सुरेशकुमार भट्टनिछट्टो सम्धी
अनि वन सम्धीले आफैं भनेछन् क्यार्नि खोई अब साँटुम भएन छोरी गोठेरीमा परिछ अब कसो गर्ने त एउटा कुखुराको फुल फुट्यो त नि फुट्यो अब कसो गर्ने ?

सुरेशकुमार भट्ट :
धेरै धेरै वर्ष पहिलेको कुरा हो कुमाई र पुर्वियाको बिचमा मागी विवाह गर्दैनथे। सितिमिति भगाई, ल्याई, लगी र चोरी विवाह पनि गर्दैनथे। भात भान्सा पनि त पुर्वियाले पकाको कुमाई नखानी, कुमाईले पकाको पुर्वियाले नखाने हुनाले एक अर्का बाहुन भएर पनि बाहुन जस्तो व्यवहार र चेलीबेटीको सम्बन्ध थिएन। दुवै बाहुन बाहुन भएर पनि एकले अर्कोलाई बाहुन सरह चालचलन समेत गर्दैनथे।
किन उस्तै बाहुन कोही कुमाई र कोही पुर्विया भनिए भनेर सोध्नेलाई बुढा पाकाहरू यस्तो जवाफ दिन्थे।”भारत वर्षमा हिन्दूहरूलाई हराएर मुसलमान शासक हरूले मुस्लिम साम्राज्य खडागरे पछि हिन्दूहरू माथि अत्याचार गर्न सुरू गरेकाले पैले आफ्नो धर्म र संस्कार जोगाऊनका लागि खस ब्राम्हणहरू उत्तरी हिमबत् खण्ड तर्फ लागे। यी पहिले आएकाले पुर्विया भनिन थाले। पछि मुसलमानको पालामा जनै छिनाली झिकीदिने टुपीकाटी गाडामा राख्दा ७७ गाडा भएको थियो रे। महिलालाई बलत्कार गर्ने बच्चाहरूलाई तरबारको टुप्पाले पेटमा गाडेर च्याँ च्याँ बनाउँदै घुमाउने र मार्ने, हिन्दू देवदेवालय भत्काउने र कब्जा गर्ने जलाईदिने जस्ता हिन्दूहरू माथिको अत्याचार भएकोले खप्ननसकी नेपालको पश्चिमी भेगतिर सुरक्षाको लागि जो सकेको झिटीझाम्टो बोकि बाटो लागेर जोगिए ।
यसरी सबै कुरा गुमाएर नारी अस्मिता समेत जोगाउन नसकी पछि आएकाले यिनलाई कुमाई भनियो भन्थे। केहि गरी कुमाईकी छोरी पुर्वियाको घरमा परे सहजै घरखान सक्छिन् तर पुर्वियाकी छोरी कुमाईको घरमा परे घरखान गाह्रो पर्छ, त्यसमा पनि सासु कुमाइकी छोरी छन् भने साह्रो गाह्रो पर्छ। संस्कारमै केहि फरक हुन्छ। मठ सिंगार्ने टन्टै बढि हुन्छ भनेर पनि भन्थे अरे।”
रहँदा बस्दा कालकलाऊ (केहि गरी) समय र परिस्थितिले एक आपसमा खासाखुसु विवाह हुन थाल्यो। त्यसैगरी राँटेपानीको मकै साहुको छोरा अन्तरेको विवाह कुमाई पाँडेकी छोरीसँग भयो। राम्रै बाजागाजा साथ जन्ती वरियात लगेरै तीन साल अघिको हिउँदमा रितपूर्वक विवाह गरे। विवाह पछि आउनी जानी हुनथाल्यो। पाँडेकी छोरी हसनाले पनि जुम्ल्याहा छोरा पाइन्। नातीहरूको भातखुवाईमा माइती बोलाएकाले मावली तर्फका हजुर बाआमा मामाहरू सजधजका साथ आए।
पाहुनाको समखान पुग्यो पुगेन मकैसाहुले घुमेर हेर्नसम्म पनि भ्याएनन् किनकी भाइछोराहरूलाई जिम्मा लगाएकोले आफैंले हेर्ने कुरा पनि भएन। भात खुवाई पास्नी कर्मको समापन भयो सबै बिदाबारी भएर गए। छोरी हसनालाई सुत्केरी पोस्नका लागि पास्नी गरेको एक महिनापछि पाँडे सम्धी घाम डाँडामा बस्ने बेलामा टुप्लुक्क आइपुग्नु भो।पाउलागी सम्धी भन्दै घरसम्धी तिरपाँडे सम्धी अगाडि बढ्नु भो दुवै सम्धीले पाउलागी गरे। तेहिभएर समको सम्धी हितको मित भनेर भन्छन्। बसौं सम्धीज्यू भन्दै हातमा समातेर पिंडीको खाटमा बसाए। भित्रबाट सम्धिनी आएर दर्शन हजुर भनेर चुल्ठोको टुप्पाले निहुरेर मझेरीबाटै ढोग गरेर भित्र गइन्।
मकैसाहुले भने सम्धी तमाखु खाउँ है भनेर भित्र पसे। गडगडे हुक्का चिलिम र हातमा सेतो नली लिंएर बाहिर आएर पाँडे सम्धीको अघि राखिदिए। नाईंनाईं सम्धी पहिला हजुर नै खाउँ भनेर हुक्का चिलिम उतै सारी दिए। दुवै सम्धीले पालैपालो तमाखु धित मारी मारी खाए।अलिबेर घर ग्रिहस्थी खेतीपाती बस्तुभाउका कुरा भए। जुम्ल्याहा दुई नातीहरूको कुरा भयो। घर सम्धी चिलिम लिएर भित्र गए। यत्तिकैमा भित्रबाट हातमा लोहोटामा पानी र अर्को हातमा धोती ल्याएर खाटमा राखिदिएर भने सम्धीहजुर भान्सामा जाउँ भनेर राखिदिए। दुवै सम्धी भान्सामा गए। भान्सा गरिसकेर आएर बाहिर खाटमा बसे। अरू छिमेकीहरू पनि अघिनै आएर खाटमा बसिरहेका थिए।
उपकथा- तमाखु चुरोट खाँदै गफ गर्दैजाँदा पाँडे सम्धीले एउटा उपकथा भन्न थाले- बिहा गरेको दोस्रो वर्ष दिन गरेर घर पठाएकी छोरीको के छ त हाल भनेर बुझ्न बाउ छोरीको घर गएछन्।साँझमा नयाँ सम्धी आउँदा पनि खाटमा राडी काम्लो ओच्छ्याएको पनि छैन। बसाउनु अगाडि हातगोडा धुन लोहोटामा पानी पनि दिएको छैन। बल्ल तल्ल तमाखु भरेर सम्धीले ल्याए तर नली अलग अलग पनि छैन।
बेलुकाको भान्सा गर्न लोहोटामा पानी र धोती दिए तर पानी कसैले हालीदिएन। भान्सा गर्न गए सम्धी घरमा पाहुना हुन आउँदा कचौरामा घिउ, अर्को कचौरामा दुध, अर्कोमा दाल, अर्कोमा तरकारी, अर्कोमा चिनी अथवा सक्खर, अर्कोमा मोही वा दहि, यसरी लहरै थाललाई घेरा हालेर कचौरा राख्न पर्नेमा कुनै दुनामा कुनै थालको छेउमा कुनै भातमाथि कुनै पछि भाग बस्दैमा भान्सामा पाकेको खाइने सबै चिजबिज एकैचोटी दिनु पर्ने भाग बस्दा नराखिएको चिज पछि दिँदा कतिपयले खाँदैनन् भन्ने पनि नबुझेर दिएछन्। फेरि भान्सा गरिसकेपछि चुठ्नलाई भित्रै कोपरा राखेर एउटा मान्छेले पानी हालीदिनु पर्ने दाँत कोट्याउन सिन्का दिनपर्ने त्यो पनि नगरी एकैचोटी लोहोटामा पानी दिएर चुठ्न पठाएछन्।वन सम्धीलाई साह्रै रिस उठेछ र के हो सम्धी हजुरहरुकहाँ यस्तो रितिथिति छैन ? भनेर सोधेछन्। कसैले केहि उत्तरै दिएन छन्। अनि वन सम्धीले आफैं भनेछन् क्यार्नि खोई अब साँटुम भएन छोरी गोठेरीमा परिछ अब कसो गर्ने त एउटा कुखुराको फुल फुट्यो त नि फुट्यो अब कसो गर्ने ?” भनेर भनेछन्।
कस्तो लाग्यो हजुरहरुलाई कथा कुन्नि ?” सबै हलल हाँसे। घर सम्धीले फ्याट्ट झट्किलो पाराले भने ”निछट्टो सम्धी” हगि ? सबैले भने त्यो त हो नि। बल्ल वन सम्धीले भने ”हो नि हुन त।”
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































