देवीप्रसाद घिमिरेरुख महात्म्य
यसरी जताततै जन समर्थन पाएको भ्रष्टाचार विरोधी अभियानमा तपाईं किन कुर्लनुहुन्छ ? सावधान काकाहरू ! यो बेला धार्नीको जिब्रो चलाउनुको सट्टा बिसौलीको मुन्टो हल्लाएरै जितिएला है !

देवीप्रसाद घिमिरे :
‘जङ्गल भए मङ्गल हुन्छ रुख भए सुख’ भन्दै माटोपानी जोगाऔं, हरियाली बढाऔं भन्ने नारालाई सार्थक पार्नसमेत विदेशीले गाँस काटेर अनुदान दिनुपर्ने मेरो देशमा आज रुखमा धमिरो लाग्न आँटेको छ। मेरा बहादुर काकाहरू आज सारा गाडेको रुख उखेलेर वानेश्वरतिर दौडदै गरेको देखेपछि मेरा काकाप्रसादहरू लाटयले पापा हेरे झै टुलुटुलु हेरिरहेका छन्। भोलि लाल्टिन र बाल्टिन बोकेर जनता ब्युझाउँदै ढोका ढक्ढक्याउन जानुपर्ने अवस्था नजिकै आएको बेला प्यारा रुखहरू जो समय समयमा शीतल छहारी दिन्थे, आज तिनै रुखका हाँगा भाँचेर फ्याँक्न व्यस्त छन् काकाहरू ।
उनीहरूलाई हरियाली प्यारो लाग्दैन रे त्यसैले विचारको बाढीले रुखको छहारी भत्काएको छ। वातावरण त्यसै त्यसै लथालिङ्ग बनेको छ। हिजोका काकाहरूले मित्रराष्ट्रको रेलको सिल्पर बनाउन रुख सखाप पारे। उजाड भएको जङ्गलभित्र उजाड मनहरू छताछुल्ल भएका विश्वासभित्र लथालिङ्ग स्वार्थ बोकेर कुर्सीको होडबाजीमा रुख जरा उखेल्न व्यस्त छन् ।
कतै पहिरो बनेर रुखको सर्वनाश हुँदै छ। कतै स्वार्थको डढेलोभित्र दनदनी बलेर खरानी हुँदै छ। आज सत्तामोहमा चुर्लुम्म डुबेका काकाहरू तत्काल चोक्य खाने बहानामा झोलमा डुबेर मर्न लागेको देखेपछि आज जोकोहीलाई मूक दर्शक बनेर हेर्न बाध्य बनाइएको छ। समयको झोक्कासँगै स्वार्थलाई लक्का जवान भएर पौठेजोरी खेल्दै हिँडेका काकाहरूलाई के थाहा भोलिको अवस्थाका बारेमा ? अब त बढ्दो सत्ताको चाखसँगै देश विकासको सट्टा कहिले बालुवाटार कहिले वानेश्वर त कहिले टेकु चहार्न व्यस्त छ।
बिचरा रुख ! के गरोस्, आज उसका जरा काटिएका छन्, पात झारिएका छन्, हाँगा लुछिएका छन् र पनि केवल अस्थिपञ्जर मात्र लिएर जिङ्ग्रिङ्ग ठडिएका छन्। रुख बिचरा ! आज उसका जरामा पानी होइन, स्वार्थको तेजाब खन्याइरहेछन् काकाहरू । सत्र सालको कठाङ्ग्रिने जाडोमा कुजिएको रुख बल्लबल्ल छ्यालिसको वसन्तपछि पाउलिएर मौलाएको थियो। अब त लटरम्म पाकेका फल खाएर जनताको दुःख हटाउला कि भन्ने आस गर्दागर्दै एकाउन्नको बाढी आयो, छत्तिसे काकाहरू जुर्मुराए, रुखका हाँगा छिमल्न थाले । फलतः रुखका पात सूर्यको तेजिलो रापले सुकाउन थाल्यो । त्यसै बेला काका बहादुरहरूलाई पाखा लाउन काकाप्रसादहरू बलराम झै हलो बोकेर रुखको रक्षा गर्नतिर लागे ।
फेरि अर्का थरी सूर्यको सहारा लिन पुगे । यसरी स्वार्थको जालोमा कहिले चेपमा, कहिले सेपमा परेको रुख अब ता नयाँ पाउलोसँगै आनन्दमा जनताको आँगनमा सिर्जनाको लहर लिएर आउला भनेको त स्वार्थको जालोमा आफ्नो खुइलिएको तालु छोपेर न्यायको ढोकामा समय पर्खिरहेको बिचरा रुख अब हाम्रा बञ्चरे काकाहरूले त्रासले बिदेसिएला कि भन्ने डरले आज मेरो इतिहास चिन्तित बन्न थालेको छ। अब आफ्नै घरमा आगो लगाएर खरानीको टीका लगाउँदै अलख जगाएर हिँड्नु नपरोस् हाम्रा काकाहरूलाई ।
गोरु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ भन्ने उखान झैँ त भएको होइन । बुढ्यौलीपन त अथाह अनुभवको सागर हो तर खै मेरा काकाहरू बुद्धको देशमा जन्मिएर पनि किन बुद्ध बन्दै छैनन् ? हुन त सत्र सालमा मुलाको साग निमोठिए झै निमोठिंदा पनि नपलाएको बुद्धि अब के पलाउला र ! चिरा चिरा भएको छिमेकीको घर देखेर पनि अझै कौरवको सुऱ्याइँ देखाउन खोज्नु भनेको आफैंसँग हार्नु हो । आफ्नो नादानीपनको परिचय दिनु हो।
हैन ए काका हो ! सभामा द्रौपदीको चीरहरण भएको टुलुटुलु हेरेर बसेका युधिष्ठिर जस्तो मूक दर्शक नबन । रुखभित्र झाँगिएको सुख अरू रुखै मासेपछि कहाँ पाइन्छ ? मादल ठटाउँदैमा वा बाल्टिन बोक्दैमा लाल्टिनको प्रकाशले उज्यालो दिँदैन । समय अझै बाँकी छ । अब टारीहरूमा, बारीहरूमा, लेकहरूमा, बँसीहरूमा, जताततै रुख रोपौँ, रुखको शीतल छहारीविना सुख प्राप्ति पूर्ण असम्भव छ।
खै ! मेरा कानले के के पो सुन्दै छु । भ्रष्टाचारीको सातो बुकाउनेलाई नै हाम्रा काकाप्रसादले सातो बुकाउन थाल्नुभएछ । उहाँले कतै आफ्नै अनुहार पर्दामा देखिएला कि भनेर अँध्यारोमा झटारो पो हान्नुभएको हो कि ? फेरि अर्का मेरा दारीकाका कुलदै हुनुहुन्थ्यो- हामी भ्रष्टाचारीलाई टिकटै दिँदैनौँ। साथ लिएर जाने त कुरै भएन। दर्शक दीर्घाबाट जनता गलल हाँसे । उहाँले बुझेर कि नबुझेर दारीभित्र मुस्काएका दाँत ङिच्च देखाउँदै धन्यवाद भन्नुभयो । हिजो सुनका बिस्कुट खानेको बुई चढेर आफूसमेत मालामाल बनेका आदरणीय काका ! तपाईंले इतिहास पढेकै छैन कि पढेर पनि नबुझ्नुभएको हो मैले त बुझ्न पो सकिनँ हौ ? ए काका ! छातीमा हात राखेर भन्न सक्नुहुन्छ, तपाईं र तपाईंका मतियार चोखा छन् भनेर ? नत्र भने नैतिकता बेचेर कमाएको अकूत सम्पत्तिको खोजी गर्दा तपाईंको के टाउको दुख्यो हँ ?
यसरी जताततै जन समर्थन पाएको भ्रष्टाचार विरोधी अभियानमा तपाईं किन कुर्लनुहुन्छ ? कतै रुख त जाने नै भयो सुनका बिस्कुट खाने सुख पनि हज होला कि भन्ने डरले कुर्लनुभएको त हैन ? सावधान काकाहरू ! यो बेला धार्नीको जिब्रो चलाउनुको सट्टा बिसौलीको मुन्टो हल्लाएरै जितिएला है ! भन्या छु बेलेमा एउटा शुभ चिन्तक भएकाले ।
टिकटै दिँदैनौँ। साथ लिएर जाने त कुरै भएन। दर्शक दीर्घाबाट जनता गलल हाँसे । उहाँले बुझेर कि नबुझेर दारीभित्र मुस्काएका दाँत ङिच्च देखाउँदै धन्यवाद भन्नुभयो । हिजो सुनका बिस्कुट खानेको बुई चढेर आफूसमेत मालामाल बनेका आदरणीय काका ! तपाईंले इतिहास पढेकै छैन कि पढेर पनि नबुझ्नुभएको हो मैले त बुझ्न पो सकिनँ हौ ? ए काका ! छातीमा हात राखेर भन्न सक्नुहुन्छ, तपाईं र तपाईंका मतियार चोखा छन् भनेर ? नत्र भने नैतिकता बेचेर कमाएको अकूत सम्पत्तिको खोजी गर्दा तपाईंको के टाउको दुख्यो हँ ?
यसरी जताततै जन समर्थन पाएको भ्रष्टाचार विरोधी अभियानमा तपाईं किन कुर्लनुहुन्छ ? कतै रुख त जाने नै भयो सुनका बिस्कुट खाने सुख पनि हज होला कि भन्ने डरले कुर्लनुभएको त हैन ? सावधान काकाहरू ! यो बेला धार्नीको जिब्रो चलाउनुको सट्टा बिसौलीको मुन्टो हल्लाएरै जितिएला है ! भन्या छु बेलेमा एउटा शुभ चिन्तक भएकाले ।
०००
थप्पड (२०७३)
Subscribe
Login
0 Comments
Oldest






































