शम्भु गजुरेलत्रिशूलीको बगरबाट
धेरै छन् टुहुरा जहान घरका, एक्ला हजारौँ बने चौपाया, पशु साथ, भौतिक सबै पातालगामी बने खोज्दै दोष दुनो मिलाउन यहाँ मौका नहेर्दा भयो बिस्तारै दिल शान्त पार्छ र स्वयं टर्नेछ बेहाल यो।
शम्भु गजुरेल “कुनाघरे काइँलो” :
देखा ए मनुवा, तँ नागरिकता भन्नेहरू जो सुन
पूर्जा ले घरबारको नभन है, यो देशको कानुन
को–को लास बने, प्रमाण शवको माग्दै नमागे अब
आत्मा रुग्ण छ, जीर्ण यो हृदयमा चल्दैछ कोलाहल।
को होस् मानिस भन्न छोड, छतमा बस्नेहरूले अब
के हो नाम सुना तुरुन्त, नभने ज्ञानीहरू हो अब
मेरो नाम, पता तथा वतनमा चर्को सुनामी गयो
मात्रै एक अचेत बालक छ, यो यस्तै बुझे भैगयो।
खोलाको तिरमा पराल झुपडी साथी, किनारा थियो
चाल्दै निख्खर बालुवा, उदरको पूजा त्यहीँ चल्दथ्यो
आधा नग्न शरीरले बगरमा हान्थे हथौड़ा पनि
त्यो मैदान भयो चिहान अहिले, यस्तै छ है जीवनी।
भोर्ले साग, टुसा र सिस्नु, निउरो हाम्रा थिए पोषण
बल्छी, जाल चलाउँदा स्वघरमा जुट्थ्यो पिठो भोजन
दिन्थ्यो बास र आश, त्यो बगरले उत्साह भर्थ्यो अति
आयो राक्षस भेल भई, बगरमा निःशब्द भो जिन्दगी।
आमा, दाइ, दिदी, फुपू र भतिजा, काका, बुबा, सन्तति
साथी, शत्रु, छिमेक, दुष्ट, सबको उस्तै भयो दुर्गति
गङ्गाको तटका पवित्र पुरको स्वर्गीय आलोकमा
खेल्यो दानवले विनाशक क्रीडा, आक्रोशमा, क्रोधमा।
धेरै छन् टुहुरा जहान घरका, एक्ला हजारौँ बने
चौपाया, पशु साथ, भौतिक सबै पातालगामी बने
खोज्दै दोष दुनो मिलाउन यहाँ मौका नहेर्दा भयो
बिस्तारै दिल शान्त पार्छ र स्वयं टर्नेछ बेहाल यो।
०००
नुवाकाेट
Subscribe
Login
0 Comments
Oldest





































