शेषराज भट्टराईमिच्नु मिचे मिचीमिची घिचे
ठूलाठालु र इतिहासले के शिक्षा दियोदियाे मलाई पनि अहिले नै गएर सरकारी जग्गा मिचाैँमिचाैँ, हड्पाैँहड्पाैँ, लागिरहन्छ । सपनामा पनि मिचेकै देख्छु ।

शेषराज भट्टराई :
मिच्नुकाे शाब्दिक अर्थ हडप्नु जबर्जस्ती लिनु दमन गर्नु, धुत्नु, थुत्नु जसरी हुन्छ आफूतिर पार्नु वा सीमा उलंघन गर्नुलाई मिच्नु भनिन्छ । अनि तेल लगाएर हात खुट्टा मिच्नु त छदैछ । चिल्लाे दल्नु, चाकरी गरेर उत्ता फर्किएको मुखलाई आफूतिर माेड्नुलाई चाकरी थेरापी भनिन्छ । याे पनि फाप नफाप हुन्छ । काेही चाकरी थेरापीले माैलाउछन् मलक्क मल्किन्छन्, पल्किन्छन्, आफूतिर ढल्किन्छन् त काेही चाहिँ नफापेर खिइदै निख्रिदै, सकिदै, हराउदै जान्छन् ।
हामी नेपाली भारत र चीनले नेपाली भूभाग मिचेर हैरान हत्तु छाैं । ल सीमा त मिचियाे मिचियाे पराइले नकाम गरे तर नेपाल भित्रैका नेपालीहरुले नेपालमै गडगडाएर बग्ने खाेला नाला तालतलैया, पानी पाेखरी मिचेर जथाभावी खाेर, गुँढ, तबेला, घर, गाेठ बनाएर जे गरे पनि हुन्छ नेपाल सरकारले मिचाहा विदेशलाई त केही गर्दैन भने हामी स्वदेशी अर्गानिक मिचाहालाई के गर्छ ? केही लछारपाटाे लगाउदैन भन्दै ओठ लेप्राई रहेका छन् अर्थात् सरकारलाई हेपिरहेका छन्, पेल्न नमिले पनि पेलिरहेका छन् ।
मिचाइकाे प्रादुर्भाव जनसंख्याको वृद्धिसँगै भएको मानिन्छ । पेट ठूलो भएपछि खानपिन दायाँबायाँ लम्किएर भए पनि मसुर बन्दै हसुर्न खाेजिन्छ । आफ्नो कमाइले नपुगे चाेरेर हडपेर जसरी हुन्छ पेट भर्ने प्रयास गरिन्छ । त्यस्तै जमिन नभए सरकारी जग्गा जमिन ओगटेर खाेलानाला मिचेर जसरी हुन्छ सुविधासम्पन्न भूभागमा गुँड बनाएर विलासी बन्ने यत्नपूर्वक प्रयत्न गरिन्छ । गर्दागर्दै तराईकाे बालेन्द्रले कताबाट मिचाइकाे सुइकाे पाएछ कुन्नि प्रधानमन्त्री पद पड्काएर नपुगेर हाम्रो घरबासै पड्काउन उद्दत छ भन्दै सिंगाे शिरै अँध्यारो पारेर बसेका छन् मिचाहा साँढेहरु । डक्रिँदै बाटोमा अगाडि पछाडिको धुलाे उडाउदै साँढेलाई हेप्ने भन्दै सिँगाैरी खेल्न उद्दत छन् तर यो सबै हारुवा साँढेकाे छेरुवा दाउ भनेझैं पाल्तु साँढेकाे सिङ फुक्लि सकेको छ । दाह्रीवालकाे दारी देखेर डरले काम्दै गाई गाेरु सब टाप कसे । काेही गाेठमा बसे काेही दुलाेभित्र पसे जे हाेस घुँडा धसे ।
पहिला पहिलाका पुराना पैतिस छत्तीस वर्ष शासनकाे स्वादलिएका गणतन्त्रका महाभ्रष्टाचारी भनेर विश्व प्रशिद्धी कमाएका दलहरु कांग्रेस , एमाले , माओवादी वर्षमा दुईपटक सत्ता परिवर्तन गर्न छिमेकी देशका ठूलाठालुकाे पाउ मिच्न बाउलाई बिर्सिएर लागिपर्थे भनेकाे सुन्दा पनि अचम्म लाग्छ । पाउ मिच्दै जान्थे । पाउ मिच्नुकाे बेग्लै आनन्दमा मिच्दा मिच्दै लुगै नफुकाली सात समुन्द्र तरेर अमेरिकासम्म पुगेर इच्छाएकाे ब्यक्तिकाे पसिना निस्किउन्जेल पाउ मिचेर फर्किन्थे ।
अनि नेपाल आएर पसिना ओभाए पछि बान्छित फलप्राप्ति हेतु आफ्ना झाेले, धुपाैरे, कुराैटे र नारदमणीहरुलाई अगाडि सारेर विश्वविधालयका जग्गा मिच्थे । मठ मन्दिरका जग्गा मिच्थे । खाेला नालाका छेउछाउका खाली जग्गाहरु मिच्थे । पानी पाेखरी तालतलैया र धाराहरु मिच्थे अनि मिचीराख्थे । सुत्दा पनि मिच्थे, उठ्दा पनि मिच्थे । बिहान आँखा मिच्न छाेडेर सरकारी जग्गा मिच्थे, दिउसो मिच्थे साँझ मिच्थे , मध्येरातमा मिच्थे, पाहुना जाँदा पनि मिच्थे, पाहुना आउँदा पनि मिच्थे । मिच्नु मिचे मिचीमिची घिचे । नमिच भन्दा झन मिच्थे । अनि नमिच भन्नेलाई ह्याकुलाले मिचेकाे मिचेकै गरेर ऐयाऐया पार्दै अट्टहासकासाथ एकअर्कामा मनाेरञ्जन आदान प्रदान गर्थे ।
यहाँ एउटा राणाकालीन कथ्य प्रस्तुत गर्नु सान्दर्भिक ठानेको छु । कुरा के रहेछ भने जङ्ग बहादुरका नाति जगत जङ्गका छाेरा युद्धप्रताप राणा आफ्ना बाबुकाे विस्वास नलागेर( उनका बाबु धेरै खर्चालु थिए भन्ने भनाइ छ ) थापाथलीबाट छुट्टिएर मनाेहरा खाेला किनारामा धेरै जग्गा किनेर घर पनि हात्तीले कुल्चाएर घर कम्पाउण्ड गरेर आनन्दले बसेका थिए अरे । सबै कुरा राम्रो जता हेर्याे तेतै माेहक मनाेहर बनाएर बसेकाे हुनाले नै त्यो खाेलाकाे नाम मनाेहरा हुन गएको मानिन्छ । राणाहरु एकले अर्काको विस्वास गर्ने अवस्था थिएन । वि. सं. १९४२ सालमा खड्ग शमशेरले मान्छे लगाएर रातिको समयमा जगत जङ्ग र उनकी पत्नीलाई मारेछन् । त्यहाँ उनकाे सुखभाेग र करिब सातसय राेपनी जग्गा हडप्न यस्तो काण्ड मच्चाएका थिए । पछि केही जग्गा राणाहरुले हकभाेग गरे । केही जग्गा खड्ग निशाना भनेर इच्छाएका ब्यक्तिलाई पास गरिदिए त केही जग्गा त्यहीँका गाउँलेहरुले मिचेर बसाेबास गरिरहेकाे इतिहास हामीले पढेका छाैं ।
गणतन्त्रका ठूला साना मझौला दलको दादागिरी देखाएर सरकारी सम्पत्तिमा रजाइँ मात्रै हाेइन दाँइ नै गर्थे । पाेखराकाे फिर्के खाेला, बस पार्क, महेन्द्रपुल सेतीको किनारका जग्गा, फेवाताल, लगायत तालतलैया जतासुकै यस्तै यस्तै यसरी मिचेकाे, मारेकाे, हडपेकाे स्वादिला र मिठा कुरा देखिदेखि अहिलेका जनताले कसरी मन थामेर नमिचुन ? आफूभन्दा ठूलाठालु र इतिहासले के शिक्षा दियोदियाे मलाई पनि अहिले नै गएर सरकारी जग्गा मिचाैँमिचाैँ, हड्पाैँहड्पाैँ, लागिरहन्छ । सपनामा पनि मिचेकै देख्छु । मिच्न हडप्न नपाए निन्द्रै लाग्दैन । के गर्ने हाेला ? मिचाैँ त अहिलेकाे ख्वाँट सरकारकाे फेला पर्ने डर । म के गराैँ त सर ? नमिचाैँ त न गाेठ न घर ।
०००
फूलबारी ११ पाेखरा , कास्की ।
फाेन :- ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest








































