साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनलाइन ठगहरू

दुई-चारपटक नै झुक्किएको अनुभव हुँदा अचेल अनलाइनबाट वस्तु मगाउने कुरामा कान समात्न पुगेको छु र आफू ठगिएको बेहोरालाई सार्वजनिक गरेको छु।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

जमानाले ल्याएको कारोबार हो अनलाइन । ठाम, ठेगाना र नम्बर बताइदियो, मागअनुसारका वस्तु घरैमा आइपुग्छन् । प्रविधिले ल्याएको यो सेवालाई नराम्रो कसरी मान्न सकिन्छ ? यसले विक्रीदार वस्तुको खुब विज्ञापन गर्छ। त्यसका होनी-अनहोनी विशेषताहरूको खुब बखान गर्छ, हुने-नहने काको फुलेस्ता लगाउँछ। उपभोक्तालाई आकर्षणमा पार्छ र सम्बन्धित व्यक्तिका हातमा सामान पुऱ्याएर निर्धारित मूल्य असुलउपर गर्छ । कतिले यसबाट लाभको अनुभव पनि गरे होलान्, कतिको कल्याण पनि भइरहेको होला । कति चाहेको वस्तु हात पारेर खुसी र आनन्दित पनि रहे होलान् तर म यसबाट निकै ठगिएको र झुक्किएको छु, अझ फसेको छु भन्दा पनि फरक पर्दैन ।

अनलाइनले साहित्यको समृद्धि नै गरेको छ । निबन्ध, लघुकथा, गीत, गजल, मुक्तक आदि विभिन्न विधाको सिर्जन र प्रचार-प्रसार भइरहेको छ त्यो अनलाइनको कुरा गर्न गइरहेको छैन । जुन अनलाइनलाई माध्यम बनाएर झुक्यान र ठगीको धन्दा चलाइरहेका छन् तिनैप्रति यो आलेख लक्ष्यित छ । शास्त्रले भन्छ – आफू ठगिएको र अपमानित भएको कुरा अरू कसैसँग व्यक्त गर्नुहुँदैन । यो मतिमानहरूको लक्षण हो तर म आफ्नो हुस्सूपनलाई यहाँ प्रस्तुत गर्दैछु। एक-दुई पटक ठगिएको भए बिर्सन्यै पनि होला तर पटकपटक ठगिएकाले बिर्सने कुरै भएन । हुन त यो ठगिनुमा कसैको करकाप थिएन, म आफ्नै राजीखुसीले ठगिन पुगेको हुँ। राजीखुसीले भए पनि कहाँ कोही ठगिनु हुँदैन भन्ने मेरो मान्यता हो। यस्ता भ्रामक विज्ञापनको भ्रममा परेर अरू म जसरी नठगियून भनी यो आलेख प्रस्तुत गर्न जाँदैछु। झुक्याउने र ठग्नेहरूसँग मलाई निकै चिढ छ, आक्रोश छ। म तिनप्रति घृणा गर्छु, त्यसैले पनि आफ्ना धारणा राख्न प्रेरित भएको हुँ।

रोगले अतिशय गलित र जीर्ण भैसकेपछि यस्तै उपर मान्छेहरूले नाना तानाबाना बुनेर ठगीका योजना बनाउँदा रहेछन् । जङ्गलका हिंस्रक जनावर पनि वधानमा जुन कमजोर देख्छन्, त्यसैमाथि आक्रमण गर्छन् । जीर्णशीर्ण अवस्थामा मान्छे पनि मतिभ्रम हुँदो रहेछ । म पनि मतिभ्रम भएर पहिले कतिपय वस्तुहरू मगाएँ तर पछि नराम्ररी ठगिएको बोध भएर निकै पछुतो पनि लाग्यो । यस्ता कुरामा कसैले विश्वास नगरून्, म जसरी नठगियून् भन्नकै निम्ति यो आलेख प्रस्तुत गर्न गइरहेको छु। अहिले जमाना हातमै छ । मोबाइल खोल्यो कि नानाथरीका विज्ञापन आउँछन जसलाई जुन कुराको सरोकार छ, त्यतैतिर व्यक्तिको ध्यान जान्छ । रोगकै नाममा ठग्ने व्यापार गर्नेहरू सलहझै मौलाउँदा रहेछन् । मभित्र पनि मधुमेह र प्रोस्टेडका मधु-कैटभजस्तै दैत्यहरूले अड्डा जमाइरहेछन, तीसँग म दिनहुँ युद्ध लडिरहेछु। तिनले एकपछि अर्को गर्दै गलाउँदै गई रहेछन् र कुन दिन तिनले ढलाउने हुन् भन्ने चिन्ताले म भित्रभित्रै खोकिँदै गएको महसुस भइरहेछ । तिनबाट बराबर हार खानु परे पनि अहिलेसम्म हरेश भने खाएको छैन, आत्मविश्वासले तिनलाई धकेल्दै गइरहेछु ।

नेपाली साहित्यका प्रसिद्ध कवि माधवप्रसाद घिमिरे शताब्दी बाँचेका पुरुष हुन् उनले ६० वर्षसम्म मधुमेहको औषधी सेवन गरे अरे भन्ने सुनेको छु, यस दृष्टिले उनलाई ४१-४२ वर्षको उमेरतिरैबाट मधुमेह भएको रहेछ भन्ने बुझ्न सकिन्छ । त्यस्तै समालोचक कृष्णचन्द्रसिंह प्रधान र केशवप्रसाद उपाध्यायले पनि आठ दशक पार हुँदासम्म मधुमेयको औषधी सेवन गरेको देखे-सुनेको छु। भेटका क्रममा केशवप्रसाद उपाध्यायले भन्नुहुन्थ्यो – “यो रोग संसारका कुनै पनि औषधीले निको पार्न सक्दैन । यसलाई केवल नियन्त्रण मात्र गर्ने हो, यो निमिट्यान्न हुने रोग होइन रहेछ ।” पछि बेहोर्दै जाँदा यो अनुभवसिद्ध कथन रहेछ।

यस रोगको निदानका निम्ति मैले पनि धेरै उपायहरू अपनाएर अनेक प्रयास गरें तर कुनै उपायले यो रोग निर्मूल भएन । उमेर बढ्दै गएपछि यसले पनि आफ्नो जरा बढाउँदै गएको छ र कडा शक्तिको औषधी सेवन गर्नुपर्दछ। यसै विषयमा “मधुमेह लक्षण, कारण र निवारण” नामको लामै लेख पनि लेखेको छु । यो मेरै विवित्सा वृत्त (अध्यात्म अमृतसार, २०७७) नामक कृतिमा सङ्गृहीत छ। उपाध्यायले भन्नुहुन्थ्यो “तपाईंलाई पनि सुगर लागेको रहेछ, आहार-विहारमा ध्यान पुऱ्याई पथ-परहेजमा रहनुहोस् ।” उहाँले दिनुभएको सल्लाह, सुझाव मैले ऐल्ये पनि मनन गरिरहेको छु। मधुमेह लागेर पनि शताब्दीसम्म बाँचेका पुरुष देख्दा पौराणिक पात्र भीष्म पितामहलाई सम्झन पुग्छु। शायद् भीष्म पितामहलाई पनि यही रोग लागेको हुँदो हो।

कुनै न कुनै रोगबाट नै मान्छे जाने हो, नत्र मान्छे पनि हजारौं वर्ष बाँच्थ्यो होला । भीष्मले इच्छामरणको वरदान पाएका थिए । मधुमेह लागेका व्यक्तिले १५ दिन मुख बार्न छोड्ने हो भने उसका संवेदनशील इन्द्रियहरू एकाएक दुर्घटनामा पर्छन्, केही समयभित्रै व्यक्तिको इहलीला समाप्त हुन बेर लाग्दैन । म त्यस्तै साथीभाइसँग यो भीष्म पितामहलाई लाग्ने रोग हो भनेर हँसीमजाक पनि गर्ने गर्दछु ।

मोबाइलमा एक विज्ञापन आउँछ – “सुगर लेबल पाँच सय छ भने क्लिव लगाएपछि चार सय हुन्छ। चार सय छ भने तीन सय हुन्छ । त्यस्तै तीन सय छ भने दुई सयमा झर्छ। न औषधी खानको झन्झट, न व्यायाम गर्नको समस्या। मेरो लाटो दिमागले ‘हो केरे ।’ भनेर विश्वास गर्न पुग्दछ । क्लिव लगाएरै सुगर घट्ने भए किन नलगाउने ? बीसको उन्नाइस भएछ भने पनि त राम्रै हो भन्ने लाग्यो। यो हावादारी गफ हो कि यसमा कुनै आंशिक सत्यता पनि छ ? नियमन गर्ने निकायले परीक्षण गर्नपर्यो कि पर्दैनथ्यो ?

अनलाइनबाट मगाउँदा उक्त क्लिवको मूल्य रु. १,००० थियो, जसमा चारवटा क्लिव आउँछ भनिएको थियो । अहिलेको जमानामा हजार रुपियाँ के हो र हराएर पनि त जान सक्छ, ठगिए पनि ठगिन्छु भनेर मगाइ हालें; क्लिव आइहाल्यो। यस्तो सोचेर किन्नु नै मेरो मूर्खता रहेछ। सानो रकम ठगिनु पनि ठगिनु नै हो। यस्तै-यस्तै हजारबाट उसले कैयौं लाख ठगिरहेको हुन्छ। हात परेका चार क्लिवहरूमध्ये एक क्लिव एक मित्रलाई सौजन्य रूपमा दिएँ। बाँकी तीन आलोपालो गरेर धारण गरें। हप्तौं धारण गर्दागर्दै महिनौं पनि पुग्यो, सुगर लेवल जाँच गरें, कहाँ पट्नु। बीसको उन्नाइससम्म पनि भएको अनुभव भएन तब विज्ञापनकर्ता र व्यवस्थाप्रति नै रिस उठ्न थाल्यो। रिस उठेर के नै पो गर्न सक्थें र।

यो ठगीको योजना बन्दाबन्दै केही महिनापछि फेरि अर्को विज्ञापन आउन थाल्यो । त्यो क्लिव त डुब्लिकेट हो, असली त चुम्बक भएको क्लिव हो । चुम्बक भएको क्लिवले नै सुगर नियन्त्रणमा काम गर्छ। यस्तो सुनाउन थालेपछि मभित्र फेरि पश्चात्तापको भुमरी चल्न थाल्यो । आफू बुद्ध भएकोमा आफैलाई कोस्न थालें । अहो ! ठगहरूमा कति एकपछि अर्का ठगका तर्किबहरू आउँदा रहेछन्। यसै क्रममा फेरि अर्को विज्ञापन पनि आउन थाल्यो सुगर हुनेले रिङ्ग वा चेन लगाउनुहोस्, यसले सुगर लेवललाई घटाउँछ। तपाईंले कुनै झन्झटविना नै लाभ पाउन सक्नुहुनेछ। यसैबीच याकुन सिरप खानुहोस्, यो प्राक्तिक जडीबुटीले बनेको पूरक सप्लिमेन्ट्री हो। यसका पनि दुई बट्टा किनेर खाएँ। सुगर घट्‌नु‌को साटो झन् बढ्‌यो ।

रोगका कारण म एकपछि अर्को विज्ञापनबाट ठगिँदै गएँ। यी त एक-दुई दृष्टान्त हुन्, यस्ता अनेक दृष्टान्तबाट यहाँ कति ठगिएका होलान् आफै अनुमान गर्न सक्नुहुन्छ। बराबर यस्ता विज्ञापनले कुन रोगीको मन विचलित हुँदैन। औषधीबाट नियन्त्रण नभएको रोग कहाँ यसबाट पो नियन्त्रण हुन्छ कि । यी वस्तुहरूको धारणले सुगर रोग बीसको उन्नाइस हुन्छ भने पनि यो विज्ञापनको जमाना हो। विज्ञापन गर्ने कुरालाई अन्यथा मान्न सकिन्न तर यो त शतप्रतिशत मिथ्या प्रचार हो। त्यो सबै भ्रम हो, त्यसबाट कहीँ केही परिवर्तन हुँदैन भन्ने हो भने त्यस्तो झुट्टा विज्ञापन गर्न किन दिइन्छ अनि लागतभन्दा कैयौं गुना मुनाफा कमाउन दिन पनि अराजकता होइन र बढीमा त्यो चालिस-पचासकै लागतका वस्तु होलान, त्यसलाई हजार रूपैयाँमा बेच्ने विज्ञापन ठगीकै धन्दा हो भन्ने जल्ले पनि अनुमान गर्नसक्छ । यस्ता विज्ञापन राज्य पक्षले नै नियमन गर्नुपर्ने होइन र !

यसैगरी यौनरोग र प्रोस्टेड रोगका कैयौं औषधीहरू मोबाइलका माध्यमबाट विज्ञापन आइरहन्छन् । अन्य आयुर्वेदिक पसलमा पाइने औषधी र तिनमा के फरक छ ? मूल्यमा भने भारी अन्तर पाइन्छ। तिनमा कुनै लाभदायी तत्त्व सन्निहित रहे पनि लागतभन्दा कैयौं बेशी रकम उपभोक्ताबाट असुल गर्ने रहेछन् । आ-आफ्ना रोगवाट पीडित रहेका व्यक्तिले के गर्दा रोग निवारण हुन्छ भन्ने सोचिरहेका हुन्छन् । तिनैलाई उपयोग गर्न अनलाइन व्यापारीहरू उद्यत भइरहेका छन् । त्यस्तो अराजकता फैलन नदिनु गुणस्तर जाँच्ने निकाय, राज्य व्यवस्थामा हुनुपर्ने होइन र । सर्वसाधारणलाई के थाहा हुन्छ, कुन वस्तुले कसले कसरी ठगेको छ। कुन वस्तुमा के-कति मिसावट छ। कुन असली, कुन नक्कली यी सबैको परीक्षणको जिम्मेवारी राज्य पक्षले लिएर सर्वसाधारणले सही सूचना पाउनुपर्ने होइन र ।

आफू पढे-लेखेको व्यक्ति हुँ भने पनि यसरी ठगिन्छु भने अरू कति यहाँ ठगिएका होलान् । यसरी भ्रमको खेती गर्ने झुट्टा प्रचारवाजी गर्ने, नक्कली सामग्री बेच्ने, मिलावट गरेर बेच्नेलाई कारबाही नगरिने हो भने अराजकता बढ्‌दै जानसक्छ र समाज नै रोगी बन्न पुग्दछ । मैले अनलाइनबाट औषधी मात्र होइन उपभोगका अन्य वस्तुहरू पनि मगाएको छु, विज्ञापनमा देख्दा-सुन्दा राम्रो लागेका वस्तु यथार्थमा पछि हात पर्दा झुक्किएको अनुभव गरेको छु। दुई-चारपटक नै झुक्किएको अनुभव हुँदा अचेल अनलाइनबाट वस्तु मगाउने कुरामा कान समात्न पुगेको छु र आफू ठगिएको बेहोरालाई सार्वजनिक गरेको छु।

अन्त्यमा,

जमानाको हावा हजुर । भुमरी पारेर बग्दैछ
कहिले प्रकृति त कहिले परिस्थितिले ठग्दैछ
एकएक गरी निस्कँदै छन् अनेकौं ठग यहाँ
विज्ञापनको जाल अझै गुहुन्याएर लग्दैछ ।

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
पुरेत र जजमान

पुरेत र जजमान

प्रा. कपिल अज्ञात
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
नीच प्रवृत्ति चित्रण

नीच प्रवृत्ति चित्रण

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x