साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय दुख्छ यहाँबाट

आफ्नो काखभित्र शरणार्थी शिविर खडा गर्न सकिनँ भने मलाई कसैले केही नभन्नू म पनि अहिलेजस्तो भन्दिनँ— समय दुख्छ यहाँबाट पनि समय दुख्छ ।

Nepal Telecom ad

पूर्णविराम :

यो समय चितुवाले चिथोरेको
आभास लिँदै घाउ हेर्दै हिँड्नुपर्ने समय
घाम फर्केको इतिहास
नाङ्गा आँखा लिएर
दुःखी हुँदै पढ्नुपर्ने समय
तिमी आज पनि मेरा आँखामा लुक्यौ
केवल बतास पोखेर
दिन पनि लुक्यो
तिमी पनि लुक्यौ
दुख्छ यो समय यहाँबाट
अलिकति टाढाको ओछ्यान सम्झिँदा
भोक जति टकटक्याए पनि
जानै नमानेको यो समय
दुख्छ यहाँबाट पनि यो समय ।

प्वाँखहरूलाई एउटा न्यानो
गुफा दिन नसकेको समय
मानिसका बगलीहरूमा
विश्वास राखिदिन असमर्थ भइरहेको समय
प्रेमपूर्वक चलाउने
अधिकारभित्रको कपालमा
एक थुँगा फूल सिउरिन नसकेको समय
दुख्छ, यो समय दुख्छ
यहाँबाट पनि दुख्छ ।

ताजा घाउ पस्किन
मसँगसँगै आउन लागिरहेछ
एउटा समय सधैँको जस्तो
कसैले उपहार दिएको
पुरानो घडीको सुईबाट
कतिओटा सूर्य डुबे
घाम बाँड्न नसकेको कुरा सम्झिँदा
दुख्छ यो समय पनि ।

नीला मानिसहरूले
समयलाई अवलोकन
गरिरहँदा
यहाँबाट पनि यो समय दुख्छ
रगतको पसल थापेर
सुतिरहेको सडक हेर्दा
सडकले दुखाउँछ, समय दुख्छ
मात्र निद्राका लागि
धूलाहरू जम्मा पारेकोमा
त्यो समय पनि दुख्छ
यो समय पनि दुख्छ यहाँबाट
सानो झरीले पनि निभाउने
गरी फुकेको आगो यो समयभित्र दुख्छ
राहदानी लिएर बिदेसिएको
वसन्तलाई सम्झिँदा
वसन्त पनि दुख्छ
समय पनि दुख्छ ।

आफ्ना नङहरूले कोतरेर
सहरका सालिकहरूका पोसाकहरू
धुजा–धुजा पार्न सक्दिनँ
समय दुख्छ असमर्थ पिँजराभित्रबाट
आफ्नो मुखको बतास फुकेर
उडाउन सक्दिनँ एउटा बाज र
त्यसको आफलताफल बचेराहरू
सक्दिनँ, समय दुख्छ ।

खाली पेट दुख्छ
यहाँबाट पेटसँगसँगै
समय पनि दुख्छ ।

समयले दुखाउँदादुखाउँदै
प्वाँखहरू रोएका स्वरहरू
मैले सुनिनँ भने
हतकडी र नेलका इतिहासहरू
मेरा आँखाले सिंहावलोकन गरेनन् भने
मछेउ उभिएको सहिद हुन लागेको
मानिसको प्राथमिक उपचार
मैले गर्न सकिनँ भने
मलाई केही नभन्नू
कसैले केही नभन्नू
मैले भनेकै छु
भनिसकेकै छु, समय दुख्छ
यहाँबाट पनि समय दुख्छ ।

बाजका झुन्डहरूले
एउटा मानिसलाई
लखेटिरहेको बेलामा
मैले आफूलाई कन्याउन
बिर्सेको पनि हुन सक्छु
र चुपचाप अत्याचार हेर्ने मात्र
हेरिरहेको आँखा लिइरहेको हुन सक्छु
मैले त्यो थाकेको मानिसलाई
आफ्नो झुत्रो ओढनीभित्र लुकाएर
आफ्नो काखभित्र शरणार्थी शिविर
खडा गर्न सकिनँ भने
मलाई कसैले केही नभन्नू
म पनि अहिलेजस्तो
भन्दिनँ— समय दुख्छ
यहाँबाट पनि समय दुख्छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x