काशीनाथ मिश्रितचैते नेता
सधै उही अनुहार नपरेको थुतुनो सत्तामा देख्दा हैरान भएपछि जनताले नयाँ अनुहार हेर्न खोजेका हुन् । त्यो अनुहार देखाउँदै नदेखाए पनि सत्तामा रजगज गर्नबाट रोक्न अब इन्द्रेको बाबु चन्द्रे आए पनि सक्दैन अरुको के कुरा !

काशीनाथ मिश्रित :
साउनमा बग्रेल्ती च्याउ पलाए जस्तो पलाएका नेताहरूलाई साउने नेता नभनेर किन चैते नेता भन्दै छ यो लम्पुदासले? तपाईँका मनमा यस्तो प्रश्न उब्ज्यो होला भन्ने लख मैले काटेको छु । यसको पनि रहस्य छ क्या! त्यसको रहस्योद्घाटन तिर लाग्ने जमर्को गरेँ । बाघ कराउनु र बाख्रो हराउनु सँगसँगै भएकाले तपाईलाई वर्तमान सरकारको आलोचना पो गर्न लाग्यो कि भन्ने शङ्का लाग्न सक्छ । त्यतिका दुईतिहाइको नजिक पुगेको सरकारलाई म छुसीले के नै लछार्न सक्छु र ! संयोग के पर्यो भने अहिलेको सरकार पनि चैतमै गठन हुन पुग्यो । तर ठोकेर के भन्छु भने सरकार मात्र नभएर सरकार चलाउने नेताहरू पनि चैते चाहिँ पक्कै हुन् ।
गत चैत महिनाकै छ गतेको कुरा हो । तल्लारे माहिलाका भाइ साहिलाले तिनै माहिलाको जन्म दिनको स्टाटस फेस बुकमा राखेका रहेछन् । मैले त्यो देखेपछि फोन गरिहालेँ । तल्लारे माहिलासित भेट नभएको पनि निकै भैसकेको थियो । फोनमा भए पनि रमाइलो गरौँ भन्ने लागेर जन्म दिनको शुभकामना टकारेँ । उनले धन्यवादको ध्वनी गुन्जाएपछि मैले भने, “चैते रहेछौ त!” उताबाट एकछिन अनकनाएझै गरेर फेरि कुरा आयो । अँ…. चैते बाँदर पनि भन्छन् क्यारे! चैते परियो ।मैले उनलाई बाँदरै त भन्न खोजेको थिइन तर चैतमा जन्मेकालाई चैते भन्न नमिल्ने कुरो पनि भएन नि । उनले चाहिएभन्दा बढ्ता बुझेर किन त्यसो भने भन्ने अनुमान गर्न सकिन । आत्मा साक्षी राखेर भन्ने हो भने मैले अहिलेसम्म चैते शब्दको अर्थ बुझेकै छैन र थिइन । त्यसैले उनीसँगको कुरा छोट्याएर शब्दकोश पल्टाउन बसेँ ।
शब्दकोश हेर्दा चैते शब्दका चारवटा अर्थ फेला परे -घोडे जात्राका पर्वमा गाइने विशेष लोकगीत र त्यसको लय, चैतमहिनामा हुने वा चैत सम्बन्धी, चैतमा दुब्लाएर टट्टु हुने बाँदर, पछि प्रवेश गरेर रजगज गर्न खोज्ने खालको अवसरवादी ।
यी चार अर्थमध्ये उनले आफूलाई दुब्लाएर टट्टु भएको छु भन्न खोजेका पनि हुन सक्छन् अथवा तिमी अवसरवादी हौ भनेर मैले व्यङ्ग्य कसेँ भनेर त्यसलाई टार्न बाँदरतिर अर्थ मोड्न पनि सक्छन् । यो उनकै मनभित्रको कुरा भयो । मैले स्पष्टीकरण सोधिन । तर मलाई भने चैते भनेर प्याच्चै भन्न नहुने रहेछ भन्ने लाग्यो । शब्दको अर्थ नबुझिकन वाक्यमा प्रयोग गर्न हुन्न भनेर सिकाउने मास्टर भएर पनि मैले आफैले अर्थ नबुझिकन वाक्यमा प्रयोग गरिदिएँ । उपत्यकाको कथा नसुनेको पनि होइन मैले । एक जना शास्त्री पढेका मास्टरले उपत्यकाको अर्थ नबुझी पढाउँदा बडो रमाइलो भएको थियो रे । ह’हेर भाइबहिनी हो! उपत्यका भनेको एक यस्तो वस्तु हो, जुन यत्रतत्र सर्वत्र पाइन्छ, यो रेसुङ्गाको वनमा पनि पाइन्छ ।‘ भनेर विद्यार्थीहरूलाई पढाएका थिए रे उहिले उहिले । अब ती विद्यार्थीहरूले उपत्यका भनेको के बुझे होलान्? अनुमान आफै गर्नुहोस् ।
शब्दकोश हेरेपछि मलाई भने चौथो अर्थले मुटुमा ढ्याङ्ग्रो ठोकेझैँ ठोक्न थाल्यो । भएन भो भनेर चैते बाँदरकै अर्थ पनि हेर्न फेरि कसिएँ । चैते बाँदरको अर्थ चाहिँ शब्दकोसमा यस्तो दिइएको रहेछ – चैत्र महिनामा वसन्तको प्रभावले कामुक भएको बाँदर, त्यस्तो कामुकताले दुब्लाएको बाँदर, कामुक, मरन्च्यासे, साह्रै दुब्लो । यो अर्थलाई मनन गर्ने हो भने त उनलाई मैले चैते भनेर निकै खसाल्न खोजेको रहेछु भन्ने बुझ्न गाह्रो परेन । त्यसपछि मात्र मेरो दिमागका नसा नसामा रगतका तरङ्गहरू दौड्न थाले । पार्टीहरूमा पछि प्रवेश गरेर पहिलेकाले भन्दा बढी रजगज र हालिमुहाली गर्न खोज्नेहरू सबै चैते त रहेछन् । वास्तवमा सुरुबाटै एउटा सोचको विकास गरेर केही गर्छु भन्नेभन्दा पछिबाट आएर रडाको मच्चाउनेहरूले देश बिगारेको त पशुपतिमा लुतो कन्याउने बाँदरहरूले पनि बुझेका छन् अरु कसले नबुझ्ला र !
एउटा जमाना थियो देश चलाउने नेताहरू धेरैजसो कात्तिके थिए । राणाकालमा त कुरै नगरौँ तीनसयवटी रखौटी राखेको इतिहास पनि छ । राजाकालको कुरा पनि उस्तै हो । दरबारमा के के हुन्थ्यो के के! हामी पस्न पाइन्नथ्यो क्यारे । दरबार पसेर फसेकाहरूको कहानी सुन्ने मात्र हो हामीले त । अझ जमाना सर्दै जाँदा गणतन्त्र हो कि गाँडतन्त्र आएपछि पनि परार सालतिर कहिले हो समाचारमा आएको थियो एउटा खबर । एक जना मन्त्रीले असार पन्ध्रको धान दिवस मनाउँदा कुन्नि के के गरेर राजिनामा नै दिनु परेको थियो । सभामुखकै कुर्सी पड्काएका नेता पनि कात्तिके थिए भन्ने नसम्झने नेपालीहरू छैनन् । अब कात्तिकेको जुग जमाना गयो भन्छन् । खै भित्रभित्रै रहेछ भने त के जान्नु हामी जस्ता लम्फुदासले ।
कात्तिके नेताको पालो सकिएपछि असारे नेताको पालो आएको हो । हुन त वर्षमा असारपछि कात्तिक आउँछ तर कामको सिलसिलामा भने असार पछाडि परेछ । वर्षका बाह्रैवटा महिना खाली राखेर असारको अन्तिममा बजेट बुकुस्याउने बानीको विकास गरेका बहादुर नेताहरूलाई असारे नभनेर साउने नेता भन्ने कुरै भएन । दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई भनेझैँ समय छउन्जेल मस्तीमा बिताउने र समय बित्न थालेपछि हस्याङफस्याङ गर्दै बेकामको काम देखाएर बजेट बाँड्ने गरेको देखिएकै हो । असारमा किसानलाई धानको रोपाइँ गर्न बरु के चटारो होला त्यति चटारो पो हुन्थ्यो त असारे नेताहरूलाई दामको छोपाइँ गर्न ।। अब कुनै ज्योतिषीका कुरा पत्याउनु पर्दैन, आफ्नै आँखाले देखे हुन्छ, असारे नेताको पालो पनि गइसकेको छ क्यारे !
असारमा जोत्नका लागि घाँस खुवाएर घँस्याएका गोरुभन्दा बढी घुस खाएर मोटाएका थिए असारेहरू । त्यसैले चैतमा दुब्लाएर टट्टु भएका चैते बाँदरजस्ता नेताहरूले भदौ पर्व मनाएर कात्तिके र असारेहरूको उठिबास लगाइदिएका हुन् रे । साँच्चै भन्ने हो भने कोत पर्व तथा अलौ पर्वजस्तै भदौ पर्व पनि लेख्नैपर्छ सुनौला अक्षरले भविष्यको इतिहासमा । भन्डारखाल पर्वको कुरा बिर्साउने पर्व दुई दिनसम्म भदौमा मनाएपछि चैतेहरूको चौका दाउ परेको कुरा चर्चा नगर्ने चौरेली चतुरे त छैन अरु को बाँकी रहोस्! अब हाम्रा तल्लारे माहिलाले कता चैत्र महात्म्य लेखेर कीर्तिमान राख्ने हुन्!
शब्दकोश बनाउनेहरूले नबुझी नबुझी शब्दको अर्थ लेखिदिएछन् जस्तो ठानेको छ यो लम्फुदासले । चैते शब्दको अर्थ मरन्च्यासे, साह्रै दुब्लो भन्ने कुरो कत्ति सुहाउँदै सुहाएन ।
अस्ति भरखरको कुरा त होनि ! असारे र कात्तिकेहरूले गुट्मुट्याएको सम्पत्ति खोस्ने र आफ्नो सम्पत्ति सबैका सामु झोस्ने नाउँमा देखाएको मोटाइ त हात्तिकै जस्तो थियो त । कहाँ चैतमा दुब्लाएर टट्टु भएको बाँदर जस्तो हुनु? ससुरालीले दाइजो दिएको सम्पत्ति पनि कतिका रहेछ गाँठे! धन्नै लम्फुदासको होशहवास उडेको! भदौ पर्वमा पानी बाँड्ने परोपकारीको सम्पत्ति पनि त कम्ति रहेनछ नि । पहिले नै कसरी मोटाउन सकेका हुन् त चैतेहरू । अथवा बठ्याइँ पनि त हुन सक्छ । पहिले नै सम्पत्ति धेध्धेरै देखाएपछि असारे र कात्तिकेहरूको जस्तो भ्रष्टाचारको गन्ध आउन नै पाउँदैन । धनी बन्न नपाउने कुरो पनि त भएन नि! नदीमा गिटी कुटेर जोडेको घडेरीको डाहा गर्नेहरू जलेर मरे पनि भयो । राजनीतिलाई पेशा नबनाएकाहरूले त सम्पत्ति जसरी कमाए पनि कसको के टाउको दुखाइ हँ ?
कोदाको खोले खाएर चोला धानेका असारेहरू पो चप्पल पड्काउँदै सिंहदरबार छिरेका थिए । यीनीहरू त कहाँ त्यस्ता भिखारी हुन् र! खानदानी खलकका सम्पत्तिवाल पो हुन् त! यिनीहरूलाई राज्यको सम्पत्तिमा आँखा गाड्ने जरुरतै छैन । केका लागि सम्पति जोड्ने? कसका लागि राज्यको ढुकुटी चोर्ने? खबरदार कसैमाथि शङ्का गर्न पाइँदैन । कसैलाई कुदृष्टि लाउन पाइँदैन । अबदेखि भ्रष्टाचार हुँदैहुन्न, एक हुन्न, दुई हुन्न, तीन हुन्न । बुझिस् साहिँला!
लाटासोझा नेपाली जनताहरूले राम्ररी बुझ्नुपर्छ है अब । हाम्रो चैतमा बनेको चैते सरकार र त्यसमा बसेका चैते नेताहरू ती शब्दकोशे पण्डितहरूले भनेझैँ मरन्च्यासे छैनन् । सबै मोटाघाटा र बलिया छन् । उनीहरूले देशको सम्पत्ति असारे र कात्तिकेले जस्तो लुँड्याउनु पर्दैन । बरु असारेहरुसित खोसेर राज्यको ढुकुटीमा जम्मा गरेपछि डोजरले उछिट्याएका हुकुमबासीहरूका भुँडीमा पनि भरिदेलान् । वास्तविक सुकुमबासीका शिविरमा पनि छरिदेलान् । असारको झरीभन्दा बढ्ता असारेका आँखाबाट आँसुका धारा बगे पनि बगिरहुन् । चैतको हुरीले उडाएपछि फोहोरसोहोर सबै कता जान्छ कता कसैले पत्तो पाउँदैन ।
पुस्तौँपुस्तादेखि एउटैले वा मिलिजुली सिन्डिकेटमा सत्तामा हालिमुहाली गर्नुपर्छ भन्ने संविधानमा लेखेकै छैन र हैन । राणाभन्दा महाराणा र राजाभन्दा महाराजा बनेका कात्तिके र असारेहरूपछि यी चैते नेताहरूको पालो आएको हो । सधै उही अनुहार नपरेको थुतुनो सत्तामा देख्दा हैरान भएपछि जनताले नयाँ अनुहार हेर्न खोजेका हुन् । त्यो अनुहार देखाउँदै नदेखाए पनि सत्तामा रजगज गर्नबाट रोक्न अब इन्द्रेको बाबु चन्द्रे आए पनि सक्दैन अरुको के कुरा ! चैत महिना नै अन्तिम महिना भएकाले यिनीहरूलाई यो मौका पनि अन्तिम मौका हो । त्यसपछि त वर्ष पनि सकिन्छ, सत्ता पनि सकिन्छ । चैतेहरूको चतुरो दिमागले त्यति चाहिँ सोचेको छ भन्थे ती चैतमा जन्म दिन परेका तल्लारे माहिलाले । उनको यो कुरा चाहिँ लम्फुदासलाई पनि चित्त बुझ्दो लाग्यो है! तपाईँहरूलाई कस्तो लाग्यो कुन्नि ।
०००
२०८३ जेठ ९ गते
गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































