साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदर- बँदेल र बनकर

आफ्नै पुर्खा र आराध्यकाे उछिताे काढ्न बनकरलाई कुनै अधिकार छैन । बाँदर र बँदेलभन्दा पृथक् प्रकृतिमा बनकर, वनचर, वनमान्छे हुनै सक्दैन ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

साङ्ख्य दर्शनले प्रकृतिलाई जगतको उत्पत्तिको मूल कारण मान्दछ । यसर्थ प्रकृतिबाट उत्पन्न सबै विषय प्राकृतिक विषय हुन् । यसैगरी व्यक्ति वा वस्तुभित्र निहित स्वभाव, बानी , लत वा गुणलाई पनि प्रकृति भनिन्छ । बाँदर ,बँदेल र बनकर आदि अनेकाैं वन्यजन्तु तथा वनस्पति प्रकृतिका अभिन्न अङ्ग हुन् । यी र यस्ता प्राणीहरूकाे स्वभाव , गुण वा विशेषता पनि आआफ्नै प्रकृतिको छ । यिनका स्वभावहरूमा केही समानता र भिन्नताका लक्षण देखिन्छन् ।

बाह्रगाउँ हाेस् या बाह्रबिसे बाँदर , बँदेल र बनकरकाे आधिपत्य छ । वराहक्षेत्रकाे बाँतर हाेस् या लेकाली भेगकाे खँदेल ; बाँदर , बँदेल र बनकरहरूबाट प्रभावित नभएकाे काेही छैन ।

डार्बिनकाे विकासवादी सिद्धान्तले बाँदरबाटै नरकाे विकास भएकाे भन्याे । त्रेतायुगमा रामचन्द्रकाे सहयोगी बाँदर सेना बन्याे । अष्टचिरञ्जीवी मध्येका एक हनुमान थिए । यी हनुमान बाँदर कुलमै जन्मिएका थिए । रामचन्द्रका परम् भक्त बनेर रावण र उसकाे लङ्कापुरीलाई उनले दनक दिएका थिए ।कयाैं राक्षस र राक्षसीहरूकाे प्राण हरेका थिए । । द्वापर युगमा यिनै हनुमानले महाबली भीमकाे अभिमान ताेडेका थिए ।महाभारत युद्धमा अर्जुनकाे रथकाे रक्षा यिनैले गरेका थिए । अर्जुनकाे रथ त्यतिबेला धुजाधुजा भयाे जतिबेला रथमाथिकाे ध्वजाबाट हनुमान झरेका थिए ।

`हरि´ शब्दकाे नालीबेली खाेज्ने हाे भने यसले विष्णु र बाँदर दुवै अर्थ बहन गरेकाे छ । विभिन्न अवतार धारण गर्ने भगवानले कहिले नर रूप त कहिले बानर रूपकाे धारण गरे । अधर्मीहरूकाे नाश गरी दीन, दु:खीहरूकाे तारण गरे । भगवानकाे लीला न हाे ; कहिले नर बनिदिन्छन् । कहिले बानर बनिदिन्छन् । मानव र बाँदर नछुट्टिएकाे अवस्था । मानवजस्ताे देखिने बाँदर । बाँदरजस्तो देखिने मानव । समग्रमा भन्दा नरवानर ।

बाँदर र मान्छे एउटै वंशका भएपछि अंशका विषयमा हानथाप त हुने नै भयाे । मान्छेले बाठाे भएर जग्गा आफ्नो नाममा दर्ता गर्याे । बाँदर उता जंगलकै भर पर्याे । जब जंगलले नथेग्ने भयाे मान्छेजस्तै बाँदर पनि बस्तीतिर झर्याे । आफ्नै वंशले जग्गा कब्जा गरी खेती गरेकाे कुरा बाँदरलाई पनि मन पर्याे । त्यसैले त आफ्नो भाग सम्झेर बालीनालीमा हक जमाउने सुरसार गर्याे । फरक यत्ति हाे; मान्छेले खेती गर्दा दुःख गर्याे । बाँदरले स्याहार्न सहयोग गर्याे ।

वास्वतमा मान्छेजस्तो बैगुनी अरू केही छैन । कहिले मूर्तिरूपकाे बाँदरलाई हनुमान मानी पुज्दछ । साक्षत् बाँदर रूपकाे हनुमान फाैजलाई कुकुर भुकाउदै कुद्छ । भगवानलाई सताउनु कहाँकाे मानवता हाे ? भगवानलाई कसैले गुलेली हानेर हैरान पार्न सक्छ ? बन्दुक पड्काएर दुरदुहाइ गर्न मिल्छ ? हनुमानकाे पुच्छरमा आगाे लगाउँदा लंकामा के भएथ्याे ? सुग्रीव, अङ्गद , नल जस्ता पराक्रमी बाँदरहरूकाे बयान सुनेकै हाेला ? शूरवीर बालीकाे शक्तिका अगाडि रावणसमेत पराजित भएकाे कथा पनि त कसैले कहेकै हाेला ? तसर्थ बाँदरलाई कम नआँक्ने हाे कि ?

हामी बाँदरको जाँगरका अगाडि अल्छी मनुवा त के हाे र ? ” गर जाँगर खा बाँदर ।” मान्छेकै उखान हाे । खेत बारीमा काम गर्ने केही मान्छेकाे कुरा अर्कै हाे । बसीबसी खान पल्केकाे मान्छेले हाम्रा कुरा काड्दा पाे उदेक लाग्छ । सरकारमा भइम् भन्दैमा , सदनमा गइम् भन्दैमा हाम्रा कुरा काट्न लाज लाग्दैन ।हाम्लाई कसले मार्दाे रहेछ ? कसले हाम्राे बस्ती सार्दाे रहेछ । कसले खाेला तार्दाे रहेछ ? हेर्छाैं हामीले पनि ।

बाँदरकाे पुच्छर लाैराे न हतियार भनेर नहेप हामीलाई । हनुमानकाे पुच्छरकाे कथा नै काफी हाेला । हामीलाई चैते भन्नेहरूका कात्तिके व्यवहार पनि देखेकै छाैं ? बाँदरको हातमा नरिवल भनेर हामीलाई घाेच्ने मान्छेले आखिर के नै नापेकाे छ र ? जुनसुकै तन्त्र ल्याए पनि तिम्रा मनपरी तन्त्र हामीले देखेका छाैनाैं र ? स्वर्ग जस्तो देश कस्ताे बनायाै ए नेपाली ? अरूकाे आङ्काे जुम्रा खाेज्दै हिड्नेले आफ्नो आङ्काे भैंसी देख्नु पर्दैन ? उल्टाे हामीलाई जाल थाप्ने ? धरापमा हाल्ने ? हाम्राे समूहबाट एक्लिएकाे एक्ले बाँदरझैं प्रकृतिबाट एक्लाउँदा के हाेला तिम्राे ?

आज एउटा सत्य कुरा खाेल्नै पर्छ यहाँ ।मान्छेहरूका हर्कतका हिसाबकिताब गर्नैका लागि बाँदर र बँदेल एक भएका छाैं । अहिले बाँदर र बँदेलकाे कार्यगत एकता भएकाे छ । बाँदरे डे सिफ्ट र बँदेलले नाइट सिफ्टमा काम गर्दै आएकाे अवस्था हाे याे। हामी बाँदरले जाबाे मकैका दुई/ चार ओटा घुँगा लाछ्दैमा बँदेलले खेतका आली ताछ्दैमा तर्सिएकाे छ मान्छे । भाेलि पशुसमाज गाेलबन्द हुँदा के गर्ला ?

खाेइ गुन मानेकाे बैगुनी मान्छे ? तिमीले बजेट पचाएर पनि बाटाे बनाउन सक्दैनाै । बँदेलले बिना डिजेल र पेट्राेल डाेजरकाे काम गरेकै छ । रातभर नसुती तिम्रा खेतबारी जाेत्न अगाडि सरेकै छ । धर्मका कुरा बिर्सियाै अधर्मी मान्छे । भगवान विष्णुकाे वराह अवतार । मूर्तिमा त वराहदेवकाे पूजा गर्छाै त ढाेंगी मान्छे । वराहरूपी विष्णुकाे लीला नबुझी के काे चर्तिकला बँदेलमाथि ?

घरमा बस्दैमा सभ्य भइन्छ भन्ने नठाने हुन्छ मान्छेले । प्रकृतिमा मान्छे जस्तो बर्बर, असभ्य र हिंस्रक काेही छैन । लाेभलालच , ईर्ष्या , दम्भ र अंहकार कहिल्यै देख्यौ हामीमा ? सञ्चय गरेर सात पुस्तालाई कहिल्यै थुपार्याै हामीले ? सक्छौ भने हाम्रा बैंक ब्यालेन्स देखाऊ ; कम्बोडिया , सिङ्गापुर , दुबै र मलेसियाहरूमा । पशु समाजले कहिल्यै बन्दुक चलायाे ? बम पड्कायाे ? विश्वयुद्धकाे नरसंहार गर्याे ? आतंक मच्यायाे ? नेपालकै कुरा गर्दा हामीले काेत पर्व रचाएकाे हाे र ? दरबार हत्याकाण्ड त हामीले गरेनाैं । दस वर्षकाे गुरिल्ला युद्ध पनि हाम्राे थिएन । दास ढुङ्गा हामीले गरेनाैं । सिंहदरबार जलाउने र नाबालक ढलाउने पनि हामी थिएनाैं । न कहिल्यै हामीले बल्तकार गरी मार्याैं नाबालिकाहरू । न अस्मिता लुट्याैं अबलाहरूकाे । देशका नदीनाला बेच्ने हामी थिएनाैं । सरकारी जग्गा घिच्ने हामी थिएनाैं । घुसखाेर र तस्कारका मतियार हामी कहिल्यै थिएनाैं । आमाकाे गला रेटेर आलाे रगत कहिल्यै पिएनाै । विदेशीकाे हाेलीवाइनमा कहिल्यै जिएनाैं । सिमा मिचिएकाे साेर नपाउने पनि हामी थिएनाैं । न हामी टीओबीका टट्टू भयाैं । न बार्बराका कट्टु भयाै । न रअकाे रहमा चाेबलियाै । न सिआइएकाे सिन्दुर लगायाैं । यता र उता ढल्किदा आफ्नै ढाड खुस्केकाे पत्ताे नपाउनेलाई के नै भन्नु छ र ?

आफूलाई प्रजातान्त्र, लाेकतन्त्र वा गणतन्त्रका मसिहा ठान्ने मनुवा हाे ! तिम्राे लाेकतान्त्रिक परिभाषामा भातृत्व , समानता, एकता , विश्वबन्धुत्व र बसुधैव कुटुम्बकमकाे भावना छ भने हाम्राे बारेमा पनि साेची हेर । हाम्राे उचित व्यवस्थापन गर । अन्यथा आफ्नै पुर्खासित पाैठेजाेरी खेल्छाै भने भगवान् वराहका सन्तान बँदेलाई पेल्छाै भने मान्छेलाई पनि हामी बनकर घाेषणा गर्छाैं । डरलाग्दो , जङ्गली , बर्बर , वनमान्छेलाई जङ्गलमा फर्काएर हामीले सहर बजारमा आवादी गर्छाैं । साँच्चै सुन ए नेपाली नेताहरू हाे ! तिम्राे सिंहदरबारबाट हामीले हाम्रा वास्तविक सिंहराजकाे शासन चलाउँछाैं । जहाँ एउटै जंगलमा बाघ, भालु , हात्ती , गैंडा, हरिण , मृग रमाउन सक्छन् । एउटै नदी तलाउमा माछा, कछुवा, गाेही र सर्पहरू सलबलाउन सक्छन् । आवश्यकताका आधारमा एककाे आहारा अर्काे भएर जीवनकाे साहारा बन्न सक्छन् । प्रकृतिले बाँधेकाे नियममा बलिदान दिन सक्छन् ।

बाघ, बँदेल, बाँदर लगायत वन्यजन्तुुलाई बाधक ठान्ने मान्छेकाे नाङ्गोपना वस्त्र वा आभुषणले ढाक्न सक्दैन । गहना वा अलङ्कारले कुरूपतालाई छाेप्न सक्दैन । प्रकृतिलाई एकलाैटी दाेहन गर्ने र शाेषण गर्ने अधिकार मान्छेलाई छैन । प्राकृतिक कानुनका अगाडि मान्छेका विधि, विधान वा संविधानकाे कुनै ओैचित्य छैन । खबरदार ! आफ्नै पुर्खा र आराध्यकाे उछिताे काढ्न बनकरलाई कुनै अधिकार छैन । बाँदर र बँदेलभन्दा पृथक् प्रकृतिमा बनकर, वनचर, वनमान्छे हुनै सक्दैन ।

०००
मिति २०८३/०३/२१
रेसुङ्गा न पा २ , गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
अनाम

अनाम

ईगम खालिङ
0
Would love your thoughts, please comment.x
()
x