प्रा. कपिल अज्ञातपुरेत र जजमान
त्यहाँ शुकदेवहरूको कुनै सुनुवाई हुँदैन । आफू पूरा त्यसको क्रिया जनाउन खोज्यो, झन् उल्टै प्रतिक्रियावादी भएर निस्कन्छन् । तीमध्ये कतै भूमिगत पार्टीका जासूस हुन् कि भन्ने पनि डर लाग्छ।

प्रा. कपिल अज्ञात :
नामले प्राध्यापक भए पनि म कामले पुरेत हुँदैछु । नाक ठाडो हुँदै जानुको सट्टा ‘निहुरीमुन्टी न’ भएर धकेलिँदै छु । मुद्राको क्रयशक्ति अवमूल्यन भएझै आफ्नै योग्यतावृत्तिको अवमूल्यन बेहोरिहेछु । पहिलेपहिले ‘प्राध्यापक हुँ’ भन्ने आफैमा आत्मसम्मानको मीठो अनुभूति हुन्थ्यो तर अहिले त्यो सबै डढेर मसान भएझै लाग्छ । यी तथाकथित ‘ज्ञानकेन्द्र’का नाउँमा खुलेका ‘पाठकेन्द्र’ हरू परिधीय जजमान बन्दैछन् । संस्कार गराउने कहाँको पुरोहित र कहाँको श्रद्धालु भावसम्पन्न यजमान तर अहिले पुरेत जजमानमा अवनति भई धर्मका नाउँमा आडम्बर ओढाएर उल्टै शैलीमा कार्यान्वित भइरहेछन् ।
प्राध्यापक पुरेत हुँ भन्ने महसुस भएपछि उसले पनि जजमानहरू रिझाएर वृत्तिविकास साँच्नै पर्यो । त्यस्तै ‘पाठकेन्द्र’ले पनि आफू जजमान बन्ने अवसर पाएपछि पुरेतहरू खोजेर पाठयोजना चलाई विज्ञापन गर्ने पर्यो । जहाँको परिवेश नै बजारिया छ, जहाँ आर्थिक मुनाफाको मात्र ध्याउन्न छ, जहाँ आत्माको क्रय-विक्रय चल्दछ, त्यहाँको प्रजातन्त्र पनि नेताको बजार बन्नु कुनै अनौठो कुरा होइन । पाठयज्ञ पनि जजमानको एउटा बजार नै त हो। पुँजीवादी सभ्यतामा कोही पनि बजारिया मनोवृत्तिबाट मुक्त रहन गाह्रो पर्छ। त्यहाँ योग्यताभन्दा आयस्ताको प्रभाव हुन्छ, सीपभन्दा शक्तिको सम्मान हुन्छ। यसै सन्दर्भमा मबाट मेरा जजमान पनि कुनै व्याख्यान वा प्रवचनको अपेक्षा राख्दैनन् । यस मामलामा उनीहरूलाई अब एउटा औपचारिक विधि पऱ्याइदिए पुग्छ। उनलाई पाठका सम्बन्धमा कतैबाट कुनै कुराको टोकसो नआओस्, यसैमा उनीहरूको चित्त सम्भ्रान्त बन्दछ । त्यसैले अब त्यो घण्टौं लगाएर कुनै विषयमा चिन्तनमन्थन गरी प्रस्तुत गरिएको व्याख्यान वा प्रवचनले कुनै महत्त्व राख्दैन ।
प्रवचन र पाठमा ठूलो अन्तर छ। प्रवचन गहन अध्ययनको परिणाम हो भने पाठ ध्वन्यावृत्ति प्रस्तुति हो अर्थात् कुनै विषयमा सरासर गरिने शब्दोच्चारण मात्र हो। त्यहाँ अर्थको अन्वेषण र विश्लेषण हुँदैन किन्तु प्रवचन भनेको कुनै विषयको व्याख्यान वा बेलिविस्तार हो जसलाई प्रस्ट पार्न विविध सन्दर्भ र प्रसङ्गहरूसमेत गाँसिन आउँछन् र त्यसलाई हरेक ढङ्गबाट खुलस्त्याउनु पर्दछ। यस दृष्टिले प्राध्यापका रश्रोतागणमा उच्चस्तरको बौद्धिक क्रिया सञ्चालित हुन्छ तर पुरेत र श्रोताबीच ध्वनि सम्बन्धभन्दा बढ्ता केही हुँदैन।
पुरेत र जजमानबीच विनिमयको मूलतत्त्व दक्षिणा नै हो । दक्षिणा लिने लोभमा पुरेतहरू खुम्बिँदै गए र दक्षिणा दिने दम्भमा जजमानहरू फुल्दै गए, त्यही निम्नकोटिका क्रियाले सांस्कृक्तिक घरातल बदलिँदै छ । जहाँसम्म दक्षिणा कति हुन्छ भन्ने जिज्ञासा छ ? बजारिया शिक्षा पद्धतिमा खुत्रुकेबाटै काम नचलाई कसले दक्षिणाको निम्ति ठूलो बाकस उघार्दछ । पुरेतहरू पुरेतको तहबाट जति उकालो चढेर वाचक बन्न खोजे पनि दक्षिणाचाहिँ मितव्ययी नीतिको नाउँमा पाठकै योजना आवृत्तिअनुसार तय गरिएको हुन्छ । दक्षिणा जति हात लाग्यो पुरेतले त्यसैमा सन्तोष मान्नुपर्छ । पाठकेन्द्रका पुरेतलाई प्रहरी र सैनिकलाईझै सेवा र सुविधाको नाउँमा खानपिनको पनि कुनै व्यवस्था हुँदैन । निख्लो दक्षिणालाई नै सर्वसामग्री सम्झेर सत्ताको अनुगृहीत बन्नुपर्छ । विद्रोह गरे जजमान नै टेडिन्छन् कि भन्ने डर, चुप लागे. दबिएर रहने दक्षिणाको दर, परिस्थिति नै कति जटिल हुन्छ । त्यसको कथाव्यथा पुरेतसँगै अन्तर्निहित होला । पाठ आदिका कुरामा पुरेतको जति महिमागान होस् तर आर्थिक मामलामा जजमानकै हात माथि पर्छ। जजमानकै इच्छा र दक्षिणा हेरेर पुरेतले पनि जति छिटोछरितो पाठ गर्न सक्यो। उति ऊसँग जजमानहरू प्रसन्न मुद्रामा रहन्छन् ।
गीतापाठ, चण्डीपाठ, रूद्रीपाठ आदि पाठका पनि विभिन्न तह छन् । पाठकै तहअनुसार पाठकेन्द्रहरूमा पाठयोजना सञ्चालित हुन्छ। म पनि पाठयोजनाको निरीह एक पुरेत न हुँ। ‘निरीह’ यस मानेमा मसँग पाठको प्रमाणपत्र त छ तर राजनैतिक कार्यकर्ताको लाइसेन्स छैन । ‘म जुजुमान’मा जुजुमानले ‘म किन ठाँटिनुपयो । जुजुमान न हुँ” भनेझै म पनि त आखिर पुरेत न हुँ। पुरेतको हैसियत नै कति हुन्छ र त्यसैले उही वर्षांदेखिको पुरानो नोट कोटमा हालेर दिनहुँ दुई-तीन ठाउँमा ‘मुल्लाको दौड मस्जिद तक’ भनेझै बराबर पाठ गर्दै दक्षिणा टिप्न दौडिरहेछु। मलाई मात्रै दौडिन्छ भनेर अर्धेलो नठान्नु होला मित्रहरू।
यहाँ सबै केही न केही हात पार्न दौडिरहेछन् फरक के छ भने अर्थ के-केको थोक माल ओसार्न दौडिरहेछन्, आफूचाहिँ खुद्रा माल टिप्न दौडिरहेछु तर देखेरेख गर्ने मान्छेहरू थोकमाल ओसारेको देख्दैनन्, खुद्रा माल टिपेको मात्र देख्दछन् । माथिकाको गुणमात्रै देख्ने र तलकाको दुर्गुणमात्रै देख्ने मान्छेको दृष्टि नै सबै ठाउँमा एकनास छैन । साँच्चै अहिलेका श्रोतागणमा व्याख्यान वा प्रवचन सुन्ने धैर्य पटक्कै छैन। प्रवचन श्रवण गर्ने भनेपछि ठीक समयमा पुगी आफ्नो आसनमा जमेर आरम्भदेखि अन्त्यसम्म चेष्टापूर्वक ध्यानमग्न भई मनमस्तिष्कलाई एकाग्र तुल्याउनु नै पर्छ। यदि यसो गरिएन भने कुन कुरा, कुन सन्दर्भ र प्रसङ्गमा उठेको छ सोको कुनै जानकारी हुँदैन, जसबाट विषयबोध खुलस्त नहुँदा श्रवणको प्रयोजन नै रहँदैन ।
अहिलेका यी जजमानी श्रोताहरूलाई कक्षा नै सिनेमा हलजस्तो आज्ञा र अनुमतिविना नै मन लागे बस्यो मन नलागे निस्कियो । यस्तै खालको रोमान्टिक भइदिए राम्रो लाग्छ । त्यस्तैमा श्रोतागणको भीड जम्छ । जति भीड जम्यो उति जजमानहरू खसीले गम्किन थाल्छन् र पुरेतको कस्तो कुशल पाठ भनेर स्यावासीर सहानुभूति बर्साउँछन् । ती अत्याधुनिक श्रोताहरू कहिले मौका मिले कन्याकुमारीहरूसँग जिस्कन्छन्, कहिले मन लागे आ-आफ्ना पार्टीका नारा जुलूसहरूमा निस्कन्छन्, यस्तैमा उनीहरूलाई रमाइलो छ । उनीहरूको त्यस्तो प्रवृत्ति तोड्न यहाँ कसलाई के वास्ता ? जो सत्ताका बुहारीहरू नै राष्ट्रको बजेटधारामा पधेर्नीहरूझै आ-आफ्ना घैटाहरू भर्न तँछाडमछाडमै दिन गुजारी रहेछन् ।
पुरेत भएर ज्यून त्यति सजिलो छैन यो जमानामा । एकातिर पाठ गर्दै गयो अर्कातिर श्रोताहरूको बीचमा होहल्ला मच्चिन्छ, जसले गर्दा पाठको गतिर्यात बराबर मिलाइरहनुपर्छ । सन्तान पनि यहाँ थरिथरिका छन्। कोही राजनैतिक गिरोहका, कोही मुनाफा खोरका र कोही कमिशन खोरका। ती सबै अर्थ र बैंसले उन्मत्त भएर अमेरिकन चुइगम चबाउँदै कक्षा कोठामै धुन्नकारी हुन्छन् । त्यहाँ शुकदेवहरूको कुनै सुनुवाई हुँदैन । आफू पूरा त्यसको क्रिया जनाउन खोज्यो, झन् उल्टै प्रतिक्रियावादी भएर निस्कन्छन् । तीमध्ये कतै भूमिगत पार्टीका जासूस हुन् कि भन्ने पनि डर लाग्छ। त्यसैले श्रोताहरूको होच्याइँ अर्घेल्याईंजस्तो विषलाई पनि पिएर नीलकण्ठझै बन्नुपर्छ अन्यथा स्वभिमान बचाउँछु भनेर उठ्ने हो भने साक्षीहरूको बहुमत सिद्ध गर्न नसकी उपद्रव गरिएको आरोपमा उल्टै अलपत्र पर्न पनि कति बेर हुनेछैन ।
२०६० वैशाख
०००
बदनाम विम्ब (२०८२)
Subscribe
Login
0 Comments
Oldest







































