शम्भु गजुरेलएन्जिओको मिठाई र अन्धभक्तिको कारखाना
नेपालको भविष्य भक्तहरूको हातमा होइन, सचेत जनताको हातमा छ, तर जबसम्म जनता नै भक्त बनिरहन्छन्, तबसम्म यो व्यङ्ग्यको अन्त र सत्यको सुरुवात हुन सक्दैन।

शम्भु गजुरेल “कुनाघरे काइँलो”:
नेपालको वर्तमान राजनीतिक र सामाजिक परिदृश्यमा अराजकताको छायाँ यति गाढा छ कि यसलाई हेर्दा लाग्छ, यो देश एउटा यस्तो जङ्गलमा परिणत भएको छ जहाँ सिंहको गर्जन होइन, बरु भेडा चराउने आवाजहरू मात्र गुन्जिन्छन्। यो कोलाहल अराजकताको पराकाष्ठा हो, जसको मूल जरोमा ‘भक्त’ नामक एउटा विशेष प्रजाति लुकेको छ, जसको अन्धभक्तिले देशलाई अन्धकारतर्फ धकेलेको छ। यो तथ्यलाई व्यङ्ग्यपूर्ण तर गम्भीर रूपमा उजागर गर्नु आजको आवश्यकता हो, किनकि व्यङ्ग्यले मात्र ती कुराहरू सिधा भन्न सकिन्छ जसलाई सिधा भन्दा अराजकता अझ थपिन्छ।
नेपालमा भक्तहरूको जन्म आध्यात्मिक चिन्तन वा धर्मबाट भएको होइन, यो त राजनीतिका फोहर नालीहरूबाट भएको छ। धर्ममा भक्तहरूले भगवानलाई पूजा गर्छन्, तर राजनीतिमा भने नेतालाई अन्धो भएर पुज्ने गरिन्छ। नेताका यी भक्तहरूको सूची हेर्दा लाग्छ, यो कुनै राजनीतिक मन्दिर होइन, बरु एउटा यस्तो म्युजियम हो जहाँ पुराना र धुलाम्मे मूर्तिहरूलाई सजाएर राखिएको छ। खड्गप्रसाद ओलीका अन्धभक्तहरू उनमा सर्वस्व देख्छन् र उनलाई राष्ट्रियताको प्रतीक मान्छन्, तर वास्तविकतामा उनीहरू अँध्यारोमा मैनबत्ती बालेर आफ्नै घर जलाउने आत्मघाती यात्री हुन्। रवि लामिछानेका भक्तहरू उनलाई क्रान्तिकारी ठान्छन्, तर उनीहरूको क्रान्ति सामाजिक सञ्जालमा फोटो र स्टाटस राख्नुमा मात्र सीमित छ, जहाँ पासपोर्ट काण्ड र सहकारी ठगी जस्ता गम्भीर विषयलाई पनि अन्धभक्तिको आवरणले छोप्ने प्रयास गरिन्छ।
पुष्पकमल दाहाल प्रचण्डका भक्तहरू हिजोको विनाशकारी जनयुद्ध र आजको माओवाद परित्यागलाई समेत सही मानिदिन्छन्, जहाँ क्रान्ति पछि नेता मन्त्री बनेपछि उनीहरू क्रान्तिलाई नै क्रान्तिको विरोधमा प्रयोग गर्न तल्लीन हुन्छन्। त्यस्तै, राजाका भक्तहरू सधैँ विलासमा मस्त रहने पूर्वशासकलाई राष्ट्रको प्रतीक बनाउन चाहन्छन्, जसले राष्ट्रलाई नै राजाको निजी बिम्ब बनाउने धुनमा लागेका छन्।
अराजकताको अर्को रूप सुशीला कार्की, कुलमान घिसिङ र बालेन शाह जस्ता पात्रका भक्तहरूमा पनि देखिन्छ। उनीहरू कसैलाई न्यायकी देवी, कसैलाई विद्युत्को देवता त कसैलाई सहरको एक मात्र नायक ठान्छन्। भक्तहरूलाई नेता होइन, नायक चाहिएको छ र यही नायक खोज्ने प्रवृत्तिबाट तानाशाहीको बीजारोपण हुन्छ। यी भक्तहरूको सङ्ख्या एक लाख भन्दा बढी नहोला, तर उनीहरूले सामाजिक सञ्जालको हावा भरेर तीन करोड जनताको हुइँया उचाल्छन्, जसले समाजमा डढेलो लगाउने काम गरिरहेको छ।
यस अराजकताको सबैभन्दा खतरनाक पाटो त विद्वान्को मुखुण्डो भिरेका बिम्बहरू हुन्। भीम उपाध्यायलाई विद्वान् ठानिए पनि उनी स्वार्थको कुम्भज हुन्, डा. सुरेन्द्र केसी विद्वत्ताका नाममा अराजकता फैलाउने डाक्टर हुन् भने अर्जुन पराजुली कविका रूपमा प्रख्याति चाहने र कुण्ठा ओकल्ने पात्र मात्र हुन्। यी कथित विद्वान्हरू तक्मा भिरेर अराजकताको भेलमा प्रख्यात हुन चाहन्छन्। यसका साथै, कैयौँ सुटेड-बुटेड पात्रहरू एनजीओको मातहतमा रहेर भारतीय, अमेरिकी वा चिनियाँ स्वार्थ समूहका लागि काम गरिरहेका छन्। एनजीओहरू नेपालमा अराजकताको बीउ रोप्ने मेसिन हुन्; भारतीय एनजीओहरू नेपाललाई भारतको काखमा राख्न चाहन्छन्, अमेरिकीहरू इन्डो-प्यासिफिक रणनीतिमा नेपाललाई उपयोग गर्छन् भने चिनियाँहरू बेल्ट एण्ड रोडको प्रचारमा केन्द्रित छन्। यिनै एजेन्टहरूमार्फत जनतालाई अशान्त बनाइन्छ र आफ्नो एजेन्डा थोपरिन्छ। आम जनता काममा व्यस्त हुन्छन्, तर यी भक्तहरूले हिंसा, आगजनी र राष्ट्रिय धरोहर जलाउनेसम्म गर्छन् आन्दोलनका नाममा र अराजकता मच्चाउँछन्।
अन्धभक्ति अन्धकारको प्रतीक हो, जहाँ भक्तहरू आँखा चिम्लेर हिँड्छन् र अन्ततः अराजकताकै भित्तामा ठोक्किन्छन्। एनजीओहरू विष हालेको मिठाई जस्ता हुन्, जसलाई खाँदा मिठो लागे पनि यसले अन्त्यमा मृत्यु नै निम्त्याउँछ। विद्वान् भक्तहरू त राजाको महलमा बाँधिएका कुकुर जस्ता हुन् जसले राजाको सुरक्षा त गर्छन्, तर उनीहरूलाई थाहा छैन कि उनीहरूको राजा स्वयम् अर्को विदेशी शक्तिको कुकुर हो। जनता चौतारीको रुख जस्ता हुन् जसले सबैलाई छाया दिन्छन्, तर भक्तहरू त्यही रुख काटेर स्वार्थको आगो बाल्न उद्यत छन्।
यस अराजकताको अन्त्य भक्तहरूको अन्धभक्ति त्यागबाट मात्र सम्भव छ। नेताहरू नेता होइनन्, सेवक हुन् र जनता मालिक हुन् भन्ने सत्यलाई आत्मसात् नगरेसम्म यो अन्धकार मेटिने छैन। यो लेख व्यङ्ग्य हो, तर यस व्यङ्ग्यभित्र सत्य छट्पटी गरेको अनुभूति हुन्छ। नेपालको भविष्य भक्तहरूको हातमा होइन, सचेत जनताको हातमा छ, तर जबसम्म जनता नै भक्त बनिरहन्छन्, तबसम्म यो व्यङ्ग्यको अन्त र सत्यको सुरुवात हुन सक्दैन।
०००
नुवाकाेट
Subscribe
Login
0 Comments
Oldest







































