साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यागुताको भ्यासेक्टोमी

सरकारको बाउले पनि नसक्ने भन्दै प्रतिपक्षी मलसाँप्राहरूले अर्घेलो गरेपछि बिचौलियाबाट अग्रिम कमिशन लुँड्याइसकेका घिचौलियाहरूलाई माइग्रेनले गाँज्यो ।

Nepal Telecom ad

भोजराज रेग्मी मुखाले :

मर्त्यलोक– नेपालखण्डका विभिन्न भूभागमा लामो अनावृष्टिले जताततै हाहाकार मच्चियो ।
स्वर्गका राजा ईन्द्र खुशी हुँदा वर्षा हुन्छ भनेर मान्छेले बाजेबराजुदेखि नै जान्दै बुझ्दै आएका थिए । इन्द्रलाई खुशी पार्न किसानहरूले बाउबाजेले सिकाएका अक्कलदेखि आफैँले आविष्कारेका तक्कलहरू प्रयोग गर्न थाले ।

अप्सराहरूका नायक देवराज इन्द्रलाई रिझाउन कतै महिलाहरू मध्यरातमा नाङ्गानाङ्गै सडकमा निस्केर नाच्न थाले भने कतै त्यो उपायले पनि हावा खाएपछि गाउँ– गाउँ , टोल– टोलमै तामझामसँग भ्यागुताको बिहे गरिदिन थाले ।

मर्त्यलोकका नारीहरू नाङ्गै नाचेकोले इन्द्र खुशी भएका हुन पनि सक्छन् अथवा लामो खडेरीले अन्नपातको बीउ पनि मासिने अवस्था हुँदा पनि जाबो भ्यागुताको बिहे गरिदिएर तमासा देखाउने मान्छेको मति देखेर हो ; जेहोस्, इन्द्रको पत्थर मन पग्लिएर जताततै वर्षा भयो ।

पानी पर्न थालेपछि धरती पनि रजस्वलाबाट चोखिएकी यौवनाझैँ खुबै मादक देखिन थालिन् । हर्षातिरेकले नेपालका अभागी किसान मोरामोरीको छाती पनि गहुँको रोटी फुलेझैँ ढक्क फुल्यो ।

यतिमात्रै कहाँ हो र !? मान्छेको हातबाट बिहे गर्न पाउने भाग्यमानी भ्यागुता र भ्यागुतीहरूको हनिमुनले संसारका नम्बरी धनाढ्यहरूले मनाउने हनिमुन पनि फिका लाग्ने अवस्था देखियो । यस्तो अपूर्व विचित्र चित्र देखेर दिउँसोको घाम र रातीको जून पनि ईर्ष्याले जलेर बादलभित्रै गुटमुटिएर बस्न थाले ।

यही मौकामा चौका हान्दै जताततै रोपाइँजात्रा हुन थालेपछि विवाहित भ्यागुता र भ्यागुतीहरूको रोमान्सको नेप्से ह्वात्तै बढेर उच्च विन्दुमा पुग्यो । अगौटे र पछौटे बालीजस्तै दिनदुगुना – रातचौगुनाको दरले च्याउ उम्रेर फस्टाएझैँ चेपागाँडाहरू फष्टाउन थाले । दशगजाको खुला सुरुङबाट छिरेर नगृता लिन लाइन लागेका सम्धिगामका छौँडाछौँडीको जुलुसको पछिपछि चेपागाँडाको लाम देखेर जिल्लाका नगदनारायण अधिकारीहरूले पनि जिल खाए ।

अतिवृष्टिको कारण देशभरी नै जताततै बाढीपैह्रो गएर जनधनको व्यापक क्षतिको दर बढेपछि मौसमविद्हरूले जलवायुविज्ञ र सक्कलीकम नक्कली किसानको आपत्कालीन भेला डाके । सो भेलाले “भयाबह बाढीपैह्रोको माउ नै अतिवर्षा भएको र त्यसको पनि बाउ भ्यागुताको बिहे नै भएको“ निष्कर्ष निकाल्यो । यसको दीर्घकालीन निदान घोप्टे सरकारले नै गर्न सक्ने भन्दै ध्यानाकर्षण प्रस्ताव समेत पारित गर्‍यो ।

पानी नपर्दा सरकारलाई गाली गर्ने र पानी पर्दा पनि सरकारलाई नै सराप्ने महामारी रोगले सताएका जोदाहा जनताजनार्दनको पारा देखेर निकै वर्षदेखि सरकारको कन्पारो तातेको हुँदा त्यो थेत्तरो र लबस्तरो भइसकेको थियो । “कुकुर भुक्दैछ, हात्ती लम्कँदै छ“ भन्ने पुरानो उखान चरितार्थ गर्दै सरकार “आफ्नो हात : जगन्नाथ “ को मुडमा बस्यो । अनि यस्तै मुडैमुडमा आफ्नो एकबारको जुनी कृतार्थ बनाउन सरकार मस्तव्यस्त हुन बाध्य भयो ।

जतिसुकै व्यस्त भएको देखाए पनि आखिर “हेर्नको डाल : ढिँडोको काल“ झैँ लोकतन्त्र छ भन्ने लोकाचार पार्नै पनि लोकलाई भ्यागुताको सास्तीबाट मुक्ति दिने जुक्ति निकाल्नै पर्ने बाध्यता सरकारलाई आईलाग्यो ।

पन्ध्र दिनभित्रै सुझावसहितको प्रतिवेदन दिने गरी सरकारले सर्पनाथ आयोग बनाएर जनतालाई “देखाई“ दियो । उक्त ऐतिहासिक आयोगले पनि खुशीले अलल्लिँदै “देशभरिका भाले भ्यागुताहरूको भ्यासेक्टोमी गर्नै पर्ने र भ्यागुताको बिहे गराउने किसान र पण्डितहरू समेतलाई नसीहत दिनु पर्ने“ भन्दै ठ्याक्कै चौध दिन चौध घण्टाभित्रै सरकारलाई चारसय बीस पेजको ऐतिहासिक प्रतिवेदन बुझायो र नाकको पोरा फुलायो ।

एक त भ्यागुता, त्यसमाथि भ्यासेक्टोमी । परेन त फसाद !? सरकारको थाप्लोमा चुनौती र अवसर एकैचोटी थुप्रियो ।
आफ्नो देशमा फेमिलीप्लानिङ चलाएर मित्रराष्ट्रका मेजमान, मेजमती र मेजभुराभुरीहरूलाई किस्तीमा नगृता टक्य्राउने महापुण्य कर्म गरी छिमेकी रिझाउँदै आएको भए पनि भ्यागुताकै भ्यासेक्टोमी गरेर अतिवृष्टिबाट जनता नाउँ गरेको ज्याद्रो जातलाई जोगाउनु र तिनका मन थुम्थुम्याउनु पर्ने झ्याउलो आइलागेकोले सरकारलाई “तनाव“ भइरहेको थियो ।

यस्तैमा एकदिन मिष्टर टाईमानको टोली कुन्नी केजाती मन्त्रीको बेडरुममै पुग्यो । र, सो टोलीले मन्त्रीको मुखेन्जी कामकुराको झोली खोल्दै एक महत्वपूर्ण प्रस्ताव राख्यो ।

बाह्रधातु छत्तीस भिरिङ्गी दाताहरूको कृपाले एकबारको जुनी ज्वाज्वल्य बनाएका घुम्नेकुर्सीवासी जैरे– भैरेहरू प्रस्तावको कुरो आउनेबित्तिकै कुरोको चुरो नबुझी मुख मिठ्याउँदै लम्पसार परीहाले । आफ्नै आँगनको खाल्डो पुर्न पनि अरूको मुख ताकेर बस्ने र दानदातव्यकै “तर“ निकालेर दर खाने बानी परेका वरिष्ठदेखि झुरिष्टसम्मका मनुवाहरूको जिब्राले सु गरेर भल बग्न थालेपछि साँप्रामाथि पिँडुलो थपियो ।

भ्यागुताकै बिहेको कारण वर्षाले उत्पात मच्चाएको हुनाले चालू वर्षा नियन्त्रण गर्न र आगामी अतिवृष्टिको खतरा टार्न भ्यागुताहरूको भ्यासेक्टोमी अभियान अविलम्ब नथाल्ने हो भने आगामी दिनमा पनि मनसुनको भन्दा भन्सुनको भर पर्ने दुनियाँदारले फेरि पनि भ्यागुताको बिहे गरिदिन सक्ने र भ्यागुताको बिहेलाई जनताले चाडबाडको रूपमा मान्दै जाँदा जताततै वर्षा बौलाएर प्राकृतिक प्रकोपको खतरा निम्त्याउने, त्यो खतराको पुच्छर पक्रेर प्रतिपक्षी प्रजातिले सरकारकै ज्यान जोखिममा पार्ने निष्कर्षसहितको सुझाव विदेशी हाकिमहरूले हप्काउने शैलीमा दिएपछि सरकारको नौनाडी गलेर आयो ।

गालामा च्वाप्प म्वाईँ खाएर पेटमा घ्वाप्प छुरा हान्ने दयालु दाताकम्पनीले भ्यागुताको भ्यासेक्टोमी परियोजनाको लागि तुरुन्तै केही करोड डलर अनुदान दिने र अरू ऋण प्रदान गर्ने कुरा गर्दा आफ्नै बाउआमाको काट्टो खान पनि अप्ठेरो नमान्ने यताका “खाईदेऊ“जीहरूले ल्याङ्ल्याङ गरेपछि अनुदान जति घुम्नेकुर्सीका अगस्तीहरूलाई दान दिने गरी कुस्त रकम ऋण लिने सम्झौता गरे । यसरी लोकतन्त्र पूरै लाभान्वित भएरै छाड्यो ।

लाभान्वित लोकतन्त्रका टाउकेहरूले भ्यागुता सङ्कलन कार्य पनि ऋणदाता देशकै ठेकेदारले गर्ने गरी निर्णय गरेपछि दाताहरू पनि दङ्ग परे ।

दाता नाउँ गरेका भाग्यविधाताहरूको कृपाले भ्यागुताहरूको सङ्कलन कार्यको लागि विदेशी ठेकेदारले सत्तारुढ पार्टीका कार्यकर्ताहरूलाई मात्र कामदार राख्ने प्रपन्च मिलाएर यताको लोकतन्त्रलाई सघाइरह्यो भने भित्रभित्रै विपक्षी पार्टीका नेतालाई उल्क्याएर सडकदेखि सदनसम्मै गाईजात्रा देखाउने काम पनि सँगसँगै हुन थाल्यो ।

यता यस्तो हुँदाहुँदै उता भ्यागुतासम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिकहरूको ताजा निष्कर्ष फ्याट्ट बाहिर आयो । सो निष्कर्ष अनुसार कुनै पनि भ्यागुतीले आफूलाई मन नपरेको बोकेभ्यागुताले बलात्कार गर्ने कोसिस गर्नासाथ भ्यागुतीले मरेको अभिनय गरेर उत्ताउला भ्यागुतालाई जिल्लाराम पार्दै आफू सजिलै उम्किने रहेछन् । भ्यागुतीहरूलाई यस्तो अद्भूत कला दैवले दिएको देखेर मान्छीहरू ईर्ष्याले मूर्च्छा पर्ने अवस्था आयो ।

यस्तोखाले अपूर्व आश्चर्यजनक अवस्थालाई “क्यास“ गर्दै सरकारले त्यस्ता विलक्षण प्रतिभाशाली भ्यागुतीहरू व्यापक रूपमा खोजी गरी तिनलाई हरेक जिल्लामा प्रादेशिक समानुपातिक मान्येजुसरहको मानसम्मानसहित सेवासुविधा पाउने गरी प्रत्येक प्रदेशमा कम्तिमा सातौटी भ्यागुतीहरूलाई “विशिष्ट प्रशिक्षिका“ नियुक्त गरी महिलाहरूलाई घरेलु तथा बाह्य बलात्कारबाट जोगिने सीपमूलक तालिम केन्द्रको व्यवस्था पनि गर्‍यो ।

यसरी, सरकारले अचम्मै गर्‍यो । हालसम्म कसैले नदेखेको, नसुनेको, नभोगेको र आफैँले समेत नसोचेको अभूतपूर्व चमत्कार गरेर देखाउन सफल भएको ठान्दै मिसन –८४ को दुईतिहाई बहुमत सम्झेर सरकार दङ्ग पर्‍यो ।

एकातिर भ्यागुताको भ्यासेक्टोमी गर्ने र अर्कोतिर महिलाहरूको सतीत्व रक्षाका लागि भ्यागुतीहरूबाट तालिम दिलाउने दोहोरो जिम्मेवारी बोकेर होला, सरकार निकै फुर्कियो पनि । र्किन त फुर्कियो ता नि, फुर्केर मात्रै कामकाज नचल्ने । दोटा अजङ्गका कामको डल्ला फुटाउनु पर्ने भएपछि सरकारको दोटै आँखो फुर्फुराएर उल्कै गर्न थाल्यो ।

अद्भूत कलाकार भ्यागुतीका सीप र प्रशिक्षण बालिका र किशोरीमा लागू गराउन सरकार त के, सरकारको बाउले पनि नसक्ने भन्दै प्रतिपक्षी मलसाँप्राहरूले अर्घेलो गरेपछि बिचौलियाबाट अग्रिम कमिशन लुँड्याइसकेका घिचौलियाहरूलाई माइग्रेनले गाँज्यो ।

भ्यागुताको भ्यासेक्टोमी कार्यको लागि आफू नासाको साख्ये नाति हुँ भनेर धक्कु लाउने यताका प्राविधिक पासाहरूको तर्फबाट सम्बन्धित मन्त्रीको मनखुश गर्न खास्साको कार्ययोजना आउन नसकेको भन्दै गोबर्नमेन्टले गोरामालिकलाई सोझै कार्यभार सुम्पिएर चुनाउखर्चको चाँजोपाँजो मिलायो ।

यता उसले चाँजोपाँजो मिलाउनुभन्दा अगि उहिलेदेखि गौँडा– गौँडामा गँजडीहरूको अखडा बनाएर साधुरामबाबाले आफैँले खेलाएको सर्कस हाउसहरूमा आगो लगाएर धुनी जगाउने प्रपन्च मिलाएको रहेछ । मदारीहरूले आफ्नै कृपाले चलाएका बाँदर नचाउने मुख्य अखडाहरूमा विध्वंश मच्चाएर जताततै खण्डहर र बबण्डरको बिस्कुन लगाउने मात्र हैन, एउटा मट्याङ्ग्रोले चराहरूको बथान मास्ने ट्रिक लगाएका रहेछन् ।

मदारीरूपी मालिकहरूको यो ट्रिकले भ्यागुताको भ्यासेक्टोमी गराउने गुरुयोजना त तुहियो नै उल्टै योजनाकार टीमकै भ्यासेक्टोमी हुन पुग्यो । धत्तेरिका… आफूले ताक्यो मुढो, बन्चरोले ताक्छ घुँडो ।

०००
सिनामङ्गल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
धन्य होस् भौमान् !

धन्य होस् भौमान् !

भोजराज रेग्मी ‘मुखाले’
जो आशलाग्दो उही जेठाजु

जो आशलाग्दो उही जेठाजु

भोजराज रेग्मी ‘मुखाले’
घाम बिग्रिएछ

घाम बिग्रिएछ

भोजराज रेग्मी ‘मुखाले’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x