डिल्लीराज अर्यालबिन्ती, बक्सियोस् आज झोली
कुनै सरकारी कार्यालयमा जानुपर्दा जुनसुकै दिन, महिना भए पनि भानुको बिन्ती पहिल्यै सम्झेर जानुपर्ने होला कि ! भन्दै सडकमा निस्कें र बस समातेर आनन्दले घरतिर लागें ।

डिल्लीराज अर्याल :
आखिर प्रतीक्षाको घडी पनि सिद्धियो ! लामो समयदेखि थाती रहेको एउटा कामको टुङ्गो लाग्यो। पाइयो सानो कुरा, बन्यो सानो काम, तैपनि खुशी हुनुपर्ने । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धेरै दिन पुगें । कहिले के मिल्दैन कहिले के पुग्दैन ।: काम छ भनेर घरबाट हिड्ने र भोलि आउनुस् भनेको सुनेर फर्कने क्रम । धेरै दिनको दौडधुप पछि भए पनि खोजेको हस्ताक्षर पाउनु भनेको सानो जित होइन ।
शुक्रबार पनि बेलैमा पुगेको थिएँ । “अनुगमनमा गएकाले भेट हुन सकेन ।” त्यही खबर सुनेर फर्किएँ । सोमबार ९ बजेको वचनसम्म पाएँ तैपनि काम नहुँदासम्म विश्वासै नहुने । मेरा बा भन्नुहुन्थ्यो- “ढाँटको निम्तो खाई पत्याउँदो ।” पुग्यो, पर्ख्यो, आश गरेर घरि यता घरि उता बेन्च बदल्दै बस्दै गर्योआ । चार पाँच दिन यस्तैमा बित्यो । कर्मचारीहरूको व्यवहारमा जति परिवर्तन हुनुपर्ने त्यति नभए पनि अलिकति त भएको देखें, त्यस्तो अनुभूति गरें यसपटक । काम हुनु नहुनु, छिटो, ढिलो हुनु आफ्नो ठाउँमा छ । तिनका आफ्नै कारण हुन सक्छन्, हुन्छन् ।
कतिबेला आउने होला भनेर कुर्नुको तनाव कस्तो हुन्छ ? मलाई थाहा छ । त्यो, म राम्ररी बुझ्छु । अझ अरू सबै काम भएर हस्ताक्षरका लागि मात्र कुर्नु पर्दा मुटु कति चस्कन्छ ? कति धड्किन्छ ? पटक पटकको अनुभव छ । एकथर कर्मचारी अरू क्षेत्रका मान्छेलाई मान्छे गन्न पनि हिच्किचाउने गरेको पनि अनुभव गरेको छु मैले र भनेको, लेखेको पनि छु । तैपनि बेलामौकामा भोग्नैपर्छ, देख्नैपर्छ । शाखाबाट काम भएर पनि कुर्नैपर्छ।
आज २९ गते, भानुजयन्ती मनाउने कार्यक्रमका लागि भानुमावि रानीपोखरी पुग्नु थियो । ७.३० बजेको समय दिइएको थियो । बेलैमा पुगें । भानुजयन्तीको प्रारम्भिक कार्यक्रम शुरु भयो । नेपाली भाषा परिषद् अध्यक्ष रमा शर्मा, कवि रमेश खकुरेल, भवानी खतिवडा, ….सूर्यप्रसाद डुम्रे लगायतको उपस्थिति भएकै थियो । केहीबेरपछि कार्यक्रमका अतिथि परराष्ट्र मन्त्री शिशिर खनालको आगमन भयो । त्यसरी नै डा. तुलसी भट्टराई, रमेश शुभेच्छु, मधुसूदन लामिछाने, भुवनहरि सिग्देल लगायतका स्रष्टाहरूको उपस्थिति भइरह्यो ।
भानुको शालिकमा माल्यार्पण, संस्था, कार्यक्रम र दिवसको विषयमा छोटो भनाइ, भानु माविका विद्यार्थीहरूबाट रामायणको केही अंश वाचन, प्रमुख अतिथि मन्त्री खनालको मिठो मन्तव्य त्यसपछि अध्यक्ष रमा शर्माको भनाइ सबै एकदम संक्षिप्त जस्तै गरी भयो ।
उता बग्गीमा भानुको शालिकसहित परिक्रमा चलिरह्यो । म अरू कार्यक्रमतिर लागिनँ । मलाई बेलैमा जिल्ला प्रशासन कार्यालय पुग्नु थियो । पठाओ हेरें, मेसो मिलेन । बेलामा नपुगिएला भन्ने डर मनमा थियो । त्यसैले सरासर हिड्ने सुर गरें । रत्नपार्क, पुतलीसडक, सिंहदरबार हुँदै लागें बबरमहलतिर ।
“सोमवार, ९ बजे ! बेलामै आउनुभयो भने काम सकिन्छ । १५\२० भन्दा बढी समय लाग्दैन”- शुक्रवारको यो भनाइ मनमा खेलिरहेको थियो । म हिड्दा हिड्दै वाक्क भइसकेको थिएँ । आज जसरी पनि काम सक्नु थियो । कार्यालय खुल्दा-नखुल्दै त्यहाँ पुगें र शाखा बाहिर पुगेर प्रतीक्षामा बसें ।
कोठा नं. ३०८ खुला थियो जहाँ मेरो पहिलो चरणको काम हुनुपर्ने थियो । भित्र एक जना महिला कर्मचारी मात्र थिइन् । अरू पनि क्रमशः आउन थाले ।
म भने घरि भित्र घरि बाहिर गर्न थालें । केही बेर बसें पनि । बस्दाबस्दै भर्खरै मनाएको भानु जयन्तीको सम्झना भयो । उनको त्यहाँ वाचन भएका रामायणका कविताको सम्झनासितै “बक्सियोस् आज झोलि” को सम्झना भयो । शायद कार्यालयको काम र भानु जयन्तीको संयोजन भएको होला । रमाइलो लाग्यो, अलिकति नरमाइलो पनि । उनका पालाको अवस्था सम्झें । आजको मेरो \ हाम्रो अवस्था सम्झें । त्यो पङ्क्ति मात्र होइन, सिङ्गै श्लोकको सम्झना भयो । भानुभक्तले २०० वर्ष अघि लेखेको त्यो कविता कति मार्मिक छ ? कति जीवन्त छ ? भन्ने लाग्यो । सुस्त सुस्त गुन्गुनाएँ ! दुई शताब्दी अघिको त्यो गुनासो आज पनि त्यत्तिकै सान्दर्भिक छ । परिस्थित उस्तै उस्तै छ । हामी उस्तै उस्तै छौं । हाम्रो सरकारी मेशिनरी पनि उस्तै । ठ्याक्कै त्यस्ता ठाउँमा, त्यस्तो अवस्थामा पुग्दा त्यसको सम्झना त्यसै हुने गरेको होला र?
फाँटका कर्मचारीको उपस्थिति भएपछि पहिलो पालोमै काम शुरु भयो र सकियो पनि । कामै पो कति थियो र ? हेरिराखेको कागत, काम र त्यसको उद्देश्य सबै बुझिसकेको कुरो । त्यहाँबाट उम्कें तर फेरि ३०६को पालो । कोठा बन्द जस्तै थियो । मान्छे शून्य । हस्ताक्षर गर्नुपर्ने त्यहीं रहेछ, त्यो काम बाँकी रह्यो । हात्ती छिर्योन पुच्छर अड्क्यो । काम सकियो, काम सकिएन । फेरि हस्ताक्षरका लागि कुर्ने पालो । भानु जयन्तीकै दिन भएकाले होला त्यसरी कुर्नुपर्दा झन् सम्झना भयो उनको र फेरि पूरै श्लोक गुन्गुनाएँ ।
“बिन्ती डिठ्ठा विचारीसित कति म गरूँ बस्तछन् क्यै नबोली
बोल्छन् ता ख्याल् गर्याी झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि ।
की ता सक्तीन भन्नू कि बरु छिनिदिनू क्यान भन्छन् इ भोलि
भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोलि ।।”
अब त्यो फाइलको बोझ उतार्नु थियो । हस्ताक्षर गराउनु थियो । उनीहरूले विकल्पमा २०१ नं. कोठा पनि बताएका थिए । त्यसैले दुवैतिर नजर राख्नु थियो मैले । जताबाट भए पनि काम सक्नु थियो । ३०६ र ८ माथि २०१नं.कोठा तल । दुवैतिर हेर्न तल र माथि गरिरहें । १ घण्टा भन्दा तलमाथि गरिएछ । केही समय कुरेर बसिएछ । चार छ ओटा श्लोक सम्झेर गुनगुनाइयो । न चिया खाजा, न खाना । त्यतारिर लाग्यो यता छुट्ला र फेरि भोलि होला भन्ने डर, नलागूँ पेटमा मुसा दगुर्न थाले ।
बसें, हिडें । तल झरें माथि चढें । सजाय भोगे जस्तै । किशोरावस्थातिर शिक्षकहरूले उठबस गराएको सम्झें ।
तल झरेर चियासम्म भए पनि लिऊँ कि भन्ने पनि भयो तर डर ! कतै उम्किहाल्यो भने फेरि अर्को दिन आउनुपर्ने डर ! लामखुट्टे लागेको पो हो कि भन्ने आशङ्का भयो बस्दा । भानुभक्त छँदै थिए सम्झनामा । दिन उनकै थियो । छातीमा अघिको कार्यक्रमको ब्याच जस्ताको त्यस्तै थियो । फेरि पनि गुन्गुनाएँ-
“रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू
रात्भर नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु ।
लाम्खुट्टे उपियाँ उडुस् इ सँगि छन् यिन्कै लहड्मा म छु
लाम्खुट्टेहरु गाउँछन् र उपियाँ नाच्छन् म हेर्छू बसी ।”
मनले तत्कालै भूपि सम्झ्यो र भानुसँग जोड्यो । ” मान्छेलाई यहाँ रात रातभर उपियाँले टोक्छन् र दिन दिनभर रुपियाँले टोक्छन् ।” धन्न हिजो अस्ति जस्तै रुपियाँले त्यत्ति टोकेन । अलिअलि त … । अलिअलिको हिसाब गरेर साध्य छ र !
साँच्चै त्यो हस्ताक्षरले १ घण्टा कुरायो । मन त्यसै खलबलियो । पेटले निहुँ खोज्दै थियो । म घरि तल, घरि माथि गर्दै थिएँ । घरि यताको बेञ्चमा, घरि उताकोमा गर्दै रहें । त्यहाँ बस्दाबस्दै एउटा सोच आयो- कतै आज पनि काम नसिद्धिने त होइन ? भेट नहुने त होइन ? सम्झँदै फेरि तल भुइँतलातिरै झरें ।
मूलढोका बाहिर पुगेको थिएँ गार्ड सहित ४\५ जना भित्रिंदै गरेको देखें । अलिकति आश जाग्यो । उनीहरूसँगै भित्रतिर लागें । माथि पुगेर उनीहरू कोठामा पसे । म बाहिरै उभिएर हेरिरहेँ । विचार पनि गर्दै थिएँ । ढोकामै उभिएका गार्डले सोधे के होला ? मैले भने सहायक सरसँग एउटा हस्ताक्षर मात्र गराउनुपर्ने थियो ।
उनले सङ्केत गरे । म अर्को कोठामा पसें । काम सकियो । आफैलाई धन्यवाद दिंदै फर्कें ।
अर्को पटक कुनै सरकारी कार्यालयमा जानुपर्दा जुनसुकै दिन, महिना भए पनि भानुको बिन्ती पहिल्यै सम्झेर जानुपर्ने होला कि ! भन्दै सडकमा निस्कें र बस समातेर आनन्दले घरतिर लागें । यसपटकको भानुजयन्तीको यो रमाइलो सधै सधै सम्झनामा रहला कि !
०००
पाल्पा, हाल काठमाडौं -३२ !
Subscribe
Login
0 Comments
Oldest







































