साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाटो कसले बिगार्यो ?

सबै बाटाहरू केले बन्द गर्यो ? जवाफ कोहीसँग छ ? मलाई त जवाफ दिने बाटै छैन कि जस्तो लाग्छ । बाटो कसले बिगार्यो आतङ्ककारी, संरक्षणकारी या आश्रयकारी ?

Nepal Telecom ad

शेषराज भट्टराई 

पृथ्वी गोलो छ, तर बाटाहरू लामा–लामा छन् । अनुहार गोलो हुन्छ तर जुंगाहरू लामा नानाभाँतीका भएजस्तै नाक, कान, आँखा अपरिहार्य अङ्गहरू पनि यहाँ अटाएका हुन्छन् । पृथ्वीमा खाली बाटाको मात्र रजाई छैन बाठोको पनि छ । यथार्थमा बाटो बनाउने नै बाठोले हो । महाजनो येन गतः सः पन्था ।

बाटो सर्लक्क परेको बाँदर वा ढेडुको पुच्छरजस्तो हुँदैन, यो त जरायोको सिंङजस्तो हाँगा फाटिएर बाटिएर गएको हुन्छ । कदको हद भने छोटो, लामो, ठूलो, सानो यसै भन्न सकिन्न । शहर बजारका ठूला सडकको छेउको बाटोलाई पेटी भनिन्छ । पेटीमा पैदल यात्रु हिँड्नुपर्छ अन्यथा चिरहरण या मृत्युवरण गर्ने स्थिति आउँछ । घोडा हिँड्न मिल्नेलाई घोडेटो, गाई हिँड्न मिल्नेलाई गोरेटो, राजधानीबाट अन्य शहरसँग जोडिएका यमानका बाटाहरूलाई राजमार्ग वा हाइवे भनिन्छ, भने कपालजस्तो चिल्लो कालो बाटोलाई पीच भन्ने चलन छ । पीच जतिसक्दो मिच भएर नै अधिक भारवहन यातायातहरू यसमा बुर्कुसी मार्न रुचाउँछन् ।

पृथ्वीमा भएका आतङ्ककारी आरक्षणकारी र संरक्षणकारी यी तीन किसिमका मानवहरूले प्रयोगमा ल्याउने अन्य बाटाका भेद वा फेदहरूमा हवाई मार्ग, रेलमार्ग, जलमार्ग, या स्थलमार्ग आदि प्रकृतिले दिएको होस् या मान्छेले लिएको भू–बनोटको आधारमा तयार भएका आवत या जावत गर्न प्रयाप्त हुने हाँगा फाटेको या नफाटेको जलमार्ग, स्थलमार्ग, हवाई मार्ग या सुरुङ्ग एक ठाउँबाट अर्को ठाउँमा रल्लिन वा हल्लिन मिल्ने बाटाहरू सस्ता, सुनजस्ता महंगा र आन्द्राभुँडीजस्ता बटारिएका र जुनजस्ता टाढा अन्तहीन पनि हुन्छन् । जल, स्थल या वायुमण्डलमा मात्र बाटो सीमित छैन । यसको क्षेत्र व्यापक छ । हर चीजको बाटो हुन्छ ।

हामी जुन बाटाबाट गर्भस्थ भयौँ, जुन बाटाबाट बाहिरियौं, आज जुन बाटो हिंडिराखेका छौं, जीवित रहुन्जेल बाटोमै हुन्छौँ र मरेपछि पनि बाटो पक्रिने क्रम जारी रहन्छ । कुनै बाटो रातो दिन हिँडिराखिन्छ भने कुनै बाटो एकचोटि हिँडेपछि फर्कौँला भन्नु पर्दैन । मानौं जन्ममार्ग, राजमार्ग जस्तै यस बाटामा पनि थुप्रै सन्ततिहरूले ओहोर दोहोर जारीराखेका हुन्छन् । बाटो लमतन्न सुतिराख्छ र मानव दानव विचरणमा व्यस्त रहन्छ । धन्य हो सहनशील बाटो । न कसैलाई छिछि, दुर दुर गर्छ न रिसइवी । न माथिल्लो जात न तल्लो जात, ठूलो छाती हरदम हर थापी थापी आफूलाई थोत्र्याउँछ र गन्तव्य समाउन सुगम हुन्छ ।

रक्तनली, श्वासनली, पिसाबनली, भोजननली आदि नलीहरू भए पनि यी सबै भिन्न भिन्न तŒवका बाटाहरू हुन् । डाक्टरहरू ज्यादै जान्ने भएर पढे पछि कलीमा मात्र नली भन्न थालेका हुन् । यथार्थमा यी सबै बाटाहरू हुन् । जसले आ आफ्नो धर्ममा रत्तिभर कपट नराखी सेवा पु¥याएका हुन्छन् । बाटोको धर्म भनेकै आउँदा या जाँदा छाती खोलिदिनु, खुल्ला भइदिनु, यो जाति त्यो पार्टी भनेर भेद नगर्नु, तर आजभोलि बाटो अधर्मी बन्न बाध्य छ ।

कर्फ्यू  लगाइएको सडक सुनसान सेनाको मुठ्ठीमा निस्ताएको सुस्ताएको हुन्छ । रातभरि रुन्छ, रगतले मुख धुन्छ यसर्थ स्थल बाटो विरानो हुन्छ । सज्जनको पर्खाइमा बिसाएको हुन्छ । बाटोलाई बाटोमा चैन छैन । बाटो हुनुमा गर्व छैन । बाटोलाई विद्युतीय धरापले च्याइराखेको छ, ऐठन गरिराखेको छ, बाटोलाई बोक्सी लागेको छ । सहनशील बाटोमाथि टेकेर विदु्रप महिसासुर दानव मानवहरू ओहोर–दोहोर र फोहोर गर्छन् तै पनि बाटोले धारेहात लगाउँदैन ।

शत्रु, मित्रु, मूर्ख, विद्वान्, राजा, रङ्क सबैलाई उत्तिकै समान देख्ने ‘बाटो’ जस्तो मान्छे भइदिएको भए आज यो ब्रह्माण्ड र यसमाथि विचरण गर्ने आश्रयकारी, आतङ्ककारी र संरक्षणकारी मानवहरूमा भेद उपभेद हुन्थेन होला । यस्तो किन भएन प्रभु ? आज मान्छे मानव भएर बाँच्न पाएका छैनन् । मान्छे भएर पीरती गाँस्न पाएका छैनन् । सबै बाटाहरू केले बन्द गर्यो ? जवाफ कोहीसँग छ ? मलाई त जवाफ दिने बाटै छैन कि जस्तो लाग्छ । बाटो कसले बिगार्यो आतङ्ककारी, संरक्षणकारी या आश्रयकारी ?

०००
फूलबारी, पाेखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अभाव

अभाव

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x