रामकुमार पण्डित क्षेत्रीबजेट
आखिर ‘ब’को पछाडि जेट झुण्डिएपछि देशका अत्यावश्यक आधारभूत आवश्यकतालाई नै झुण्ड्याएर पछाडिबाट महान् मान्छेको जेब भरिन जान्छ । ओम् अद्भूत बजेटाय नमः !
रामकुमार पण्डित :
‘ब’मा ‘जेट’ झुण्डिएपछि, अहो यो त तीब्र वेगले उड्दो रहेछ । जेट न पर्यो, ‘ब’लाई नै हावामा बहकाएर कहाँकहाँ पुर्याउँछ–पुर्याउँछ । इमानदारीको चङ्गा उडाउनेहरूलाई बेइमानीको मादा लाएको बजेटले पाएपछि छुनासाथ चेट पार्दिन्छ । ‘बजे’को पछाडि ‘ट’ जोडिनै नहुने । जोडिएपछि सरकारी काम स्वार्थ अनुसार पाँचको सट्टा सात बजे—सम्म नि खुल्दिने, त्यस्तै परे पाँचको सट्टा बाह्रै बजे—देखि कलम बन्द भइदिन्छ ।
यो बजेट बडो अचम्मको, वीचको ‘जे’ झिक्दिए ‘बट’ बाँकी हुने । अङ्ग्रेजी शब्द ‘बट’ नेपालीमा तर; प्रशासक र राजनीतिक चतुरले पाए मार्दिन्छन् तर, जनता परपर । पछाडिको ‘ट’ हटाएर पछाडिबाटै पढ्दा बाँकी रहने ‘जेब’ मात्रले पनि बुझिहालिन्छ, बजेटको मह काढ्नेहरूले हातमात्र चाढ्दा पनि जेब खाली कहिल्यै हुँदैन भन्ने कुरा । झन् वीचको ‘जे’ झिकेर पछाडिबाट पढे ‘टब’ बाँकी रहन्छ । यसको अर्थ सीधै बुझिहालियो, बजेटको अघिपछि गर्नेहरूले टबमा पैसैपैसाले मात्र के भन्नु, नोटैनोटले नुहाउँछन् । बाफ रे बाफ ! नुहाउनलाई पानी नपाउनेहरूको अगाडि नोटले नुहाउँछन् भन्दा सुन्नासाथ वेहोस होलान् गाँठे !
यो जेटजस्तै तीव्र गतिमा उड्छ भनेर त्यसै भनेको होइन । जब बजेटको इन्धनले नेताकार्यकर्ताको इन्जिनलाई चलायमान गराउन थाल्छ तब गाउँसहरको सार्वजनिक जग्गामा ठूल्ठूला भवन बन्न थाल्छ । त्यस भवनभित्र बसेर माखो मार्ने काम केही हुन्न तर त्यसलाई धेरैजस्तोले भाडामा लाउँछन् र आम्दानी गर्छन् । त्यो आम्दानीले पनि जनहितको लागि केही गर्दैन तर नेता कार्यकर्ताको जेब टन्नै भर्छ ।
यस्ता भवन गाउँगाउँमा कतैकतै जेष्ठ नागरिकको कल्याणको नाममा बन्नसक्छ, कतै सामुदायिक कार्यको लागि बन्नसक्छ, कतै क्लबको नाममा बन्नसक्छ, कतै राजनीतिक संस्थाको नाममा बन्नसक्छ । जजसको नाममा बने पनि त्यसले सेवा दिने नाममा निजी क्षेत्र सरह जनताबाटै रकम अशुल गर्छ । सामाजिक सेवाको नाममा आफू कर छुट लिन्छ । सरकारबाटै विभिन्न शीर्षकमा अनुदानमा आएको बजेट र जनताबाट सेवाको नाममा पाएको पसिनाको मूल्य कालेकाले मिलेर खाउँ भाले भन्दै चुरीझ्याप पारिहाल्छन् । यहाँ जति नाम लिएँ वा लिन बिर्सिएँ, ती मध्ये कोहीकोही त अपवाद हुन्छ । अपवादवालालाई मेरो मनैदेखि धन्यवाद छ ।
यहाँ त्यही बजेटबाट सार्वजनिक जग्गामा विभिन्न स्वार्थ समूहको नाममा भवन ठड्याएर करोडौँ मान्छेको स्वतन्त्र पूर्वक त्यो जमिनमा सार्वजनिक तरिकाले उपभोग गर्न पाउने संवैधानिक अधिकारको हत्या भएको छ । त्यस्तो हत्यारालाई यहाँ कारवाही होइन फूलमालाले पूजा गरिन्छ । अझ प्राकृतिक सन्तुलनको लागि अनेक जीवजन्तुको सहअस्तित्व र वातावरणीय पक्षको कुरा निकाल्नुपर्छ, तिनले यो कुन चराको नाम हो भन्न बेर लाउँदैनन् । तिनलाई आफू अनुकुल नीति बनाउन र आधा बजेट पचाउन मज्जाले आउँछ ।
विश्वमा यस प्रकारको प्रतियोगीता हुन्थ्यो भने यिनले स्वर्णपदक नजित्नेमा शङ्कै छैन । अनि काइदाको रहेन छ त यो बजेट ! सहरी क्षेत्रमा विना काम त किन हुन्थ्यो, नेताकार्यकर्ताको काममा ठडिने बजेट गाउँमा पुगेको भए कति ठाउँमा तुइनको सट्टा पुल बन्थ्यो होला । पानी चुहिने विद्यालयमा पक्की भवन बन्थ्यो होला । गरीव र जेहेनदार विद्यार्थीले पढ्न पाउँथे होला । गणतन्त्रको गाँडले मुखबाट गएर घाँटीमै अड्काएजस्तो सहरबाट गाउँमा पुर्याउन कत्रो सास्ती छ । सहरको जति गाउँमा आम्दानी कदापि हुदैन । सुदुर गाउँठाउँमा केही न केही बजेट नपुगेको पनि होइन ।
बजेट जेटमा चढेर सुदुर पुगेपछि नेता र कर्मचारीको जेबमा चुरचुर हुँदोरहेछ । किसानलाई अनुदान दिने नाममा गए किसानको जतिसुकै राम्रो बाली फलेको होस् न, त्यहाँ झुटको फाली घुस्री हाल्ने । एक चौथाइ बजेट आफ्नो जेबतिर चेट हुने नभए, त्यो त्यसै फ्रिज हुने केस बनिहाल्छ । सामाजिक सुरक्षा भत्ताको नाममा गए छोराले नक्कली बाआमा जन्माएर हसुरिदिन्छन् । किन गाउँ जहिले पनि जस्ताकोतस्तै रह्यो भन्दा कुरो यस्तो रहेछ; गाउँका नेताको महल, सरकारी बजेटले सहरमा बन्ने, अनि केही भएन भन्ने ।
यो बजेट किन यस्तो ? साधुलाई चोरै बनाउँला जस्तो । सानातिना आयोजना होस् कि ठूला, नक्कली खर्च देखाउन सक्कली बिल बनाउन मान्छेलाई माहिर बनाउँछ । फेरि देशमा धर्माती बढेका हुन् कि के हो ? काठमाडौँ त मन्दिरै मन्दिरको सहर भनेर चिनिएकै थियो, अब देशैभरिका गाउँगाउँ र गल्लीगल्लीमा मन्दिर बन्न थालेर देश नै मन्दिरको हुने गन्तव्यमा छ । जहाँ, जुन प्रदेशमा आयस्तर कम छ, त्यहीँ असी प्रतिशत पूँजीगत बजेट मन्दिर बनाउनमै विनियोजन हुन्छ । यस्तो मन्दिर बनाउनेहरू धर्माती भनौँ भने तिनै धर्मातीले दस लाखले पुग्ने मन्दिर बनाउन घटिमा पचास लाख लागेको देखाउँछन् ।
देश धर्म निरपेक्ष भएपछि धर्मको नाममा बजेट बचत हुन्छ होला भनेको त, थुइक्क ! भए जति सबै धर्मालम्बीलाई बजेट बाँडफाँड गरेर मर्दोरहेछ । बौद्घ धर्मकालाई गुम्बा बनाउन, क्रिस्चियनलाई चर्च बनाउन .मुस्लिमलाई मस्जिद बनाउन, …, हरे त्यसका बाजे, जनताको पसिनाले तिरेको कर कस्तोकस्तो ठाउँमा बाँडेको होला ? चु ! चु ! चु ! देशविदेशका पर्यटक घुम्न आउने तरिकाले मन्दिर बनाएको भए पनि चित्त बुझाउन हुन्थ्यो । यहाँ त बजेट आफैँ पर्यटक जस्तरी कहिले कसको खल्तीमा, कहिले कसको खल्तीमा घुमीघुमी तिनका जेबमा घुस्ने गरी मन्दिर बन्नथाले । देशमा नक्कली नेता, नक्कली प्रशासक र नक्कली देशभक्त निस्किएर वरवाद छ । चुनावमा जनता जता पाइन्छ उतै गीत गाइन्छ भनेर लाग्यो भन्दैमा हातमा डाडुपन्यु लिनेले धर्म छाड्न त नहुने ।
बजेट बनाउँदा बनाउँदै सुटकेशभित्र मुसा छिरेर भ्वाङ पार्ने कुरा त आज सामान्य भइसक्यो । यस्तो मुसा बिरालो लोसे देखे देखादेखी हिड्छ, बिरालो बाठो भए मुसा लुकीलुकी हिँड्छ । यो बजेट, घाटा बजेट बने पनि नेता–कार्यकर्ता र प्रशासकको लागि नाफा बनिहाल्छ । आखिर ‘ब’को पछाडि जेट झुण्डिएपछि देशका अत्यावश्यक आधारभूत आवश्यकतालाई नै झुण्ड्याएर पछाडिबाट महान् मान्छेको जेब भरिन जान्छ । ओम् अद्भूत बजेटाय नमः ! जय होस्, ब.. जे.. ट.. को ।
०००
का.म.पा.६, सिमलटार ।
Subscribe
Login
0 Comments
Oldest








































