पूर्णविराममानिसहरू नरहेका राज्य
मानिसहरु नरहेका राज्यमा कुन क्षणले सिसार दिइरहेको छैन पीडा बटुलिरहेकी आश्रयविहीन बालालाई मसाने वैराग ? जुन रमाइलो लाग्ने आँगन अर्कै हुन्छ मानिसहरु रहेर राज्य गर्ने राज्य अर्कै हुन्छ ।

पूर्ण विराम :
आरक्षित गुफामा रहेका संरक्षित बालाका गोडाहरुका निम्ति
जमिनमा कहीं कतै बनेका होलान् खर्ल्याङखुट्टी निम्ति कोठाहरु
अँध्यारोकै संरक्षण गर्न पूर्वबाट पनि चलेको थियो बन्दुक
र अलिकति उज्यालोको निम्ति बोलेको थियो पश्चिमबाट बन्दुक
पूर्वको बन्दुकले लिएको बायाँ गोडा र
पश्चिमको बन्दुकले लिएको दायाँ गोडाको कथा हाल्दै
एउटा चटाईमा बसि रहेकी आश्रयविहीन बालाको निम्ति
जमिनमा कहीं कतै बनेको खर्ल्याङखुट्टीको कोठाले राख्छ के अर्थ ?
खर्ल्याङखुट्टी खेल्ने रहरमा चट्टान भएर जमेको छ बरफ
मानिसहरु नरहेका राज्यमा लागि रहँदा कहीं कतै घाम
राख्छ के गोडा गुमाएकी बालाको निम्ति घामले अर्थ ?
हरेक मौसममा आगोको गाता प्रदर्शन गरेर
भुइँमा खसेर विलुप्त भइ सकेको आगोलाई
ओठबाट टिपनटापन गरेर
ओरालोतिर उदाइ रहेछ एक मुट्ठी अभद्र कार्निबल
उत्सवभित्र अन्तर्ध्यान भएको छ बालाको आँखाबाट झरेको आँसु
कस्तो हुँदो रहेछ मानिसहरु नरहेका राज्य ।
पटक पटक बोकाकै रगत खान माग्ने देउताहरु कस्ता हुँदा रहेछन्
समयले देखाइ रहेको छ सरहपाहरु मरेका राज्य
र दरियाहरु प्रकट हुनबाट बन्बित रहेको राज्य
घाउ पखालेर धुन नसक्ने रिट्ठाहरु झुन्डेका छन् रुखहरुमा
र तिनलाई हेरि रहेकी बालाको ओठमा नफुलेर विशाद
कसरी लटरम्म फुल्न सक्छन् र मुस्कानका प्रसूनहरु ?
मानिसहरु नरहेका राज्यमा बतासले ठुलो कैंची बोकेर
काट्दैन डरलाग्दा भेडाका शरीरका रौंहरु र बनाउँदैन
त्यसले आश्रयविहीन बालाका निम्ति न्यानो राडी र तातो पाखी
मानिसहरु नरहेका राज्यमा
कुन क्षणले सिसार दिइरहेको छैन पीडा बटुलिरहेकी
आश्रयविहीन बालालाई मसाने वैराग ?
जुन रमाइलो लाग्ने आँगन अर्कै हुन्छ
मानिसहरु रहेर राज्य गर्ने राज्य अर्कै हुन्छ ।
मानिसहरु नरहेका राज्यमा झाँगिदै छन् कदमका रुखहरु
छहारी जन्माउने शुक्रकीटहरु कुनै रोग नलागिकनै मर्छन्
मानिसहरु नरहेका राज्यमा आश्रयविहीन बालाका निम्ति
कुनै पनि ऐनाहरुले बनाउँदैनन् बुई र खेलाउँदैनन् हाराबारा
राज्यले दिइ रहन्छ निर्दयी राजाहरुका नै आदेश सापटी लिएर
आश्रयविहीन बालालाई रोएर नै ऋतुहरुलाई पगाल्नु भनेर ।
०००
कविता पूर्णाङ्क १०० (२०७१)
Subscribe
Login
0 Comments
Oldest







































