साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यको दमदार प्रस्तुति : ’साँढेको दाईँ’

समसामयिक विषयको सटीक प्रस्तुतिले नेपाली हास्यव्यङ्ग्य परम्परामा आफ्नो उत्कृष्ट पहिचान बनाउन सक्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

कविता, कथा सिर्जनपछि हास्यव्यङ्ग्य सिर्जनमा लागेको विवश पोख्रेलको साँढेको दाईँ (२०६६) मेरा हातमा डेढ दशकअगावै प्राप्त भएको कृति रहेछ । यतिबेला पढिहेर्छु त कृति निकै दमदार रहेको अनुभूति भयो । हास्यव्यङ्ग्य विषयक यति सुन्दर कृतिको समीक्षा नहुनु कमी महसुस गर्दै यसबारे आफ्नो संक्षिप्त प्रतिक्रिया प्रस्तुत गर्दैछु ।

जम्मा ७० पृष्ठको आयाममा फैलिएको यस कृतिमा २७ वटा हास्यव्यङ्ग्य रचना सङ्गृहीत छन् । मानूँ २७ निबन्धहरू २७ नक्षत्रझैँ चम्किला र प्रभावोत्पादक छन् । बहुआयामिक स्रष्टाका रूपमा रहेका विवश कथा, कवितामा सफल भएझैँ व्यङ्ग्यनिबन्धमा पनि सफल देखिन्छन् । कृतिसँग सम्बन्धित सबै भूमिकाकारले संक्षिप्त शब्दमा कृतिको उच्च मूल्याङ्कन गर्दै विवशलाई शक्तिशाली हास्यव्यङ्ग्यकारको रूपमा सफल हुन पुगेको बताएका छन् । सम्बन्धित भूमिका र प्रकाशकीयले कृतिको गुरुत्वमाथि प्रकाश पारेको छ । ’ज्योति साहित्य प्रतिष्ठान’द्वारा प्रकाशित यस कृतिको प्रथम संस्करणमैं बाह्रसय प्रति छापिनु र राष्ट्रकै उच्चकोटिको खबर पत्रिकामा छापिएका निबन्धहरू सङ्गृहीत हुनुले कृति अवश्य पनि गुणस्तरीय छ भन्ने सङ्केत मिल्दछ ।

कृतिको शीर्षक रहेको छ – साँढेको दाईँ । कृतिभित्र यस किसिमको कुनै निबन्ध छैन । किनभने निबन्धभित्रै रहेको कुनै लेख निबन्धलाई आधार बनाएर कृतिको नामकरण गर्ने प्रचलन छ । यसैसन्दर्भमा एक निबन्ध छ – ‘प्रजातन्त्र र फेर्नुपर्ने कुरा’ यसैमा साँढेको प्रसङ्ग आएको छ । यसै प्रसङ्गलाई आधार बनाएर साँढे शीर्षक राखिएको हुनुपर्छ । साँढे भनेको सिँगौरी खेल्नसक्ने जोधाहा, उत्तेजक, उग्रप्रकृतिको सिङ्गवाला पशु हो । वृषोत्सवमा वा अन्य धार्मिक उद्देश्यले डामेर छोडिएको बहरलाई साँढे भनिन्छ । यो उच्छृङ्खल र उद्दण्डताका लागि चिनिन्छ । दाईँ त मियोमा हुन्छ तर यो मियोको साँढे होइन । फुक्काफाल प्रवृत्तिको, जे गरे पनि अरूले सहनुपर्ने साँढेको अर्थमा छ । उसको यही व्यवहारलाई लिएर ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’ भन्ने उखान प्रचलित छ ।

सबै निबन्धहरू लिपिगत र अर्थगत दुवै दृष्टिले खँदिला र गहकिलो रूपमा प्रस्तुत छन् । रचनाहरू दुई–तीन पृष्ठभन्दा बेशीका छैनन् । विवशका हास्यव्यङ्ग्य रचना आख्यानात्मक प्रसङ्ग र अद्भुत कल्पनाले बनेका संवादात्मक शैलीमा निबद्ध छरिता, धारदार, दमदार, ऊर्जाप्रद र चित्तरञ्जक अनुभव हुन्छन् । विशेषताः यसले सामयिक राजनीतिले निम्त्याएको विकृत परिवेशलाई नै अङ्कित गरेको छ । विगतदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र हुँदै आएको व्यवस्थामा साँढेहरूकै दाईँ देखिन्छ । तिनमाथि कसैको नियन्त्रण देखिन्न । तिनलाई न कानूनले सम्हालेकाे छ न सामाजिक परिस्थितिले तह लाएको छ । अनवरत उनकै दाईँ वा रजाइँले हामी दमित र त्रसित छौँ । यस्तै भावना र विचारले विवशका हास्यव्यङ्ग्य रचना तिख्खर र निख्खर रहेका देखिन्छन् ।

हास्य र व्यङ्ग्य दुवै प्रवृत्तिमध्ये विवशमा हास्यभन्दा व्यङ्ग्यकै मात्रा अधिक पाइन्छ । बहुविषयप्रति व्यङ्ग्य गर्ने उनको विम्ब प्रयोग पनि दुर्बोध्य नभएर सुबोध्य रहेको छ । उनी कवि र आख्यानकार दुवै भएकाले दुवैको गुणले हास्यव्यङ्ग्य रचना पनि समृद्ध हुन पुगेका देखिन्छन् ।
साँढेहरू मनलाग्दी दाईँ गर्न नपाएर
विरोधीहरूको बदख्वाइँ गर्न नपाएर
सञ्जालमा अनेकौँ रोइलो मच्चाइरहेछन्‌
राज्यमाथि पुरापुर रजाइँ गर्न नपाएर ।

बर्कोलाई दोसल्ला, पार्टीलाई मुसे उत्पात, अज्ञात ज्वरोलाई काव्य ज्वरो, समयको हावामा सन्तानले गरेको अंशको धावाप्रति राशिअनुसार स्वभावको चित्रण, प्रजातन्त्र र फेर्नुपर्ने कुरामा फेर्ने कुराको फेहरिस्त, घन्टी बजाउनेहरूसँग दया र मायाको विवेकसम्मत घन्टी किन बज्दैन भन्ने प्रश्न, फिलिम रोगले हुनुपरेको चिलिम, गोलमेच प्रत्यक्ष प्रसारणमा पदको लुछाचुँडी र हानथाप, टिनएजका हरकत र करामत, निर्वाचन र हिजडाछाप परिचयपत्रमा प्रजातन्त्रमा नाना भाइरस पसेका कुरा, पानी साहित्यकारमा साहित्यकारसँगको भेटमा रकम चिलिमचट भएका कुरा, बन्दको झोँकमा घरबेटीसँग भएका नोकझोँक, जादूगरीमा देखिएका बेथिति, चमत्कारी धारामा पानीको धारदेखि संविधानका धारासम्मका गुण–अवगुणको चर्चा, साहित्यिक फ्यानमा उर्वशीको आकर्षण र साहित्यको बिजोक, छिचिमिरा बोर्डिङमा छात्रप्रतिको दुर्व्यवहार, फुटाउने अभ्यासमा उग्र भएको राजनीतिक प्रभाव, प्रजातन्त्र, गडतन्त्र र कर्जातन्त्रमा नेपाल ऋणप्रति घिन नमान्ने प्रवृत्तिको चित्रण, लाइसेन्स टेन्सनमा कानूनको विचित्रताप्रति कटाक्ष, मूर्खझोँक र निरीह झोँकमा मूर्खताको चित्रण गरेर हास्यव्यङ्ग्यकार विवशले हास्यव्यङ्ग्यको मिठो परिकार पस्केका छन् ।

समाजका विकृति र विसङ्गतिबाट उत्प्रेरित भई रचिएका यी रचनाहरू सशक्त शिल्प–पद्धतिबाट बुनिएका छन् । समसामयिक विषयको सटीक प्रस्तुतिले नेपाली हास्यव्यङ्ग्य परम्परामा आफ्नो उत्कृष्ट पहिचान बनाउन सक्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

यसैगरी ‘पशु स्वभाव र मानव’ मा कतिपय पशुको स्वभाव रहेको कुरा बलियो करामतमा हुस्सूपनको चित्रण, भालेपनको नियोजनमा पोथी बासेको कुरा, भावी ज्वाइँको फोटोमा जुलुसमा ढुङ्गा हान्ने प्रवृत्तिको चित्रण, समाउने कलामा मुलुकमा नानाथोक समाउनेहरूका चल्तीका कुरा गर्दै माछो समाउन खोज्दा भ्यागुतो समाउन पुगेको कुरा, अर्धाङ्गिनी अर्थात् अड्वाङ्गिनीमा शुभकामनालाई मान्छे झुक्याउने बेहोराका रूपमा चित्रण गरी शुभकामनापत्रको निरर्थकताप्रति कटाक्ष, मूलधार, हुलधार र पुलधारमा चुनावी प्रपञ्चका कुरा गरेर हास्यव्यङ्ग्यकारले सामाजिक विकृतिप्रति कडा कटाक्ष गरेका छन् ।

०००
भरतपुर–१२, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
पुरेत र जजमान

पुरेत र जजमान

प्रा. कपिल अज्ञात
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x