लक्ष्मी रिजालप्रतिबिम्ब
आँगनमा किशोरीहरू भविष्य बुन्दै हाँसिरहे; दरबार मौन थियो, सायद इतिहास बोल्न थालेको थियो, वा फेरि कुनै नयाँ ऐनाले अर्को झूट खोज्दै थियो ।

लक्ष्मी रिजाल :
“यो दरबारको सबैभन्दा ठूलो झूट कुन हो ?”
प्रश्न सुन्नासाथ झ्यालछेउमा उभिएका पूर्वराजाको हातमा रहेको चियाको कप हल्का काँप्यो । आँगनमा पुरानो पीपलको छायाँ फैलिएको थियो । सामने उभिएकी युवतीले फेरि सोधी-
“तपाईंले देखेको नेपाल साँचो हो कि हामीले भोगेको ?”
पूर्वराजाले झ्यालबाहिर हेरे । पहाड उस्तै थिए, नदी उस्तै थियो, राष्ट्रिय गीतका धुनहरू स्मृतिमा उस्तै बजिरहेका थिए ।
“देश त सधैँ सुन्दर थियो ।” उनले धीमे स्वरमा भने ।
“सुन्दर ?” युवती मुस्कुराई, “घाम नपुगेका फूलहरू पनि देख्नुभएको थियो ?”
कोठामा मौनता बाक्लियो ।
“मेरी आमाले गाउँको बैठकमा बोल्न पाइनन् । दिदी विद्यालय छोड्न बाध्य भइन् । अधिकार माग्ने छिमेकी काकीलाई ‘मर्यादा’ सिकाइयो । त्यो पनि त्यही सुन्दर बगैँचाभित्रै ।”
यस्तो सुनेर पूर्वराजाको नजर टेबलमाथिको ऐनातिर सर्यो ।
बाहिरबाट किशोरीहरूको हाँसो सुनियो ।
“हामी इन्जिनियर बन्छौँ ।”
“म त गाउँपालिका अध्यक्ष !”
“म न्यायाधीश !”
हावाले झ्यालको पर्दा उचाल्यो । ऐनामा दरबारभन्दा बढी ती आवाजहरू चम्किरहेका थिए ।
पूर्वराजाले ऐना उठाए, केही बेर आफ्नै अनुहार हेरे, अनि बिस्तारै भुइँमा राखिदिए ।
युवती ढोकातिर लागी ।
“अब नेपाल कस्तो देख्नुहुन्छ ?” उसले फर्केर सोधी ।
पूर्वराजाले उत्तर दिएनन् ।
आँगनमा किशोरीहरू भविष्य बुन्दै हाँसिरहे; दरबार मौन थियो, सायद इतिहास बोल्न थालेको थियो, वा फेरि कुनै नयाँ ऐनाले अर्को झूट खोज्दै थियो ।
०००
२०८३/२/२४
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































