको मकैबारीमा मिल्काइराखेर सहभागी भइयो दुःखमा । खै के के आइलाग्छ के के भन्या !

उनले बजारपुछार पुग्नासाथ एक किलो स्याउ किने । पारदर्शक प्लास्टिकबाट स्याउको रङ, ब्रान्ड, सङ्ख्या परैबाट थाहा पाइन्थ्यो । पोको बोकेर बाटो लाग्दै मात्र थिए “ए हजुर, कता लाग्नुभो ?” कहिल्यै नदेखेको एउटा मान्छेले रोक्यो ।
ए होला कोही मलाई चिन्ने, मैले नचिनेर के भो त ! भन्ने सोच्दै नमस्ते फर्काएर बाटो लाग्न खोजेको “होइन हजुर, एक छिन हजुरसँग काम थियो ।” भनेर फेरि अल्झायो र लम्बे चौडे गन्थन गर्न थाल्यो अपरिचित मान्छेले । सारमा कुरो के रहेछ भने ती महाशयले एउटा महाकाव्य लेखेका रहेछन्, त्यसको आज विमोचन रे ! त्यो समारोहमा उनले ‘पर्मुख अतिथि’ खाइदिनुपर्ने रहेछ । “‘माकाब्बे’ को विमोचनमा बोलाएका ‘पर्मुख अतिथि’ ले आजै बिहान मात्र कार्यक्रममा आउन नभ्याउने खबर पठाएर धोका दिए हजुर, गाँठो त फुकाइदिनै पर्‍यो । एकै छिन् त हो ।”

उम्किन खण्डै गर्दा पनि उनको केही लागेन अनि भैगो न त, अचेल प्रमुख अतिथिले पहिल्यै भाषण गरेर व्यस्तता देखाउने चलन चलाएकै छन् । त्यसै गरेर उम्कौंला भन्ठान्दै पछि लागे ।

एउटा चौतारी जस्तो खुल्ला ठाउँ रहेछ । केही प्लास्टिकका कुर्सी र गोलो आकारको प्लास्टिककै डाइनिङ टेबल चौतारामा सजाइएको । यसो वृद्ध बाआमाहरू भेला भएर शीतल ताप्दै भजन कीर्तन गाउने, दुःखसुखका कुरा गरेर मन हलुङ् बनाउने ठाउँ थियो सायद त्यो । टेबलमा एउटा सानो पानस र छेउमा अखबारले मोरेको किताब जस्तो वस्तु राखिएको थियो । विमोचन गरिने भनिएको पुस्तक होला सायद । स्रष्टाका नातागोताका मात्रै बाह्रतेह्र जना मान्छे यताउति उभिएका थिए ।

उनी पुग्नासाथै उद्घोषकले सभापतिलाई आसन ग्रहण गराए । सभापति विमोचन हुनलागेको पुस्तकका स्वयम् लेखक रहेछन्, अनि उद्घोषक उनकै पुत्र । सभापतिको वरणपछि उद्घोषकले उनलाई खुसुक्क नाउँ सोधे अनि “अब पर्मुख अतिथि फलानाज्यूलाई आसन ग्रहणका लागि अनुरोध गर्न चाहन्छु” भने । “चाहेको मात्रै पो ?” मनमनै भन्दै देखाइएको कुर्सीमा उनी ‘पर्मुख अतिथि’ भएर बसे । पालैपालो उद्घोषकले आफ्नी आमा, बुढी, मामा, सालो सबैलाई दर्जा अनुसारको साइनो खोलेर बोलाउँदै कुर्सीमा विराजमान गराए । विचरा प्रमुख अतिथिलाई स्याउको पोको घाँडो भयो । कहिले काखमा, कहिले यसो छेउतिर सार्दै, कहिले हातैमा झुन्ड्याउँदै हैरान !
“हैन के के पनि आइलाग्छ हौ जिन्दगीमा !”

अरू वेला कटौरा काटेर, दशथरी बिङ्गा जोडेर मान्छेलाई उल्ल्याएर, उडाएर, हँसाएर भुतुक्कै पार्ने प्रमुख अतिथिज्यू आज भने आफ्नै हुर्मत काढिएकोमा आफैं भित्रभित्रै हुँडलिँदै थिए । धन्न आफूलाई चिन्ने मान्छे रैनछन् त्यहाँ कोही !
कार्यक्रम क्रमैले अघि बढ्यो । लेखककी बुहारीले स्वागत मन्तव्य व्यक्त गरिन् । बुहारी पढेलेखेकै रहिछिन् । उनको स्वागत मन्तव्य तारिफ गर्न लायक थियो । त्यसपछि प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन भयो । राष्ट्रिय गान कसैलाई राम्ररी आउँदो रहेनछ, त्यो पनि प्रमुख अतिथिले नै तानतुन पारेर सम्पन्न गरिदिए ।

त्यसपछि लेखकका भिनाजु र भदै नानीले कार्यक्रमको सफलताको शुभकामना चढाए अनि प्रमुख अतिथिलाई अखबारले बेरेको त्यो महाकाव्य भनिएको पुस्तकलाई अखबारबाट मुक्ति दिन लगाइयो । लेखकको भतिजो पर्नेले पुस्तकका बारेमा आकाश पाताल जोडेर आद्योपान्त समीक्षा गर्‍यो । लगभग एक सवा घन्टाको समीक्षापछि बाँकी सबैले पालै पालो पुस्तकको सराहना गरे, स्रष्टालाई फुर्का जोड्दै सर्काए । एकछिन अघिसम्म त प्रमुख अतिथिज्यूलाई साइँला बाजेको सम्झना आइरहेको थियो । अब त पुगेछन् कता साइँला बाजे पनि !

लगभग साढे तीन घन्टाको दिक्क लाग्दो प्रशंसाका पुल बाँधेर पालैपालो गरिएको भाषणपछि बल्ल प्रमुख अतिथिको पालो आयो बोल्ने । उनको पालो पनि लेखकलाई हावा भर्न थाले “यस्तो महान् ‘माकाब्बे’ सबकोइले लेख्न सक्छ ?.. उहाँ जस्तो ‘माकाब्बेकार’ यो ठाउँले पाउनु त ठुलै भाग्य हो । … यस्तो अतुलनीय कृति उहाँले कसरी लेख्नु भयो होला ? … कालीदास पनि यहाँ भएको भए छक्क पर्थे होला !..यस्तोमा त हामीले गौरव गर्नुपर्छ… नेपाली साहित्यको इतिहासमा उहाँको नाम स्वर्ण अक्षरले होइन, हिराका अक्षरले लेखिनुपर्छ…. यस्तो भव्य समारोहमा आफूलाई पनि ‘पर्मुख अतिथि’ बनाइदिएको रिन मैले कहिलेसम्ममा तिर्नु ? मेरो त यो कार्यक्रमले तीन फिट उचाइ पो थपियो त !” आदि आदि भन्दै भाषण सकेर पुनः स्याउको पोको हातमा बोकेर कुर्सीमा बसे ।

उहिले हामीले जङ्गलमा गाई चराउँदा गाई गन्ने “काली कैली कलाँखु गोठु भँगेरी आर्सी त माली पुँडी । दर्माली रचनी तिलौरी बेलौरी रुप्सी रुपाङ्गी चिबू” मार्काका दुई अढाइसय सिलोक कोरेर ‘महाकाव्य’ भनिएको बाहेक कृतिको कुनै ताइतुइ केही थिएन अनि प्रमुख अतिथिको कटाक्ष बुझ्ने पनि त्यहाँ सायदै कोही थिएन । त्यसैले प्रमुख अतिथिलाई पनि ढुक्कै थियो । आ ! मैले त हावा त भरिदिने हो, कहाँ पुगेर चोकेमा जाकिन्छ अनि हावा खुस्केपछि आफैं ठाउँमा आइपुग्छ भन्दै मनमा कुरा खेलाउँदै थिए । ‘पर्मुख अतिथि’ को भाषणबाट गजक्क फुलेका सभाध्यक्ष/माकाब्बेकारले आफ्नो समापन र धन्यवाद सम्बोधनमा एकडेढ घन्टा जतिमा आफ्नो, बुढी, छोराछोरी, ससुराली, भाइभतिजा सबैका बढाइचढाइ गरेर प्रशंसा गरेपछि प्रमुख अतिथिलाई कृति र कृतिकारको ‘सही मूल्याङ्कन’ गरिदिएकोमा धन्यवादसँगै सित्तैमा एउटा विमोचित ‘माकाब्बे’ उपहारमा दिएर बिदा गरे ।

एकछिन भनेर बोलाएको, पानीसम्म पिउन नपाइ चार घन्टा खाइदिएछ माकाब्बेले । कताको घिटिक् घिटिक् भएका साइँला बाजे हेर्न गएको कता आएर फँसियो गाँठे !

हतार हतार बिरामी भेटिने हो कि नभेटिने हो भन्दै दौडिँदै थिएँ, बुढीको फोन आयो “कति खेर आउने हो ? मलामी जानुभयो कि ?”

‘पर्मुख अतिथि’ ले नबुझ्ने कुरै थिएन । उनले स्याउको पोकातिर हेरे “हैट् ! फेरि उही भयो ! अब यो स्याउ के गर्नु घाँडो ?”

०००
२०८२ असार ९
निजी निवास, भद्रपुर ८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
तेइ तेइ

तेइ तेइ

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
विवाह

विवाह

सुरेशकुमार पाण्डे
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x