साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो साँढेले गोब्र्याउँदैन

यस्तै छ यहाँ विधान छ विधि छैन नेता छन् नीति छैन मानिस जस्तै जस्तै प्रतिमूर्तिहरू त छन् तर गिदी छैन। विचार विमर्श विवेक र विचार झोलामा बोकेर हिँडिरहन्छन्। यत्र तत्र नहिँडून पनि कसरी ? चुनावमा मासुभात खाएको पैसा अहिलेसम्म तिरेको छैन।

Nepal Telecom ad
देवीप्रसाद घिमिरे :
विश्वकै कलात्मक साँस्कृतिक सहर काठमाण्डौमा यत्र तत्र सर्वत्र साँढेको रजाइँ चलेको छ। साँढे निर्लज्ज शालिग्राम प्रदर्शन गर्दै जुनसुकै पसलमा जान्छ। मन लाग्दो गर्छ भनेको टेर्दैन। कसैलाइ गन्दैन अनि भन्छ मेरो कलात्मक साँस्कृतिक सहर देशविदेशबाट पर्यटक आउँछन्। तर साँडेको सहरमा न त शौचालय छ । न त स्वभाव नै छ।विचरा त्यसलाइ के थाहा र अघाउँजी खाएपछि गोब्र्याउनु पर्छ भनेर तपाइँ जोरपाटीदेखि खरिपाटीसम्म जानुस् या थानकोटदेखि नगरकोटसम्म घुम्नुहोस् सार्वजनिक सौचालय कतै देख्नु भएको छ ? जोरपाटीदेखि भैंसेपाटी माइतिघरदेखि गठ्ठाघर जहाँ जता जानोस् गाडीमा गोबर निस्किने गरी यात्रु कोचिन्छ, केहि बोल्यो भने गाडीबाट मुन्ट्याउँदै ओराल्ने धम्की दिइन्छ। भानुभक्तकै पालादेखिको हो यो समस्या । अहिलेसम्म कुनै साँढेले समाधान गर्न चासो दिएका छैनन्। पथ सात फुटे बस नौ गजको सिट विस भए भीड सौ तकको भनेझैं आज भोलि आइमाइ केटाकेटी बुढा बुढीहरूले स्थानीय यातायात प्रयोग गर्नु भनेको यमपुरीको यात्रा गर्नु जस्तै हो। खलासीले प्रत्येक सेकेण्ड अलिक पर सरौं, अलिक पर सरौं, भन्ने वहानामा महिलाका छुने नछुने अङ्ग अघि नै छाम्दै ठेलिरहन्छ। विचरा वाध्यतामा झोक्राएर उनीहरू निरिह बनिरहन्छन्। जेष्ठ नागरिक सिट त छन् तर युवायुवती मोवाइलमा मनोरञ्जन गर्दै मस्तराम देखिन्छन्। पाकाको इज्जत जानेकै छैनन्। कुनै पनि बसस्टपमा कहिँ कतै सार्वजनिक शौचालय छैनन्। कोटेश्वरमा एउटा भएको पनि साँढेले सिँगौरी खेलेर… ।
बुढ्यौली मैत्री बालबालिका मैत्री, महिला मैत्री न त यातायात छ न त बाटोघाटो नै। यो साँढेको साशनमा बलिया बाङ्गाले हिँड्ने हो। निर्धा दुब्ला त घर मै बस्ने हो। किन कि साँढे तन्त्र न त हिँड्न पाइन्छ न त गोब्रयाउन नै पाइन्छ। अर्को कुरा गाडीमा चढेपछि खल्तीराजहरूले अघि नै तपाईंको खल्ती खलास बनाएको तपाईंलाई थाहै हुँदैन । थाहा पाइहाले पनि ती भूसतिघ्रेहरूले डाइवर खलासीका समेत साँढेगोरू हुन्छन्। तपाइँले बोल्ना साथ पूर्ण असुरक्षित हुनुहुन्छ। एक पटक भक्तपुरबाट चावहिल सम्म जाँदा एक जना महिलाको गैरीगाउँमा अर्को पुरूषको पिङ्गला स्थानमा र एक युवकको मित्रपार्कमा खल्ती खलास भयो। खल्तीराजहरूको हातमा धारिलो हतियार रूमालले छोपेको थियो। यात्रु सबैले असुरक्षित महसुस गरे केहि बोलेनन्। एक जनाले शौचालय भएको ठाउँमा रोक है बाबु ! भनेर सहचालकलाई अनुरोध गरे। सह-चालकले च्याँठिदै भन्यो मैले त तपाइँलाई हगाउने पैसा लिएको छुइन त । भाडामात्र लिएको छु।बिचराले सुरूवालमै दिसापिसाव छोडेछन्। गाडी दुर्गन्धित भयो। भन्दै सह-चालकले चावहिल चोकमा गाली गर्दै ओराली दियो।
ती विचराले न त शौचालय पाए न त सरसफाइ गर्ने ठाउँ नै पाए । ट्याक्सीमा हालेर घर पठाउन खोज्दा ट्याक्सीले मानेन ट्याक्सी फोहर हुन्छ भनेर । यदि विवेक भएका नीति निर्माता भएका भए काठमाण्डौका हरेक बसविसौनीमा सुविधा, सम्पन्न शौचालय बनाइदिएको भए त्यहाँ एकजनाले रोजगारी पाउँथ्यो। एउटा खुद्रा पसल चल्थ्यो। वेरोजगार युवाले रोजगार पाउँथे। सर्वसाधारण जनताले सुविधा पाउँथे । तर खै यो सतिले सरापेको देशमा खान चाँहि अलकत्रा पनि बाँकी राख्दैनन्। तर खाएर पचाउन पल्किएकाहरू गोब्रयाउने ठाउँ बनाउन जान्दैनन्।कसरी सभ्य भन्ने कसरी सँस्कृति भन्ने, कसरी सुसंस्कृत भन्ने मेरा सहरलाई ।
सहर हेर्ने रहर सँगालेर स्वदेश तथा विदेशबाट आउने आन्तरिक तथा बाह्रय, पर्यटकहरूलाई सार्वजनिक शौचालयसम्म बनाउने ढंग नभएको स्थानीय सरकार, आकाश हेर्ने भ्युटावर बनाएर रमाउने गरेको छ । गेट बनाएर पेट भर्छ तर शाैचालय बनाउने सोचै राख्दैन।
संघिय सरकारले खोइ त पर्यटन प्रवर्धनमा पर्यटनमैत्री पूर्वाधार निर्माण गरेको ? खोइ त गोब्र्याउने ठाउँ ? सौन्दर्यीकरण जताततै फोहरका डिङ्गुरमा साँढे आफ्नो शालिग्राम झुकाएर घाँस चरिरहेको छ। निरिह जनता गाँसवास कपास र करको कहरभित्र निसास्सिएर आधामरो जीवन बाँचीरहेका छन् । निरिह हाँसो फिस्स हाँसेर बाँच्न विवश छ शहरको नागरिक।
अवसरको खोजीमा सहर पसेकाहरू कोही सुकुम्वासी हुकुमबासी बने पनि निरिह जनता जहाँको त्यही छन्… सँगै पौठेजोरी खेल्दै साहस बटुलेर गाँस जुटाउँदै बाँची रहेछ। साँढेलाई सदनमा सासन गर्ने अमूल्य भोट खसाल्न। उसको एक अमूल्य भोटले साँढे सदन चढ्छ। घाँस चर्छ भुँडी भर्छ जे पर्छ त्यही गर्छ। रजाइँ भनेकै त्यहि त हो। त्यसैले प्रचलित भयो साँढेको जुधाइ बाच्छाको मिचाइ। आआफ्नो स्वार्थमा चुर्लुम्म डुबाउँदै व्यूरोक्याट्सलाई विर्यानी हसुराएपछि सत्ता चढेका साँढे आर्कै मालमाल। साँढे सहर पसेपछि विज्ञानको कक्षा बन्द गरेर बदम वेच्न बाध्य वैज्ञानिकको विजोक देखेर लाज पनि लजाएको मर्म स्षर्शी दृष्य हामीले नदेखेको होइन। यहाँ कसैले घर छोड्छन् सपना पुरा गर्न। कसैले सपना नै त्यागी दिन्छन् घर समाल्न। यो भागदौडको दुनियाँमा कहिले आफ्ना लागि त कहिले अरूका लागि अधुरा रहरहरू पुरा गर्न दौडिरहन्छ माछे। कहिले रहरै रहरको लहरले किचेर मरिच झै चाउरिन्छ। कहिले रहरले खोक्र्याएर विवशता र बाद्यताले घोक्राएर मानिस दौडिन्छ।
आज जापानमा इमान्दारीपूर्वक सुत्ने नागरिक र नेताले तालि खान्छन्। तर जनताको जनमत लिएर सदन पुगेर कुम्मकर्णझैं सुतेका विचरा नेतागणले गाली खान्छन् । उताका नेताहरू जनमूखी अभियानमा प्रतिवद्व भएर ताली खाए पनि हाम्रा जनप्रतिनिधिहरू अपुताली खाँदाखाँदै ढाडिएर सदनमै मस्तराम निदाउँछन्। निदाएरै भएपनि जनताका सुदूर सपनाहरू सिद्याउँछन्, विचरा गरिव मानसिकताले ग्रसित छन्। मागेर सत्ता चलाउँछन्। भत्ता पचाउँछन्। तर सुनफल्ने गह्राहरू बाँझै राखेर निराशाका विउहरू छर्छन्। प्रत्येक आज गर्ने काम भोलि भोलि भन्दै पन्छाउँछन् तर सभ्यता जोगाउँदैनन्। संस्कृति सहर यत्रतत्र सर्वत्र घुम्नुहोस्। सार्वजनिक शौचालयसम्म बनाउँदैनन्। तर विश्वब्रम्हाण्ड बनाउने गफ लडाउँछन्। पुर्खाको नासो संस्कृति धरोहर कलात्मक सहर मेरो राजधानीमा साँढे घाँस चर्छन् तर गोब्र्याउँदैनन्।
आज जङ्गेपिलर ढल्नै लाग्दा पनि जङ्गेले जुँगामा ताउ लगाउँदै आफ्नो जंगली राजमा रजाइँ गरिरहेको छ। जनताको जनमतलाइ जङ्गेले आफ्नो खर्च गर्दै मान्छेलाई मूल्यहिन निरिह प्राणीको रूपमा हेर्दै छ। जनताका सपना माथि सुतेर र्र्याल चुहाउँदै घुरिरहेको छ। कि रहरले सुत्छ कि कहरले सुत्छ कि डरले सुत्छ कि बाध्यताले सुत्छ कि विवशताले सुत्छ कि थाकेर सुत्छ कि पाकेर सुत्छ कि विसन्चोले सुत्छ कि हाइसन्चोले सुत्छ बुझ पचाएर सुत्छ कि लाज पचाएर सुत्छ कि  तर विनाकारण दिनदहाडै सदनमा जनताका सपना सिरान लगाएर सुत्ने चलन चाँहि नेपालमा मात्रै पाइन्छ। ज्युँदा लासहरू झैं सबैको उपहास बनी सक्दा पनि निर्धक्क सुत्छ, निर्लज्ज सुत्छ, विचरा बुद्धि विवेक विचार सबै शून्य भएपछि नसुतेर के पो गरोस् त ??
यस्तै छ यहाँ विधान छ विधि छैन नेता छन् नीति छैन मानिस जस्तै जस्तै प्रतिमूर्तिहरू त छन् तर गिदी छैन। विचार विमर्श विवेक र विचार झोलामा बोकेर हिँडिरहन्छन्। यत्र तत्र नहिँडून पनि कसरी ? चुनावमा मासुभात खाएको पैसा अहिलेसम्म तिरेको छैन। जनताको सुख दुःख बुझ्न कहिल्यै गाउँ छिरेको छैन। हुन्छ हुन्छ ल ल भै हाल्छ नि ! म छु पिर नगर्नुहोस् भन्दै आश्वासनका पोका बाँड्छन्।उज्यालो छ उत्साह छैन विचार छ विवेक छैन सपना छन् शान्ति छैन। विचार मन्त्रीजी गाली पनि खानु पर्ने अपुताली पनि पचाउनु पर्ने रातभरि मन्त्राणीको भोजमा सामेल भएर मोज गर्न पर्यो।  तिघ्राको मूल्य तिर्नै पर्यो बघिनी जस्ती मन्त्राणीले रातभरी योगाशन गराएपछि विचार सदनमा नसुते कहाँ सुतुन् । गाली गर्नेको विवेक खोइ ? बुद्धि खोइ ? यो मन्त्रीहरूको शरीर ढुङ्गा माटोको हो र ? कसले बुझेको छ यो मर्म ? आरिस गर्नेहरू मन्त्री भएर त हेर ? कति पीडा नै पीडा चिन्ता नै चिन्ता दबावै दबाव अभावै अभावमा बाँच्नु पर्छ। मन्त्रीले वास्तवमा निदाउँदा मात्र थाहा हुन्छ निन्द्रा कति प्यारो हुन्छ भनेर एक पटक निदाएर हेर। ए फेसबुके विद्वानहरू ।
०००
काठमाडाैं
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x