भोजराज रेग्मी ‘मुखाले’प्रोफेसर भाइरल
सत्यवान महोदय, तपाईले कमाल गर्दिनु भो यसपाली । यो घटनाको भिडियो भाइरल भइसक्यो, म्युज एकलाख पुग्न आँट्यो । हार्दिक बधाइ छ । भरे रोटी ल्याइदिउँ कि त्यतै भात खाने ?

भोजराज रेग्मी मुखाले :
“हैन, के अचम्मको सपना पो देखें त आज मैले ।”
“कहिलेकहीँ त्यत्तिकै पनि देखिन्छ नि, के देख्नु भो र ? त्यस्तो ।”
“अँ, म बाटोमा चिप्लेर लडेको अनि कताबाट हो हात्तीले देखेर मलाई उठाएको पो देखें त, यो राम्रो हो कि नराम्रो होला त अस्ति नै एउटा अघोरी बाबाले पशुपतिक्षेत्रमा मेरो बाटै रोकेर मलाई घुरेर तँ अब तीन महिना भित्रमा सप्पैले चिन्ने हुन्छस् भन्याथ्यो ।
“यत्रा वर्ष प्रोफेसर भएर के गर्न । साथीभाइ र चेलाचेलीले बाहेक कसैले चिन्दैनन् । यस्सो अल्लिक् हङ्गामा हुनेगरी केही गर्ने नपाई बूढो भइसकियो । उता हाम्रा केसीजीहरूको तुजुक देख्दा ईर्ष्या लागिसक्यो भन्या ।”
“जोगीका हावादारी जोखानाको पछि लागेर हिँड्ने उमेर हो तपाईको ? कुरा सुन्दा पनि पैंसठ्ठी पुगेर पन्ध्र लाग्या जस्तो बेहोरा छ । जोगीहरू पैसो फुत्काउने अनेक जुक्ति निकाल्छन् नि । अब यही मुली फेसबुकमा नानाभाँतीका स्टाटस लेखेरै नाम चल्ने भए किन अरू दुःख गरिरहन पन्यो र ! अँ, अनि एउटा कुरा चै ख्याल राख्नु है बूढा, विरोधका नाममा जथाभावी नलेख्नु, नबोल्नु है । दशाले त फेरि ठूलो /सानो, प्रोफेसर / डाक्टर केही पनि भन्दैन नि !”
“यी टिकटकेका अर्ती सुनेर मान्दिनु पर्ने दिन आयो गाँठ !”
“अझै पनि तपाईं जस्ता टिमुर्किएका विद्वान्को होस् चेत नखुलेको देख्दा टीठ लाग्छ । महिलाप्रतिको पुरुषहरूको दृष्टिकोण बदलिएको छैन अझै । आफू पनि जान्नु छैन, अरूले भनेको पनि मान्नु छैन । कुन दिन ठक्कर खान्छौ बूढा, अनि थाहा पाउँछौ ।”
“लु, भैगो ! नारीवादको अग्नि पुराण छोडेर खाना पस्क। आज एउटा पत्रकार भाइले एउटा कार्यक्रममा जाऊँ है भन्या छ, फर्किंदा तिम्रो औषधि पनि ल्याउनु पर्ला ।”
“मेरो सपनाबाट शुरू भई नारीवाद हुँदै ओखतीमा पुगेर अल्झिएको हामी बूढाबूढीको लोकवार्तापछि खाना खाएर लुगा र मास्क लगाई म निस्कँ । पत्रकार भाइ बाहिर कुरिरहेको रहेछ । हेल्मेट र मास्क लगाएकोले मैले चिन्न नसके पनि उसैले नमस्कार गयो । म उसको बाइकको पछाडि बसें । मैले कहाँ के भन्नै नपाई उसले बाइक हुँइक्यायो । दुवैले मास्क लगाएकोले म पनि बोलिन, उसले केही भनेकै भए पनि मैले केही सुनिनँ, बुझिनँ । चोरबाटो हुँदै कता कताबाट एक्कासी बानेश्वर चोक निकाल्यो र एकछेउमा यसो रोकिजस्तो गरेर मास्क नफुकाली मुख फोन्यो- “अहिलेको भारत विरोधी आन्दोलन कस्तो लागिरहेछ सरलाई ?”
“म त राष्ट्रवादी मान्छे । हेर्नस्, छयालिस सालको आन्दोलन पनि बाहिरैकाले गराइदेको.” मेरो बोली पूरा हुन हुन नपाउँदै एउटा प्रहरीले मलाई बाइकबाट ओर्लन अन्ययो । अरूले पनि घेरा हाले । तपाई अब गिरफ्तारीमा पर्न भो भन्दै हाँस्दै मलाई प्रहरी भ्यानमा हाले । छिचिमिरा निस्के जस्तै पत्रकारको भीड उस्तै । म चेतनाशून्य भएँ । हैन, यो के भइरहेछ ? आज । सपना हो कि ? भनेर पसिना पुछ्दापुछ्दै गाला, कान चिमोटें, दुख्यो । सपना हैन, विपनै रहेछ ।”
सोच्दासोच्दै प्रहरी वृत्तको गेटभित्र छिराइसकेछन् । मलाई ओरालेर भित्र लगे, हाकिमको कक्षमा । मलाई देख्ने बित्तिकै बाघले झम्ट्यो- के हो माड्साब, जे मन लाग्यो त्यही बोलिहिँड्ने ? तपाईलाई पैलेदेखि नै हामीले खोज्दैथ्यौं, लकडाउनले गर्दा मात्रै ढिलो भएको हो । तपाई उपर तीन रोटा आरोपमा उजुरी परेको छ ।
उसले के के भन्यो, मैले यस्तो सुनेंः
– उच्च तहका नेताको विरोध ।
देशभक्तिको नाममा अराजक टिप्पणी ।
– घरेलु हिंसा ।
झल्याँस्स ब्यूँकिँदा साँझ परिसकेको थाहा पाएँ । एक्कासी मेरो गोजीमा म भित्र थुनिएँ । चेतनाविहीन अवस्थामै कसोकसो उँघेछ म त ।
गायत्री मन्त्र बज्यो । मोबाइल निकालेर हेरें, सावित्रीको रहेछ । हेल्लो । भन्नासाथ उताबाट अनौठो कुरा आयो ‘सत्यवान महोदय, तपाईले कमाल गर्दिनु भो यसपाली । यो घटनाको भिडियो भाइरल भइसक्यो, म्युज एकलाख पुग्न आँट्यो । हार्दिक बधाइ छ । भरे रोटी ल्याइदिउँ कि त्यतै भात खाने ?
म यतिखेर पुलिसको हाकिमको अनुहारमा घरी बूढी र घरी अघोरी देखिरहेको छु ।
०००
जङ्गबहादुरको फ्रेन्ड रिक्वेस्ट (२०८२)
Subscribe
Login
0 Comments
Oldest






































