साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘तेरा मुखमा डाडुले कोपर्न पर्ने’

अब खोजेर कहाँ पाई। सुनिस् फुलमति ? पुरूषले राज गरेको भन्या हैन ? भो केहि नभन बुढा ! हेर ! कठैबरा ! घिरौंले’ पुरूष प्रधान रे ? ’त्यसका मुखाँ डाडुले कोपर्ने ?।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

कुरा खाँट्टी नेपाली गाउँघरको हो कुनै पहिलेका कुनै अहिलेका तर कथित पुरूष प्रधानको ट्यागलागेको थियो ता पनि पीडित लोग्ने पिडक स्वास्नी हुनाले उठिबास लागेको भिडमा पनि एक्लो सायद होमलेस पनि यस्तैलाई भन्दा नि हुन्छ क्यारे ?

पहाडको दुर्गम ठाउँ, केमरा चाहिं गाउँको नाउँ, एक जमानामा केमरा फूलै सरह वासना र शोभाको गाउँ हुनाले कमेरे गाउॅलाई नाम बदलेर केमरा भनेर राखेका रे भनेर पाका बुढाबुढी कुरा गर्थे। तेसो त केमरा फूल ऐले पनि नभएको कुनै घरै छैन मठमन्दिर र पँधेरै छैन। जता गए नि केमराकै फूल मगमगाउँछ भन्थे त्यो गाउँमा गएर आउनेहरू। त्यहाँ सबै खेतीकिसानीहरू बस्थे। तेही केमरागाउँमा एउटा घिरौंले भन्ने बलबान मान्छे थिए। वनमा गयो भने टौवा जत्रो घाँसको भारी लिएर आउँथ्यो। उसका गोठका गोरूभैंसी मोटाघाटा दुधालु र चिल्ला माखा लड्लान् जस्ता हुन्थे।
ऊसकी स्वास्नीले घाँसको मुठा समाउनी भनेकै तेही पुँडो सरेको चार दिन हो। नत्र घरमै बसेर कुच्यारै खाने हो।खेतबारीमा काम गर्न जानु त सन्कनै बस्तुको गोबर यसो कोदालाले तानेको पनि कहिल्यै हैन। वन उनले देख्याछैन, वनले उनलाई चिन्या छैन।

पानीपँधेरो चुलोचौको काँचोपाको नानीबाबु स्याहार्नु यत्तिकैमा ऊनको दिन बितिरहेको थियो बर्षौंदेखि भद्रीको जिन्दगी। मुख उद्याएको छुरा, भैमा खस्नै नहुने कुरा, रिस बहुला कुकुर, गुन साँच्चिकै ढुकुर। तैपनि गृहस्थी चलिरहेकै थियो लोग्ने घिरौंलेहैन नौनीघिउ भएकोले। जस्तो पकार दे पनि काँचो पाको भन्नै नपाउने। नुनलागे नलागेको भन्ने कुरा उठाउनै नहुने झम्टिने उस्तैपरे हातको डाडु पनियो जे हो त्यसैले बजाउने। चारपाँच वटा केटाकेटी भैसके केरोस् बिचरा घिरौंले मार मार ह्या मारमा परेर चार प्रहर रात गुजार्न पनि संकटमा थियो। तै पनि केही नभनी नभनी सहि रह्यो। सहनुको पनि हद हुनेरैछ । हदनै नाघे पछि आफै बढ्याङ्ग विस्फोट हुँदो रैछ।

बिचरा घिरौंलेलाई दशैं बाहेक कुनै चाडपर्व नै हुँदैन कि जस्तो भैरहेको थियो। अरूले कुरा गर्दा बल्ल उसलाई ए ! आज यो चाड पो रैछ हगि ? मनमनै भन्थ्यो तर चाड मान्नेतिर कुनै ध्यान र समय जाँदैन थियो। ऊसको दैनिक काम जसरी लुरे लाङ्ग्रे तीन जना बराबरको थियो भने जिउ डाल दारपात पनि कम्तिमा दरै दुईजना बराबर थियो भने खान्गी पनि खस्रो मसिनो काँचो पाको गरी दुईजनाले खानेजति जे भए नि पेट भर्न पर्थ्यो। कामले होला अपच र पेट गडबड कहिल्यै भएन।  काँचो कचिलो बासी तासी गरेर भए नि पेटभरे पछि पचेकै थियो।

कहिले त दुष्ट पत्नीले अड्कलेकोले नपुग्दा र पेट नभरिएकोले हाँडीमा मकै भटमास एकै चोटी अरलेर पोल्टामा हालेर बन जान्थे। कहिले बासी मकै २/४ घान जोगाड गरेर घरमा कोहि नउठ्दै पटुकामा राखेर वन जान्थे। मरी मरी टौवा जत्रो घाँसको भारी घरमा पुर्याएर बिसाएर लामो सास फेर्न पा छैन कस्तो होला हंस पनि खसी बोकालाई राखेको बासी मकै लिएर गएछन् कति अटेको पेटमा पनि भनेर चोथाले दुष्ट स्वास्नीले फलाकेको सुन्दा, भतक्क भएर पिँडीमा बसेर खुईअ गर्दै मनमनै यी लाला भुलाको मायाले बाँध्यो मलाई नत्र जुरूक्क उठेर हिँडी हाल्थेँजस्तो लागेर लामो सास फेरेर खुईआ गर्दा ”कस्तो अलछिना घरमा बसेर खुईआऽखुईआऽ गर्या छ” भन्दै थिइ दुष्ट उता । यता लुगा खोलेर बाहिरकै झोकमा झुन्ड्याएर पिँडीको लोहोटा लिएर भित्र गएर पानी सार्न खोजे । पानीनै रहिनछ। थपक्क दुईटा गाग्री डोकामा हालेर पँधेरातिर झरे।अलिखेरमा पानी ल्याएर पिँडीमा एक गाग्री र एक गाग्री भित्र लगे।

थपक्क तामे लोहोटामा बाहिरको गाग्रीको पानी सारेर लिएर भित्र पस्दैथे “आफैं झिक्ने खाने यति बेला छक्कलीसम्म खालीपेट भएर दुख्न थाल्यो नानीबाबु सँगै खाए मैले जति छ खाने भाँडा ल्याएर रछ्यानमा राखिदिने” भन्ने हुकुम चलाई पत्नीले । ऊ नबोली चुलामा गयो। चामल भात एक कुड्की रैछ कसौडीमा, च्याँख्ला छुर्को छुर्को तीन कुड्की रैछ सबै सोहोरसाहर बनाएर गुन्द्रुक पकाको ताप्केमा राखेर लफर्कायो बिचरा के होस् ? घिरौंली हात्ती, चार कुड्की भाती, जीरा चपाए जस्तो भो अनि यसो हेरेको मकैको पिठो रैछ डालामा थपक्क खाली ताप्केमा राखेर मोही हालेर घोल्यो अनि स्वाट्टैपियो र डकार्दै भाँडा ल्याएर रछानमा खर्क्याई दियो।अघि खोलेर झोकमा राखेकाे लुगा फेरि उनेर नाम्लो कम्मरमा बाँधेर वनजान ओरालो लाग्यो। यस्तैयस्तैनै हो हर नि:शुल्क लोग्नेकमाराहरूको जिन्दगी पुरूष प्रधान देश नेपालको गाउँघरमा।

दशैंको फूलपातीको दिन थियो। तीनदिन दशैंको लागि घिरौंलेले बस्तुहरुको लागि घाँसपात पानीसमेत दुईटा ड्रममा भरेर सबैको ब्यवस्था गर्याे। तीन दिन त घरमा बसौं ईष्टमित्र भेटौं हिउँद बर्खै दु:ख गरेर जम्मा गरेको मानु हाँसीखुशी रमाईलो गरेर खाउँ भनेर पनि ब्यवस्था मिलाएको थियो। म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो” हात गाथ साथले धोका दिंएपछि, ओच्छ्यानै बिषालु गोमन भएपछि, बिष वमन त गर्नेनै भयो, डस्ने नै भयो माया गरेर चुम्दा बिषपान हुनेनै भएपछि जिन्दगीको के ठेगान कतिखेर कालले घिस्याउँछ भन्ने कुरा। कुनैपनि देश वा परिवार सहिमार्गमा डोर्याउने असल अगुवा एक नै हुने हो उसैको अगुवाईमा सुरूसुरू जाउँन्जेल रफ्दारमा चल्छ चरीको दूध उब्जिन पनि सक्छ जब दुई वा तीन हुने बित्तिकै विवादित र विभाजित भै हाल्छ। अनि ओराली र कराली हुन सुरू हुन्छ।

दु:ख आपत कहिँ पनि कहिले पनि बाजा बजाएर आउँदैन आफ्नै गतिमति बिग्रिनाले आउने र धनाहाको तनाहा, तनाहाको गनाहा हुने हो । घिरौलेको घरमा पनि सुखले विदा लिने र दुखले घेर्ने अभाव र तनाव सुरू हुने दिन आउँथ्यो होला अलि ढिलो वा घिरौले तल बितल भएमा तर छिट्टैआयो राजा प्रजा धनी गरिब शत्रु मित्रु सबैको साझा दशैंको मुखमा दशैं सुरू भएकै दिन फूलपातीकै दिन।

बिहानै दुईधार्नी मासु ल्याएर पकाएको छ। केटाकेटी चिची र नानामा रमाएका र आँगनमा खेलेका छन्। बेलाबेला आमा चिचि भनेर बाहिर ल्याएर एउटै थालबाट टिप्दै खाँदै खेल्दै गरेका छन्। जाँतोमा भैँसी गोरू र खसीबोका बाख्राका लागि कुँडो फाँडोको लागि मकै पिंध्दै आँगनमा छोराछोरीको रमाईलो दशै हेर्दै रमाउँदै गर्दागर्दै दुई पाथी मकै दरेली सकेछ। च्याँख्ला डालामा उठाएर भित्र मुलोच्छ्यानमा लगेर राख्दै भन्यो अब भात खाने बेला भयो होला नि मैना आमा। अघिनै भाको नि। कोहि खान आउनी हैन छोरा छोरी आँगनमा बाउ काम देखाएर जाँताँ। ल ल भो म बोलाउँछु ए मैना भाइ बहिनी सबैलाई लिएर भात खान आऊ। हस् बा हस् । ए भाइ बहिनी हो सबै अब भात खाएर खेल्ने पिंङमा भोलि जाने । ए बाटुली जा तँ नि घर गएर भात खाएर भाइ बहिनी लेर आईजा है। म त गएँ भात खान सबै भित्र पसे। हात धोए सक्नेले नसक्नेलाई मैनाले धोईदिई। धमाधम भात र मासु खानथाले। केटाकेटीले खाएर उठ्न थालेपछि स्वास्नी चाहीं भद्री पनि खानबसी।

घिरौंलेले पनि गॅास हाल्यो मुखमा निक्कै पिरो आयो तर नुन लागेको रहिन्छ। के गरेर पकांईस् खोई ? पिरो छ नुन छैन भुरा स्याँ स्याँ र सुँ सुँ गर्या छन्। आज त राजाको दशैं भन्छन् भनेर पानीखान लोहोटा पुग्दैथ्यो भद्रीको हातको फलामे डाडुले नाक कोपर्दै उग्रचण्डी भएर भनी मिठो खाने र खुवाउनेले आफैं पकार खा, लोक्खा भनेर लछारेकी नाकै लिथ्रि लिथ्रि भो रगतले भातको थाल रातो भो। घिरौंले बाहिर निस्कौं भने केटाकेटीले देख्लान् भनेर नाक समाउँदै तलामा उक्लिएर घोप्टे लगाएको आवाजसम्म आयो। त्यो रात तल्लो तलामै सबै सुते भोलिपल्ट घरको छानु उध्रिएको छ नि त भद्री तिम्रो त भन्दै माथिल्लो घर काली दिदी आईन् । नहोला ऊनीहरू पनि केटाकेटी समेत गएर हेरे घरको छाना ह्वाङ्गगै देखेर भद्रीले भनी ‘मरिहालेछ तेस्का पैताला फर्कार’ भन्दै घरतिर गई। के भन्या होला दशैंको बेलामा भनेर काली दिदी जिल्लै परिन् तेतिखेर। भद्रीको थुतुनोले र रीसले पाँचै बर्षमा जलेर भष्म भै तेहि भएर मान्छेले थुतुनो र मुतुनो जोगाउनै पर्छ नत्र भद्रीको जस्तो खौलामा परे नि आबै नि भनेर उठाउन आउने कोहि हुँदैन भन्ने डाँडो खोलो फैलियो।अब ऐया न आत्थु। मेरो बाबु भनेर केर्नु ?

केमरा गाउँले भन्थेरे ६०/ ७० वर्ष भो अहिलेसम्म घिरौंले फर्केर आ छैन रे। जुठे कटुवाल भन्थ्यो रे केर्नि हजुर ठूलाको ठूलै पिर सानाको सानै पिर, केमरा गाउँमा पनि तेस्तै भो‘ साँढ माते सिंङमा समाउने,राँड माते केमा समाउनु ? हजुर आजित भएर आफैं वेपत्ता भए बिचरा !अहिले भद्रीले तोरीको फूल देखेर केर्नु ? ’हाईमन पछुताई, बेला बितेर गो, अब खोजेर कहाँ पाई। सुनिस् फुलमति ? पुरूषले राज गरेको भन्या हैन ? भो केहि नभन बुढा ! हेर ! कठैबरा ! घिरौंले’ पुरूष प्रधान रे ? ’त्यसका मुखाँ डाडुले कोपर्ने ?। ”यस्तैयस्तै छ हाम्रो गाउँघरको तिता मिठा कथा कुथुङ्ग्री। जय लोकवेद ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x