काशीनाथ मिश्रितकागलाई बेल पाक्यो हर्ष न विस्मात !
हामी कागलाई बेल पाक्दा न हर्ष लाग्छ न त विस्मात नै । यता पहेँला बेल पाकेको देखाएर लोभ्याउने उता ठुल्ठुला राँगा काटेर मासु लुछ्ने गरेपछि गिद्ध र स्यालहरू पो रमाउँछन् हामी के रमाउनु ?

काशीनाथ मिश्रित :
पाकेको बेलसित कागलाई मात्र किन जोडेका हुन् बुढाहरूले ? यस कुराले मेरो गिदीलाई गिजाेलिदियो । गिद्ध चाहिँ खुसी हुँदोरहेछ कि ? अथवा भँगेरो रमाउँदो रहेछ हँ । गरुडले ठुग्न सक्दोरहेछ कि गौँथलीले फुटालेर गुदीको स्वाद लिँदोरहेछ कुन्नि ! बुझ्न सकिएन । पाकेको बेल खान सक्ने कागबाहेक अरु सबै चराचुरुङ्गी हुन् त ? मलाई कसैले भनिदिनुहोस् । नत्र कागलाई मात्र किन जोडेर उखान बनाएका हुन् हाम्रा बाजे बराजुले ? काग बाठो पन्छी हो भनेर बनाएका हुन्, अरु चराहरू चर्चायोग्य छैनन् भन्ने हो भने संसार टाँठाबाठाहरूकै हो, लाटासोझाहरूको हैन भन्ने कुरामा सहमत हुनुपर्छ । जे गरेका छन् सबै टाँठाबाठाहरूले नै गरेका छन् । बिचरा लाटासिधाहरूको त मान्छेको दुनियाँमा मात्र हैन चराचुरुङ्गीहरूको दुनियाँमा पनि खैरियत रहेनछ । तपाईँलाई जस्तो लागे पनि यो लम्फुदासको लबरल्वाँठ दिमागलाई यस्तै लाग्यो ।
चर्चायोग्य त अरु पन्छीहरू पनि छन् । सुगा, मैना कति राम्रो बोल्न सक्छन् । कोइलीको प्रयोग कैयौँ कविहरूले कवितामा उपमा जोड्न गरिदिएका छन् । बरु कर्कश आवाज निकालेर काः काः गर्दै कराउने कालो कागको चर्चा कमै हुन्छ । तर यो बेल खाने कुरामा किन कागलाई जोडिएको हो ? जति उथलपुथल पारे पनि पत्ता लगाउन सकेन मेरो खप्परले ।बेल पाकेको देखेर गिद्ध चाहिँ रमाउँछ र ? पटक्कै रमाउँदैन । लम्फुदासले यो कुरा ठोकेर भन्न सक्छ । हुन त काग पनि मासु लुछ्ने चरो हो र गिद्ध पनि । तर गिद्धले जति मासु चाहिँ कागले कुनै हालतमा खाँदैन । कागले त हरिया मकै देखे पनि ठुग्न थाल्छ, खोल्सामा सिनो देखे पनि लुछिहाल्छ । केही खान पाएन भने गुहु खाएर पनि निर्वाह गर्छ । कम से कम गिद्धले त त्यसो गर्दैन होला कि ! मांसहारी भन्नेकि शाकहारी भन्ने यो कागलाई । तिनै बाजेहरूले भनिदिएका छन् नि – ‘काग बाठो भएर गुहु खान्छ, पाडो लाटो भएर दुध खान्छ ।‘
यो लम्फुदास पनि आफूलाई खुब बाठो छु भन्ठान्छ काग जस्तो । नभनोस् पनि किन ! यो पनि काग जस्तै कालो, कर्कश बोली भएको र सर्वाहारी छ । आफूलाई मात्र कहाँ हो र यसले सबै जनता भनाउँदाहरूलाई कागकै उपमा दिन खोजिरहेको छ, चाहेको छ । म हैन, अब हामी काग हौँ भन्दा फरक नपर्ने भो भन्ने निष्कर्षमा पुगेको छ । बाठा छौँ भन्ने हामी नेपाली जनताको मति र कागको गति उस्तै छ । हेर्नुहोस् न भन्या, हाम्रा लागि कहिल्यै अम्बा पाक्दैन । मेवा, केरा, आँप, सुन्तला जस्ता मिठा फल खाने बेलामा कोकसले लुकी लुकी खाइदिन्छन् । जाबो बेल पाक्ने बेलामा मात्र हल्लाखल्ला ।
आफू मरे मितको टाउको बेलै सरि भन्थे बाजेले । जाबो बेल पाके पाकोस् काँचै रहे रहोस् के मतलव !
मतलव त बेल पकाउनेहरूलाई हुनुपर्ने हो । तर पटक्कै मतलव गरेको देख्दिन मैले । कागले रातीमा देख्दैन क्यारे ! धेरैजसो बेल पकाउने काम रातारात भैरहेका हुन्छन् । अनि कहाँबाट देखोस् त कागले । बेल पकाउने बेलामा कागलाई कत्तिको खुसी हुन्छन् भनेर ढ्वाङ पिटाइन्छ । जतिसुकै ठुल्ठुलो आवाजमा कराए पनि, जताततै हल्लाखल्ला गराए पनि, हामी कागलाई बेल पाक्दा न हर्ष लाग्छ न त विस्मात नै । यता पहेँला बेल पाकेको देखाएर लोभ्याउने उता ठुल्ठुला राँगा काटेर मासु लुछ्ने गरेपछि गिद्ध र स्यालहरू पो रमाउँछन् हामी के रमाउनु ?
रमाउन त कोही बाठा कागहरू पाउँदा हुन् । गिद्धहरूसँग नजिकको साइनो जोडेर फालिएको हड्डी भए पनि पाउँदा हुन् । सबै कागहरू बाठा पनि त छैनन् । बिचराहरु कतिपय त केही खान नपाएर विदेशतिर सिनो खोज्न भौतारिनु परिरहेको छ । यहीँ बसेकाहरूले पनि सिजन आएका बेलामा मात्र हो हरिया मकै खोल्स्याउन पाउने नत्र गुहु खान बाध्य हुनु परेको कुरा कसलाई के भनिरहनु ? मनको बह कसैलाई नकह भन्छन् बाजेहरूले । आफ्नो दुःख अर्कालाई देखाएर देख्ने भए पो ।
देख्ने र लेख्ने कुरा फरक हुँदोरहेछ । देखे जति लेख्न नमिल्ने रहेछ । नत्र त लम्फुदासले के के देखेको थियो थियो । लेख्दा इज्जत राखेर लेख्नुपर्छ भन्छन् त्यसैले देखे जति कुरा लेख्नै भएन । हाम्रा काग बन्धुहरूलाई उत्तेजित पार्ने गरी बेल पाक्दै छ क्यारे अब । ठुल्ठुला भुँडीवाल गिद्धहरूले अब बेल पाक्न थालेको हल्ला गर्न थालिसकेका छन् । आफ्ना भुँडीमा मासु ढड्याउन पाउने भएपछि जैरे कागहरू जे गरुन् गरुन् । काः काः गर्दै आकाशमा जताततै उडाएर दुईचार चोक्टा मासु देखाउँदै रमाए जस्तो गराउनु गिद्धहरूको धर्म हो क्या । कहिले बुझ्ने हो कागका बच्चाहरूले ?
प्रिय बच्चा कागहरू ! यस्ता बेलहरू त गिद्धहरूले पाँच पाँच वर्षमा पकाउँदै आएकै हुन् । अहिले त खानैको हतारोले गर्दा हो कि तीन वर्ष बित्नासाथ पकाउन सुरु गरेका छन् रे ! लौ तपाईँहरूले खुसुखुसु मासुका चौटा पाउनुहुन्छ होला र पो रमाउँदै हुनुहुन्छ । आफूलाई त कतैबाट मासु होइन हड्डीसमेत हात लाग्दैन । अनि बेल पाक्न थालेर के हर्षित हुनु ? के विस्मित हुनु ? किन विस्मात गर्नु ? आखिर अहिलेसम्म कतिवटा बेल पाके, को को रमाए ? हामी बाठा भनाउँदा कागहरूको बुद्धिमा शुद्धि अझै आउन सकेको छैन ।
हेर्दै जानुहोला यो बेल पाकेछ भने पनि हाम्रो घाँटीमा सुनको माला लाग्नेवाला छैन, बरु हाम्रा पखेटा भुत्ल्याइन बेर छैन गिद्ध दाजुहरूबाट । बेलैमा चेतना भया । अन्त्यमा मेरो काम नलाग्ने काः काः को कर्कश यही बन्द गर्छु ल।
०००
२०८२ माघ ४ गते
रुरुक्षेत्र- ५, गुल्मी ।
Subscribe
Login
0 Comments
Oldest








































