लक्ष्मी रिजालक्षितिजको ज्वाला
आफ्नो अस्तित्व जोगाउन कुनै दैवी चमत्कार चाहिँदैन बा, हत्केलामा मातृभूमिको स्वाभिमान भए पुग्छ ।
लक्ष्मी रिजाल :
एकाबिहानै चट्टानी पहरा चिर्दै पुरानो ढुङ्गेधाराबाट पानी होइन, नीलो विषैलो आगोको ज्वाला खस्न थाल्यो ।
तत्कालै धर्ती थर्काउँदै विशालकाय यन्त्र आकाशबाट ओर्लियो र गाउँमाथि आफ्नो अँध्यारो छायाँ पार्यो । यन्त्रको विशाल ढोकाबाट निस्किएका फलामे जन्तुहरूले वृद्ध किसानको हत्केलाबाट उब्जाउ माटो खोसेर हिलोमा मिचिदिए ।
“यो धर्तीका मालिक अब हामी फलामे जन्तु हौँ !” एक जन्तुको गर्जनले डाँडाकाँडा काँप्यो । आतङ्कित मानव-भीड पछि हट्यो, तर युवक आभासका आँखाहरूमा आगो सल्कियो । उड्न लागेको फलामे जन्तुलाई उछिन्दै उसले हिलोबाट त्यही माटो उठायो, मुट्ठी कस्यो र यन्त्रको शक्तिकेन्द्रमै कोचिदियो । माटोको रातो स्पर्श पाउनासाथ नीलो बिजुली चम्कियो र भीषण धमाकासँगै यन्त्र र ती जन्तुहरू खरानी भए ।
धुवाँको बादल फाट्दै गर्दा आभासले हत्केलाको बाँकी रातो माटो निधारमा घस्यो ।
काँपिरहेका बूढा किसानको आँखामा प्रश्न देखेपछि आभासले क्षितिजको नयाँ बिहानतिर हेर्दै भन्यो, “आफ्नो अस्तित्व जोगाउन कुनै दैवी चमत्कार चाहिँदैन बा, हत्केलामा मातृभूमिको स्वाभिमान भए पुग्छ ।”
०००
२०८३/०४/२५
कञ्चनरूप-१२, रूपनगर, सप्तरी
Subscribe
Login
0 Comments
Oldest









































