साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देश कङ्गाल भैसक्यो । हरामका कमाइले कहिल्यै आराम दिँदैन भन्ने नबुझेर सबै आफ्नै स्वार्थसिद्ध गर्न लागेका छन् । श्रमको पसिनाले आराम दिन्छ । निन्द्रा दिन्छ ।

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

सदाचारले समृद्ध बनाउँछ भने भ्रष्टाचारले विकलाङ्ग । यी दुवै मानवले गर्ने आचरण हुन् । भ्रष्ट र आचार मिलेर बनेको ‘भ्रष्टाचार’ शब्दको अर्थ खोज्दा ‘नियम कानुनले तोकेको परिधिभन्दा बाहिर गएर गरिने अनैतिक व्यवहार’ भन्ने बुझिन्छ । भ्रष्ट मनसायबाट, भ्रष्ट नियतले, भ्रष्ट आचरणले गरिने स्वार्थी कामलाई भ्रष्टाचार भनिन्छ । भ्रष्ट काममा लागेर घुसखोरीबाट अकुत सम्पत्ति कमाउने कमिसनखोरलाई भ्रष्टाचारी भनिन्छ । पहिलेको समाजमा सदाचारी मानिस धेरै थिए । चाकरी, चाप्लुसी र भनसुनभन्दा आफ्नै क्षमताले काम गर्ने निष्ठावान् मानिसको सट्टा जसरी पनि आफ्नो दुनो सोझ्याएर रातारात करोडपति बन्ने सपना बोकेका भ्रष्टमतिका मानिसहरू आजभोलि यत्रतत्र सर्वत्र पाइन्छन् । त्यसैले आज यहाँ भ्रष्टाचारको भकारीले थिचिएका, किचिएका ढाडिएका, टाढिएका, माडिएका, मुसारिएका, ट्याङ्कीभित्र घुसारिएका, सुनलाई पहेँलो धातु भन्दै नयाँ भाष्यले चोख्याइएका चम्चाहरूको चिन्तनलाई भ्रष्ट गन्थनको रूपमा प्रस्तुत गरेर स्वयम् आफैँ पनि भ्रष्ट मण्डलीको सदस्य बन्दै छु । प्रष्ट नहुनु पनि त भ्रष्ट हुनु हो नि ।

अरुको जेसुकै बितोस्, पहिले आफ्नै भुँडी भरौँ । आऊ, जुरुक्क उठ; सङ्गठन खोलौँ; संस्था खोलौँ । एनजिओ खोलौँ; आइएनजिओ खालौँ; मानवताको खोल ओढौँ; खुलेआम भ्रष्टाचार गरौँ । कम्पनी खोलौँ; आफ्नै कब्जामा राखौँ । नाफा जति आफैँ चाटौँ । लेखा हेर्ने सालो राखौँ । जनसम्पर्कमा साली राखौँ । प्रशासनमा भाइभतिजो राखौँ । एउटा बलियो पाटीको सदस्यता बोकौँ । कम्पनीको आडिट कहिल्यै नगराऔँ । नविकरणको झन्मटै नगरौँ । नाफा जति सेयरमा राखौँ । आफू टन्न मोटाऔँ । सञ्चालकहरूलाई भनिदिऊँ ‘संस्था घाटामा छ’ । मिले पटक पटक पैसा थपाऔँ; नमिले हतोत्साहित गरेर डाँडो कटाऔँ ।’ आऊ, कम्पनी खोलौँ; त्यसैबाट भ्रष्टाचार गरौँ । सहमति, सहकार्य भन्दै गरौँ । पहिले आफ्नै झुण्डहरूको भुँडी भरौँ । प्रष्ट भनौँ, विभिन्न बाहानाको चाङ् लगाएर सकेसम्म लुटौँ । रातारात जुटौँ । आऊ, भ्रष्टाचार गरौँ ।

लगानीकर्तालाई मिले फकाऔँ, नमिले धम्क्याऔँ । उसैको सम्पत्तिमा मोज गरौँ; उसलाई तिरस्कार गरौँ । आऊ, कम्पनी खोलौँ । आफ्नै भुँडी भर्ने महिषासुर बनौँ । कम्पनी टाट घोषित गरौँ र आफ्नो भुँडी भरौँ । बेला बेला गोहीका आँशु झार्दै गरौँ । उल्फाको धनमा ब्रह्मलुट गरौँ । सल्लाह कहिल्यै नगरौँ । मिटिङ, बैठक बस्दै नबसौँ । दिनभरि अरूका कुरा काटौँ; उडाऔँ । लगानीकर्ताहरूलाई बेलुका धराने बाहुन चानामा सोमरसको स्वादमा लठ्याऔँ । जमघट जमाऔँ । एउटा पण्डितलाई भजन गाउन लगाऔँ । सालो व्यापारी बनाऔँ । साली कर्मचारी बनाऔँ । एकदुई जना भजन मण्डली भेला गरौँ । म नै सर्वश्रेष्ठ; म नै जान्ने; मैले मात्र बुझेको; ममात्र सर्वोत्तम ज्ञाता हुँ भन्ने प्रमाणित गरौँ र मन्दिर भत्काएर सँुगुर पाल्न थालौँ । आऊ, भ्रष्टाचार गरौँ । प्रत्येक बिहान पशुपति धाऔँ; सत्कर्मको आरती गाऔँ । दिनभरि कलिला नानीहरूको गाला चड्काऔँ । अनुशासनका नाममा सकेसम्म थर्काऔँ । घाम डाँडामा नबस्तै भट्टीतिर भजनमण्डली बोकेर जाऔँ, आफ्नै गुनगान गाउन लागाऔँ ।

तरकारी किन्न जाँदा श्रीमतिलाई छाँटौँ । तेल किन्न जाँदा श्रीमान्‌लाई ढाटौँ । दुध किन्न जाँदा बाबुलाई ढाटौँ; कपी किन्न जाँदा आमालाई ढाटौँ । बनभोज जाँदा साथीलाई ढाटौँ । परीक्षा दिँदा गुरुलाई ढाटौँ । नतिजा दिँदा नेतालाई ढाटौँ । मन्दिर जाँदा देवतालाई ढाटौँ । सेवा गर्दा समाजलाई ढाटौँ। आऊ, भ्रष्ट्राचार आफ्नै घरबाट, आजैबाट, आफैँबाट सुरुवात गरौँ । हरेकले हरेकबाट कुम्ल्याउन सिकौँ । सकेसम्म आफैँ भुँडी भरौँ । भुँडी फुट्नै लागे सुपरग्लूुले टालौँ । जात फालौँ, भात फालौँ, इज्जत फालौँ, इष्ट फालौँ, मित्र फालौँ, दौतरी फालौँ । छरछिमेकी फालौँ । भ्रष्टाचारका निम्ति श्रीमति बेच्नु परे पनि पछि नपरौँ । आऊ, जसरी पनि आफ्नै लाद्रो भरौँ । संस्कार छोडौँ । संस्कृति छोडौँ । इज्जत छोडौँ । इमान छोडौँ । तर, जसरी पनि सम्पत्ति जोडौँ । आऊ, भ्रष्टाचार गरौँ । नातागोता, कुलकुटुम्ब जाहाँ जाहाँ भेटिन्छ त्यही त्यही लुटौँ । उठ्नै नसक्ने गरी लुटौँ । जुट्नै नसक्ने गरी लुटौँ । आऊ, जुरुक्क उठेर आऊ, भ्रष्टाचारमा जुटौँ ।

विचरा भन्नेले भन्दै गरून् । कठैबरा भन्नेले भन्दै गरून् । उसको पेट खोक्रिएर के भो र ? लुगा धुजाधुजा च्यातिएर के भो र ? चप्पलका लोती चुँडिए टाल्दै गर्छ । जाऊ, फुकाऊ टाट्नाको खसी । लगाइदेऊ, गालीगलौजको झुट्टा मुद्दा । आफैँ बन विचौलिया । आफैँ बन न्यायाधिश । सके अबलाहरूमाथि व्यभिचार गर; नसेक भत्काइदेऊ बाख्राका खोरहरू । आऊ, अझै भ्रष्टाचार गर । आजको युग नै भ्रष्टाचारको युग हो । सदाचारी, निरीह, निमुखाहरूलाई खोजी खोजी लुटौँ । गरिबीको कराईमा परपरी भुटौँ । उनीहरूका आँशु सोमरस झैँ तनतनी पिऔँ । गरिबका झुपडीमा दिउँसै आगो सल्काऔँ । सपनाहरू क्षतविक्षत बनाऔँ । भ्रष्टाचारको लाद्रो भरेर उत्सव मनाऔँ । आफूलाई सात पुस्ता पुग्ने गरी हसुरौँ । बाटो बनाउँने ठेक्का आफै पारौँ । यदि नपर्ने अवस्था आए बाटो ढुकौँ; कब्जा गरौँ । हातखुट्टा बाँधेर विपक्षलाई भिरबाट गुल्ट्याऔँ । त्यसको धुलिसाफ गरौँ । ठेक्का हात परेपछि पुल बन्दै गर्छ; बाटो बन्दै गर्छ; कुरा गरौँ; काम कहिल्यै नगरौँ । सकेसम्म बाहानाबाजी गरौँ । तिथि सारौँ । मिति सारौँ । तर, काम नगरौँ । आऊ, भ्रष्टाचार गरौँ । पुल बन्दै गर्छ । मान्छे मर्दै गर्छन् । खोलो बाढी आउँदै गर्छ । जनताको धनजन क्षति हुँदै गर्छ । शक्तिमा धाऔँ; कोशेली चढाऔँ, उन्मुक्ति पाऔँ । देशको ढुकुटी रित्याऔँ । काम पटक्कै नगरौँ । सके सत्ताधारी प्रभुलाई आफ्नै घरमा बसाऔँ । दुनियाँ हँसाऔँ । बाढीले बगाउँदै गर्छ; जनता कराउदै गर्छन्‌; विरोध हुँदै गर्छन्, पुत्ला डढ्दै गर्छन्, तर तिमी चनाखो बन । हरेक सत्ताधारी प्रभुलाई सुरा, सुन्दरी, सुकुटी ओसार्न नभुल । पाँचवर्षे ठेक्का दशवर्ष झुलाऔँ । बेलैमा सेटिङ मिलाऔँ । सेटिङसँगै डेटिङ मिलाउन सके अझै मालामाल हुने छौँ । जसरी पनि स्वदेशका उद्योगधन्दा कलकारखाना चल्नै नसक्ने निकम्मा बनाऔँ । स्वदेशी, विदेशी प्रभुको गुनगान गाऔँ; सात पुस्तालाई पुग्ने कमाऔँ ।

तिम्रो धर्म, संस्कार, संस्कृति भ्रष्टाचारी । तिम्रा बाबुबाजे भ्रष्टाचारी । तिम्रा आमा, मामा भ्रष्ट्राचारी । तिम्रो कुल, कुटुम्ब भ्रष्टाचारी । अनि, तिम्रो नेप्पोबेबी चाहिँ सदाचारी, हैन त ? भाजभोलि सुनमा भ्रष्टाचार; नुनमा भ्रष्टाचार; लसुनमा भ्रष्टाचार । बैगुनमा; नुनभुटुनमा भ्रष्टाचार । देखावटी गुनमा भ्रष्टाचार । व्यापारीको ऊनमा भ्रष्टाचार ।

अनि, कसरी कहाँ भेटिन्छ विचरा सदाचार ! घरघरमा भ्रष्टाचार, परिवार परिवारमा भ्रष्टाचार, व्यक्ति व्यक्तिमा भ्रष्टाचार, नाता कुटुम्बमा भ्रष्टाचार, मन्दिरमा भ्रष्टाचार, मस्जिदमा भ्रष्टाचार, पुराणमा भ्रष्टाचार, कुरानमा भ्रष्टाचार, गुम्बामा भ्रष्टाचार, चुलामा भ्रष्टाचार, चौकामा भ्रष्टाचार, बाइबलमा भ्रष्टाचार, वेदउपनिषद्मा भ्रष्टाचार, पाखनबेदमा भ्रष्टाचार, हलुवाबेद–नैवेद्यमा भ्रष्टाचार । लिटोमा भ्रष्टाचार, पिठोमा भ्रष्टाचार, मल किन्दा भ्रष्टाचार, दाल किन्दा भ्रष्टाचार, ढल बनाउँदा भ्रष्टाचार, हल जोड्दादेखि नाता तोड्दासम्म, जताततै जहाँत्यही, दिनरात, प्रत्येक क्षण यो मपाईँत्व बोकेर घमण्डले फुलेको मानिसले आफ्नो मात्र स्वार्थ पूर्ति गर्न भ्रष्टाचार नगरी काम गरेको कहीँ कसैले देखेको मात्र भए उचित पुरस्कार घोषणा गर्न हुन्थ्यो । विद्यालयमा भ्रष्टाचार, देवालयमा भ्रष्टाचार, वाचनालयमा भ्रष्टाचार, हिमालयमा भ्रष्टाचार, शौचालयमा भ्रष्टाचार ! ए बाबा ! काहाँ छैन भ्रष्टाचार ? लाउडा भ्रष्टाचार ओम्नी भ्रष्टाचार, क्यान्टोन्मेन्ट भ्रष्टाचार, तिलहरी भ्रष्टाचार, सन्धिसम्झौतामा भ्रष्टाचार, नीतिनियममा भ्रष्टाचार, विधिविधानमा भ्रष्टाचार, उडानमा भ्रष्टाचार, गुडानमा भ्रष्टाचार, कुटान पिसानमा भ्रष्टाचार । दारीमा भ्रष्टाचार, साडीमा भ्रष्टाचार ।

नेतामा भ्रष्टाचार, अभिनेतामा भ्रष्टाचार, कर्मचारीमा भ्रष्टाचार, लट्टादारीमा भ्रष्टाचार । कवि, कलाकार, साहित्यकार जताततै भ्रष्टाचार । यसको छिटा नपुगेको ठाउँ नै पाइँदैन । व्यापारमा, व्यवसायमा, व्यापारीमा, उद्योगीमा सबै सबैतिर छ भ्रष्टाचार । यत्र, तत्र, सर्वत्र भ्रष्ट रूपेण संस्थिता भएको छ । आज भुइँमान्छेका छोराछोरी खाडीमा, कमिसनखोरका छोराछोरी गाडीमा छन् । देश कङ्गाल भैसक्यो । हरामका कमाइले कहिल्यै आराम दिँदैन भन्ने नबुझेर सबै आफ्नै स्वार्थसिद्ध गर्न लागेका छन् । श्रमको पसिनाले आराम दिन्छ । निन्द्रा दिन्छ । भ्रष्टाचार गरेर कमाएको धनले किनेको मुलायम डस्ना पनि एकदिन काँडा झैँ बिझाउने बन्दछ । ‘उल्फाको धनले पोल्न थाल्छ, एक दिन दुनियाँ बोल्न थाल्छ’ भन्ने उखान सार्थक भएको छ ।

तर, नयाँ पुस्तामा पनि जन्मदै भ्रष्टाचारको गन्ध देखिन थालेको देख्दा ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखानले सार्थकता पाउला जस्तो छ । आज नेतागणका नातागोता आफन्त, ससुरालीका तिन पुस्तादेखि मितेरी साइनो, गोरुबेचेको साइनो, ड्राइभर, खलासी, हुक्के, बैठके, पुरोहित, चम्चे झोले सबै सबैले चप्पल पड्काउँदै सहर पसेर एकाएक कायापलट गर्दै महलमा मस्ती मार्न सफल हुनु भ्रष्टाचारकै मल पोषिलो भएर मात्र हो । नेप्पोबेबीको सान र अभिमानले समाज त्रस्त छ । सबैको चिन्ता छ, अब देश कहाँ पुग्छ ? देश बनाउँछु भन्ने राष्ट्रभक्त, देशभक्त, स्वाभिमानी नचिनेर जिन्दावाद र मुर्दावाद गर्नेहरु समयमै सत्यतथ्य बुझ, देशको मर्मलाई, धर्मलाई, कर्मलाई, नागरिक कर्तव्यलाई पालना गर । बेला बितेपछि पश्चाताप गरेर केहि हुनेवाला छैन । राष्ट्रिय अखण्डताका लागि एकजुट हुने समय हो यो । फुटेर होइन जुटेर अघि बडौं, सच्च देशभक्त समयमै चिनौं ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x