जेन काइजेनसमुन्द्रे काइँलाको गुप्त दर्शन
अँध्यारामा सूर्जे हुन नसके पनि जुनकिरी जस्तो पिलपिल चैं भैरहनु है गुरु । यो कुटील दुनियाँले एक शताब्दी पछि हजूरको खोजी गर्नेछ । दुनियाँ बिपरित भए पनि म छु है गुरु ।

जेन काइजेन :
मान्छेको समय आउनुपर्ने रहेछ । सुन्न त कति सुनेको नि, ‘अप्ना टाइम आएगा,’ भन्ने तर आज आएर समुन्द्रे काइलो भाइरल भएको देखेर मन खुशीले भरिएको छ । उन दिनमा यस्ता टिकटक, फेसबुक हुँदो हो त आज समुन्द्रे कति ब्यस्त मनुवा हुन्थे होला । तर जे होस् ढिलै भए पनि उनले प्रतिपादन गरेको सामुद्रिक सिद्दान्तले आज मार्केट तताएको छ । छोटोमा भन्नुपर्दा उनले मानव मनको गहन अध्ययन र चिन्तन पश्चात एउटा अन्तिम निचोडमा पुगेर सर्वमान्य सिद्दान्त प्रतिपादन गरेका छन् ।
‘पतिको मन विशाल समुद्रजस्तै हुन्छ, जहाँ हजारौं मछलीहरु खेलुन् तर….।’ उहाँको परम चिन्तनको निचोड यहि नै हो । यसै कुरालाई उहाँले ब्याख्या गर्दै आफ्नो फेसबुक पेजमा मसान नाच्ने ट्याम पारेर के हाल्नुभएको थियो देशी विदेशी उहाँका शुभचिन्तकहरुले बधाइको ओइरो लगाए । त्यसमा केहि इर्ष्यालु मनुवाहरुले नकारात्मक कमेन्ट गर्नु अचम्म मानिएन । स्वयं समुन्द्रे काइला गुरुले नकारात्मक चिन्तनधारीहरुलाई ताकेर उनीहरुको अज्ञानतामाथि छोटो मन्तब्य दिँदै भन्नुभएको छ, ‘सत्य बोल्दा उहिले अरस्तुले पनि हेम्लक बिष पिउन वाध्य भएका थिए ।’ यो मन्तब्य सुन्नासाथै साह्रै औडाहा भएर गुरुलाई म सम्झाउँदो भएँछु – गुरु अरस्तु हैन होला, सुकरात पो होला त हेम्लक बिष सेवन गर्ने । गुरुले भन्नुभयो‐ यो लाक्षणिक कुरा हो । धेरैले पिएका छन् भाइ त्यस्ता बिष । भोलि तिमीले नै अथवा मैले नै पनि मेटासिड हान्न पर्ने हुन सक्छ । यस्ता कुतर्क नगर्नु मसँग ।
देख्नुभयो नि उहाँको अध्ययनको दायरा । समुन्द्रवारीका वेद, उपनिशद, चाणक्य, चार्वाक, कन्फुसियस, ताओदेखि समुन्द्रपारीका सुकरात, अरस्तु, प्लेटो, कार्ल योङसम्म चपाउनुभएको छ समुन्द्रे गुरुले ।
गुरुले एकदिन राती (भन्नु नै पर्दा गुरु रातको सन्नाटामा संसार मुर्छित भएका बेला नै जागृत हुनुहुन्छ ।) म दुःखी आत्मा माथि परम कृपा वर्षाउँदै एक मेसेजरुपी दिव्य वाणी प्रेशित गर्नुभयो । म त्यस घडीमा यो सांसारिक जगतको भुलभुलैया वल्डकप नामक खेलमा गुड्काइने, संसारैलाई लतार्ने मायावी भकुण्डाको पछाडि आफ्नो चेतनाको बली दिएर मुर्ख भैरहेको रहेछु । गुरुको दिव्य
मेसेज पाएपछि म सौच गर्ने निहुँ पारेर बाहिर निस्केर यसो पढिसक्दा पो थाहा भयो अब संसार बदलिनेछ भन्ने कुरा । मलाई पक्का थाहा भयो, अब संसार भकुण्डो त्यागेर गुरुपथमा लाग्नेछ । म अगुवा ब्याख्याता बनेर गुरु चिन्तनको प्रमुख प्रचारक भएर देश विदेश सयर गर्नेछु । मसँग वार्ता गर्न टेलिभिजनहरुले महिनौ कुर्नुपर्नेछ । मनले मुक्त बिचरण गरिरहेकै मौकामा गुरुले त्यस अमृतबाणीमाथि फेसबुके टिप्पणी गर्न र अन्य १०० जनालाई शेयर गर्न मध्यरातमै आदेश भयो ।
करोडौं मान्छेहरुमध्यमा आफूमाथि नै मात्र गुरु कृपा भएको सम्झेर रात्री प्रहरमै त्यस गुप्त सन्देशलाई संन्सारीकरण गर्दो भएँ । मलाई यो संसार यस्तो अघोर अन्धकारमा छ र गुरु वाणीलाई यसरी दुत्कारिन्छ भन्ने छ्यान भएनछ । बिहान उज्यालो नफुट्दै सो गुरु सन्देश मेटाउन मलाई घरकै एक मूल सदस्यले वाध्य पारे । यसमा पक्कै देशी विदेशी अतिबादीहरुको हात छ र कसैको उक्साहटमा ममाथि यस्तो दुर्ब्यवहार भैरहेछ भन्ने कुरा त मैले तत्कालै बुझिहालें । तर त्यस बखत स्पष्टीकरणको मौका दिइएन र गुरु वाणीले सम्पूर्ण नारी जगतलाई नै भानुभक्तको वधूशिक्षाले भन्दा कडा प्रहार गरेको अर्थ लगाइयो ।
गुरु, त्यसरी उज्यालो फुट्नै लागेका बखत संसारलाई फेरि घोर अन्धकारले खास्टो ओढायो । यस्तो सु–अवसरबाट म बन्चित भएँ । म वु बुद्धकाे प्रिय चेलो आनन्द जस्तो अथवा सुसमाचारका वाहकहरु अब्राहम, मोजेज, जिजसहरु जस्तो हुनबाट तर्काइएँ । मेरो जीवनको यो सबैभन्दा ठूलो दुर्भाग्य भयो गुरु । म यो जुनीमा यहि सान्सारिक मायाजालमा लट्पटिएर मर्ने गुहे कीरो समान हुने भएँ गुरु ।
यत्रा कुरा गर्दा पनि गुरुको पूर्ण सन्देश मैले सन्सारीकरण गर्न सकिनँ । मेरो असमर्थता देखेर हो कि गुरुमाथि नै कुनै भामरी खनिएर हो गुरुको फोन मेसेन्जर केहि लाग्दैन । समुन्द्रे गुरु हजुर कहिँ कतै लुकिछिपि बस्नुभएको भए यसो गोप्य सन्देश पाउँ । अँध्यारामा सूर्जे हुन नसके पनि जुनकिरी जस्तो पिलपिल चैं भैरहनु है गुरु । यो कुटील दुनियाँले एक शताब्दी पछि हजूरको खोजी गर्नेछ । दुनियाँ बिपरित भए पनि म छु है गुरु । समुन्द्र रत्न मेरा गुरुको जय !!!
०००
झापा
Subscribe
Login
0 Comments
Oldest





































