रामकुमार पण्डित क्षेत्रीलसुन कि उखु
यहाँ कति उखुहरूले बेचिने बजार पाएका छैनन् । कतै बेचिएर पनि पैसा पाएका छैनन् । राज्यले न्याय गर्नुपर्नेमा झनै उखुमा मट्टितेल खन्याएर आगो लाउँछ ।

रामकुमार पण्डित क्षेत्री :
जातपातको आधारमा भेदभाव गरिनु हुन्न भन्ने नेपालका प्रमुख व्यक्तिमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह पनि हुन् । उनले चार जात छत्तीस वणर्को फूलबारीको चर्चा गरेको नथापाउने सायदै कोही होला र ? दुई सय पचास वर्ष अघि कुन जात लसुन र कुन जात उखु होला भन्ने कल्पना उनले गरेनन् । रातदिन नेपालको हितको लागि एकीकरणको महाअभियानमा लागेका सपुतलाई कपुतलाई जस्तो बुद्धि आउँदैन । बाहुन-क्षेत्री उखु अनि जनजाती, दलित, आदिवासी चाहिँ लसुन भनेर कोहीकोही विद्वानले व्याख्या गर्नमा आनन्द मान्दारहेछन् । आफ्नै नाम वाहुन बाजेकोजस्तो कृष्ण, श्याम, रामबाट आउँछ कि के बाट आउँछ उनलाई मतलव छैन । त्यस्ता चाहँदारहेछन्, यहाँ जातीय द्वन्द्व होस् र डलरले मोटाउन पाइयोस् ।
साँच्चै भन्नु पर्दा आफूलाई त त्यस्ता विद्वानले भनेजस्तो बोल्न आउँदैन । न उखुजस्तो गुलियो कुरा गर्न जान्या छ न लसुनजस्तो पीरो । सोझो मोरो, ला पापा खा भनेर कसैले दियो भने नि ‘खान्न’ भन्दै मुख मिठ्ठाएर हिँड्ने परियो । झन् अरूले चपाएर दिएको निल्ने कुरा त नलिए नि भयो । अरूको खोसेर खाने कुरा त कल्पनाभन्दा परकै भो । सके आफ्नै पुरूषार्थले कसैको विगो नगरी खाइन्छ, नसके व्रह्मलीन भइन्छ । उखु झाँङ्गिएर लसुन खेती डषेकोले लसुन जागरुक भएको भन्नु होला । आफ्नो हक अधिकार लिनलाई लसुनले लडाइँ शुरू गरेको ठान्नु होला । यो ठान्नु आ-आफ्नो चेतनामा भर पर्दछ । म चाहिँ लसुनले लडाइँ शुरू गरेको नभएर गराएको भन्ने बुझ्दछु । उल्टोपाल्टो बुझ्ने आफ्नो स्वभाव छ । यो धर्तीमा लसुन र उखुको लागि माटोको मूल्य बराबर छ । माटोको लागि यी दुबै प्राण जत्तिकै प्यारो छ । यी दाजुभाइजस्तो भई मिलेर फलेका थिए । भिजिलान्तेले टुनामुना लाएर भड्काएका मात्रै हुन् ।
पृथ्वीनारायण शाहलाई सराप्नु त्यो पनि यही देशको अन्न खाएर; यसको मतलव त्यो सराप्ने मान्छे जन्मिएको नेपालमा तर दिमागमाचाहिँ शत्रुराज्यले गोबर भरेको हो भनेर बुझ्दा केही हानी हुँदैन । त्यस्ता मान्छेले नेपाली जनताले तिरेको करबाट लाभमात्रै लिएको हुदैँन; भुस्याहा कुकुरले विष्टा खाए जसरी लामो हात पारेर ग्वामग्वाम घुस खाएको पनि हुन्छ । अनि विदेशी भिटामिनको आड भरोसामा पचाएको हुन्छ । एकीकरण नभइदिएको भए आफ्नो नामोनिसान कहाँ हुने थियो भनी अन्दाज गर्न नसक्नेहरूले नै जातीयताको कुरा गर्दछन् ।
दुई सय पचास वर्ष अघिबाट निर्माण भएको नेपालमा हजारौँ वर्षअघिको काल्पनिक तथ्यलाई बङ्ग्याएर आदिवासी र पूरै बासी भनेर विभाजन गर्छन् । साजी र काम लाग्ने कुरालाई पाखा लाउँछन् । अमेरिकामाजस्तो प्रष्ट छुट्टिने कोही पनि यहाँ छँदैछैन । तथ्यमा दम नपुग्ने कुरालाई चुचुरो चढाउन सफल भएकोमा विदेशी रक्सीले नुहाउँछन् । त्यही रक्सीको मातमा वन्यजन्तुलाई जस्तो मान्छेलाई आरक्षण दिन्छन् । उस्तै हो भने आफ्नो चेतना बढाउन आवश्यक पर्ने शिक्षादिक्षाको पछि लाग्छ, किन पो वन्यजन्तुजस्तो आरक्षणको पछि लाग्छ र ! सरकारी कार्यालयमा गयो भने घुस खानलाई न लसुन कम न उखु कम ।
ए बाबा, दाजुभाइजस्तै मिलेर जुन वर्णका मान्छे आए पनि लुटेर पठाउँछन् । हिजो टेबुलमुनिबाट सानो बिटो छिराए काम बन्ने गर्दथ्यो । आज खुलमखुल्ला हात्तीजत्रो भकारी दिँदा पनि काम हुँदैन । नपत्याए मालपोत, नापी, यातायात, भन्सार, उद्योग आदि कार्यालयमा जानुस्, अनुभवी हुनुस् । अझ राजनीतिक नियुक्ति हेर्ने हो भने त समानुपातिक भन्या छ, करोडौंमा विदेशीलाई सांसद पद बेचेको छ । अवसर नपाएको आदिवासी, जनजाती आदिलाई दिने पदमा त टाठाबाठा नै उपरखुट्टी लाएर बसेका छन् ।
यो मुला उखुको जातले लसुनको कति खइरो खन्दो रहेछ भनेर चाहिँ नभन्नु होला । आफूलाई पेट दुखेको बेलामा लसुन खानु पर्छ त कमलपीत्त भएमा उखु । यी दुईबाट अलग्गिएँ भने म ‘म’ हुन्न । पृथ्वीनारायणले जस्तो एकीकरण गर्ने उखुमय साहस म मा छैन । न त लसुनजस्तो थुपुक्क बस्ने चेष्टा नै म गर्दछु । न त मलाई अरूले गिलाँसभित्र हालिदिएको झिँगाजस्तो भुनभुनाएर बस्न मन हुन्छ । न त पखेटा फिजाएर संसार डुल्न सक्छु । ज्ञानमार्ग नै चेतनाको चुचुरो छुवाउने साधन हो भन्ने थाहा छ ।
चेतनपथबाट हिँडेर कति लसुनहरू उखु बने अनि नहिँडेर कति उखुहरू लसुन बने, भोगीलाई मात्र थाहा हुन्छ । विश्वामित्रजस्तो क्षत्रीबाट व्रह्माण बन्ने इतिहाँसको के कुरा ? डा. प्रपन्नाचार्य काले राइबाट संसारले मान्ने उखु बनेको उदाहरण ताजै छ । खोज्यो भने नेपालको एउटा समुदायको मात्र के कुरा, संसारले मान्ने विद्वान भेटिन्छन् । जन्मको आधारमा जात बन्दैन । कर्मले जात होइन महान बनाएको हुन्छ । त्यसैले उखुलाई लसुन बनाउनु छ भने जाँडको सर्वत त्यसको फेदमा हालिदिए पुग्छ । लसुनलाई उखु बनाउनु छ भने ज्ञानमय शालिग्रामको जल त्यसको टुप्पोमा छर्किदिए पुग्छ । बाहुनक्षत्री उखुजस्तो मीठो नि बोल्ने सर्वत्र फैलिने रे अनि आदिवासी, जनजाती लसुनजस्तो एकैठाउँमा थुपुक्क बस्ने रे भनेर नमीठो बोलिरहनै पर्दैन ।
देख्नलाई सजिलो गर्नलाई गाह्रो रहेछ ज्ञान कर्म । नत्र त कसलाई रहर होला र दुई डबका घुट्काएर झुम्म परेर बस्न ? गल्लीगल्लीमा लुकीछिपी चल्ने रेष्टुरेन्ट एण्ड बारमा हेर्नुस् त ! त्यहाँ लसुन र उखुको जमात कति हुन्छ । जमात जतिसुकै होस् तर सेवा दिन र लिन दुनै मिलेका हुन्छन् । षोडशी सुन्दरीहरू रक्सीको नशामा आफ्नो ‘यौवन’ शब्दको ‘व’ झिकेर सुम्पिनँ तयार हुन्छन् ।
लसुन काले उखुमायालाई मनपराउँछ । एउटा मात्रै भए पनि उखुलाई चपाएर छोक्रा थुक्न पाए गर्व गर्छ । उखु लुम्रेचाहिँ लसुन कान्छीलाई मनपराउँछ । उनीसँग बस्दा आफूलाई स्वर्ग पुगेको कल्पन्छ । यस्ता लसुन र उखुलुम्रे, जन्मले पवित्र भए पनि कर्मले पतित बनिसकेका हुन्छन् । वास्तवमा यस्ता जमातहरूले पाएभने देशलाई नै उखु चपाएझैँ चपाएर छोक्रा थुक्ने कल्पना गर्दछन् । त्यसको लागि साम दाम दण्ड भेदको नीति अँगाल्दछन् । कहिले उखुबारी फाँड्छन् त कहिले लसुनकै ड्याङको सत्यानाश पार्छन् । आफ्नो उद्देश्य पूर्ति गर्नलाई देशमा बम हान्ने, मान्छे मार्ने कर्ममा अग्रस्थानमा हुन्छन् ।
अनगिन्ति अधिकारको कुलो लसुनबारीमा छिराएर ज्ञानको जल छर्केन भने लसुनले सोचेजस्तो उपलब्धि हासिल गरेर पोटिलो हुन सक्दैन । शत प्रतिशत आरक्षण दिएर अलिकति पनि ज्ञान छैन भने त्यसले तामसिक व्यहोरा देखाउन बाहेक अरु गर्न जान्दैन । उखुलाई उखेलेर फ्याँके पनि त्यसले जरा गाड्ने ठाउँ मात्रै पायो भने, मौलाइहाल्छ । नपत्याएर के भो ? हिजो लसुन लाने बेलायतीले आज उखु पनि चुस्न थालेका छन् । लसुनले यता आरक्षण पाउँदा उखुले उता आरक्षण पाउन थाल्यो । मान्छेलाई आरक्षण होइन अवसर पो दिनुपर्ने । हेर्नुस् त अब, उखुहरूले विकसित मुलुकमा धमाधम ठाउँ पाएपछि चिनी आयात गरेर चिया पिउनुपर्ने भयो । हुन त अब्बल जातका लसुन पनि ब्रेन ड्रेन नभएको कहाँ हुन् र ? यहाँ त आरक्षण र समानुपातिक भनेर विदेशीका दलाल शासकलाई सहयोग भएको छ, देश विकासलाई होइन ।
मान्छेलाई लसुन र उखुको परिभाषामा विभेद गरिएकोमा आफूलाई चित्त बुझेको छैन । तँलाई चित्त नबुझेर के भो ? भन्नु होला । भन्नुस्, भन्नलाई पैसा पर्दैन क्यारे । यहाँ कति उखुहरूले बेचिने बजार पाएका छैनन् । कतै बेचिएर पनि पैसा पाएका छैनन् । राज्यले न्याय गर्नुपर्नेमा झनै उखुमा मट्टितेल खन्याएर आगो लाउँछ । कति लसुनहरू पोटिलो हुन्छ, जहाँ पनि बजार पाउँछ । राज्यले त्यस्तै लसुनलाई मौका दिन्छ, फोस्रिन लागेको लसुनहरू औषधि न पानी हेरेको हेर्यै हुन्छन् । यसरी मौका दिने आँखाहरू सद्दे हुन् कि रोगी हुन् मतदाताले हेर्दा हुन् । जनताले हाम्रालाईभन्दा राम्रालाई छानेर जातीयता विरोधी आवाज घन्काइसके । अशत्तिहरू अझै पनि धमिलो पानीमा माछा मार्ने दाउ हेर्दैछन् ।
०००
सिमलटार, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest








































