रामप्रसाद पन्थीसम्झना गर्छु माेतीकाे सधै
आफैले किन्छ टीका र खादा सम्मान थाप्दछ वरिष्ठ कवि भनेर आफै फेस्बुक राख्दछ । सम्मान गर्ने संस्था नि यस्तै पैसामा बिक्दछ भन लाै आफै नक्कली काम कति पाे टिक्दछ ?
रामप्रसाद पन्थी :
चिन्दिनँ म त हीरा र माेती के गर्छ रत्नले ?
पाैरख खान्छु बजारी आफ्नै पाखुरी यत्नले ।
जे गर्छु काम सत्य र निष्ठा अहिंसा धर्मले
खाेल्दछ भन्छन् स्वर्गकाे दैलाे असल कर्मले ।
मरेर जाने याे चाेला हाम्राे सपाराैं भनेर
दिलाए ज्ञान गुरूले सदा दियालो बनेर ।
पुराना यस्ता सुनेर कुरा जमाना हाँस्दछ
प्रविधिसित साेधेर कुरा सत्यता जाँच्दछ ।
बाबा र आमा गन्दैन गुरु चिन्दैन आफन्त
खाेजेर निहुँ राखेर इबी गर्दछ भिडन्त ।
साहित्य कला परेछ थला काेमामा गयाे कि ?
कविता काव्य सर्जक सबै हतास भयाे कि ?
मान्दैन अरे ती आदि कवि भाषाका दीपक
माेतीमा पनि देख्दिन भन्छ युवाकाे चमक ।
एउटा भन्छ भानुले लेख्याे हिन्दूकाे पक्षमा
अर्काेले भन्छ थिएन माेती नारीकाे रक्षामा ।
भएर जान्ने त्याे माेती राम बाहुन भट्टले
खाेजेर कृति छपाई खुब आफूले पायाे के ?
अरूका कृति चाेरेर छाप्ने कविज्यू बन्दछ
ए आइ सित लिएर खुब कविता भन्दछ ।
आफैले किन्छ टीका र खादा सम्मान थाप्दछ
वरिष्ठ कवि भनेर आफै फेस्बुक राख्दछ ।
सम्मान गर्ने संस्था नि यस्तै पैसामा बिक्दछ
भन लाै आफै नक्कली काम कति पाे टिक्दछ ?
भन्दछु म त नेपाली भाषा साहित्य साधक
नेपाली हाम्राे संस्कृति मास्ने चिनाैं है बाधक ।
भ्रमकाे जालाे ताेड न अब हे भाइ! बहिनी
संसार चिन्न सकिन्छ कहाँ आफू नै नचिनी ?
पुर्खाले हिजो दिएकाे ज्ञान बिर्सिए हामीले
मनकाे राेग निर्मूल पार्न सक्दैन धामीले ।
त्यसैले लेखाैं बालक युवा नेपाली साहित्य
कविता काव्य फाँटमा छराैं सुवास लालित्य ।
अग्रज कवि साहित्य स्रष्टा सम्मान गरेर
कदम एक अगाडि बढाैं जङ्घार तरेर ।
हामीले आज कला र धर्म बिर्सिए संस्कृति
भाेलिकाे पुस्ता दिदैन माफी उम्किने स्वीकृति ।
पूर्वकाे हाम्राे सभ्यता राम्राे कसैले नछाेड
गरिमा आफ्नो छाेडेर नाता बाहिर नजाेड ।
हुँदैन कैले पराई आफ्नाे बिरानाे आफन्त
नेपाली जन नेपाली पन फैलाऊ अनन्त ।
सत्ताकाे लिप्सा पद र पैसा चटक्क भुलेर
मेची र काली नेपाली हामी बाँचाै न डुलेर ।
अनेक जात वेश र भूषा लिङ्गका नेपाली
नेपाली हामी मधेशी काेही पहाड हिमाली ।
दुःखमा हात सुखमा साथ दिनुछ हामीले
विश्वमा छुट्टै चिनारी बन्छ दयालु बानीले ।
नेपाली वीर ठाडाे छ शिर कहिल्यै झुक्दैन
दया र दान करूणा राख्न कहिल्यै चुक्दैन ।
उदायाै अनि अस्तायाै माेती यै कुशे ओैशीमा
सम्झना गर्छु माेतीकाे सधै बसेर काैशीमा ।
अल्पायु तिम्राे रहेछ माेती तीसमै गयाै नि
अमूल्य तिम्रा कृतिका साथ अमर भयाै नि ।
बिन्ती छ माेती फेरि नि जन्म तिमीले लेऊ है
म चल्न सकूँ माेतीकाे मार्ग आशिष देऊ है ।
०००
रेसुङ्गा न पा २ गुल्मी
२०८३ भाद्र २६ , कुशे ओैंशी
Subscribe
Login
0 Comments
Oldest







































