लालबाबु शर्मा पोखरेलशून्यजस्तै उज्यालो कटेरो
कता हो कता हो चरो चिर्बिरायो मझेरी जमेको झझल्को दिलायो । छिटै फर्क भन्दै छ पाखोपखेरो भयो शून्यजस्तै उज्यालो कटेरो ।।
लालबाबु पोखरेल :
थियो स्वर्ग बेग्लै सबै साथ बस्ता
थिए हात पुछ्ने यहाँ आँसु खस्ता ।
बन्यो आज पानीबिनाको पँधेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।।१।।
असारे झरीमा छ छानो चुहेको
छ आत्मा निमोठेर भित्रै सम्झेको ।
बसेको छु एक्लै कुरी यो मटेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।।२।।
उमङ्गी, सुगन्धी कहाँ पर्व आयो
छ सन्तान भन्थें कहाँ गर्व छायो ।
छ आशा ढलेको निभेझै ठडेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ॥३॥
सुनाऊँ कहानी यहाँ को छ आफ्नु
छिमेकी छ उस्तै कहाँ अग्नि ताप्नु ।
जहाँ हेर्छु उस्तै अँधेरै अँधेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ॥४।।
समाएर लौरो दुई पाउ टेक्छु
चुसी घामछाया क्षुधा, प्यास मेट्छु ।
भयो जिन्दगी यो मलाई हतेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।।५।।
कता हो कता हो चरो चिर्बिरायो
मझेरी जमेको झझल्को दिलायो ।
छिटै फर्क भन्दै छ पाखोपखेरो
भयो शून्यजस्तै उज्यालो कटेरो ।।६।।
०००
हाल, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































