साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘क्यानभासमा पारिजात’ एकहप्ते चित्रकला प्रदर्शनी

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन गर्दै पारिजातका कृतिमाथि कलाकारले कलाकृति रचेर नयाँ कामको थालनी गरेको बताए ।

Nepal Telecom ad

काठमाडौं । ‘क्यानभासमा पारिजात’ एकहप्ते चित्रकला प्रदर्शनी म्हैपीस्थित पारिजात स्मृति केन्द्रमा शुक्रबारदेखि सुरु भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन गर्दै पारिजातका कृतिमाथि कलाकारले कलाकृति रचेर नयाँ कामको थालनी गरेको बताए । उनले एक स्रष्टाले अर्को स्रष्टाले रचना गरेको कृतिमा कलाकृति बनाउने कार्यले स्रष्टाबीच बुझाइको अन्तर छुट्याउन सकिने धारणा व्यक्त गरे ।
प्रदर्शनीमा सहभागी कलाकार सौरगंगा दर्शनधारीले एक स्रष्टाको रचनामाथि अर्को स्रष्टाले कला रचना गर्नु चुनौतीपूर्ण रहे पनि बुझाइ र भावनाको गहिराइलाई बोध गर्न भने सक्ने धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘रङ र रेखामार्फत पारिजातका कृतिलाई कलाकारले न्याय गरेको अनुभव गरे ।’

चित्रकला प्रदर्शनी र कलाकारका बारेमा जानकारी दिँदै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्य सचिव देवेन्द्र थुम्केलीले स्रष्टाका कृति र रचनामाथि गरिएको चित्र सिर्जनाले नयाँ आयाम थपेको सुनाउँदै सामाजिक रुपान्तरण र जागरणमा यो कार्य फलदायी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘शब्दलाई रङ र रेखाका माध्यमबाट कलाकारले अर्को सिर्जनात्मक अभिव्यक्तिमार्फत प्रस्तुत गरेर स्रष्टा–स्रष्टाबीचको सिर्जनात्मक बुझाइको अन्तरलाई केलाएका छन् ।’

पारिजात स्मृति केन्द्र, पारिजातको कृतित्व र चित्रकलाका बारेमा डा. महेश मास्केले पारिजातको कृतित्व र व्यक्तित्वलाई चीरस्थायी बनाउने कार्य कलाकारले चित्र रचनामार्फत् गरेको बताए । उनले पारिजातको साहित्यिक योगदान, उनका कृतित्व तथा साहित्य र चित्रकलाबीचको सम्बन्धबारे चर्चा गरे ।

पारिजात स्मृति केन्द्रका संरक्षक तथा संस्थापक अध्यक्षका सुकन्या वाइवाले पारिजातका कृतिमाथि कलाकृति रचना गरेर कलाकारले उनीप्रति न्याय गरेको बताइन् । पारिजात स्मृति केन्द्रका अध्यक्ष इन्दिरा दलीले कलामार्फत पारिजातको व्यक्तित्व र कृतित्वलाई उचाइ दिने काम कलाकारले गरेको बताइन् । डा.अमृता शर्माले सहजीकरण गर्दै समता, न्याय र प्रगतिवादका बारेमा पारिजातले दिएको योगदानको चर्चा गरिन् ।

नेपाली साहित्यमा विशिष्ट योगदान दिएकी स्रष्टा पारिजातका कविता, कथा, उपन्यास, आत्मसंस्मरणलगायतको लेखनमाथि केन्द्रित रहेर १६ जना कलाकारले चित्र रचना गरेका थिए । प्रदर्शनीमा नारदमणि हार्तम्छाली, देवेन्द्र थुम्केली, एससी सुमन, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, वासु क्षितिज, केशव राज खनाल, डिबी भण्डारी, लिलाधर केसी, मोहन शिवाकोटी, किशोर रानाभाट, रसिकराज, मनरा प्रजापति र शोभा ढकालका कलाकृति राखिएको छ ।

प्रदर्शनीमा आधुनिक समसामयिक, मिथिला, पर्वते तथा थाङ्का कला शैलीमा चित्रहरु रचना गरिएको छ ।

०००
देवेन्द्र थुम्केलीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x