साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेकुवा बाजेलाई अर्को पत्र !

अङ्ग्रेजीमा एउटा लोकप्रिय भनाई छ ‘हरी स्पोइल्स द करी’ अर्थात हतारमा बनाउँदा तरकारी बिग्रिन सक्छ । यसैसँग मिल्दाजुल्दो नेपाली उखान खोजिपस्ता फेला पर्‍यो– ‘म ताक्छु् सेकुवा बुढो, बुढो ताक्छ मेरो घुँडो ।’

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

बाफ रे बाफ सेकुवा बाजे–
तपाइँलाई कति सम्झेँ कति !ं

तपाईं न त बाउ पट्टिका बाजे न त आमा पट्टिका मामा । तपाईंको हितैंषी भएर केही कुरा भन्न चाहन्छु । तर तपाईकै सेकुवा मेरो कट्वाले छोरोले कस्तो स्वादसँग व्याख्या उल्टाउने कार्य गर्छ, त्यो भन्न कदापि म रुचाउँदिन । तपाईंको सेकुवा मोटो माटो होइन । बगरको ढुङ्गामुडा र लडापडा दाउरा, गुइँठा पनि होइन । पाखापर्वततिर उठेको ठूटे बुढो रुख होइन, उपत्याकाको कङ्क्रिट जंगल पनि होइन है । सेकुवा त लहलहलाउँदो फाँटमा झुलेको धानको बाला पो हो बरु । बाँझो खेतमा लटरम्म फलफूल हो । तपाईं कोरीबाटी चिटिक्क परेका सिटीका ठिटीदेखि बयलगाडा चलाउने ठेला उठेका हातका हत्केलासम्मलाई स्वादिलो हुने गरी बडो सम्मानपूर्वक तपाईकै तन्नेरी हातले सेकेको सेकुवा मजाले खाने बनाउनुभो । तब न सेकुवा बा हुनुभो !

धरहराको टुप्पोबाट एक टुक्रा नूनको ढिको खसाल्दा ‘विफ’ र ‘पोर्क’ मध्ये कुन नखाने भनी सोधे सेकुवा कसैले पनि बजाउँदिन भनेर जवाफ दिन निकै मुस्किल नै होला । लोकतन्त्रको जराको मलिलो पानी नपुगेर पनि ओह्रालो लागेको सिटीका ठिटीहरू मृगझै तृष्णामा खनिदैछन् । तपार्इंको सेकुवा खान पल्केकाहरू देखेर म चाहिँ तीन छक्क परी नाच्दै यो पत्र लेख्दैछु ।

सेकुवा पोल्ने कार्य एउटा स्वतन्त्र व्यवसाय हो । यो टाठोबाठो जोसुकैले आफू अप्‌टुडेट हुन र मनग्ये ‘मनि’ कमाउन पनि यो पेशा अँगालो हाल्न सकिन्छ । तपाईंले किन नपाउनु ? तपाईंले सेकेको सेकुवा खाएर त म जुनतारा जस्तो तेजिलो भएको हुँ जस्तो लाग्छ ।

सेकुवा खाएरै एक पटक त म कति बेहोसीसम्म भएँछु भने जिब्रिगढ जान हिँडेको त तिब्रीकोट पो पुगेछु भन्ने पनि छन् । यो त सेकुवा खाएर सित्तैँका गफ गर्न पल्केकाहरूको तर्क मात्र हो । तर मैले यो कुरा गरेर तपाइँलाई व्यङ्ग्यको तीर हान्दैे होच्याउन, हियाउन, उचाल्न वा पछार्न खोजेको भने पक्कै होइन । यो मेरो पत्रको धर्म हुँदा पनि होइन ।
तपाईं बिहान चार घडीेपछि अँधेरी रातको आँसुजस्तो ‘वेड टी’ पनि मुखमा हाल्नुहुन्न । अकस्मात ‘रेडिमेड सेकुवा’ खानु त के छुनुसम्म हुन्न । खानुहुन्छ कि भनी सोध्न झन् भएन । हजुरको गुन कति कति ! बयान गरिसाध्य नै छैन । तपाईंको तारिफ नगर्ने को छ ? तर तपाईंले जन्माएको सेकुवा शहरमा हुर्किन्छ, पोलिन्छ, सेकिन्छ र अन्त्यमा कसैको प्लेटमा पुगेर सिद्धिन्छ । मलाई त तपाईंको यो व्यवसायिक कार्य अनौठो केही लाग्दैन । कटमिरो मासु पोलेर र सेकेर सिमलको भुवा जस्तो भुवादार बनाउनु हुन्छ । अनि त्यो भुवादार सेकुवा सप्लाइ गर्न महलको सिरानमा रुफटप रेस्टुराँ चलाएर तपाइँ सेकुवा बाजेको नामले भनेर कहलिनु भएको हो । रुफटपमा झुत्ती खेल्नेहरूको भिडभाड देखेर पनि यो पत्र लेख्न तिब्रतम् प्रेरित भएको हुँ ।

सेकुवाजे ! तपाइँँ कुनै बेला डाइबर पनि हुनुहुन्थ्यो भन्ने कुरा धेरै थाहा छैन । एकपटक तपाइँले सेकुवाकै लागि चाहिने बुढीबाख्रीका सन्तान लोड गरेर राजधानीतिर छिर्ने क्रममा एकजना नेतानेता जस्तो गन्ध आउने बटुवालाई कच्याककुचुक पारिदिएको सम्झना छ कि छैन हँ ? विचरा उसको न त काजकिरिया हुन सक्यो, न त सरकार वा मानवाधिकारीहरूले नै खोजी गरे । तपाइँकै सेकुवा हाउसमा सेकुवा खान पल्केको प्रहरी प्रशासनले बरु तपाइँकै सुरक्षा गर्‍यो, तपाइँले कुनै मुद्धामामिला वा उजुरबाजुरको सामना गर्नै परेन ।

अनि बाजे ! अर्को कुराले पनि तपाईंलाई झल्याँस्स पार्छ होला । गुन्द्रुकका झाम्टा तन्काउन नपुग्ने तपाईंसित एकाएक गाडी जोडेर भाडामा गुडाउने हैसियत कसरी आर्जन भयो ? एकपटक यात्रीलाई उड्ने उडाउने क्रममा नो पार्किङ क्षेत्रमा रोकेपछि ट्राफ्रिकले लाइसेन्स रिमिक्क पारेको घटनाका साक्षीहरूले अहिलेसम्म बिर्सेका छैनन् । दुई चार आफ्‌नै गाउँलेहरूलाई बनस्थलीबाट काभ्रेस्थली लाँदा एक मिनेटको राधा र राधाकृष्ण मन्दिर जाँदा सात पुस्ता खाने मामासित सितापाइला हेराएको भनि गाडीभाडा असुलेको कुरा सुन्दा मेरा आँखा पनि गोलीभेडा जस्ता भएका थिए । लौका, घिरौला, करेला दिनसक्ने मामासित समेत भाडा असुल्नु भाथ्यो नि हैन ?

सेकुवा दर्शनमा तपाईंको योगदान, सिप, दखल, दक्षता र दिग्वीजय म मेरो घरको धानगोदाममा थन्काएर मनासिव व्यवस्था गर्न कहाँ सक्छु र ? तपाईंको सम्मान त मैले गर्नै पर्छ । छोरीलाई दिएको दाइजो र पेवापात पनि अहिले तपाइँ आफैले सदुपयोग गरि नयाँ परम्पराको थालनी गर्नु भएको सुनिन्छ । यो तपाईंको नयाँ योगदान होइन र ? तथापि त्यो ‘दाइजो’ सेकुवा घरकै आमदानीको हिस्सा हो भन्न तपाइँलाई अलिकति पनि शरम लाग्दैन के रे ! त्यो जाबो शरमभन्दा त सेकुवाको बढि इज्जत छ । आफ्‌नो श्रीवृद्धिका लागि साँधसीमाना तानतुन गर्न पनि तपाईं असाध्य सिपालु हुुनुहुन्छ भन्ने कुरा गाउँँमा धेरैले चर्चा गर्ने गरेका छन् । कसैको बाँझो बारी र खेतमा झार उम्रेको देख्नैहुन्न, त्यसमा पङ्खा हिटर, बिजुलीमिटर जोडेर झुलन वगैँचा बनाउनु भएकै छ । त्यस्तो झुलन वगैँचा देख्ने अवसर मैले पनि पाएको छु । देख्दा म तीन छक्क परेको कुरा मैलै पत्रमा के लेखूँ र बाजे !

तपाईंकै सेकुवाघरको नक्कल गरेर पुछारघरे कान्छाले पनि कछाड छोडी लँगौटी लगाए । महापुरुष जेठाबाको संगत गरेर धानचरी पदवी पाए । भाग्य पनि कति कति ! तपार्इं त भराभराउँदो आगोमा अरुलाई पोलेर आफ्‌नो जीवन उकास्ने कर्ममा लिप्त हुनुहुन्छ । अहिले तपाईंलाई कसैले पनि टेढोनजरले हेर्ने दुस्साहस गर्न सक्दैन । ताइरिङे पेट भएकाहरू सबै जीउँदै मरेझैं भएका छन् ।

श्रद्धेय बाजे !, तपाईं पुर्ख्यौली थलोमा हान्ने राँगोजस्तो सम्पन्न र बलियो मान्छे । कसको सल्लाह साउतीमा फँसेर एकपटक लाहुर पनि हुइँकिनु भएथ्यो । आग्रा पुगेर पाँच वर्ष गाग्राको डिप्टी गरी रन्थनिदै थुलोपिठो क्यै नलिइ थोत्रो ट्याङ्का बजाउँँदै घर फर्किनु भएकै हो । त्यसपछि अप्सराजस्ती छोरीलाई आलु पनि नउब्जने पाखो पालुवारीतिर हुत्याउनु भो । तपाइँ चतुर खेलाडी त हुँदै हो, अरुले किन चित्त दुखाउनु पर्‍यो र ? कोदाको भुस भरेर तोरीको बोरा हो भन्ने देखाइ बैंकबाट ठूलै रकम कर्जा लिन सफल भएपछि नै तपाइँको सेकुवाले अर्को छलाङ मारेको हो नि !
तर बिचमा के तलवितल पर्‍यो कुन्नि– केही समय त तपाईंको दिनचर्या सुरबेसुरको हुँदै गयो । तपाईं नुहाउन पँधेरा गएको भनेर पात टिप्न पुग्ने, बजार हिँडेको भनेर एकलासको बनतिर जाने, भान्सा गर्ने बेलामा भकारो सोहोर्न थाल्ने, घरमा पाहुना आए भनेर पोइलजाने मान्छेको वयान गर्ने, बिजुलीको खम्बामा सुरेली खेल्दै तार तान्न जाने जस्ता कर्म तपाईंले गर्नु भाथ्यो । यी सब कुरा म लेखेर लेखो लगाउन सक्दिन । कसो गरुँ सेकुवा बाजे ?

गाउँले भन्छन् सेकुवा बाजेको नाम धानचरी पनि हो किन कि धान भित्रको गुदीबाट सेकुवा बाजेको जन्म र अर्को भूसको जराबाट मुसाको जन्म हुनाले पनि सेकुवा बाजेको बाँचेका हुन सक्छ । मुसाको नातागोता चिन्ने हो भने धानचरी बाजेसितै सोधी खोजी गर्नु पर्छ । तर यदाकदा सेकुवा चाखेर मुसाको कुरा गर्न पल्केको तर्क होइनजस्तो लाग्छ । सेकुवा खाएर छोडेका पुरेत पण्डित पुजारीलाई सोधे पनि थाहा हुन्छ । आजभोलिका युटुवे ज्योतिष बाजेहरू पनि बफ मम र चाउचाउ चाउमिन चमचम चनाचटपटे चाखेरै तालिम लिएकै हुन् ।

सेकुवा बाजे, उहिले एकपटक म तपाईंको अति परम मितबाको घरआँगन पुगेको थिएँ । उहाँका बारेमा लेख्दा तपाईं क्यै शंका नगर्नु होला । उहाँले बाको शेषपछि अरू भाइले बाँडीचुँडी खान पाउने हकाधिकार भएको जग्गा बेचेर बल्ने ढुङ्गाको बिजनेश गर्नु भएको मलाई थाहा भयो । त्यही बल्ने ढुङ्गामुडा बेचेर न र जाली मान्छेलाई बेप्रसङ्ग पोस्नु भयो । उहाँले वंशको अंश लाग्ने जमिन जायजेथा समेत लुकीलुकाइ श्रीमतीका नाममा हाकाहाकी आफ्‌नो भुँडी आउने जुक्ति गर्नुभएको सुइँको पनि मैले पाएँ । आफ्‌ना मितबाको यो कीर्तेकुकृत्यमा पनि तपाईंको योगदान के कति छ होला ? त्यो त तपाईं आफै जानिफकार हुँदै हुनुहुन्छ ।

तिनै मितबाका सन्तति किनुवा सर्टिफिकेटका भरमा जागिर जोगाड गरी अहिले टौवामा झिनुवा र मार्सी धानको पराल थन्क्याउँदै धाक लाउँदै छन् । उनकै गोठ थलोमा दुई तीनवटा लाहुरी भैँसी उग्राइरहेका छन् । यो सबै तपाईंकै सिको गरेर हो वा आफ्‌नै विवेक बुद्धिले गरेका हुन् ? त्यो चाहिँ म भन्न सक्दिन । चवन्न पचपन्न बर्षको उमेरमा बिहारको मेट्रिक उदेक लाग्दो छैन त ? त्यै किनुवाले झिनुवाको भात बजाउने मास्टरी ! त्यसैले म सेकुवा बालाई कुनै दोष दिन्न । मास्टरले के पढाउछन्, कहाँ कहाँ पिट्छन्, कता थर्काउँछन् । लौरो कता कता पुराउँछन्, कतिका छोरीबेटी उडाउँछन् । ट्युसन पढाउँदा पढाउँदै घरज्वाइँ बन्छन् । पावर पैसा, पद र प्रमोशन पनि उनीहरू नै गुटमुट्याउँछन् । यो त तपाइँकै देन हो क्यारे सेकुवा बाजे ! यो देखेर मलार्इँ चाहिँ मास्टरी पेसाप्रति अलि बढ्तै उकउकी लागेर आउँछ ।

सेकुवा बाजे, तपाइँको माइलो छोरा बिहार चार्टर एकाउन्ट पढ्दापढ्दै फाइनल जाँच दिनै छुटाएर नेपाल बोलाउनु भयो र गोलकोइस्ट विजनेसमा लगाउनु भो । गोलकोइस्ट मार्फत पैसा कुम्ल्याएर मन्त्री खानदानको परिवारसँग नासनातो गाँस्दै छोराको लगनगाँठो कसिदिनु भो । अलिपछि गोलकोइस्ट खेलोको पैसा बाँडफाँडको सुइँको पाएर घर घेर्न मान्छे आउन लागेको चाल पाएर रुफटपमा हेलिकोप्टर ल्यान्ड गराई छोरालाई एयरपोर्ट पुर्‍याएर जापान उडाउनु भो । यसरी नाम र दाम दुवैले पराजित गरिदिनु भयो ।

‘ब्लाक कोट’ पनि नियमकानुन तोडेर किरिम पाउडर दल्यो भने ब्युटी हुने जमाना हो भनेर पढाउनै पर्दैन । यो सेकुवा युग हो । वास्तवमा कसले कसलाई कहाँ कसेर कस्तो सेक्छ, कता दबाउछ ? कता अचेट्छ, कता घचेट्छ । यो ठूलो सेकुवा हण्डीले साना निम्सरा सेकुवालाई सेक्ने यहाँको चलन नै हो । पहिला त तपाइँ बेलपत्र, तुलसीपत्र हातमा देवीदेउतालाई चढाउनु हुन्थ्यो । अहिले देख्तै छु– बाङ्गेमुडमा चिटिक्क परेको प्लेटमा सजाइएको सेकुवा सेक्न किन बाध्य हुनु भयो ? मलाई पत्याउनै गाह्रो भइरहेको छ । मेरो पनि जीवनभर माटोलाई समेत मिठो सेकुवा बनाएर, कवाफ बनाएर चाख्ने चाहना थियो । तर परिस्थितिले कता धकेल्यो कता । छेपारोको जस्तो छिनछिनमै रङ्ग परिवर्तन गर्ने भएछु । मलाई यसैमा रमाइलो लागिरहेको छ ।

बाजे, पिर नमान्नू लड्डुपेँडा भन्दा मीठो सिमलको भुवाजस्तो सेकुवा, परौठा, जुलेभी, ठेकुवा पनि नहोलान् । स्वादले भोक रोग र अनिकालमा पनि नभेटिदा गाउँमा पनि कुनै समस्या छैन । मुला र गुन्द्रुकले भरथेग गरिहाल्छ । त्यसैले सेकुवा को हो ? म हुँ कि खाने मान्छे । म दुविधामै छु । अङ्ग्रेजीमा एउटा लोकप्रिय भनाई छ ‘हरी स्पोइल्स द करी’ अर्थात हतारमा बनाउँदा तरकारी बिग्रिन सक्छ । यसैसँग मिल्दाजुल्दो नेपाली उखान खोजिपस्ता फेला पर्‍यो– ‘म ताक्छु् सेकुवा बुढो, बुढो ताक्छ मेरो घुँडो ।’

सेकुवा बाजेलाई पत्रात्मक शैलीमा लेखेको यो निबन्धलाई कसैले सेकुवा निबन्ध भन्छ भने पनि भनिरहोस् । मेरो विचारमा यो पूरापूर कुवा निबन्ध हो ।

०००
तुप्चे, नुवाकाेट । हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
राग कसको ?

राग कसको ?

ठाकुरप्रसाद अधिकारी
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
विवाह

विवाह

सुरेशकुमार पाण्डे
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x