साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुटतन्त्र जिन्दावाद !

विदेशी अक्कलको नक्कल गरेर खाने, झोलामा खोला बोकेर खाने, मुसा बनेर विजुली काटेर खाने, नेताका तलुवा चाटेर खाने, ए खाईमाराहरू, ए भाइमाराहरू, अब त आत्माको आँसु सुक्न लाग्यो कति लुट्छौ देशको अस्मिता ?

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

तन्त्र, मन्त्र र यन्त्रले विश्वलाई परम्परा देखिनै आफ्नो नियन्त्रणमा राख्न हरसम्भव प्रयास नगरेको होइन । समयको गतिसँगै विकसित भएको मन्त्रयुग, तन्त्रयुग भन्दा आजको यान्त्र युगले, मानिसलाई दास बनाउन थालेको छ । यन्त्र युगले आज विज्ञान र प्रविधिको क्षेत्रमा प्राप्त गरेको अपार सफलतासँगै मानिस आफैसँग हार्न थालेको छ । आजको डिजिटल युगले मानिसलाई क्षणभरमै नाता जोड्ने र क्षयणभरमै नाता तोड्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसै युगमा फस्टाएका प्रजातन्त्र, लोकतन्त्र गणतन्त्रसँग … को मुलाझै हलक्कै बढेको तन्त्र हो लुटतन्त्र । आजको मानिसले आफूभन्दा कमजोर, आफूभन्दा लुते, पिलन्धरेहरुलाई भेट्नासाथ विभिन्न वाहनामा लुट्न थाल्दछ । आज जताततै झाङ्गिएर लुटतन्त्र ग्लोवल भिलेजको धर्म, संस्कृति र संस्कार जस्तो भएको छ । झुट नबोल्ने, लुटको खेती नगर्ने मानिसलाई सच्चा मानिसको दर्जामा राख्न पनि निक्कै गाह्रो पर्नथालेको छ ।

आजका माननीय सभ्य लुटेराहरूले सोझा नागरिकलाई ललिपप देखाएर दिनदाहाडै लुटेर घर न घाटको बनाईदिँदै छन् ।
के हो त लुटतन्त्र ? आफ्नो परिश्रम र पसिना विनानै अरुको सम्पत्ति हडप्ने प्रपञ्च रच्नु, अरुलाई धम्क्याएर, हप्काएर, तर्साएर, डराएर, विलखवन्दमा पारेर, बहादुरीको डण्डा वर्षाएर, दोबाटोमा तर्साएर, पीडा र धम्कीका कोर्रा बर्साएर अरूको सम्पत्ति लुट्नु, घरजग्गा, पशुधन माथि गिद्देआँखा गाड्नु, झुटो मायाजालमा फँसाएर इज्जत लुट्नु, अस्मिता लुट्नु, अस्तित्व गुमाउनु, लुट्नु, लुटिनु हो । जालझेल, चुक्ली, चाप्लुसी गरेर, मनिसलाई दुःख दिएर, उसको निरिहता र सोझो पनको फाइदा उठाउँदै अरुलाई दुःख दिने लुटेराहरूले आज समाजलाई क्षत विक्षत पारिरहेका छन् । तीनै लुटेराहरूको लुट माहत्म्य आज तपाईहरु सामु पस्कने प्रयत्न गर्दैछु । “लुट्न सके लुट् कान्छा लुट्न सके लुट अरू देशमा पाँइदैन नेपालमै हो छुट” नामको गीत अहिले दिन प्रति दिन लोकप्रिय बन्दैछ ।

आजको दुनियाँमा पाखुरी चलाएर, श्रम गरेर खानु भन्दा भ्रम छरेर बसी–बसी हसुर्नुलाई मानिसले आफ्नो बहादुरी ठानेको छ । एनकेन–प्रकारेण आफ्नो स्वार्थ पूर्ति गर्न पाए मानिस आफूलाई सर्वज्ञ ठान्छ । मानौ, उसले भन्दा अरूले यस धर्तिमा केहि जानेकै छैनन्, बुझेकै छैनन् । उही जान्ने, उही सुन्ने, उही बाठो, उही सज्जन, उही भद्र, उही भलाद्मी ।

उहिले “अल्छीको बल्छी पाखुरीको जाल, मर्दको दुवाली माछाको काल” भनिन्थ्यो । आज भोलि त “सोझाको श्रम ठगको जाल, लुटेराको लुटपाट नागरिकको काल” भएको छ । त्यसैले, गाउँघर देखि सहरसम्म, सडकदेखि सदनसम्म, फुटपाथ मिनिस्टरदेखि प्राइमनिस्टर सम्म, खरदारदेखि सरदारसम्म, पियनदेखि हाकिमसम्म सबै सबैले “यसो व्यवस्था मिलाउनुन, फाइल मिलेपछि तपाईको काम तुरुन्त भइहाल्छ नि ! यसो समय विचार नगरे, मौकामा चौका नहाने, भान्छामा लौका चड्दैन हजुर” नभन्दै खिच्च हाँसेर आजको काम भोलि र भोलिको काम अर्को भोलि भन्दै टार्छन् । फाइल नमिलाएसम्म सेवाग्राहीलाई हायल कायल बनाएर नगद नारायण नउम्काएसम्म तपाईको काम नौ सय नमस्तेले मात्र कदापी पार लाग्दैन । त्यसैले तपाईको काम फत्य गर्नुछ भने तपाई दिनदहाडै–लुटिनु पर्छ, धुतिनु पर्छ । जसरी पनि तपाईको इमान्दादीपूर्ण पसीनाको कमाई लुटिनु पर्छ अनि मात्र तपाईको काम पूर्ण हुन्छ ।

आज हाम्रो समाजमा मिलाएर लुट्ने, पिलाएर लुट्ने, फकाएर लुट्ने, फँसाएर लुट्ने, रिसाएर लुट्ने, हँसाएर लुट्ने, उचालेर लुट्ने, पछारेर लुट्ने, घिसारेर लुट्ने, लछारेर लुट्ने, पसारेर लुट्ने, काटेर लुट्ने, कुटेर लुट्ने, धम्क्याएर लुट्ने, छक्याएर लुट्ने अभर पारेर लुट्ने, गति छाडेर लुट्ने, मति विगारेर लुट्ने सति सावित्री बनेर लुट्ने, ब्रहम्ज्ञानी भएर लुट्ने, इज्ज्यत बेचेर लुट्ने, दुनियाँलाई हेपेर लुट्ने, परिवन्धको पेरुङ्गोमा चेपेर लुट्ने, बाध्यतामा सेकेर लुट्ने, विवसताले रेटेर लुट्ने, हे लुट माहाराजहरू ! कहिलेसम्म चल्छ यो लुटतन्त्र ?
गरीव जनताका रगत र पसीनामा होली खेल्दै स्वदेशी श्रम र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने महामहिमहरू आज सुनदेखि नुनसम्म जनैदेखि गुन्द्रुकसम्म विदेशबाट मगाएर मस्तराम निदाएका हे ! महामानवहरू ! सुन फल्ने बारीमा र टारीमा बाँदर नचाएर युवाका पाखुरी विदेशमा बेची कहिलेसम्म रमाइरहन्छौ ?

दोस्रो विश्वयुद्धको समयमा बेलायतलाई आर्थिक सहयोग गर्ने हैसियत राख्ने, देश नेपाल भारतमा भोकमारी लाग्दा एकलाख ३३ हजार मेट्रिकटन चामल सहयोग गर्ने हिजोको नेपालमा आज लसुन, प्याज, गुन्द्रुक, सिन्की समेत विदेशबाट मगाउनु पर्छ । हाम्रा उद्योग धन्दा सबै–सबै बन्द भए । जनता बेरोजगार भए । वनजङ्गल अरूकै लागि फाँडिए । पचपन्नहजार भन्दा बढी नेपालीले अरूकै लागि जीवन बलिदान गरे । आजका सबै सबै जिम्मेवार व्यक्तिहरु कर्तव्यलाई पन्छाएर, नैतिकतालाई बेचेर निजी स्वार्थको घोलमा देशको अस्मिता बेचिरहेका छन् । हुस्कीको चुस्कीमा क्षणभर मै रातारात सम्झौैताको ्याल चाटेर, रातारात कमिसनका कटौरा भरेर आफ्ना तीन पुस्तेलाई पुग्ने सम्पत्ती स्वदेश तथा विदेशमा थुपार्दै देश कङ्गाल बनाउँदै छन् । आजको दुनियाँमा चोटामा, कोठामा, चोकमा, होटलमा, पसलमा, जहाँ जानुहोस तपाईं नलुटिएको ठाउँ पाउनु र लसुन नखाने बाहुन पाउनु एउटै हो ।

बाटोघाटो, यातायात भित्र चड्नुहोस् भूसतिघ्रे पकेटमारहरुले तपाईंलाई लुट्छन् । खानेपानीको विल, विजुलीको विल तिर्न जानुहोस् त्यहीँ विल मिलाएर लुट्छन् । सागदेखि फलफूलसम्म, नुन भुटुनदेखि माछा–मासुसम्म, बोइलरदेखि कोइलरसम्म, जताततै जेसुकै किन्नुहोस्, तपाईं पाइल्यै पिच्छे लुटिनु हुन्छ । आज मान्छेको शत्रु स्वयं मान्छे नै बनिरहेको छ । हरेकले हरेकलाई पाइल्यै पिच्छे लुट्ने हो भने उसको मानव हुनुको अस्तित्वनै नामेट होला झै गरेर मानिस आफ्नो पुरूषार्थ प्रस्तुत गरिरहेको छ ।

लुटको धन र झुटको खेती आजको मूलमन्त्र हो । पत्रकारले रातारात एआईसँग साइनो जोडेर व्यक्तिको चरित्रहत्या गरिदिन्छ । आजको मिडिया तथ्याङ्क भन्दा मिथ्याङ्कको पछि दगुरेर भ्रम सिर्जना गर्न व्यस्त देखिन्छ । शिक्षक, प्राध्यापकहरु पढाउनभन्दा अरुको बैचारिक झोला बोक्न व्यस्त छन् । विद्यार्थीहरु ज्ञानमा, पढाइमा, सिर्जनामाभन्दा झण्डामा र डण्डामा व्यस्त हुन्छन् । परीक्षामा सेन्टर मिलायो, सेटिङमा चिटिङ गर्न नपाए सेन्टर जलाएर आफूलाई अव्वल सावित गर्दछन् । गुरुहरु आ–आफ्ना भातृ सङ्गठनलाई चिट चोराउन, कपी साट्न व्यस्त देखिन्छन् । “क्यापसमा पाइलै नटेकी सेटिङ्गकै भरमा डिग्री, लिएर उच्च पद पड्काउँछन । कक्षामा नियमित पढ्ने इमान्दारहरु झोलामा प्रमाणपत्र बोकेर बेरोजगारका लाइनमा लामवद्व देखिन्छन् । जस्को लुट उसैको छुट जस्को डण्डा उसैको झण्डा भनेझैं भएको बेथितिलाई निरिह जनताले टुलुटुलु हेरिमात्र रहन्छन् । भित्र भित्रै विद्रोहको ज्वाला सल्काएर मुठ्ठी कसी रहन्छन् । पहुँचवाला मस्तिमार्दै कुर्सीमा बसिरहन्छन् । चिट चोरेर खाने, घर फोरेर खाने, साइनो जोडेर खाने, हात जोडेर खाने, बाटो मोडेर खाने, उल्फाको धन फुपूको श्राद्ध ठानेर भेटे स्वदेशमै खाने नभेटे विदेशी अनुदान खाने, दिल खोलेर खाने खाईरामहरु हराम नभए को होला त ?

कुटेर खाने, भुटेर खाने, तारेर खाने, मारेर खाने, लुटेर, खोसेर, छक्याएर, झुक्याएर खाने, घुर्क्याएर सर्क्याएर, थर्काएर, भड्काएर, झुक्याएर खाने, घिसारेर खाने, व्वाँसोले झै मुसारेर खाने, तानेर खाने, तड्पाएर खाने, हप्काएर खाने, छक्याएर खाने, चाटेर खाने, चिमोटेर खाने, निचोरेर खाने, चुसेर खाने, जसरी भए पनि खान जन्मिएकाहरूले खाने नै त हो । पढेर खाने, पढाएर खाने, धोकेर खाने, धोकाएर खाने, सुतेर खाने, उठेर खाने, कुदेर खाने, जुधेर खाने, मागेर खाने, चोरेर खाने, ठगेर खाने, धुतेर खाने, खुट्टा तानेर खाने, मुक्का हानेर खाने, खुट्टा घुमाएर खाने, धाक जमाएर खाने, –याल चुहाएर खाने, शिर निहुराएर खाने, गफ लडाएर खाने, औँलो ठड्याएर खाने, लम्पसार भएर खाने, आए गफ छाँटेर खाने, कुरा काटेर खाने, मान्छे ढाँटेर खाने, विचार साटेर खाने, अब सबैले भेटेजती भेटेसम्म खाने, भेटे भुक्क्याएर, निमुखालाई मुक्याएर, निर्दोषलाई भुक्क्याएर खानेहरु हो, अब त खाँदा खाँदै त्यो लाद्रो फुट्नै लागेन र ?

विदेशी अक्कलको नक्कल गरेर खाने, झोलामा खोला बोकेर खाने, मुसा बनेर विजुली काटेर खाने, नेताका तलुवा चाटेर खाने, ए खाईमाराहरू, ए भाइमाराहरू, अब त आत्माको आँसु सुक्न लाग्यो कति लुट्छौ देशको अस्मिता ? कति देखाउँछौ ? देशमा रमिता भो । अब त अति भयो । अब छोडीदेउ लुटतन्त्र जिन्दावादको नारा ।

यदि सच्चा सफलता चाहन्छौ भने परीश्रम गर पसीनामा नुहाउन सिक पसीनामा नुहाउन सक्यौ भने जीन्दगी आँफै वदलिन्छ । पसीनाको मूल्य चिन ।
धन्यवाद !

०००
झापा, हाल : काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x