सुरेशकुमार भट्टखाने भनेको यस्तै हो हजुर
बुढीको मुखबाट खुस्किहाल्यो “मरि गएछु नि” बुढाले सुनीहाले हत्तपत्त चुपचुप भन्दै भान्सामा उक्लेर पिर्कामा बसे। छोरा जेठा पनि चौकीमा बसेर चोर औंला उठाएर भने चुप।
सुरेशकुमार भट्ट :
गाउँघरमा एक अर्कागाउँमा आफ्ना नातेदार ईष्टमित्र पाहुनाका रूपमा आउने जाने गर्दछन्। कतिपय भेटेर फर्कने र कतिपय बेला बासै बस्ने गर्दछन्। पहाडका गाउॅका घर भित्र होचो हुनाले अग्लो मान्छेलाई त दलिन र नालमा पनि ठोकिने डर हुन्छ। घरमा भित्र झ्याल एउटा ॲाखीझ्याल मात्र हुनाले भित्र मझेरी चुल्हो अँध्यारो हुन्छ। त्यसैले बाहिरबाट भर्खरै भित्र छिर्दा त निष्पट्टै पो हुन्छ। कहिले त पाहुना चौकीमा बस्छु भन्दा ॲाटमा ठोक्किएर चुल्हामा भान्सेलाई ढोग्न, अँगल्याऊन पुग्छ। रातमा भए त दियोको धमिलो उज्यालोमा केहि देखिन्छ। दिनमा बिहानमा त झन् भान्सेलाईनै पनि गाह्रो पर्छ। खाने चिज बिज परिकार सबैलाई परिपन्च गरेर भागलाएर दिदादिदै पनि कहिले काँही कतै दोहोरिने हुन जान्छ जुन कुरा भॅाडा टिप्ने बेलामा मात्र थाहा लाग्छ।
यो उपकथा धेरै साल अघि तिरको हो। केटी हेर्न भनेर सिउँडीबोटे गाउँबाट तीन जना मान्छेहरू घडेरी गाउँमा गए। साँझमा घडेरी गाउँ पुगेर आफ्ना नातेदारको घरमा बास बसे। तीन जना मध्य एकजनाको दिदी घरबुढी थिंइन्। तेहिघर एक जनाको जेठी सासूको घर थियो।तिनै जेठी सासूकी भाइ बुहारीको बाउ शर्मदारी पाहुना केटाका बाउ बास बस्न आई पुगे। घरमा पाहुना आएपछि कुल परम्परा अनुसार घिउ, दूध र कतिपय मासुको लागि कुखुरा काट्नै पय्रो। यसो बिजुली पानीको व्यवस्था पनि गर्नै पय्रो । तर घडेरी गाउँका यी अम्माई बाहुनको घरमा भने मिठो मसिनो धानको चामल र दुहुना घर गोठ मै भएकोले मजेत्राको फेरले छोपेर छिमेकीसँग कुनै कुरा ल्याउन परेन। पाहुना पनि त ऊनकै कान्छी छोरीको हात माग्न आएका न हुन्। घरमा भएकै चिज बिजबाट मनग्गे समखान पुय्राऊन सक्थे अम्माई जेठा।
बेलुकीको भान्सा तयार भयो। लोहोटामा पानी भुईंमा राखिदिए अनि धोती ल्याएर खाटको डँडालीमा राखिदिदैं भने ‘हजुर भान्सामा पाल्नु होस्।” पाहुनाहरू धोतीपाटा फेरेर खलानमा गएर हात गोडा धोएर भान्साका लागि पालै पालो भित्र पसे। अम्माई बुढाले भने अँध्यारो छ हजुर बिस्तारै चौकीमा बस्नुहोस्। बिरालाको चालले पाहुनाहरू चुल्हाको चौकीमा होसियारी पूर्बक बस्दैथे । केटी माग्न आएका केटाको बाउ पछाडि ॲाटमा ठोक्किएर झन्डै उछिट्टिएका थिए कन्याको मामा घरबुढीको भाइले च्याप्पै समातेर पिर्कामा बसाले। अम्माई बुढाले सोधे हजुर कतै चोट त लागेन ? नाई नाई केहिभा छैन ॲाटमा ठोक्किएको मात्र हो। के गर्नि हजुर यस्तै छ हाम्रो घर । बुढी उता चुल्हामा दुवैहातले जुगुरे कपाल कन्याउँदै थिइन् तै यतै पाहुना आँटमा ठोकिएकोतिर लागेकोले देखेनन् र पो।
भान्सेलाई पहिलेनै मामाले भान्सामा टाउको नकन्याउनु नि भान्जीलाई हेर्न केटाको बाउ आ छन्। अनि दिदी केटाको बाउलाई दिंएपछि मात्र बुहारीका दाइलाई दिनु अनि मात्र मलाई नभुल्नु नि फेरि सुन्नुस् भान्सामा बसेर टाउको नकन्याउनु नि भनेर सूचना दिई सकेका थिए।खाने चिजविज दाल, तरकारी, अचार, घिउ, दूध, मह लहरै कटौराको घेरा लाइदिएर स्वागत गरिन् छोरी माग्न आऊने पाहुनाको। दोस्रो कटौराको घेरो अलि अलि आफ्नै जुगुरे कपालको छाया परे पनि कटौरा गनी गनी छ वटा राखि दिएर लमी बनी बरूको काममा आएका बुहारीको बहिनी जुवाईंलाई सम्मान गरिन्। अब पालो आयो भान्जीको बरूको काममा पाहुना लिंएर आएको भाइलाई ॲध्यारोको पर्वाहै नगरी खुरू खुरू कटौरा सारी दिईन्। तिनै जना पाहुनाले खुरू खुरू खाए नपुगेको मागे थपे खाए। के मिठो भयो होला र हजुर हतार हतारमा पकाएको भान्सा ? केटाका बाले भने ठिक छ हजुर ग्रिहस्थीमा खाने यहि त हो।” अनि बुहारीको भाइले टाठो टाठो स्वरमा भने “ भान्सा सबै ठिक छ हजुर ठिक छ खाने भनेको यस्तै हो हजुर” भने। बिस्तारै भाइले सानो स्वरमा भन्यो “ठिक छ दिदी ठिक छ खानेकुरा जे भा नि भोक पो मिठो होत, ठिक छ।”
पाहुना भान्सागरेर बाहिर निस्के घडेरी गाउँको घाँसे तमाखु सबैतिर तारिफ गर्थे। गडगडे हुक्कामा ठिक्क पारेर राखेकाले अम्माई बुढाले भने हजुरहरू यो भाते सर्को तानुम् म चारगाँस टिपेर भान्सा उम्काई दिन्छु।” भनेर हुक्का चिलिम नली दिएर आफू भान्सातिर लागे।चुल्हाबाट बुढीले भाँडा टिप्दै जाँदा त भाइलाई दालैदाल दुधै दुध, बुहारीको बहिनीजुवाई लमीलाई घिवैघिउ, तरकारी तरकारी परेछ, बुढीको मुखबाट खुस्किहाल्यो “मरि गएछु नि” बुढाले सुनीहाले हत्तपत्त चुपचुप भन्दै भान्सामा उक्लेर पिर्कामा बसे। छोरा जेठा पनि चौकीमा बसेर चोर औंला उठाएर भने चुप। बुढीले हात धोएर आएर भात पस्किन थालिन्। मझेरीबाट बुहारीले भाँडा टिपेर लगिन् चुठ्यान् खलान रछ्यान्तिर।
भित्र जति खास खुश गरे नि ॲाखीझ्याल उज्यालो पो पुरा दिँदैनथ्यो आवाज त सर्लक्कै बाहिर दिई हाल्यो। बाहिर पनि खस्याखुसु भो भनिहाले लमीले ॲध्यारामा सूर्य कहाँ देखिन्छ र ? हजुर तारा र चन्द्रकै भरमा घुर्मैलो ॲध्यारामै काम गर्ने हो । सबैकुरा जस्ताको तस्तो हुँदैन कहिं कतै पनि” भनेर भनीदिए। सबै चुपचाप भएर सुने मामाले भने “जे हुनु छ हजुर त्यो त भै हाल्छ।”केटा बाउले भने हो “हजुर हुनि हारे दैव नटारे।” दु:ख सुख बाजा बजाएर कहाँ कहिले आउँछ र? भाग्यमा जे लेख्याछ, त्यो बेहोर्नै पर्छ।” हो नि हजुर हो भनेर लमीले सहि थापे।
कन्याका मामाले बोल्ने कुरै पाएनन् समर्थन् स्वरूप मुन्टो मात्र हल्लाई रहे। हल्लाई रहे। हाँस्न पनि मक्मक्किन पर्ने बेला नि आउँदो र छ हजुर भनेर केटाको बाउको कानमा बुहारीको दाइले भन्दैथे।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































