साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोभेरिया

लोभेरियाको सुरुवाती लक्षणलाई हानिकारक मान्न सकिँदैन । तर जब यो बढ्दै जान्छ , लोभेरियाले न सहजसँग बाँच्न दिन्छ न त मर्न नै दिन्छ ! फेरि यो रोगले सानो, ठूलो, धनी, गरिब, विद्वान, अनपढ केही भन्दैन । कुनै पनि बेला जसलाई पनि लाग्न सक्छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

खै किन हो, आजभोलि रुचुन्जेल खाए पनि मनभित्रको गहिरो शून्यता भर्न सकिरहेको छैन । कता न मलाई पनि लोभेरियाले त समातेको होइन ? कताकता मनभित्र शङ्का उब्जिन थालेको छ । सुनेको छु लोभेरिया रोगको मुख्य लक्षण यही हो । यदि यो रोग लागेको भए समाजमा कसरी मुख देखाउनु ? हुन त अनगिन्ती लोभेरियाले ग्रसित मान्छे पनि लाज लुकाएर निर्धक्कसँग हिँडेको देखिएकै छ !

यस रोगले मान्छेलाई निर्लज्ज भएर बाँच्नुपर्ने अवस्थामा पुर्याइदिन्छ । त्यसैले निकै चिन्ता लागेको हो । भनिन्छ, मस्तिष्कको तृप्ति केन्द्रमा चोट लागेर गम्भीर मस्तिष्क क्षति भएका मानिसहरूमा प्रायः लोभेरिया रोग देखिन्छ । कता न, मेरो मष्तिस्कमा पनि यस्तै चोट त लागेको छैन ? लोभेरिया रोगको विषयमा धेरथोर सबैले जाने जाति नै होला । अचेल अधिकांश मान्छेहरू यस रोगबाट ग्रस्त भएको पाइएपछि यस सम्बन्धि सानो चर्चा गर्ने कोशिस गरेको हुँ ।

आफूसँग भएको वस्तुबाट सन्तुष्ट नभइ सधैं अरुको आस गर्ने र अन्यलाई भन्दा बढी चाहिने रोगलाई लोभेरिया भनिन्छ । कसैले भन्छन् ईर्ष्या डाह र आरिस लोभेरियाका झट्केला सन्तान हुन् । त्यसैले लोभेरियालाई माउ रोग भने पनि फरक पर्दैन । सुन्दा उस्तै सुनिए पनि मलेरिया र फाइलेरिया रोगसँग भने लोभेरियाको कुनै पनि नाता नभएको बुझिन्छ । लोभेरियामा न मलेरिया रोगमा जस्तो ज्वरो आउँछ न फाइलेरियामा जस्तै खुट्टा नै सुनिन्छ !

लोभेरिया रोग सामान्यतया त्यस्ता मानिसहरूलाई लाग्छ, जसले आध्यात्मिक कुराहरू भन्दा भौतिक कुराहरूलाई बढी महत्त्व दिइरहेका हुन्छन् । यतिले मात्र पनि लोभेरियाको परिभाषा पूर्ण हुँदैन,जसले आफूसँग भएको कुराको मूल्य बुझ्दैनन् र अर्कासँग भएको चीजहरूलाई धेरै महत्त्व दिन्छन् , यस्ता स्वभाव भएका मान्छेहरू पनि लोभेरियाका शिकार हुने गरेको पाइएकोछ ।

लोभेरियाले छोएपछि बिरामीहरू निरन्तर आफ्नो सामान र पैसा बचत गर्न अनेक तिकडम प्रयोग गर्न थाल्छन् । लोभेरियाले ग्रस्त बनाएपछि मान्छेहरू तक्षण रुन , हाँस्न, ठग्न,छल्न, ढाँट्न जे पनि गर्न सक्छन् । साथै,लोभेरिया लागिसकेकाहरू त्यस्ता हुन्छन् , जसलाई समुहमा भाग लगाएको वस्तु अन्य मान्छेलाई भन्दा धेरै चाहिन्छ । उनीहरू बराबर भागसँग कहिले पनि सन्तुष्ट हुँदैनन् । परिवारले र समाजले बाँडीचुँडी पालो लगाएर भागवण्डा गर्दा पनि यिनीहरूलाई सबैभन्दा पहिले र धेरै चाहिन्छ ।

सित्तैमा पाए चारमाना चुक पनि खान सक्ने र होइन आफूले खर्च गर्नु परे चारदिनसम्म पनि भोकै रहन सक्ने मान्छेलाई लोभेरिया रोग लागिसकेको रहेछ भनेर बुझ्नुपर्छ । आफूँमा यो रोग लागेको छ छैन सामान्य लक्षणका भरमा पनि थाहा पाउन सकिन्छ । चिठ्ठा पर्दा , पूजाआजामा प्रसाद वितरण गरेको समयमा, दान दक्षिणा पाउँदा , पद प्रतिष्ठा प्राप्त गर्दा, सार्वजनिक समारोहमा भोजन ग्रहण गर्न जाँदा पल्याकपुलुक हेरिरहने र नचाँहदा नचाहँदै पनि मुख अमिलो बनाउने र अतृप्त भए जस्तो लाग्छ भने बुझे हुन्छ आफूमा गम्भिर प्रकृतिको लोभेरियाले छोइसकेको छ । जब अचानक यस्तो अवस्थाको सिर्जना हुन्छ, तिनको पेट भरिए पनि मन भरिएको हुँदैन । यिनीहरूलाई प्राप्त वस्तु यति मात्र होइन, दोब्बर तेब्बर प्राप्त गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

यी त भए उपरोक्त वस्तुहरू आफैले प्राप्त गर्दाको अवस्था । त्यसमाथि अझै यी माथिका कुरा उसले नभइ उसका नजिकका आफन्त, छरछिमेक, दाजुभाइ, र साथीभाइले प्राप्त गर्नुपर्छ र ऊ प्रत्यक्षदर्शी हुनुपर्छ , त्यति बेला उसको मन झनै सम्हालिसक्नु हुँदैन । उसले आफूलाई मनमनै संसारमा सबैभन्दा दु:खी प्राणी भएको महसुस गर्छ । उसको नौनाडी गलेर फतक्क हुन्छ । भयङ्कर औडाहा हुन थाल्छ, छिनमै चिटचिट पसिना आउँछ , झलक्क हेर्दा मान्छे आइ सि यु मा भर्ना गर्नुपर्ने सिकिस्त बिरामी जस्तो देखिन्छ । एकैछिनमा हात खुट्टा काठ्ठिने गरि जाडो हुन्छ , जिउ लुगलुग काँप्न थाल्छ । पेट भतभती पोल्छ । झलक्क हेर्दा ईर्ष्या रोगको जस्तै लक्षण देखिए पनि यो रोगको सुत्रपात गर्ने मुख्य भूमिका भने लोभेरियाले ‌नै खेलेको हुन्छ । जब उसमा यस प्रकारको लक्षण देखिन्छ उसको लोभेरिया रोग सामान्य अवस्थाको मान्न सकिँदैन ।

कसैलाई यिनै लक्षण देखिए पछि केही दिनमा बिस्तारै निको हुँदै जान्छ भने कडा खालको लोभेरियाले छोएका मान्छेहरूमा भने थप लक्षण देखिन थाल्छ । यो रोग लागेको बिरामी आफूभन्दा उन्नति प्रगति गर्ने मान्छेसँग सकेसम्म बोल्न नपरे हुन्थ्यो र देख्न पनि नपरे हुन्थ्यो भन्ने सम्झन्छ ।

लोभेरियाका बिरामीसँग अचम्मको खुबी पाइने गरेको छ । सुरुमा कुनै व्यक्तिलाई कुनै कुरा फाइदा हुन्छ भनेर सुनाउने अनि उसलाई हुन्छ भनिएको फाइदा आफूले लिने लोभेरियाका बिरामीको बानी हुन्छ । त्यसैले लोभेरियाका बिरामीहरू काइते कुरा गर्न खप्पिस हुन्छन् । यिनीहरू आफ्नो कुलदेवताको रुपमा कुबेर र कुलदेवीको रुपमा लक्ष्मीको पूजा गर्ने गर्छन् । यिनले अन्य देवी-देवताको अस्तित्व स्वीकार गर्दैनन् । त्यसैले हरेक साँझ बिहान लक्ष्मी र कुबेरको मात्र पूजाआजामा समय कटाउँछन् ।

अचम्मको कुरा के हो भने लोभेरियाका बिरामीहरू यो रोग लाग्दा मनमा अनगिन्ती कुरा खेलाएर बस्छन् । फलानो म भन्दा गरिब छ, म भन्दा कम पढेलेखेको छ, मभन्दा सानो छ , आफूभन्दा तल्लो तहको हो । अनुहार पनि राम्रो छैन तर कसरी आफूभन्दा अगाडि भयो ? कसरी उसले कमायो ? कसरी ऊ धनी भयो ? ऊ राजनीति र समाजसेवामा कसरी सफल भयो ? यिनको मनमा यस्तै कुराले घर गर्न थाल्छ ।

उसको दिनचर्या मेरोभन्दा किन सामान्यसँग चलेको छ ? उसको भन्दा मेरो खेत अब्बल थियो , उत्पादन किन मेरो कम भयो ? उसको भन्दा मेरा सन्तान किन अल्छी भए ? यस्तै विभिन्न कुरा मनमा खेलाउँदा खेलाउँदै व्यक्तिमा मानसिक तनाव हुन सक्छ । अब ऊ पागल समेत बन्न बेर लगाउँदैन । त्यसैले तुलनात्मक बिश्लेषण गर्दा चर्चित “लभेरिया” रोगभन्दा “लोभेरिया” रोगलाई खतरनाक रोग मान्न सकिन्छ ।

अन्य बिरामीलाई जस्तै लोभेरियाका बिरामीलाई रोगले च्याप्यो भनेर डाक्टरसँग चँचाउन र अस्पताल र क्लिनिकमा भने लैजानु हुँदैन , रोग झनै बढ्ने सम्भावना हुन्छ । उस्तै परे बुिरामीको मृत्यु समेत हुनसक्छ। होइन अवस्था गम्भीर भएर लैजानै पर्ने भयो भने यिनलाई नि:शुल्क अस्पतालमा लैजानुपर्छ, जहाँ एक सुका पनि खर्च नहोस् ।

लोभेरिया रोग निस्सन्देह अनौठो प्रकृतिको र सितिमिति सुधार्न नसकिने रोगहरू मध्ये एक हो। यो रोग प्रायः राजनीति , समाजसेवा, साहित्य, सिनेमा, संगीत, शिक्षा ,गृहस्थाश्रम र चित्रकलाका क्षेत्रमा ज्यादातर देखिने गरेको छ । महत्वपूर्ण पदमा आसिन भएकाहरूलाई यो रोग लाग्यो भने त्यो संस्था र मुलुक नै खोक्रो बन्न बेर लाग्दैन । दु:खको कुरा वैज्ञानिकहरूले यस रोगको प्रभावकारी उपचार पद्धतिको विकास गर्न सकेका छैनन् । यो कोरोना महामारी भन्दा खतरनाक भएको कुरा बिर्सनु हुँदैन।

यो रोगको दायरा यति फराकिलो छ कि हामीले जसरी बच्न खोजेपनि पनि, यो रोगले आक्रमण गर्न छोड्दैन । रोगले अदृश्य स्थानबाट आफ्नो डरलाग्दो र बलिया पञ्जाहरू स्वाट्ट निकाल्छ र मान्छेको अनुहार नै बिगार्ने गरि आक्रमण गर्नेगर्छ ।

जबसम्म त्यस रोगले मान्छेको अनुहार नबिग्रने गरि आक्रमण गर्छ, मान्छेले उन्नति र प्रगति समेत गर्नसक्छ । त्यसैले लोभेरियाको सुरुवाती लक्षणलाई हानिकारक मान्न सकिँदैन । तर जब यो बढ्दै जान्छ , लोभेरियाले न सहजसँग बाँच्न दिन्छ न त मर्न नै दिन्छ ! फेरि यो रोगले सानो, ठूलो, धनी, गरिब, विद्वान, अनपढ केही भन्दैन । कुनै पनि बेला जसलाई पनि लाग्न सक्छ । अहिलेसम्म देखिएको नतिजाले यसै भनेको छ ।

हरेक युग र हरेक भूगोलमा, लोभेरिया रोगको अस्तित्व नभएको होइन । तर पहिलेको तुलनामा लोभेरिया रोगबाट ग्रसित हुनेहरूको संख्या दिनानुदिन बृद्धि भइरहेको पाइन्छ । यो शुभ लक्षण होइन । लाग्छ, बरु गनोरिया रोग लागोस् तर लोभेरिया रोग नलागोस्, कमसेकम गनोरिया रोग त उपचारपछि निको हुनसक्छ नि !

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x