साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छुचो हुँदै छु

हजुरलाई पनि छुचो, छुद्र र उपद्रोको तालिम लिनु छ भने शिघ्रातिशिघ्र सम्पर्कमा आउनुस् है । मौका आउँछ पर्खिदैन, बगेको खोला फर्किँदैन ।

Nepal Telecom ad

शेषराज भट्टराई :

साहित्यमा नवरस भए जस्तै प्राणीमा निहित छुद्रपन पनि एक किसिमको रस हो । कोही छुचो, कोही मिजासिला, कोही हँसिला, कोही अँध्यारघोप्टे, कोही रुन्चे, कोही फूर्तिला, कोही ढिला, कोही चन्चले, कोही शान्त, कोही छुद्र, कोही भद्र भलादमी, कोही डाँका, कोही फटाहा, कोही नारद हुन्छन् त कोही चाहिँ दुर्बासा । त्यस्तै कोही जोगी हुन्छन् त कोही भोगी, कोही रोगी । कोही अगस्ती ऋषि जस्ता हुन्छन् त कोही लोमस ऋषि जस्ता मसानघाटमा तपस्या गर्ने । विभिन्न रस र स्वभावले व्याष्ठित व्यक्तित्वमध्ये यहाँ चाहिँ छुद्र छुचो स्वभावलाई लिएर गन्थन गर्दैछु ।

यस जगतमा फगत छुचो हुन पनि सहज छैन । विवेक खुर्सानी जस्तो पिरो, पोल्ने टट््याउने छ भने मात्रै छुचोमा दरिन वा परिन सकिन्छ । छुचोको स्वभाव पिरो छ भने छुचोमा हिरो भयो भनेर जाने हुन्छ । अर्कालाई देखिनसहने र अर्काको कुरालाई भुइमा खस्नै नदिने बस्नै नदिने अचडु छुद्रलाई छुचोमा दर्ज गर्न सकिन्छ । मानौँ उहिलेका सासू नन्द अमाजू छुचो छुद्र बनेर नै प्रसिद्धि कमाएका थिए । रमाएका थिए र घर व्यवहार जमाएका थिए । त्यस्तै अहिलेका बुहारीहरुको व्यवहारले छुचो र छुद्रमा विश्व रेकर्ड राख्न उद्यत छन् । राजनीतिक क्षेत्रमा तानाशाह भनेपछि छुचोमा विश्व प्रसिद्ध नै मानिन्छ । धार्मिक अतिवादीहरु नामुद छुचो छुद्र कहलिन रुद्रघण्टी हल्लाउँदै लागि परेका परेकै छन् । अर्काको धर्म कर्म र आस्थामा बज्र प्रहार गर्नु नै प्रमुख पौरख ठान्छन् । आफूलाई उँचो र अरूलाई नीचो ठान्छन् । यसलाई भनिन्छ “विनासकाले विपरीत बुद्धि” ।

सौता सौताको लुछाचुडी र दोजिया भुँडी भएका कारणले सौताका रिसले पोइका काखमा तुर्क्याउन सक्नु पनि प्रशंसनीय छुचोमा दरिनु हो । त्यसैले छुचो सग्लो होस या बुच्चो अग्लो होस् या होचो सबैमा हुने अन्तरनिहित स्वभाव हो । यो कसैको कृपादृष्टि, दयामाया वा जबर्जस्ती आदान प्रदान हुने कुरा होइन । यो त प्राणीमा हुने अन्तरनिहित आचरण वा स्वभाव हो । त्यसैले छुचो वा छुद्रपनलाई प्रकृतिप्रदत्त स्वभाव वा गुण मानिन्छ मात्रै होइन भनिन्छ पनि ।

जन्मजात स्वभावले म कहिल्यै छुचो बन्न सकिनँ । मेरो डिएनएमा नै सँधै सोझो तत्त्व सल्बलाई रहेको हुन्छ । मेरा सन्तान दर सन्तानले समेत मलाई सोझो बुढो भन्दै काने खुसी गरेको कैयौँ पटक देखेको छु । लवाइ खुवाइमा खासै चासो नदिने राम्रो चरिच्याट्ट परेर नहिँड्ने, लप्पनछप्पन पटक्कै नजान्ने, ननाच्ने अनि घरको राफसाफ, लुगा, जुठा भाडाकुँडा माझ्‌ने, कोहीसँग पनि नबाज्ने, माकुराको घर बाहेक अरू कसैको पनि घर नभत्काउने, भात फत्काउने, गारो काम सारो नमानी गर्ने, आदि नहुने काम मबाटै हुने भएकाले नै म काले सोझोमा भाले भएको हुँ ।

एक्काइसौँ शताब्दीमा छुचो बन्न छुचो हुन र छुद्र तुलिन जान्नै पर्ने रहेछ । छुचो नबन्नु भनेको एक किसिमले जो होचो उसको मुखमा घोचो रहेछ । सोझोले सबैको घोचोको मार सहनु पर्ने । त्यसैले घर, समाज, देश र एकत्रित परिवारमै अत्यधिक मार, कामको भार, हप्कीदप्की, खप्की, लाठी, मुङ्ग्री, सबै सहेर पनि ज्यानले सुख नपाउँदो रहेछ अनि तिनीहरुको खुसीका खातिर पनि अन्त्यमा सोझोले ङिच्च दुई पैसे दाँत देखाउनै पर्ने कस्तो विडम्बना । गदाहालाई जित्ने गरी थिचोमिचो सहनु नै सोझो पनको शिखर रहेछ । यस्ता शिखर त मैले कैयौँ पटक चढिसकेँ ।

त्यसैले त जो होचो उसको मुखमा घोचो भन्ने लोकोक्तिलाई परिमार्जित गरेर जो सोझो उसको मुखमा घोचो भन्न मन लागिरहेको छ । म स्वयम् सोझो हजार हण्डरको भुक्तभोगी हुनाको कारणले सोझोको स्वाद मलाई जति अरूलाई थाहा किन हुन्थ्यो र । आफ्‌नो सोझोपनले कुटुकुटु आफैलाई खाँदो रहेछ । आफ्‌नो सोझोपनले आफैलाई भँड्खालोमा लाँदो रहेछ । सोझोपन आफ्‌नै भाग्यमा कुँदिएर आउने पुर्पुरो या चाँदो रहेछ । आफ्‌नो साझोपनले आफ्‌नै मनमुटु सधैँ कुटुकुटु खाँदो रहेछ । सोझोको स्वभाव वंशानुगत नै जाँदो रहेछ । सोझो साँच्चै मरुभूमि र बाँझो रहेछ ।

सोझो छुचोको विपरीतार्थक शब्द हो । छुद्र सर्पसँग सबै टाढा हुन्छन् तर सोझालाई साना ठूला, नयाँ पुराना, बाल बृद्ध सबैले घोच्ने, घचेट्ने, लखेट्ने, खेद्ने र उस्तै परे सोझालाई मुक्याएर पनि आनन्द मान्दा रहेछन् । होची बुढीलाई उठी सुख न बसी सुख यही मामलामा सार्थक भए झै लाग्छ । मेरी आमाले मेरै धर्मपत्नीसँग मिठो मसिनु, चिल्लो चाप्लो, मीठो, फ्याप्लो ज्यूनारान गर्न पाउँदा र चोचोमोचो मिलेका घडीमा मेरै कुरा काटेर भन्ने गर्नुहुन्थ्यो “यो सारै सोझो छ । यसका कुनै औँला पनि बाङ्गा छैनन् । खासमा घिउ निकाल्ने नै बाङ्गा औँलाले हो । यसले आफ्‌ना भातको माड निकालेर खान पनि जान्दैन ।” आदि अनेक सब्ल्याटा बिब्ल्याटा र सोझो प्राणीको बुहार्तन खप्न, खेप्न, देख्न, सुन्न र भोग्न नसकेर अब उनकै अर्थात् अर्धाङ्गिनीको प्रत्यक्ष रेखदेख निगरानी र अगुवाइमा म निकट भविष्यमै दुनियाँ छक्क पर्ने गरी खाँटी छुचो तुलिँदै छु अर्थात् छुचो बन्ने तालिममा समाहित हुँदै छु ।

छुचो हुने पूर्व प्राथमिक ज्ञानका लागि कसैले घर कता पर्‍यो ? भनेर केरकार हेरहार गरेछन् भने मेरो घर बाटो मुनि परोस् या बाटो माथि परोस् जहाँ सुकै परोस् तपाईंलाई के मतलब भन्नुपर्ने रहेछ । कसैले यता आउनुस् भनेदेखि आउदिन भन्न पनि जाने । यो काम गर्नुस् भन्छन् भने गर्दै गर्दिन भन्न पनि सिकेँ । कसैले केही खाने ? भन्छन् भने खान्न भन्न पनि जानेँ । कसैले केही लैजानुस् भन्छन् भने लान्न भन्न पनि सिपालु भएँ । जेहोस् छुचो हुनलाई कसैले रामराम भन्दैछन् भने आफूले रावण रावण भन्नु पनि एउटा अनुकरणीय कला रहेछ । त्यसैले छुचो हुनलाई आववश्यक पर्यायवाची शब्द भण्डारको थोक कारोबारी बन्न सकेमा हलो अड्काएर गोरुलाई चुट्न कुट्न पाइँदो रहेछ । अन्यथा छुचो कहलिन कहाँ सजिलो छ र ? कठिन छ है कठिन ।

यस्तै यस्ता छुचो हुने आंशिक कला सिकाएर मेरी उनीले मेरो जुनी सुधार्ने कष्ट गरिन र प्राक्टिकलका लागि एक कल फोन माइत गरिन् र मेरै ससुराली घर पठाउने निधो गरिन् । दौरा, सुरुवाल, गलबन्दी, पटुका, फेटा, घडी आफ्‌नै थियो । टोपी चाहिँ साथीसँग भरे जसरी पनि ल्याइदिन्छु भनेर मरिहत्ते गरेर मागेर आफ्‌नै भन्नु है भन्दै ढल्के पारेर लगाइ दिइन् । म पुग्दा ससुरालीमा लाख बत्ती बाल्ने ताउरमाउर चल्दै रहेछ ।

छुचो बन्ने आंशिक अभ्यास र हाउभाउका साथ यज्ञ स्थलमा भूतपूर्व दुलाहा जस्तै गरेर उभिएँ । तर त्यहाँका आफन्तले अभूतपूर्व झै गरेर मेरो धन गर्धन शिर्जन्त हेरे । अनि ससुरा बुवाबाट स्नेहपूर्वक पुछनी भयो हजुरको खाना भयो ? भाको छैन भने । छोरी सन्चै छ भने मैले छैन भने । के भयो ? भने मैले केही भाको छैन भने । अनि बाबुको टोपी त सारै राम्रो रहेछ कहाँ किनेको ? भने मैले किनेको होइन साथीसँग भरे ल्याइदिन्छु भनेर मागेको भनेँ । अनि बाबु बस्नुस् भने मैले बस्दिन भने । लाख बत्ती बालौँ भने मैले बाल्दिन भनेर बाली राखेको लाखबत्ती पनि निभाइदिएँ । अनि त सबै जना मिलेर मलाई नै झण्डै निभाएनन् । रिसका बेलामा बाहुनले पनि वेद पढ्दैन भन्थे नभन्दै पण्डितबाजेले घण्टीका भेट्नामा समातेर मेरै भेट्नामा बजारे । ससुराली खलकले पनि ज्वाइँको रिस फेर्दै टुप्पीमा समातेर च्वाइँ घ्वाइँ पारे । झण्डैले मारे ।

बिहानदेखिको भोको ज्यान । एकोहोरो छुचो कसरी बन्ने भन्ने थियो मेरो मन । केही नखाइ टन्न कुटाइ खाएर शरीर भरी सिंगासिंगै पैतालाको छाप लिएर घर आएँ । श्रीमतीले छुचो र उपद्रो छुट्टाछुट्टै हुन भनेर सिकाइनन् । छुचो हुन्छु भन्दा उपद्रो पो गरेछु, होस् खुल्दा पो थाहा भयो झण्डै मरेछु । यसरी मौकामा चौका हान्न नजान्दा नदुखेको टाउको आफैले डोरी लगाएर टनटन कसेर दुखाएँ । छुच्याइँको प्राक्टिकलमा म कति पास भए कि फेल तर गोद्नु गोदेर निकाली हाले तेल । जेहोस् त्यो दिन मेरो भान्सा चाहिँ घरको न घाटको भयो । बिना कारणले अर्थको व्रत बसियो ।

त्यसैले बाँसलाई बङ्ग्याएर बेत किन हुन्थ्यो र । छुचो कसैले बनाएर बन्ने कुरा होइन रहेछ । यो त गर्भैबाट नसानसा र रगतका कणकणमा स्वतः सल्बलाउनु पर्ने रहेछ । देखावटी छुचोपन त बालुवामा पानी लिक भए झै कतै न कतै चुहिहाल्दो रहेछ । तै पनि धावन्ती खेती घोकन्ती विद्या भनेझैँ अहिले म आफ्‌नै भार्याद्वारा सञ्चालित छुचो, उपद्रो र छुद्रपन छुट्याउन उत्पात जाँगरका साथ कोचिन क्लास लिइरहेको छु । हजुरलाई पनि छुचो, छुद्र र उपद्रोको तालिम लिनु छ भने शिघ्रातिशिघ्र सम्पर्कमा आउनुस् है । मौका आउँछ पर्खिदैन, बगेको खोला फर्किँदैन ।

०००
शिवशक्ति मार्ग, फूलबारी–११, पोखरा, कास्की
फोन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x