लक्ष्मी रिजालपाँच टेढामेडा मुक्तक
अब त हिजोका बन्धन र पर्दाहरू च्यातिएर सडकमा आइसके, तिमी पिँजडा बलियो बनाउँदै गर, यहाँ सुगाहरू आकाशतिर बढ्दै छन् ।।

लक्ष्मी रिजाल :
मुक्तक – १
चुल्होको चौघेराभित्र मात्रै आगो दन्काउने दिन अब गए,
मखमली चोलीमा आँसु लुकाएर सधैँ मन रुवाउने दिन अब गए ।
अन्तरिक्ष छुने पखेटा पलाएका छन् अचेल यी भँगेरीका,
गुन्यू-चोलीको फेरो समातेर भाग्यलाई धिक्कार्ने दिन अब गए ।।
मुक्तक – २
काँचका चुरालाई कमजोर ठान्ने भुल अब यहाँ नगरियोस्,
लाचार अबला सम्झेर थिचोमिचो गर्ने आँट अब नगरियोस् ।
चुपचाप सहे भन्दैमा कालीको रूपलाई जिस्क्याउने मूर्खता,
यो सृष्टिको सुन्दरतालाई बन्धक राख्ने धृष्टता अब नगरियोस् ।।
मुक्तक – ३
ओठमा लाली र गालामा गाजल लगाउनुलाई मात्र रूप नठानियोस्,
ऐना हेरेरै यो जिन्दगी सकिन्छ भन्ने यसको सङ्कुचित भूप नठानियोस् ।
जरुरत पर्दा संसद् हल्लाउने र संहार गर्नेसम्मको दम छ यसमा,
तिमीले देख्ने शृङ्गारको चमकलाई कमजोर घामको धूप नठानियोस् ।।
मुक्तक – ४
कसैको छहारी र कोमल छाया बन्न मात्र जन्मेकी होइनन्,
पुरुषको विशाल अहङ्कार पछाडिको मौन माया बन्न मात्र जन्मेकी होइनन् ।
आज आफैँ सूर्य बनेर संसारलाई उज्यालो छर्न सक्ने भइन्,
अरूको इशारामा नाच्ने कठपुतली र काँचो काया बन्न मात्र जन्मेकी होइनन् ।।
मुक्तक – ५
रूढीवादी चश्मा लगाएर सुध्रिने अर्ती दिनेहरू गल्दै छन्,
चप्पल पड्काउँदै हिँड्ने सोचेकाहरू त आज जहाज चढ्दै छन् ।
अब त हिजोका बन्धन र पर्दाहरू च्यातिएर सडकमा आइसके,
तिमी पिँजडा बलियो बनाउँदै गर, यहाँ सुगाहरू आकाशतिर बढ्दै छन् ।।
०००
रुपनगर, सप्तरी ।
Subscribe
Login
0 Comments
Oldest







































