फित्काैली डटकम‘बाढी पीडितको सहयोगका लागि पुस्तक’ कार्यक्रम सम्पन्न
लेखक तथा साहित्यकारहरूले सहयोगस्वरूप उपलब्ध गराएका पुस्तकहरूको बिक्रीबाट प्राप्त भएको आयोजकहरूले जनाएका छन् ।
न्युयोर्क । नेपालमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ न्यूयोर्कमा आयोजित बाढी पीडितको सहयोगका लागि पुस्तक (Books for Flood Victims — Stories That Give Hope) कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न लेखक तथा साहित्यकारहरूले सहयोगस्वरूप उपलब्ध गराएका पुस्तकहरू बिक्री गरी १,५०२ अमेरिकी डलर अर्थात् करिब २ लाख ३० हजार नेपाली रुपैया सङ्कलन भएको छ । कार्यक्रममा पुस्तक बिक्रीबाहेक कुनै पनि प्रकारको नगद डोनेसन स्वीकार गरिएको थिएन ।
साहित्य र पुस्तकलाई नै मानवीय सहयोगको माध्यम बनाउने उद्देश्यअनुरूप सङ्कलित सम्पूर्ण रकम लेखक तथा साहित्यकारहरूले सहयोगस्वरूप उपलब्ध गराएका पुस्तकहरूको बिक्रीबाट प्राप्त भएको आयोजकहरूले जनाएका छन् ।
लेखकद्वय पासाङ नुरु शेर्पा र प्रतीक्षा थकालीको मुख्य आयोजनामा तथा खसोखास, नेपयोर्क (NEPYORK) र अनेसास न्यूयोर्क च्याप्टरको सह–आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रका लेखक, साहित्यकार, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा साहित्यप्रेमीहरूको बाक्लो सहभागिता रहेको थियो । विभिन्न लेखकका पुस्तकहरू लेखक स्वयंको उपस्थितिमा बिक्री गरिएको थियो । सहभागीहरूले पुस्तक खरिद गर्दै बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोग अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।
कार्यक्रममा ७० जनाभन्दा बढीको उपस्थिति रहेको थियो । परम्परागत औपचारिक कार्यक्रमभन्दा केही फरक शैलीमा आयोजना गरिएको यस कार्यक्रममा लेखक, पाठक र समुदायबीच प्रत्यक्ष संवाद, पुस्तक परिचय, साहित्यिक प्रस्तुति तथा मानवीय सहयोगको भावनालाई केन्द्रमा राखिएको थियो ।
आयोजकहरूको परिकल्पनाअनुसार नै सहभागीहरूले कार्यक्रमको फरक शैली र उद्देश्यलाई सकारात्मक रूपमा ग्रहण गरेको प्रतिक्रिया दिएका छन् । आयोजकले दिएको जानकारीअनुसार कार्यक्रमको मूल उद्देश्य पुस्तक बिक्री गर्नु मात्र नभई साहित्य र सिर्जनालाई मानवीय सेवाको माध्यम बनाउँदै विपद्मा परेका नेपाली परिवारहरूप्रति प्रवासी समुदायको साथ, सद्भाव र ऐक्यबद्धता व्यक्त गर्नु रहेको थियो ।
कार्यक्रममा लेखक रेनी थकाली र पर्वतारोही तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर लाक्पा देन्डी शेर्पाले हिमाली क्षेत्रको बदलिँदो अवस्था तथा ग्लोबल वार्मिङले हिमालय क्षेत्रमा पारिरहेको प्रभावबारे आफूहरूले प्रत्यक्ष देखेका र भोगेका अनुभवका आधारमा आफ्ना धारणा तथा अनुभव साझा गर्नुभएको थियो ।
त्यसैगरी, पिटर गिलले कार्यक्रममा आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रमका सह–आयोजक खसोखास तथा नेपयेर्कका प्रधान सम्पादक किशोर पन्थीले नेपालमा आएको बाढीपहिरो र त्यसबाट भएको मानवीय क्षतिका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। उहाँले विपद्बाट प्रभावित परिवारहरूको अवस्था र उनीहरूप्रति प्रवासी नेपाली समुदायले देखाउनुपर्ने सहयोग तथा ऐक्यबद्धताका बारेमा समेत चर्चा गर्नुभएको थियो।
हिमालयन बुद्धिस्ट कम्युनिटीका अध्यक्ष राजकुमार बिष्टले कार्यक्रमको सफलताको शुभकामनासहित मन्तव्य राख्नुभएको थियो। साहित्यकार किशनिसंह धामी, लक्ष्मी श्रेष्ठ र पद्म लिंखा लगायतका स्रष्टाहरूले कविता वाचन गरी कार्यक्रममा साहित्यिक आयाम थप्नुभएको थियो ।
सह–आयोजक अनेसास न्यूयोर्क च्याप्टरका तर्फबाट अध्यक्ष जानुका ओस्ती ढकालले धन्यवाद मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतीक्षा थकालीले गर्नुभएको थियो । कार्यक्रममा पुस्तक बिक्रीबाट संकलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ प्रदान गरिनेछ। रकम जम्मा गरिएपछि त्यससम्बन्धी विस्तृत विवरणसमेत पारदर्शी रूपमा सार्वजनिक गरिने आयोजकहरूले जनाएका छन् ।
०००
Subscribe
Login
0 Comments
Oldest




































