भोजराज रेग्मी ‘मुखाले’छोप्ने भर्सेस् देखाउने
"छोप्ने भर्सेस देखाउने" लाई शब्दचित्रमा यसरी पनि देखाउन सकिन्छ : देखाउनै पर्ने कुराहरू हाक्काहाक्की छोप्ने सरकार र छोप्नै पर्ने कुराहरू हाक्काहाक्की देखाउने सुन्दरी नै यस खेलका नामूद खेलाडी हुन् । सिङ्गो देश रङ्गशाला हो भने दर्शकहरू भेडा ।

भाेजराज रेग्मी मुखाले :
फलाना भर्सेस चिलाना । चिलाना भर्सेस ढिस्काना । देब्रे हातले जाँघे सम्हाल्दै दाहिने हातले नाकेडाँडाको सिँगाने पहिरो थाम्ने उमेरदेखि नै सबैजसो माइकालालहरूले जानेबुझेकै कुरा परे । तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूददेखि राजनीतिको उछलकूदसम्म देख्दै , सुन्दै र यदाकदा भोग्दै पनि आएका हामी हाम्रै नाकमुनि भइरहने एउटा अद्भूत खेल “छोप्ने भर्सेस देखाउने” को बारेमा नजरअन्दाज गर्दै पूरै स्वाँठ पारा देखाइरहेछौँ भन्दा आफूलाई संसारकै माइकालाल सम्झिने कुनै ल्वाँठले हमासको स्टायलमा मलाई धमास दिए पनि केही फरक पर्दैन ।
खेलकै चर्चो चलाउँदा झ्वाट्ट महाखेलको सम्झना आयो । हेर्नुस्, अहिले त झन् डलरको बायुपङ्खी घोडामा चढेर खेलिने नम्बरी खेल ” मर्दाना भर्सेस जनाना ” को जमाना जो छ ।
उहिलै -कुप्राबाजेले सन्किएर जेठी स्वास्नी कुटेको पुरानो तामेली फायल जगाएर उनैको पनातिसँग पानीबाराबार गर्नेगरी निहुँ खोज्ने जङ्गमतीका क्लबहरूमा तिनै कुप्राससुराकी कान्छी स्वास्नीले दिमाग भुटेर जेठी कुट्नु परेको तीतो सत्यजति छोपछाप पार्ने र स्वास्नी कुटेको कुरो मात्रै उरालेर सोझा आईमाई बराल्ने मनसून चलेको छ । यो मनसुनको भाउ बढेर सुनको भाउले पनि ईर्ष्याले जिब्रो टोक्नु परेको कुरा म छाती ठोकेरै भन्न सक्छु ।
त्यति मात्रै हो र ! खजाना भर्सेस बजाना आदि इत्यादि खेल र चलखेल बेलामौका मात्रै देखेसुनेका हामीले राष्ट्रिय खेल : “छोप्ने भर्सेस देखाउने” भने बाह्रैमास बाह्रै काल देख्न पाइरहेका छौँ । यो माम्लोमा हामी संसारकै खुशी जनता हौँ भन्दा कुनै मूलेको नाकको पोरा गर्वले फुल्दैन भने त्यो नेपाली नै हैन, लौजा !
नेपालमा मात्रै पाइने काँढेभ्याकुरजस्तै विश्व प्रसिद्ध रहेको हाम्रो राष्ट्रिय खेल “छोप्ने भर्सेस देखाउने” मा आजसम्म पनि कुनै चलखेल पत्रकारको कलमले टसको मस नगरेको देखेर न हास्सेकार न बेङ्गेकार भएर अलपत्रकार भएको यो पङ्तिकारले यस्तो काममा हात धोएरै लाग्नु परेको छ ।
हाम्रो राष्ट्रिय मौलिक खेलको रूपमा जरोकीलो गाडेको खेल “छोप्ने भर्सेस देखाउने” को सौन्दर्यशास्त्र भने यस्तो छ :
“छोप्ने भर्सेस देखाउने” लाई शब्दचित्रमा यसरी पनि देखाउन सकिन्छ : देखाउनै पर्ने कुराहरू हाक्काहाक्की छोप्ने सरकार र छोप्नै पर्ने कुराहरू हाक्काहाक्की देखाउने सुन्दरी नै यस खेलका नामूद खेलाडी हुन् । सिङ्गो देश रङ्गशाला हो भने दर्शकहरू भेडा ।
एकादेशाँ सरकार र सुन्दरी नामका दुई अज्जबका आकर्षक खेलाडी पाइन्छन् । जसले जतिचोटि स्वाङ पारेर हैन भने पनि यस्ता जन्तु जहाँ पनि , जसलाई पनि चाहिन्छन् । यहाँ यस्ता अजब गजबका जन्तुहरूको आनिबानी थोरबहुत पर्गेल्ने र पाठक परमेसरका पुत्लेपाङ्ग्रे दिमाग हल्का गिजोल्ने प्रयास गरिएको छ ।
अँ त, यी विचित्रका जन्तुहरूमा अनेकानेक समानता र असमानताहरू देख्न पाइन्छ । यी दुवै झलक्क हेर्दा सौताजस्ता , नियालेर हेर्दा मितिनीजस्ता लाग्छन् । सरकारमा सुन्दरीको ग्ल्यामर पाइन्छ भने सुन्दरीमा सरकारको रवाफ । सरकारसँग सिसीमुनीहरूलाई कीर्तनभजनमा अल्झाएर बल्झाएर आफ्नो दुनो सोझ्याउने तागत हुन्छ भने सुन्दरीसँग ऋषिमुनीहरूलाई रूपलावण्यमा लठ्याएर आफ्नो बोहोतो बनाउने ल्याकत हुन्छ । त्यति मात्रै कहाँ हो र ! सरकार सुन्दरी भनेपछि हत्ते हाल्छ भने सुन्दरी पनि सरकार भनेपछी हुरुक्कै हुन्छ्न् । सरकारले पनि मनको तुनो अलि खुकुलो पारेर एकादुई सुन्दरीलाई काखी च्यापेर मुन्छेहरूको आँखामा छारो हाले पनि सुन्दरीमय बन्न सकेको छैन । त्यस्तै , सुन्दरीहरू पनि जैविक शस्त्रास्त्रले सुसज्जित भए पनि सरकार सरह शासन चलाउन भने आँट गरिहाल्न सकेका छैनन् ।
छोप्ने र देखाउनेहरूकै प्रसङ्गमा तीन दशक अघिको आफ्नै एउटा घटनाको यादले मलाई यस बेलाँ ठुङ मारिरहेको छ ।
उहिलैको कुरा हो, ओठमाथि जुँगाको नर्सरी फस्टाउँदै गर्दाको भन्दा हुन्छ । हाम्रै एरियाको गोर्वाहीटोलको रामभरोसी जादवसँग मेरो मीत लाइदिनु भाकोथ्यो मेरा बाउले ।
हामी दुवै मीत सानैदेखिका सहपाठी थियौँ। मीत सानैदेखिको उपद्य्राहा थिए भने मचाहिँ उटुङ्ग्याहा । उपद्र्याहा र उटुङ्ग्याहाको हल मिलेको देख्न नसकेर कतिपय हुल्याहाहरू हुलहालमा हमला गर्ने ट्रायल दिन्थे तर फेल हुन्थे ।
म उटुङ्गे भए पनि पढाईमा घोइरे भएकोले खुरुखुरु पढ्दै डिग्रीतिर लागेँ भने मीतचाहिँ उपद्र्याइँमा छलाङ मार्दै तिघ्रीतिर लागेछन् । धनीबाउको लद्दु छोरो पटके तिघ्रीकाण्डमा रङ्गेहात समातिएपछि जिल्लाका चल्तापूर्जा नेताजीको सोर्सफोर्समा सफाई मात्रै हैन , बरु पुरस्कारस्वरूप खोकिलोभरिकी एउटी भारु स्वास्नी पनि पाएर” बिजी ” भएका रहेछन् । विराटनगरको पढाईजस्तो झ्याउलोमा अल्झेर मीतजीको बिहेमा ठाँट देखाउने मौका भने मलाई मिलेको थिएन ।
मेरो क्याम्पस – विदाको मौका छोपेर गाउँघर आएको बेला मीतको घर जान मन लाग्यो । एक दिन दिउँसो अबेरतिर गोर्वाही( यादव)टोल मा रहेको मीतको घरमा पुगेँ ।दरबजा ( आँगनभन्दा पहिले आउने ठूलोआँगन) मा कोहीकसैको चालचोल नदेखेपछि आफ्नै मीतको घरआँगनमा प्रवेश गर्नु बेमनासीब पनि भएन ।
“आखुम् !” यसो खोकेको मात्रै थिएँ, मास्तिर रातो- पहेँलो अनि मुन्तिर सेतोमा हल्का कालो बुट्टा भएको बुख्याचा तेर्सियो । यस्तो अद्भूत दृश्य देखेपछि म त किंकर्तव्यविमूढ भएर “आखुम्” को ह्याट्रिक गर्न पुगेछु । त्यस पछि एकै छिनमा दृश्य परिवर्तन भएर एकजना महिलापात्र सारीको फेरले मुख छोपेर खोक्नेतिर पिठ्युँ फर्काएर उभिएको देखेँ । बुख्याँचा समेत समग्र परिस्थितिको परख गर्दा मैले हाँसो थाम्न नसक्ने अवस्था आयो । गाँठी कुरोचाहिँ के रैछ भने, उमेर पुगेका भाले मान्छेले आफ्नो मुख नदेखुन् भनेर नौली दुलहीले मुख छोप्नु पर्ने चलन, त्यसमाथि अचिनारु लोग्नेमुन्छेसँग झण्डै जम्काभेट हुँदा हडबडमा आफ्नै फरिया फर्काएर मितिनीले मुख छोप्ने हुँदा कम्मरमाथि र मुनिको चित्र विचित्र गोचर हुन पुगेकोरैछ ।
उहिलेको कुरो भए पनि भुक्तभोगीको दिमागमा टाँसिएपछि हत्पती नखुइलिने सत्य घटनामा आधारित उपर्युक्त तथ्यको विश्लेषण गर्दा छोप्न नजान्दा ह्वाङ्ङ हुने र देखाउन नजान्दा सर्वाङ्ङ हुनेरैछ भन्ने ठोस निष्कर्षमा म पुगेको छु । काण्डैकाण्ड भएको देशाँ छोप्ने र देखाउने तथा सरकार र सुन्दरी भनेका एक सिक्काको दुई पाटा रहेछन् भनेर बुझ्दा कुनै घनटाउकेले पनि टाउको टन्काइरहनु पर्दैन जस्तो लाग्छ ।
आफू सत्तामा नहुँदा सरकारले जे पनि लुकाएर खान्छ भनेर चौबीसै घण्टा भँडास पोखेर ढाडस देखाउनेहरू नै सत्तामा पुगेपछि बाउको बीँडो थामेझैँ सक्कल बमोजिम नक्कल दुरुस्त पारेको देख्दा उदेक मान्नु बाहेक जनता नामक भाग्यमानीको भागमा अर्को उपाय मैले आजको मितिसम्म देखेको छैन ।
यत्ती भन्दै मेरा झन्नै चारसय बीस शब्दको साङ्गे गर्दै अन्तिममा के पनि भन्न बाँकी राख्दिन भने ,”छोप्ने भर्सेस् देखाउने” खेलको चलखेलले अचेल डाँडाकाँडा ढाकेर सात समुन्द्र हाँकेको मात्र छैन, यसको भूगोल बढेर भद्रगोल भएको छ ।
०००
सिनामङ्गल, काठमाडाैं
२०८२/८/९






































आफू सत्तामा नहुँदा सरकारले जे पनि लुकाएर खान्छ भनेर चौबीसै घण्टा भँडास पोखेर ढाडस देखाउनेहरू नै सत्तामा पुगेपछि बाउको बीँडो थामेझैँ सक्कल बमोजिम नक्कल दुरुस्त पारेको देख्दा उदेक मान्नु बाहेक जनता नामक भाग्यमानीको भागमा अर्को उपाय मैले आजको मितिसम्म देखेको छैन ।