साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार प्रधान देश

सरकारले कृषि प्रधान देश कृषि प्रधान देश भनेर घाँटीको नसै पड्किने गरेर चिच्याए पनि खासमा नेपाल भ्रष्टाचार प्रधान देश नै हो त्यसैले थोत्रो घरमा मुसाको रजाइँ चल्नैपर्छ।

Nepal Telecom ad

शेषराज भट्टराई :

कृषि प्रधान देश भनेर नेपाललाई चिनाउन खोज्छ गणतन्त्रे सरकार । काम अर्कै गर्ने अनि नाम चाहिँ आफूले चाहेजस्तो राम्रो राख्नखोजेर कहाँ हुन्छ ? विश्वमा विश्वासै गर्न नसकिने गरी भ्रष्टाचार गर्ने अनि नाम चाहिँ कृषि प्रधान देश भनेर नाक फुलाउने ? यो एक किसिमको भ्रष्टाचार हो ।

जुन देशमा जेकुराको थुप्रो लाग्छ त्यो देशले त्यही कुरामा गर्व गरेर सुहाउँदो नामराख्न सक्नुपर्छ । जब नेपाल खण्डमा गणतन्त्रको घाम झुल्कियो तब घामको राप तापले कृषि प्रधान देश भन्ने अवस्थै रहेन । सामान्य जनताको सोझो आखाले छर्लङ्गसँग ठम्यायो र किटानकासाथ दुनियाँले भन्नथाले नेपाल भ्रष्टाचारग्रस्त देश हो कृषि प्रधान देश होइन । किनकि यहाँका खेतीयोग्य जमिनलाई टुक्रा टुक्रा पार्दै निल्न सिकायो सरकारले । सग्लो खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर चपाउनकै लागि सम्माननीय प्रधानमन्त्रीले गिरिबन्धु टिस्टेटलाई अचानामा राख्नु भएको छ । पतञ्जलि जग्गामा पूर्व प्रधानमन्त्री पक्राउ परे भन्दै कपाल कन्याइ रहनु भएको छ । जग्गा घोटाला बापत पैतिसोटा लाख त उहाँलाई अदालतले ओकल्न बाध्य पार्यो । अरू मह काढेर हात चाट्ने पनि थुप्रै छन् भन्ने हल्ला छ । लहरो तान्दा पहरो पक्कै पनि गर्जिन्छ । कानुन अनुसार लाइनमा बस्छन् बिचरा भ्रष्टाचार भक्त नेताहरू ।

बालुवाटारको जग्गा निलिसकेका ललिता निवास निलिसकेका ठूलाठूला घाँटी भएकाहरूले पनि भकाभक ओकल्दैछन् । कसैले घुमाउरो पाराले ठूला दललाई बडा अफिस खडा गर्न उपहार भनेर रोपनी रोपनी नै जिम्मा लगाएका छन् । नेपालका नेताहरू कम्ता बाठा छैनन् । प्रधानमन्त्री वा सोसरहका जंगे नेताले भ्रष्टाचार गरेको पैसा लुकाउने जग्गा पो रहेछ भोटभेटुनी सुपर मार्केट त । बल्लपो चाल बुझ्दैछन् जनताले । कस्को बाउको रहेछ भनेको त गणतन्त्रका माउको पो रहेछ । धेरै बुजेर दलै खोलेर औलो ठड्याउनेलाई त यो सरकारले थुनिदिन्छ । किनकि सरकारभन्दा बाठो हुनेलाई गणतन्त्रे सरकारले फिटिक्कै रूचाउदैन ।

अहिले धेरै टाठाबाठा भ्रष्टाचार विरोधीहरूले जेलको हावा खाइरहेका छन् । अब पछि जेलबाट निस्किएर यिनीहरूलाई फेरि जेलको हावा खान पठाउछन् । किनकि राजनीतिमा कोही पनि स्थायी शत्रु हुदैनन् त्यसैले पालोपालो मिलेर काम गर्छन् ।

मानव बेचविखनमा भिजिट भिषा जस्तो भरपर्दो माध्यम अप्नाएर दिनकै पचासोटा लाखको अंशियार हुन्छन् ठूला दलका माननीय सम्माननीयहरू अनि किन नेपालमा खेती गर्ने ? र केका लागि चाहियो खेतीयोग्य जमिन ? तर नाक जोगाउन तिनै भ्रष्टाचारीहरू भन्ने गर्छन् नेपाल कृषि प्रधान देश । खेतीपाती नै नगर्ने फ्याउराहरू कुखुरा नखाएर असार पन्द्रमा दही चिउरा खाएर मानव भएको स्वाङ गर्छन् ।

वार्षिक अर्बोको धान, चामल, गहुँ, तेल, दालदेखि लिएर ढालसम्म आयात गर्ने अनि भन्ने नेपाल कृषि प्रधान देश । कस्तो लाज शरम पचेका बिब्ल्याँटा धर्मछाडा नेताहरू । असली कृषकले पैसा तिरेर ५ किलो मल लिन चौघ घण्टा लाइनमा बस्नुपर्छ । भनेका बेलामा मल बिउबिजन छैन नेतामा भिजन छैन अनि कसरी कृषि प्रधान देश ?

बिजुली राम्रो बाल्यो भनेर कर्तव्यनिष्ठ कर्मचारीलाई हटाएर इन्भर्टरको बजार विस्तार गर्न आतुर छ सरकार । उबेला अठार घण्टा लोट्सेडिङ गरेर भरेको बाक्सा खाली भयो होला अब फेरि बाक्सा भर्ने ताउरमाउरमा ब्यस्त छ बिचरा नेपाल सरकार । भुटानी शरणार्थी काण्डलाई जस्ले राम्रोसँग न्यानो पारेर छोप्छ त्यही प्रधानमन्त्री बन्ने भन्ने कौडा खेलमा च्याँखे पारेर भ्रष्टाचारीको अग्रणी भुमिका निभाउन सपथ खाएकाले नै अहिले नेपालको प्रधानमन्त्री पद सम्हाली रहेको छ । यसलाई जनताले बुझेर पनि नबुझेझै गरिदिनुपर्ने नै गणतन्त्र नेपालको मुल उपादेयता भनेर बुझ्नुपर्छ । यो सरकारले मिलेसम्म यस्तो परिपाटी यो थिति बेथिति भएपनि सँधै बसाली राख्न चाहन्छ । संरक्षण गर्न चाहन्छ । किनकि कर्मठ पौरखी युवाहरूले भ्रष्टाचारग्रस्त नेताका कारण कृषि प्रधान देशमा आफ्नो भविष्य नदेखेर देशै छोडे। अब त आतंककारी नेताले भारतबाट भैसीको बीउ झिकाएझै असली नेपालीको बीउ आयात गर्न केही बर्षपछि तेस्रो मुलुक नै जानुपर्छ क्यार ।

गणतन्त्र नेपाल भ्रष्टाचार गर्न उत्साहित छ । आफ्नो दल कार्यकर्तालाई भ्रष्टाचार गर्न तनमनकासाथ प्रेरित गर्न उद्दत छ । ठूलाठूला भीमकाय भ्रष्टाचारीलाई पनि सुरक्षा संरक्षण गरिरहेको छ । नेपाल सरकार आफू पनि भ्रष्टाचार गर्छ अनि भ्रष्टाचार गर्नेलाई कसैले खबरदार भन्यो भने भ्रष्टाचार गर्नेको हिसाबकिताब भ्रष्टाचारबाटै मिलान गर्छ । त्यसैले हामी जनताले के बुझ्नु पर्छ भने नेपाल सरकारले कृषि प्रधान देश कृषि प्रधान देश भनेर घाँटीको नसै पड्किने गरेर चिच्याए पनि खासमा नेपाल भ्रष्टाचार प्रधान देश नै हो त्यसैले थोत्रो घरमा मुसाको रजाइँ चल्नैपर्छ। गमलामा धान फल्नैपर्छ ।

०००
पाेखरा
पाेले पनि घामै प्याराे… (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x