लक्ष्मी रिजालबिऊ
"हामीलाई अल्छी बनाउने सर्टिफिकेट होइन, श्रम र सीपको क्रान्ति चाहिएको हो ।" गाउँका टाउकेहरूले गिज्याउँदै थपे, "आइमाईहरूले विद्रोह गरेर समाज चल्छ र ?"

लक्ष्मी रिजाल :
”तिमी यो चुलोको अँध्यारोमा कतिन्जेल कुहिरोको काग बन्छ्यौ, फूलमाया ?” गाउँकी अगुवा सुभद्राले हठात् दैलो उघार्दै भनिन्, जहाँ एउटा चम्किलो अर्थ लुकेको झैं भान हुन्थ्यो ।
फूलमायाले आँखाको आँसु पुछ्दै भनिन्, “दिदी, यो सरकारी ओभानो प्रमाणपत्रले मेरो भोक मेटेन, न त यो समाजको कुरुप नजर नै बदलियो ।”
“त्यो ओभानो कागजको खोस्टोलाई सिरानी हालेर मात्र हुँदैन, अब आफैं आगो बन्नुपर्छ ।” सुभद्राले उसको हात समात्दै दृढतापूर्वक गोडाहरू अगाडि बढाइन् ।
गाउँको चौतारीमा जम्मा भएका श्रमजीवी महिलाहरू माझ पुगेपछि फूलमायाको मौनता एकाएक बदलियो । उसले भनिन्, “हामीलाई अल्छी बनाउने सर्टिफिकेट होइन, श्रम र सीपको क्रान्ति चाहिएको हो ।”
गाउँका टाउकेहरूले गिज्याउँदै थपे, “आइमाईहरूले विद्रोह गरेर समाज चल्छ र ?”
तुरुन्तै, फूलमायाले हँसिया र कोदालो उचालेर सामूहिक कृषि क्रान्तिको बिगुल फुक्दै दृढ स्वरमा भनिन्, “सामुदायिक विद्यालयले बेरोजगार उत्पादन गर्ने कुरुप कारखाना चलाए पनि हाम्रा यी पसिनाका मसीले आत्मनिर्भरताको नयाँ र सुनौलो इतिहास लेख्नेछन् ।”
०००
२०८३ असार २ गते ।
रूपनगर, सप्तरी ।









































तपाईको यो लघुकथाको शिक्षा रोजगारमुखी भएन भन्ने भाव मलाई मन पर्यो । तर विद्यालयीय शिक्षा त सबैलाई चाहिन्छ । हाम्रो मुख्य समस्या विश्वविद्यालय स्तरको शिक्षामा छ । त्यसले विश्वरोजगार बजारको धार पक्रिन सक्नु पर्ने । त्यो देशभित्र उपलब्ध साधन र स्रोतको उपयोग गरेर जीविकोपार्जन गर्न सक्षम बनाउने दिशामा रहनु पर्ने । तर त्यो हामीलाई विद्वान र बेकम्मा बनाउने दिशामा छ । हाम्रो उमेर, श्रम र पैसा फोस्सामा खर्च गराई रहेको छ ।
लेख्दै गर्नोस् है ।