दलवीरसिंह बराइली 'घायल'गणतन्त्र र हामी
अभागीहरू सयौँ ठक्कर खाइ रहन्छन् सरकार रेमिटेन्स भित्रिएकोमा मख्ख पर्छ । बिचरा, ती प्रवासीहरूसँग हाँस्ने, रुने कुनै अधिकार छैन किनकि हाम्रो देशमा गणतन्त्र आएको छ ।

दलवीर सिंह बराइली ‘घायल’ :
पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाए
उसलाई साम्राज्यवादी भन्यौँ ।
राणाहरूले देशको अस्तित्व बचाए,
उनीहरूलाई एकतन्त्री भन्यौँ ।
पञ्चहरूलाई तानाशाही भन्यौँ
र ल्यायौँ बहुदलवाद,
त्यो पनि फुस्स भयो ।
पटक पटक हामी,
सात साल,
पैंतालिस साल
बैसठ्ठी/त्रिसठ्ठी सालमा सडकमा आयौँ,
विद्रोहको बिगुल फुक्यौँ
दश वर्ष हतियार उठायौँ
हजारौंको बलिदान दियाँ
त्यसैले अहिले
हाम्रो देशमा गणतन्त्र आएको छ ।
आज गणतन्त्र पायौँ,
तर सँगै
बेरोजगार अभाव र महँगीको बम्पर उपहार परेको छ।
हत्यारालाई राजनीतिक आवरणले छोप्छौँ
हिंसा हुँदा मौनताले प्रोत्साहन दिन्छौँ
लुटपाट गर्नेलाई प्रशासनिक संरक्षण हुन्छ
अनि
भ्रष्टाचार गर्नु नेतादेखि कर्मचारीसम्मको
नैसर्गिक अधिकार जस्तो भएको छ ।
किनकि
हाम्रो देशमा गणतन्त्र आएको छ ।
पत्रकार देशको चौथो अङ्ग ?
वा हुन् पशुपतिको नाममा छोडिएको साँढे ?
मनपरी सिङ उधिन्दै हिँड्छन्,
को कति बेला सिकार बन्छन् ?
थाहा छैन ।
सत्यलाई छोप्नु
असत्यलाई उचाल्नु
मालिकको सेवा गर्नु
उनीहरूको कर्तव्य हो त ?
यस्तै हुन्छ चौथो अङ्गको जिम्मेवारी ?
उनीहरू विरुद्ध कसैले बोल्न, लेख्न, सक्दैन
किनकि
हाम्रो देशमा गणतन्त्र आएको छ ।
अदालतहरूमा हात्तीको प्रवेशपछि
न्याय निसाव उसैले गर्छ,
सरकारी कार्यालयहरू,
राष्ट्रिय र अन्तर्राष्ट्रिय गैससको आदेशमा खुल्छन्/बन्द हुन्छन्
विकास कछुवा गतिमा घिस्रि रहेछ
उत्साहविहीन र उद्देश्य विहीन ।
प्रशासन र देश प्रभुको इसारामा चल्छ,
सरकार मुकदर्शक भएर रमिता हेर्छ,
फेरि पनि
हामीले कुनै गुनासो गर्नु हुन्न /गरे पनि सुनिन्न ।
किनकि
हाम्रो देशमा गणतन्त्र आएको छ ।
विद्यालय र कलेजहरूले,
राजनीतिक प्रशिक्षण दिन्छन्,
बेरोजगार उत्पादन गर्छन्
र
सरकारलाई बोझ हुन्छ ।
हातमा पासपोर्ट थमाइ दिन्छ
आफ्नै पैसाले लिलामी दरमा बेचिन्छन् युवा
अनि पुग्छन्,
साउदीको भेडीगोठमा
कतारको निर्माण कार्यमा
दुबईको गगनचुम्बी महलका सिसा पुछ्न
मलेसियाको जङ्गलमा लामखुट्टेसँग सँगै रुन
कोरिया, जापान, इजरायल, युरोप, अमेरिका
खेतीमा होस् वा कलकारखाना
होटलमा वेटर होस् वा स्टेवार्ड,
पुग्न बाँकी कतै छैनन् ।
ती मध्ये,
भाग्यमानीहरू बाकसमा फर्किन्छन्
अभागीहरू सयौँ ठक्कर खाइ रहन्छन्
सरकार रेमिटेन्स भित्रिएकोमा मख्ख पर्छ ।
बिचरा,
ती प्रवासीहरूसँग हाँस्ने, रुने कुनै अधिकार छैन
किनकि
हाम्रो देशमा गणतन्त्र आएको छ ।
सोचौँ ।
के यही थियो त हाम्रो चाहना ?
यस्तै बेथिति नै हो त गणतन्त्र भनेको ?
हामीले गर्न सक्ने केही छैन त ?
हामी सामु प्रश्नै प्रश्न मात्र छन् ।
के कुनै समाधान छैनन् ?
पक्कै पनि छन्,
यी सबै बेथितिको समाधान
केवल हामीले मात्र गर्न सक्छौँ,
हामी जनता आफै जागरूक हुनु पर्छ ।
हरेक ठाउँमा खबरदारी गर्नु पर्छ,
राम्रो कामको थालनी आफैबाट सुरु गर्नु पर्छ,
आत्मनिर्भर बन्नु पर्छ ।
मुख्य कुरा स्वशासित (आफूले आफैलाई शासन गर्नु) हुनु पर्छ ।
आउनुहोस् ! हामी सबै मिलेर देशका बारेमा सोचौँ,
विकासका बारेमा सोचौँ
शान्तिका बारेमा सोचौँ
हामी सबैको समान अधिकार छ,
किनकि हाम्रो देशमा गणतन्त्र आएको छ ।
०००
नेपाली डायस्पाेराका कविता (२०७२)
Subscribe
Login
0 Comments
Oldest







































